रक्सीसँग साटिएका गाउँका जिन्दगीहरु

संस्मरण

लेखक भीम राई

अर्धनग्न अवस्थामा श्रीमतीको तिघ्रा च्यापेर भर्याङ मुनीको खाटमा मज्जाले सुतिरहेको बेला अचानक ढोका बाहिरदेखि टकटक गरेको आवाज आयो । हामी त्यसबेलासम्म बिहानी पखको निन्द्रामा मस्तसँग सुतिरहेका थियौं । तर त्यसरी ढोकाबाट आएको सानो आवाजले हामी दुवैजना निन्द्रादेखि झसङ्ग ब्यूँझ्यौं । त्यसपछि आँखा मिच्दै मिच्दै त्यसदिनको पहिलोचोटी मैले आँखा खोले । त्यसबेलासम्म कोठा चकमन्न अध्याँरो थियो । मैले आँखा खोलेपछि फेरि ढोकातिर एकपटक कान थापेर राम्ररी सुनें । एकछिनपछि ‘बाबै, बाबै’ भनेर दोहरिएको मधुरो आवाज कोठाभित्र पस्यो । चाम्लिङ भाषामा काकालाई बाबै भन्ने गरिन्छ ।

‘यति बिहानै को होला ?’ ताराले पहिलोचोटी मुख खोलिन् ।

म बिस्तारादेखि उठेंपछि सबैभन्दा पहिले बत्तीको स्वीच टक्क दबाएँ । र, बत्ती बलेपछि, ‘खै ! म हेर्छु है,’ भनें ।

बत्तीको उज्यालोले हाते घडीलाई पहिले एकझलक हेरें । समय बिहानीको छ बजेको थियो । वैशाखको महिना थियो । तैपनि बिहानी पख भएकोले हल्का चिसो थियो । त्यसैले नजिकै रहेको तौलियाले आफ्नो जिउलाई सर्लक्कै एकफन्को बेरें । त्यसपछि हिँड्दै गएर घन्द्रङ्गै ढोका खोलेँ । ढोका बाहिर कमलाम्पा उभिरहेको देखेर एकफेर झसङ्ग झस्कें । चाम्लिङ भाषामा कमलाको बाबुलाई कमलाम्पा र आमालाई कमलाम्मा भन्ने चलन छ ।

‘हना कहिले आयौको बाबै ? तिमी मात्रै आको कि छोराछोरी पनि ल्याको छौं ?’ मलाई देख्ने बितिक्कै कमलाम्पाको मुख खोलियो ।

‘तारा र म मात्र हो ।’ मुखै धोएको थिइनँ, त्यसैले मधुरो स्वरमा जबाफ फर्काएँ ।

‘विदेशी रक्सी पनि ल्याको छौ कि ? ल्याको छैन भने घरको नै पिउनु पर्ला ?’ फेरि उनी बोले ।

केस पाकेर सेताम्मे भएका । तैपनि झर्झरको झरिलो अनुहार । सुस्वस्थ शरीर साह्रै मोटो पनि नदेखिने । र, उनी त्यति पातलो पनि देखिएका थिएनन् । मभन्दा निक्कै पाको भएतापनि साइनोले कमलाम्पा मेरो भतिज हुन् । उमेरले करिब सात दशक पार गरिसकेका भतिजले बिहानको छ बजे पहिलो शब्द नै रक्सीदेखि सुरु गरेको देखेर मलाई हल्का असहज उत्पन्न भएर आयो । रक्सीको कुरो गरेपछि उनको शरीरलाई पुनः एकचोटी राम्रोसँग हेरें । उनको शिरमा घेरा फाटेका एउटा थोत्रे पाल्पाली ढाका टोपी थियो । कुम कुममा सा-सानो दुलो परेको धर्के भेस्ट । मुनी घुँडासम्म झरेको बेलायती जाङ्गे । र, उनले खुट्टामा हात्ती छाप चप्पल उनिरहेका थिए ।

‘कस्तो त कमलाम्पा एकाबिहानै रक्सी खोज्छौ को हँ ?’ दम्कुडाँडा जङ्गलतिर फर्केर बोलें ।

‘पिउने मानिसलाई के को बिहान र बेलुका हो, बाबै । सत्तरी/पचहत्तर पुगि हालियो । खै के भाको छैन ? बरु तारा उठेन ?’ उनले भने ।

‘केही भइँहाल्यो भने त सकिहालियो नि ।’ सानो स्वरमा बोले ।

त्यसदिन वैशाख ३० गत्तेको दिन थियो । हरेक पाँच/पाँच वर्षमा हुने स्थानिय चुनाव त्यसै दिन हुन गइरहेको थियो । त्यसैले, ‘होइन कमलाम्पा ! आज चुनावको दिन पनि हो । अनि रक्सीले मातेर मतदान दिन गइयो भने प्रहरीको डण्डा भेटिन्छ होला ? अझै तीन महिने म्यादे प्रहरीले मान्छे कुट्न मात्र तालिम गरेका हुन्छन् भन्ने सुनेको छु । तर खै कहाँसम्म सत्य हो ?’

