अभिव्यक्ति शृङ्खलामा गायक धन ‘किरण’ गुरूङ

बेलायत । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले १४औं अभिव्यक्ति शृङ्खलाको लागि गायक, संगीतकार तथा समाजसेवी धन ‘किरण’ गुरूङलाई मञ्च प्रदान गर्ने भएको छ ।

अध्यक्ष गणेश राईको अध्यक्षतामा बसेको बैठकले १४औं अभिव्यक्ति शृङ्खलाको लागि धन ‘किरण’ गुरूङलाई छनोट गरेकोे हो । यस वर्षको अभिव्यक्ति शृङ्खला १७ सेप्टेम्बर २०२२ को दिन आशफोर्ड, केन्टमा आयोजना गर्ने संस्थाले जनाएको छ ।
विसं २०३८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका गायक धन ‘किरण’ गुरूङले चारसय गीतहरूमा आफ्नो स्वर दिएका छन् । कलिलो उमेरमै बृटिश गोर्खा पल्टनमा आवद्ध हुन पुगेका उनले सन् १९८७ मा ‘डाडाँ पारिको त्यो गाउँमा’ बोलको गीत बिएफबिएस गोर्खा रेडियो हङकङमा गाएपछि निकै चर्चामा रहेको थियो । पपस्टार नोर्देन तेन्जिङ भुटिया लगायतको हिमालयन व्याण्ड सन् १९९० बाट धन ‘किरण’ गुरूङले हिमालयन व्याण्ड २ नामले सञ्चालन गर्दै आइरहेका छन् । उनको गीति एल्वमहरू ‘चाहाना’–सन् १९९१, ‘अतीत’–सन् १९९४, ‘भावना’–सन् २००० साल, ‘फेरि आज’–सन् २००२ साल, ‘जिन्दगी’–सन् २००४ साल र ‘जोर्नी’–सन् २०१४ सालमा प्रकाशित भएको छ । उनको लोकप्रिय गीतहरू ‘तिमी र म’, ‘किन हो किन’ र ‘हावा सरर’ले नेपालको विभिन्न म्युजिक अवार्डहरू जित्न सफल भएको पाइन्छ । उनका केही गीतहरू र म्यूजिक भिडियोले विश्वभरिका दर्शक स्रोताहरूको मन जित्न सफल भएका छन् । धन ‘किरण’ गुरूङको आफ्नै म्युजिक कम्पनी डिजी प्रोडोक्शन हाउसमार्फत गीत रेकर्डिङ, म्यूजिक भिडियो र छोटा फिल्महरू उत्पादन गर्ने र भ्वाइस रेकर्डिङ कार्यहरू पनि गरिरहेको छ । गायन बाहेक गीत लेखन, संगीत संयोजन र म्यूजिक भिडियो निर्देशनमा पनि उनी सकृय छन् ।
बृटिश गोर्खा सेनामा लामो समय सेवा गरेका धन ‘किरण’ गुरूङको सामाजिक क्षेत्रको पाटो पनि छुट्टै रहेको छ । उनी फोल्कसटन टाउनको पूर्व काउन्सिलर पनि हुन् । उनको अगुवाईमा स्थानीय समुदाय संगको सहकार्यमा गोर्खा मेमोरियल स्टाच्यू फोल्कसटन्को सामुद्रिक क्षेत्रमा स्थापना गरिएको छ । उनले यस्ता धेरै सामाजिक कार्यहरू सम्पन्न गरेकाछन् । स्थानीय बृटिश तथा गोर्खा समुदायसंग उनको राम्रो सम्बन्ध रहेको छ ।
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतलले स्थापना कालदेखि बेलायतमा प्रत्येक वर्ष अभिव्यक्ति शृङ्खलाको आयोजना गरेर एकजना स्रस्टालाई मञ्च प्रदान गरी उनको सृजनाहरू प्रस्तुत गर्दै आइरहेको छ । सन् २००८ सालमा गायक तथा संगीतकार चोक गुरूङलाई मञ्च प्रदान गरी अभिव्यक्ति शृङ्खलाको सुरू गरिएको थियो । सन् २००९ सालमा कवि तथा निबन्धकार दयाकृष्ण राई, सन् २०१० सालमा कवि तथा कथाकार टंक वनेम, सन् २०११ सालमा संगीतज्ञ किसोर गुरूङ, सन् २०१२ सालमा कवि तथा गजलकार अञ्जु अञ्जली, सन् २०१३ सालमा गायक नोर्देन तेन्जिङ भुटिया, सन् २०१४ सालमा कवि तथा नाट्यकर्मी शशी थापा सुव्बा, सन् २०१५ सालमा कवि तथा कथाकार रक्ष राई, सन् २०१६ सालमा कवि तथा गीतकार निर्मला परिवेश राई, सन् २०१७ सालमा कवि डा रूपक श्रेष्ठलाई मञ्च प्रदान गरिएको थियो । सन् २०१८ सालमा साहित्यकार गणेश राई, सन् २०१९ सालमा साहित्यकार जानु काम्बाङलाई अभिव्यक्ति शृङ्खलामा मञ्च प्रदान गरिएको थियो । सन् २०२० सालमा कोभिडको कारण कुनैपनि सार्वजनिक कार्यक्रमहरू हुन सकेन । सन् २०२१ सालमा भर्चुअल मार्फत कवि कोमल मल्ललाई मञ्च प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री