बेलायती राजा चार्ल्स तृतीयको संसदमा पहिलो सम्बोधन

लण्डन । बेलायती राजा चार्ल्स तृतीयले सोमबार पहिलो पटक बेलायती संसदलाई सम्बोधन गर्नुभएको छ ।
बेलायती महारानी एलिजावेथ द्वितीयको गत साता निधन भएपछि बेलायती राजा चार्ल्स तृतीयलाई बेलायतको नयाँ राजाको रूपमा घोषणा गरिएको हो ।
वेष्ट मिन्स्टर हलमा भएको सम्बोधनमा उहाँले आफ्नी स्वर्गीय आमा महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले महारानीको उत्तराधिकारीका रूपमा पाएको ‘महान विरासत, सार्वभौमिकताको कर्तव्य र गहन जिम्मेवारी’हरू आफूमा हस्तान्तरण गरिएको र त्यसलाई महारानीले झैँ निरन्तरता दिने जानकारी संसदलाई दिनुभयो ।
दुवै सदनका करिब ९०० सांसदहरुलाई सम्बोधन गर्दै राजा चार्ल्सले भन्नुभयो, “मेरी आमाको शासनकाल यसको अवधि, समर्पण र भक्तिमा अनुपम थियो । म यस महान् विरासत र सार्वभौमिकताको कर्तव्य र गहन जिम्मेवारीहरूको बारेमा गहिरो रूपमा सचेत छु । जिम्मेवारी अहिले मलाई हस्तान्तरण गरिएको छ । यी जिम्मेवारीहरू सम्हाल्दै, म संवैधानिक सरकार कायम गर्न र यी टापुहरू र कमनवेल्थ क्षेत्रहरूको विश्वभरिका मानिसहरूको शान्ति, सद्भाव र समृद्धि खोज्नको लागि मेरी आमाले स्थापित गरेको प्रेरणादायी उदाहरण पछ्याउने प्रयास गर्नेछु ।”
उहाँले राजपरिवारको घरजग्गालगायत वंशाणुगत राजस्व समर्पण गर्ने परम्परालाई निरन्तरता दिने आफ्नो इच्छा र मनसाय दोहोर्याउनुभयो ।
गत हप्ता भएकोे ९६ वर्षीया महारानीको निधनले सात दशक लामो शासनको अन्त्य गरेको छ । उहाँलाई उथलपुथलपूर्ण संसारमा स्थिरताको प्रतीक बनाएको थियो । बेलायत औपचारिक शोकको चरणमा प्रवेश गरेको छ र विश्वभरबाट श्रद्धाञ्जलिको ओइरो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री