मेरो कुरो सुनेर उनी फ्यास्सै हाँसे । ‘मलाई कुट्ने मान्छे अहिलेसम्म जन्मेकै छैन् क्या बाबै ? त्यसो त यो नाडीमा जोर हड्डी पो छ त् ।’ दाहिने हातको नाडी प्रदर्शन गर्दै उनी बोले ।

मेरो घरको आँगनमा एउटा काठको टेबल छ । तिनै टेबलको दुईतिर दुई/दुईवटा प्लास्टिकका कुर्सीहरु राखिएका थिए । कमलाम्पा र म तिनै कुर्सीमा वारिपारी बसेर मज्जाले गफ चुटिरहेका थियौं । एक छिनपछि ताराले एक हातमा एक गिलास रक्सी ल्याएर त्यहाँ उपस्थित जनाइन् । र, रक्सीलाई थपक्कै टेबलमा राखिन् । त्यसपछि ‘काका ! खै म ढोगि दिन्छु है,’ भनेर सुरिलो पोजिसनमा नमस्ते गरिन् । खै ! कमलाम्पासँग उनकी कतातिरको साइनो थियो कुन्नि ? सायद पुरानै साइनो भएकोले काका भनेकी होलिन् ।

उनले टेबलमा भएको रक्सीको गिलासलाई एक हातले समातेर उचाले र अलिकति चिरिप्पै पिएपछि, ‘लु गाँठ्ठे, रक्सी त एकदम कडा रहेछ । ताराले खै कहाँबाट ल्याकी हुन् कुन्नि ? म त फेरि पनि थप्छु है ।’ मुख मिठ्याइँ मिठ्याइँ बोलेको मलाई गज्जब लाग्यो ।

म सानो छँदादेखि नै कमलाम्पा हाम्रो हिमचिमको मानिस हुन् । उनले मेरो बाबुलाई खेतबारी जोत्न र खन्न निक्कैपल्ट मद्दत गरेको इतिहास जिउँदै थिए । पहिले पनि उनी त्यसरी नै रक्सी पिउथे । मलाई तिनै पुरानो कुरोको त्यसबेला झल्झली याद आयो । हातमा रक्सीको गिलास समातेर उनले त्यतिबेला म सानो हुँदाको कुरोहरु गरे । त्यसपछि स्वर्गमा हुनु भएको मेरो आमा र बाबुको पनि सम्झना गरे । त्यसले मलाई एकाबिहानै थोरै भावुक बनाइरहेको थियो । तर सोहीबेला दुवै हात पछाडी राखेर चमार साइँला आँगनको पल्लो छेउँदेखि हिँड्दै हिँड्दै हामी नजिकै आइपुग्यो ।

उनले आउने बितिक्कै, ‘मामुइँ ! नमस्कार छ है,’ भन्यो ।

मैले, ‘नमस्ते ! भान्जा,’ भन्दै एउटा कुर्सी तानेर उहाँलाई देखाए र, ‘यहाँ बस्नोस्,’ भनें ।

‘अब तपाई लोकल रक्सी पिउनु हुन्न । हिजो राति शुभनको पसलमा बाहिरदेखि आको पोका पिउनु भयो । हुनत त्यो रक्सी खै कस्तो थियो कुन्नि ? प्लास्टिकको बोतलमा राखिएको त्यसको नाम “तिरीमिरी झ्याइँ” चाहिँ मलाई औधी नै मन पर्यो ।’   

मैले त्यसो भनेको सुनेपछि उनले थोरै मुस्कान छाडे । त्यसपछि कुर्सीमा बस्ने बितिक्कै, ‘होइना ! मासुको पैसाले एकदम साह्रो परेको छु । १५ सय रुपैयाँ सापटी दिनु पर्यो । कसम ! जसरी भएपनि एक हप्ताभित्र फर्काइ दिन्छु,’ उनले किरिया खाँदै बोले ।

उनी साइनोले मेरो भान्जा हुन् । अझै सानो छँदादेखिको अति मिल्ने साथी । घास, दाउरा र गोठाला गर्दा मात्र नभएर हामी सानो छँदा अरुले खेलेर मिल्काएको तासलाई बटुलेर ‘पाँचपत्ती’ खेलेको त्यसबेला उनको अनुहारलाई हेरेर झल्याँस्सै सम्झें । तर बिधिको बिडम्वना नै मान्नु पर्छ । मेरो भान्जाले जिन्दगीमा कहिले पनि पाठशालाको मुहार देख्न सक्नु भएन । खै किन होला कुन्नि ? म पनि त्यसबेला अलिक सानो नै थिएँ र मलाई केही थाहा भएन । तर उनको बुबा पनि बेलायती सिपाही नै थिए भन्ने सुनेको थिएँ । तर म सानो छँदा नै उहाँ दिवंगत हुनु भएको थियो । नत्रभने सायद उनको बाबुले, ‘छोरा ! तिमीले पनि अरुले जस्तै स्कूल गएर पढनु पर्छ,’ भन्नु हुन्थ्यो होला ?  

