पर्यटक, कामदार र विद्यार्थी भिसामा बेलायत आउन चाहनेलाई ‘प्रायोरिटी’ र ‘सुपर प्रायोरिटी’ सेवा पुन: शुरु

लण्डन । युक्रेन संकटका कारण बन्द भएको बेलायत आगमनका लागि प्राथमिकता (प्रायोरिटी) र अति प्राथमिकता (सुपर प्रायोरिटी) को सेवा आजबाट पुन: शुरु भएको छ ।

बेलायतको भिसासम्बन्धी कार्य गर्ने कम्पनी भिएफएस ग्लोबलका अनुसार आजदेखि विद्यार्थी, कामदार र पर्यटक भिसामा बेलायत आउन चाहनेहरुले यो सेवा लिन सक्नेछन् । तर परिवारको लागि भने यो सेवा निलम्बित अवस्थामा नै छ ।

प्रायोरिटी सेवाबाट पाँच दिनमा भिसा पाउने नपाउने तय हुने छ भने सुपर प्रायोरिटी सेवामा अर्को दिनको कार्यालय समयको अन्त्यसम्ममा निर्णय दिइने छ । यी सेवाहरुका लागि अलग्गै शुल्क भने लाग्नेछ ।

युनि ल्याडर कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत गणेश खड्का यो सेवाले नेपालमा रहेका धेरै विद्यार्थीहरु लाभान्वीत हुने बताउँछन् । उनका अनुसार अहिले विद्यार्थी भिसामा बेलायत आउन चाहनेले भिसाका लागि पाँच हप्तासम्म पर्खिनु परिरहेको छ । ‘अलि धेरै शुल्क त लाग्छ तर भिसा आउन समय लाग्ने भएकाले शैक्षिक वर्ष नै छुट्ने त भएन नि’ उनले भने ।

यी दुवै सेवा नेपालमा भने उपलब्ध छैन । जसका लागि भारत नै जानु पर्ने हुन्छ ।

युक्रेन संकटका कारण नेपालबाट बेलायतको भिसा आवेदन गरेका धेरैले लामो समय पर्खिनु परिरहेकोमा अति छिटो सेवा लिन चाहनेहरुका लागि अब बाटो खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री