बेलायती महारानी एलिजाबेथलाई राजकीय सम्मानका साथ अन्तिम बिदाई

तस्वीर घेट्टी इमेजेज

लण्डन । बेलायती महारानी एलिजावेथ द्वितियको अन्तिम बिदाई आज सम्पन्न भएको छ ।
अन्तिम बिदाईको पहिलो चरण लण्डनस्थित वेस्टमिन्स्टर एबेमा भएको थियो । करिब २ हजार ५०० मानिस अटाउने सो हलमा विश्वका विभिन्न देशका राष्ट्रप्रमुखहरु बेलायतका विभिन्न पार्टी र पदमा रहेका उच्चपदस्थ व्यक्तित्वहरु लगायतले महारानीलाई अन्तिम बिदाइ गरेका थिए ।
त्यसपछि महारानीको शवयात्रा पार्लियामेन्ट स्क्वायर, होर्स गार्ड परेड, द माल, बकिङ्घम पालेस हुँदै हाइड पार्क कर्नरसम्म गरिएको थियो । शव यात्रामा बेलायती सेनाका विभिन्न बटालियनका सेनाहरु, राजा चार्ल्स तृतीय, राजकुमारी आन, युवराजहरु आन्ड्रयू, एडवार्ड, विलियम, पूर्व युवराज ह्यारी लगायत पनि सरिक थिए । त्यसपछि महारानीको शवलाई उनको निवास विन्जर कासलस्थित सेन्ट जर्ज चापलमा कारबाट लगिएको थियो । सो क्रममा बाटोमा सर्वसाधारणले पुष्पगुच्छा चढाएका थिए ।
सेन्ट जर्ज चापलमा भएको दोस्रो चरणको कार्यक्रम समापन भएको छ । महारानीको शवलाई साँझ समाधिस्थ गर्ने कार्यक्रम छ । सोही चापलमा महारानीको आमा, बाबा र श्रीमानको पनि समाधि रहेको छ ।
महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बर ८ मा स्कटल्याण्डको बाल्मोरल क्यासलमा निधन भएको थियो ।
राजकीय अन्त्येष्टिको अन्त्यमा दुई मिनेटसम्म राष्ट्रव्यापी मौनधारण गरि दिवंगत महारानीप्रति सम्मान गरिएको छ ।
महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिका लागि विभिन्न देशका राजनीतिक प्रमुखदेखि राजपरिवारका सदस्य, विश्वका विभिन्न मुलुकका विशिष्ट अतिथिहरू केही दिन पहिलेदेखि नै बेलायत आइपुगेका थिए ।
सन् १९६५ मा विन्स्टन चर्चिलको मृत्युपछि महारानीको अन्त्येष्टि बेलायतमा पहिलो राजकीय अन्त्येष्टि हो ।
राजकीय अन्त्येष्टिको अर्थ बेलायत सरकारले अन्त्येष्टिको दिनलाई औपचारिक रूपमा बैंक बिदाको रूपमा घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री