पुरानो कुरोलाई एकछिन सम्झेपछि उनको अनुरोधलाई स्वीकारें । र, गोजीबाट १५ सय निकालेर, ‘भान्जा ! भो फर्काउनु पर्दैन है । तपाईलाई आशिर्बादसहित भयो,’ भनें र थपक्कै पैसा दिएँ । तर त्यसरी पैसा हात लगाइदिदैं गर्दा ताराले उनको लागि तातातो एक कप चिया पनि ल्याइ दिइन् ।

‘साइँला ! अब पैसा पाइहालिस् । आज भोटको दिन पनि हो । भोट त माओवादीलाई नै दिन्छस् होला ?’ कमलाम्पाले उनको अनुहार क्वारक्वार्ती हेरेर तीखो वाण प्रहार गरे ।

‘आफ्नै पार्टीलाई नै दिने हो नि, अरु कस्लाई दिने र ? दाजै ।’ सहज उत्तर फर्क्यो ।  

भान्जालाई त्यसबेलासम्म गाउँमा अलिक दुःख नै थियो । त्यसैले भान्जाको एउटी छोरी समाज परिवर्तन गर्नको लागि माओवादीमा लागेर जङ्गल पसेकी थिइन् । त्यसैले गर्दा उनीहरुको परिवार सबैजना माओवादी भएका थिए । सायद माओवादीहरुले अन्य स्थानमा राम्रै प्रगति गरेतापनि भान्जाको जीवनमा भने खास्सै प्रगति भइहालेको थिएन । त्यसैले एउटा सानो उदाहरण यहाँ प्रस्तुत गर्न मन लाग्यो ।

छिप्तीमा सबै मानिसको घरहरु टिन (जस्ता) ले छाइएका छन् । तर अहिलेसम्म उनको चाहिँ परम्परागत खरको छानो नै छ ।

‘आखिर मानिसहरु किन कम्युनिष्ट हुन्छन् ?’

यो विषय निक्कै गहकिलो विषय हो । र, जो कोहीलाई बुझ्न निक्कै चर्को पर्छ । मैले त्यस विषयमा गहन अध्ययन गर्नको लागि चीनदेखि कम्बोडिया त्यसपछि लगभग पूरै यूरोपको पूर्व साम्यवादी राष्ट्रहरुको यात्रा गरेको थिएँ । तैपनि राम्रो बुझ्न सकिरहेको थिइनँ । अन्ततः यूरोपको सबै साम्यवादी शासन ढलेपछि राजनैतिक गुरु यासिहिरो फ्रान्सिस फुकुयामाले साम्यवाददेखि समाजवाद पुग्ने होइन । उनको पुस्तक ‘द इन्ड अफ हिस्टोरी’ मा अन्तमा गएर सबै ‘लिबरल ड्यामोक्रेटस्’ मा पुगेर सकिन्छ भनेको कुरोलाई विश्वास गरेको छु ।    

तर भान्जाले त्यति भनिसकेपछि कमलाम्पाले फेरि चाँदे दियो, ‘त हेर ! प्रचण्डको कुरो सुनेर बिग्रिस्, केटा ?’

‘दाजै ! अरुले पनि के नै नापेको छ र ?’ भान्जा पनि के कमि थ्यो र ? पूर्व माओवादी छापामारको बाबु हुन् । त्यसैले सर्लक्कै मुख फर्काई दिइहाल्यो ।

खै किन हो किन ? नेपालको माओवादी भनेपछि म पनि अहिलेसम्म झसङ्ग झस्किन्छु । कुन ठाउँमा र कति बेला कस्तो कार्बाही भेटिने होला भनेर थरर भइरहन्छु । कुनै कुनै कुरोहरु यस्ता हुन्छन् । त्यस कुरोसँग हरबखत मानिसलाई हृदयदेखि नै डर पैदा भइरहन्छ । जस्तैः- ‘मुखमा कानुन र हातमा हतियार बोकेर हिँड्नेले कुनैपनि बेला त्यो चिजको प्रयोग गर्न सक्छन् ।’ त्यसैले ती कुरोहरुदेखि जहिले पनि सावधान रहनु पर्छ भन्ने मेरो मान्यता रहेको छ । उनीहरुको यस्तै यस्तै पूर्व नियतिहरु सोचेर म मन्त्रमुग्ध भइरहको बेला –

‘होइनौ बाबै ! प्रचन्डको त घर पनि छैन भन्छ । एकदम ठूलो घरमा बस्छ भनेर सुनेको थिएँ । अनि हाम्रै केटाहरु जस्तो डेरामा पो बस्छ भनेको सुन्छु । काम नेताको मात्र गर्छ । हामी यहाँ बाह्रै महिना जोतिन्छौं । र, पनि खान लगाउन हम्मेहम्मे पर्छ । साँच्ची उनले डेराभारा चाहिँ कहाँबाट ल्याउँछ होला ?’ त्यति बोलिसकेपछि दुवै हात टाउकोमा राखेर एकछिन आरेमेरे परिरह्यो ।

‘उसको लागि देश विदेशबाट अमेरिकन डलर आउँछ होला नि ?’ भान्जाले भन्यो ।

उनीहरुले पार्टीको कुरो निकालेर केहीबेर गलबाजी गरिरहेको हेर्न मलाई रमाइलो लागिरहेको थियो । हुनत म भर्खरभर्खर गाउँमा पुगेको थिएँ । त्यसैले उनीहरुको गफ मज्जाले सुनिरहेको थिएँ । तर त्यहिँबेला केस जिङरिङ्ग्रै ठाडो पारेको, निक्कै दिनदेखि मुख नधोएको, थोत्रे सर्टमा पसिना सुकेर दागैदाग बसेको, तर काँधमा एकघना सुकेको बाँस बोकेर उमेद आँगन छेउमा आइपुग्यो ।

उमेद त्यहाँ देखापर्ने बितिक्कै, ‘यो छ फेरि, अना ! कहाँ सुतेर आइस है ?’ भान्जाले सोधिहाले ।

