गोरखाबारे वार्ताका लागि टीओआर बनाउन अगष्ट २२ मा बैठक

गत वर्ष गोरखाहरुको आमरण अनसनपछि गोरखा समस्याबारे वार्ता गर्ने सहमति पत्र देखाउँदै बेलायती मन्त्री र नेपाली राजदुत । फाइल फोटो

लण्डन । गोरखा भूतपूर्व सैनिकका समस्याका बारेमा नेपाल तथा बेलायत सरकारबीच हुने वार्ताको विधि तय गर्न अगष्ट २२ मा बैठक तोकिएको छ ।

लण्डनस्थित नेपाली दुताबासका प्रवक्ता तथा उपनियोग प्रमुख श्रीमती रोशन खनालले बेलायत सरकारका तर्फबाट वार्ताको टर्म्स एण्ड रिफरेन्स (टिओआर) बारे छलफल गर्न अगष्ट २२ मा बैठक गर्न सहमत भएको जानकारी आएको बताउनुभयो ।

बैठक दुताबासमा बिहान १० बजे बस्नेछ । सो बैठकमा राजदुताबासका अधिकारीहरु सहभागी हुने छन् । राजदुत भने वार्ता टोलीको संयोजक भएकाले सरिक हुने छैनन् ।

यसअघि नेपाली दुताबासले पटकपटक सो बैठकका लागि बेलायती पक्षसित ताकेता गर्दै आएको थियो ।  

जुन महिनादेखि नै वार्ताको टर्म्स एण्ड रिफरेन्स (टीओआर) का बारेमा छलफल गर्न बैठक बस्ने चर्चा हुँदै आएको थियो तर अगष्टको दोस्रो सातासम्म बैठकको मिति तय नहुँदा गोरखा भूतपूर्व सैनिकहरु आक्रोशीत र निराश थिए ।

गोरखाहरुका तर्फबाट वार्तामा प्रतिनिधित्व गर्न छानिएका मेजर रिटायर्ड जुद्धबहादुर गुरुङले आज बिहान लण्डनस्थित नेपाली दुताबासबाट टीओआरका बैठक तय भएको जानकारी प्राप्त भएको बताए ।

उनले वार्ताको विधि तय गर्न बैठक बस्नका लागि गोरखाहरुले धेरै नै दबाब दिनु परेको स्मरण गरे । आजै बिहान मात्र पनि स्काइन्यूजमा यसबारेमा अन्तरवार्ता दिएको उनले बताए ।

टीओआर निर्माणका लागि बैठकको मिति तय भए पनि धेरै उत्साहित भइहाल्नुपर्ने अवस्था भने नभएको उनले बताए । ”टीओआरमा पनि कुरा नमिल्न सक्छ । हाम्रो मागअनुसार नभएमा आवाज उठाउने अवस्था आउन सक्छ”, उनले भने ।

गुरुङले बैठकमा आफूले प्राविधिक समितिको प्रतिवेदनका आधारमा वार्ता हुनुपर्ने, गोरखाहरुको धेरै कुरामा छलफल गर्नपर्ने भएकाले वार्तालाई छिटो र विस्तृतमा अघि बढाउनु पर्ने र तीन चरणमा वार्ता गर्नुपर्ने धारणा राख्ने बताए ।

टीओआरको बैठकको मिति तय भए पनि अगष्ट १९ को गोरखाहरुको प्रदर्शन भने कायमै रहने गुरुङले बताए ।

गोरखाहरुले वार्ताले गति नलिएको भन्दै पुन आमरण अनसन बस्न छलफल पनि शुरु गरिसकेको अवस्थामा वार्ताले गति लिन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री