‘गोठमा नै सुतेँ,’ छोटो उत्तर फर्क्यो ।

‘यो आज राति मातेर पाँचपाते रूखको फेदमा कराउँदै रहेछ । म एकनिन्द्रा सुतेर ब्युझेंको थिएँ । कस्तो यतिबेला पनि स्याल करायो होला भनेर एकछिन छक्क पर्दै सुनिरहेँ । त्यसपछि अलिक मज्जाले कान थापेर सुनेँ । गधा ! यो पो रहेछ । घरमा काका र काकी आको छ । म मातेको छु । अब घर गएँ भने काकाले कराउँछ भनेर मुला गोठमा सुतेर आको हो । साँच्चै भुनुङ भुने छिप्तीमा कसैको यतिको राम्रो तीनतले घर छैन् । ढुङ्गा र माटोको गार्हो भएपनि चुइचुम्मादेखि ल्याको सखुवाको जोडीजोडी थामहरु र जोडीजोडी निडालहरु छन् । दलिनहरुको त कुरै नगरुङ । त्यहाँदेखि त्यत्रो धेरै काठहरु बोकेर ल्याउनु मात्रै एकहप्ता समय लागेको म अहिले झल्झली सम्झुन्छु । भुनुङ म त्यतिबेला अलिक सानो नै थिएँ । अब यति राम्रो घरमा मज्जाले नसुतेर जाँठो गोठ गोठतिर सुति हिँड्छ । आबो यस्को बानी ठीक्छ त पटक्कै ठीक छैन ।’ कमलाम्पाले उमेदलाई देख्ने बितिक्कै प्याच्च बोलेर खोइरो खने ।   

नभन्दै, मेरो घर बुईपा, छिप्ती हो । र, म जहाँ बसेको छु । त्यस घरको निर्माण २०२७ सालमा जुमेम्पा दाजुले गर्नु भएको थियो । त्यस घर बनाउनको लागि जिल्लाको प्रख्यात कालिगडहरु लफ्याङ र चुप्ला भन्ने गाउँहरुदेखि ल्याइएका थिए । र, त्यो घरको निर्माण हुँदा गाउँको सबैभन्दा पहिलो झिँगटी घर भएको थियो । त्यसैले त्यस घरको नाम झिँगटी घर भन्ने राखिएको थियो । अँशबन्डाको क्रममा जुमेम्पा दाजुको माईला छोराले पाए । त्यसपछि मैले खरिद गरेर त्यसघरको झिँगटीको छानो आजभन्दा लगभग ३५ वर्ष अगाडी मिल्काइ दिएको थिएँ । र, सेतो टिनको छानो हालेको थिएँ । त्यसपछि त्यो टिन पनि फालेर ५ वर्ष यता निलो टिनको छानोले घर मसक्कै सजिएको छ । यद्यपि छिप्तीको बीच भागमा रहेको र टिनको छानो भएतापनि त्यस घरलाई अहिलेसम्म ‘झिँगटी घर’ नै भन्ने चलन चलि आएको छ ।     

तिनै झिँगटी घरमा उमेद र म विगत १५/१६ वर्षदेखि यता सँगसँगै बस्दै आएको छौं । ऊ मेरो सानो कान्छा दाजुको जेष्ठ सुपुत्र । अथवा मेरो जेठो भतिज । भतिज अरुबेला ज्यादै इमान्दर र परिश्रमी छ । अनि एकदम धेरै मेहनत गर्छ । उसको जिउडाल एकदम सानो छ । तर जाँडरक्सी धोक्र्याएपछि गाउँमा कसैलाई गन्ने मान्ने चलन छैन । खै किन हो किन शुभनेम्पासँग मात्र अलिअलि डराए झैँ गर्छ । नत्रभने कसैलाई टेर्दैन । अरुबेला आँखामा राख्दा नबिझाउने मेरो भतिज मातेको बेला नाङ्गो खुकुरी हातमा लिएर मैदान नाँचेपछि छिप्तीको मिनी डन नै भने पनि हुन्छ । तर खै के भएर हो, कुन्नि ? आजभोलि हरेक दिन जस्तो मात्छ र मातेपछि धुरुधुरु रुने गर्छ । ऊ रोएपछि गाउँको फुच्चाफुच्चीहरुलाई राम्रो टिकटिक बनाउने अवसर जुर्छ । म यदाकदा तिनै टिकटिक हेर्दा भोल्टेयरले भनेको तिनै शब्दहरु, ‘आँशु दुःखको मौन भाषा हो,’ भनेको राम्ररी सम्झिरहन्छु ।

उनको एक छोरा र एक छोरी पनि छिन् । छोरा अहिले अरबमा छ । छोरीले चाहिँ बिहे गरेपछि काठमाण्डौतिर बसाइँ सारेकी छिन् । त्यसकारण छोराछोरीदेखि उनलाई खासै पिर नहुनु पर्ने हो । यदि कुनै कुनैबेला आर्थिक समस्या पर्यो भने म पनि तासको ‘अल्टर’ झैँ भएर बसिरहेको छु । हुनत उनले सफल जिन्दगी जिउनको लागि अनेकौं प्रयत्नहरु पनि गरेका थिए । तर केही पारा लाग्न भने सकेनन् ।

पहिलो चोटी अरब जाँदा ऊ निक्कै लामो समयसम्म रियादको केन्द्रीय कारागारमा कैदी जीवन बिताएर गाउँ फिरेका थिए । अभागी मोरो दोश्रो चोटी अरब जाँदा लामो समयसम्म बिमारी भएर फर्कें । तैपनि उनले प्रयास जारी राखिरहे । तर तेश्रो चोटी कतार पुग्दा करार सम्झौता गरेकोभन्दा आधामात्र पारिश्रमिक दिने भएकोले खाली हात घर फर्केका थिए । तीन/तीन चोटी खाडी मुलुक गएर आफ्नो भाग्य परीक्षण गर्दा धोका खाएपछि अहिले गाउँमा फिरेर बाख्रापालन गर्छ । र, मौका परेको बेला खुङ्खार कम्युनिष्ट रसियन तानाशाह जोशेफ स्टालिनको बाबु बिसारियन जुगासभिलीले हरेक बेलुकी भोड्का पिएर गोरी, जर्जियामा माते झैँ ऊ पनि बुईपा, छिप्तीमा भक्कु मात्ने गर्छ ।

अल्कोहोलिक हुनै लागेको उनको अनुहार त्यसबेला वर्षायाममा बादल लागेको रुपाकोट डाँडाजस्तो मधुरो थियो । मनभरी पिरको भारी बोकेर कछुवा चालमा सुस्तरी हिँडेर हामी नजिकै आएपछि, ‘के पिउछस् केटा ? अहिले बिहानै पनि छ । अनि आज चुनावको दिन पनि हो । घरमा दुहुना छैन । त्यसैले काका र भतिज मिलेर एक-एक कप कालो चिया पिउ है ?’ मैले सानो स्वरमा उनलाई भनें ।

मेरो भनाई सुनेर ऊ एकछिन अकमकायो । उनको मुखदेखि एक्कै शब्द फुत्केनन् । तर टाउको घुमाएर टेबलको वरिपरि एकचरण हेर्यो । ‘बाबै ! के पिउँछ र ? यो जाठो रक्सी नै पिउँछ नि,’ बरु कमलाम्पाले नै उनको सट्टा बोलिदियो ।  

कमलाम्पाको कुरो सुनेपछि, ‘हिजो माथिलो घरमा घर चिन्ता बसाएको थियो । रातभरी के त्यसै बसिरहने भनेर निक्कै धेरै पिएछु । त्यसैले अहिलेसम्म मेरो टाउको दुखिरहेको छ । यसलाई अरु के ले नै ठीक पार्छ र ? बरु रक्सीले नै ठीक गर्छ,’ रक्सी नै पिउने उनको रहर पलायो ।  

उनको कुरो सुनेपछि, ‘ल बुढिया ! उमेदलाई पनि एक गिलास रक्सी देउ है, कि कमलाम्पा अझै थप्ने हो र ?’ मैले बोलिसकेको थिइनँ, ‘म त अघि नै थप्छु भनेकै छु नि,’ उनी फेरि बोले ।

कमलाम्पाको कुरो सुनेपछि, ‘कमलाम्पा ! आफ्नो उमेर र रक्सीको गिलास कहिले गन्न हुँदैन है । आँखा चिम्लिने हो, अनि स्वाट स्वाट पिइहाल्ने हो । आखिर जिन्दगी एक पटक मात्र त जिउनु पर्छ । त्यसकारण रक्सी नपिइ के बाँच्ने हकि ?’ भनेर मैले थोरै जिस्क्याएको जस्तो गरें ।

तर उमेदको कुरो सुनेर बुहारीले, ‘पर्दैन है पर्दैन । दिनैपछि रक्सी पिउन । मेरो पो उमेरमा धेरै चुटाई खाएको हुनाले जिउ दुख्छ र बेलुका बेलुका पिउँछु । उसको चाहिँ खै के दुख्छ र पिउनु पर्यो ?’ भान्सा कोठादेखि भनिन् ।

मेरी बुहारीले पनि साईला भानिज जस्तै जिन्दगीभरि स्कूलको अनुहार देख्न पाएकी थिइनन् । जसले गर्दा उनी जहिले पनि अन्धविश्वासमा जोड दिने गर्थिन् । सायद त्यसैले होला । जिउ दुखेको औषधी रक्सीमात्र हुन्छ । अन्य केही हुँदैन भनेर सोच्थिन् । तर मैले उनको कुरो सुनेपछि, ‘अब आजलाई भै हाल्यो । चुनावको दिन पनि हो । केटोले आज पिउँछ । भोलि बिहानदेखि छोडिहाल्छ,’ भनें । मैले त्यसो भनेको सुनेपछि भान्जाले, ‘यस्ले रक्सी पिउन छाड्नु र धर्तीमा आकाश खस्नु एउटै हो, मामुइँ,’ भनेर उनी खितिति हाँसे ।

ताराले दोश्रो फैतुङ रक्सी ल्याइन् । र, थपकथपक टेबलमा राखि दिइन् । उनीहरुले रक्सी पिउदै गर्दा, ‘लौ, अहिलेसम्म यहाँ पो कमलाम्पा ? कस्तो त यतिबेलासम्म यहाँ छौं को ? मासु पकाउनु ढिलो भइसक्यो है ?’ सम्झनाम्पा त्यहाँ आयो । र, कम्बरमा हात राखेर कमलाम्पातिर हेरेर बोल्यो ।

‘सम्झनाम्पा ! ल ठीक्कै छ । तिमी पनि एकछिन यहाँ बस । अनि जाँड पिउने हो ?’ मैले उनलाई सोधें । उनले एकचोटी टाउको हल्लाएर मन्जुर गरे । त्यसपछि मैले तारालाई, ‘बुढियाँ ! एक डबका जाँड बनाइदेउ है,’ मूलढोका नजिकै पुगेर भनें ।

७ जना छोरीहरु जन्माइ सकेपछि सम्झनाम्पाले आजभोलि छोराको खोजि गर्न छाडिसकेको छ । मेरो घरको तीनसय मिटर उत्तर पूर्वमा उसको एक जोडी घर र मतान छ । त्यस घरमा हरेक बेलुकी नानी केटाकेटीहरु रोएको र बुढाबुढी बाझेको मलाई सबै कण्ठस्त हुन्छ । ऊ जेठाको पनाती र म काईलाको छोरा भएकोले साइनोमा ऊ मेरो नाति पर्छ । ऊ कहिलै पनि रक्सी पिउँदैनन् । त्यसकारण उसको बानी एकदम राम्रो छ । तर हलो कोदालो गर्नुपर्छ भनेर मातिन्जेल जाँड पिउँछ । त्यो चाहिँ नराम्रो छ । धेरै मातेको बेला उसले श्रीमती त कति ठटाउँछ, ठटाउँछ । कसैलाई पत्तै हुँदैन । अनि केटोले मातेर रिमरिम भएको बेला मलाई पनि पो चिन्दै चिन्दैन । त्यसबेला मलाई थोरै दुःख लाग्छ । अझै बेला मौकामा बियरको गन्ध भेट्यो भने तातो र चिसोको कुनै मतलव गर्दैन । जस्तो भएपनि पिइहाल्छ ।  

सम्झनाम्पा र सम्झनाम्मा दुवैजना नेकपा एमालेको मतदाताहरु हुन् । तर उनीहरु पार्टीका सदस्य वा कार्यकर्ता भएको चाहिँ मलाई पटक्कै ज्ञान छैन । तैपनि आज चुनावको दिन उनीहरुको घरमा दुई खँडकुलो जति रागाँको मासु भुटिदैं थियो । त्यहाँ मासु, च्युरा र रक्सी ‘नेपाल कम्युनिष्ट पार्टी – एमाले’ ले बन्दोबस्त गरेको थियो । हिजो दिउँसो त्यहाँ गाउँको सबैभन्दा ठूलो राँगा ढलेको थियो । त्यहाँ रागाँ ढल्दा पनि फटिक पार्टीको लागि ३-४ केस बियरले बिदा लिएको थियो भन्ने बेलुकी सातबजेको मौखिक समाचारमा सुनेको थिएँ । त्यसपछि रातभरि शुभन र कबितको रक्सी दोकानहरु रित्तिनेगरी रक्सीहरु त्यहाँ ओसारिएको पनि मुहार पुस्तिकामा समाचार बनेर आएको थियो । बिहानको १० बजेदेखि एमालेका मतदाताहरु मासु र रक्सी पिउन ताँती लाग्ने हुनाले सम्झनाम्पा मासु पकाउन ढिलो भो भनेर कमलाम्पालाई खोज्न आएको थियो ।

सम्झनाम्पाको घर जतिक्कै टाढा तर मेरो घरको पश्चिम दिशामा चाहिँ गिताम्पा दाजुको नयाँ घर बनेको छ । त्यो घरमा पनि लगभग त्यति नै जति मासु पाक्न गइरहेको थियो । त्यहाँ चाहिँ त्यसदिन राँगा होइन । तर राँगाजत्रै भिमकाया बङ्गुर काटिएको थियो । आजभोलि गाउँमा शुभन, अर्जुन र बलभद्रले राँगा जत्राजत्रा बङ्गुरहरु पालेका छन् । तिनीहरुलाई देख्दा म तीन दङ्ग परेको थिएँ । उहिले हाम्रा पालामा बङ्गुरलाई खानदिने चारो हुँदनैथ्यो । त्यसैले रित्तो डोको भोकेर भष्मेखोला र ढाँडेखोलामा बन तरुल र कर्कलाका पातहरु काट्न जानुपर्थ्यो । तर अहिले मधेसदेखि मटरको बाटो हुँदै बोराका बोरा सुङ्गुरको चारो आउने रहेछ । त्यो देखेर मलाई निक्कै आश्चर्य लागेको थियो ।

गिताम्पा दाजुको घरमा हिजो दिनभरि बङ्गुर काट्न भेला भएको गठबन्धनका काङ्ग्रेस, माओवादी, समाजवादी र राजावादीहरुले तीन बहान रक्सी सबै रित्याएछन् । अब हिजै तीन बहान रक्सीको एकथोपा नराख्नेले भोटको दिन कति बहान सिध्याउने होला ? त्यो त मलाई के थाहा हुन्छ र ? केवल चर्च अफ नाटिभिटी बेत्लेहेम, जेरुसेलममा आराम गरेर बसिरहेका जिसस क्राइष्टको प्रतिमालाई मात्र थाहा होला ? किनभने उनी इसाइ धर्मावलम्वीहरुको भगवान हुन् ।

मैले किन त्यसो भनेको हो भने गाउँमा धेरैजसोले भगवानलाई थाहा हुन्छ भनेर भन्ने चलन छ । चाहे त्यो हिन्दु, बौध्द वा मुस्लिम धर्मको भगवान नै किन नहोस् । यहाँ धर्मको कुरोलाई यतिक्कै बिसर्जन गरें । र, राजनीतिको प्रसङ्ग कोट्याएँ । हुनत काङ्ग्रेसका सदस्यहरुले मातिन्जेल रक्सी पिउनु मेरो लागि कुनै नौलो कुरो होइन । किनभने उनीहरुले सात सालदेखि अहिलेसम्म पिउदै र मात्दै नै आइरहेकै छन् । तर वर्ग विभेद भएको यस मुलुकमा वर्गबिहीन समाजको सिर्जना गर्छु भनेर क्रान्ति गर्ने माओवादीका साथीसङ्गीहरुले पनि आँखा साँखा चिम्लेर रक्सी पिएको देखेपछि, ‘भन्यो लालसलाम, पियो रक्सी, खेल्यो तास, पार्टी माओवादी,’ अन्य पार्टीका झोलेहरुले त्यसो भनेको सुन्दा मलाई थोरै हाँसो उठेको थियो ।

यदि मेरो घरदेखि उत्तर दिशातिर बाङ्गो टिङ्गो नबनाइ देशान्तर रेखा कोर्ने हो भने करिब ७ सय मिटर जति टाढा एउटा मामुली प्राथमिक विद्यालय रहेको छ । उहिले त्यो विद्यालय भकारीले छाएको सानो चित्रे घर जस्तै थियो । तर अहिले त्यसको रुप परिवर्तन भएर टिनले छाइएको छ । कक्षा पाँचसम्म पढाइ हुने त्यस स्कूलमा पहिले तीन वटा कक्षा कोठाहरु मात्र थिए । तीनताका एउटै कोठामा दुई-दुई कक्षाहरु पढनु पर्थ्यो । त्यो सुनेपछि मेरो मन थोरै बिचलित भएको थियो । त्यसैले लगभग १२-१५ वर्ष अगाडी मैले ५० हजार रुपैया स्कूललाई सहयोग गरेर फाल्टु दुईवटा कोठाहरु थपिदिएको थिएँ । जस्ले गर्दा प्रत्येक कक्षाको आ-आफ्नै कोठा भएकोमा त्यसबेलाका विद्यार्थीहरु अति प्रसन्न भएका थिए ।

आज तिनै विद्यालय बुईपाको एउटा मतदान केन्द्र हो । जहाँ कुसुङ्खा, टारी, कट्टी, लेक्पा, छिप्ती, दम्कु, फूलेली, बीचगाउँ र बरबोटको मानिसहरुले मतदान गर्दै थिए । अनि जो जो त्यहाँ मतदान गर्न आउँछन् । उनीहरु सबैजनाले मुख मीठो बनाइँ बनाइँ मासु र रक्सी पिउन कै लागि कि गिताम्पा वा सम्झनाम्पाको घरमा जानुपर्ने हुन्छ ।

सम्झनाम्पाले एक डबका जाँड एक्कै सासमा आधा बनाएपछि एमाले र माओवादीका अन्धभक्त्तहरुको गफ मज्जाले चलिरहेको थियो । तर ठीक त्यहिँ बेला घर मुनिको डिलदेखि रोजेम्पा भान्जा बिहानीको घाम झैँ टुप्लुक्कै झुल्केर घरको आँगन छेउमा आइपुग्यो । उनले त्यहाँ आउने बितिक्कै, ‘लु अहिलेसम्म सबैजना यहाँ पो रहेछन् । साइँला दाइ मासु पकाउन जाने होइन र ? अघि फोन आइसकेको छ । पाँच/पाँच वर्षमा आउने चुनाव हो, अलिक वास्ता गर्नु पर्दैन । त्यसैले अलिक फार्तिफूर्ति गर्नोस् है । टारी र कुसुङ्खाको माओवादीहरु बङ्गुर खानको लागि दाह्रा तिखारेर आउँदै छ रे । हामीले अहिलेसम्म मासु पकाउने बन्दोबस्त गरेकै छैन । आबो उनीहरु आइपुग्यो भने के दिन्छौं ? हकि होइन, माम्मै ?’ मतिर हेरेर रोजेम्पाले प्रश्न गरे ।

उनको कुरो सुनेर,’ कान्छा ! लु भो, त बिचमा धेरै नकरा । १५ सालदेखि चुनाव सुनेको मान्छे । म अझैसम्म जिउँदै छु । त्यो पछि बहुदल, निर्दल, पहेलो, नीलो र पन्चायत खै के के हो ? के के भोगेको छु, मैले । हेर केटा, त्यस्तो चुनाव आउँछ – जान्छ । कसैले केही खेस्दैन । हामी गरिबको दुःख जहिले पनि हामीसँग नै रहिरहन्छ । तँलाई प्रचन्डले भात खाने चामल दिन्छ र ? देउवाले एकछाक मासुको पैसा तिरिदिन्छ र ? ओलीले तँलाई रेल ल्याइँ दिन्छ त ? म त आसाम र नागाल्याण्ड जाँदा रेल चढेको मान्छे हुँ । बिना बिच्चमा । भो तँलाई केही थाहा छैन् ? खै त पोर परार पनि केही हुन्छ कि भनेर आफ्नो मान्छे राईलाई भोट नदिएर भट्टराईलाई दिएकै हो । केही लछारपछार लायो । अहिले को कहाँ छ, कहाँ छ ? म केही जान्दिना को,’ गिलास हातमा लिएर कमलाम्पाले उभिदै त्यतिसम्म भन्यो र एकछिन रोकियो ।

उनीहरु त्यहाँदेखि बिदा हुन खोज्दै थिए, ठीक त्यहीबेला, ‘म पनि एउटा कुरो भनौं ?’ भनेर कुर्सीदेखि उठें र कमलाम्पाको नजिक पुगेर बोलें ।

कमलाम्पाले, ‘बाबै नै हो, भुनन जे मनमा लागेको छ, त्यो भुन, कुरो त् त्यसो पो त,’ भने ।

‘सबैजनाले सुनौं हैं । किराँतीको छोराछोरीले पनि जाँडरक्सी पिएन भने मज्जाले गरिखान्छ । उदाहरणको लागि ध्यान जुवाइँलाई हेरे पुग्छ ।’ 

मैले त्यति भनि सक्ने बितिक्कै रोजेम्पाले, ‘मामुइँ ! हो है हो । एकदम सत्य भन्नु भयो । ध्यान दाइलाई केहीको दुःख छैन,’ भनेर मेरो समर्थन गरे ।

उनले त्यति बोलिसकेपछि सबैजना जराकजुरुक उठे । र, आ-आफ्नो बाटोतर्फ लागे । समय बिहानको त्यस्तै १० बज्नै लागेको हुनुपर्छ । दिन अचम्मैले खुलेर आयो । पूर्व मझुवागढीदेखि उदाएको घाम दुई टाङ्गोमाथि पुगेको थियो । निलो आकाशमा एक टुक्रा बादल देखा परेका थिएनन् । त्यति सफा मौसममा मैले निक्कै लामो समयसम्म दम्कुडाँडा जङ्गल हेरिरहें । एकोहोरो जङ्गललाई हेरिरहँदा बरु मेरो दिलमा बादल लाग्न सुरु गरेका थिएँ ।

किनभने हाम्रा धेरै आफन्तहरु कहिले नफर्कने हावा झैँ भएर तिनै जङ्गलको माटोमा सधैभरीका लागि बिलय भएका थिए । त्यस मानेमा यदि जीवन र जमिनलाई तुलना गर्ने हो भने एउटै एउटै जस्तो रहेछ भन्ने मलाई त्यसबेला अनुभूत भयो । मैले त्यहाँ अन्तिम पटक दिएका मट्टीहरु गन्ने हो भने पनि अहिले औलामा गन्न सकिदैनन् । खै किन हो किन ? मैले त्यसबेला स्वर्गमा हुनु भएका मेरो आमा र बाबु लगायत उनीहरु सबैलाई सम्झना गरेर निक्कै भावुक भएँ । तर आखिर के गर्नु र ? ‘धेरै सोच्नु पनि धेरै बेखुसी हुनु हो,’ भन्ने मलाई राम्रै ज्ञान थियो । त्यसकारण धेरै सोच्न छाडिदिएँ ।

तैपनि हाम्रा पूर्खाहरु त सधैँसधैँका लागि हामीसँग बिदा भइसक्नु भएको थियो । तर अहिले बिदा नभएका अनि चाँडो चाँडो बिदा हुनको लागि रक्सीसँग जिन्दगी साट्न खोज्ने गाउँका मानिसहरुसँग किन हो किन मलाई हल्का क्रोध उत्पन्न भइरहेको थियो । त्यसरी अल्कोहलिक भएर अल्पआयुमा जीवन सक्ने मान्छेहरुको नाम सङ्कलन गर्ने हो भने पनि मेरो गाउँकोले मात्र एक पाना कागज मज्जाले भरिन जान्छ । अब रक्सी पिएर चाँडै चाँडै यस धर्तीलाई बिदा गर्न खोज्ने मान्छेहरुको नाम पनि एक झमट स्मंरण गर्ने प्रयत्न गरें । किनभने उनीहरु पनि यो समाजको अभिन्न अङ्ग हुन् । वास्तवमा हाम्रो समाज कसरी बनेको हुन्छ ? समाज शास्त्रका ४ विचारकहरु क्रमशः अगस्ट कोम्ट, एमाइल डर्काएम, कार्ल मार्क्स र मेक्स वेबरले रक्स्याहहरुको विषयमा कतिको अध्ययन गरेका थिए होला भनेर केहीबेर मनन गरें ।

कोम्टका त्री स्तरीय नियमहरुः- तत्व दार्शनिक या अमूर्तात्मक अवस्था, विज्ञानवादी या प्रत्यक्षावस्था र धर्म शास्त्रिय या काल्पनिक अवस्था मध्य कुनै पनि नियमले मेरो भतिज र भान्जालाई नछुने रहेछ भन्ने लाग्यो । हुनत उनीहरु केवल गाउँका अति सुक्ष्म एवम् झुसेमुसे पात्रहरु मात्र हुन् । ठूल्ठूला मानिसहरुको यहाँ नाम लिँदा थोरै असहज उत्पन्न हुन्छ होला कि भनेर लिन सकिनँ । नत्रभने गाउँमा त्यस्तै त्यस्तै अरु कति धेरै छन्, छन् । बरु डर्खाएमको गहन ग्रन्थ ‘सामाजिक श्रम विभाजन’ (द सोसियल डिभिजन अफ लेबर) भन्दा सन् १८९७ मा निस्केको उनको अर्को पुस्तक आत्महत्या (द सुसाइड) ले चाहिँ रक्सीसँग साटिएको गाउँको जिन्दगीलाई निक्कै असर पारेको छ कि जस्तो लाग्छ । किनभने फल्नाको आमाले अरु केही नभएर रक्सीले मातेर आत्महत्या गरेकी रहेछिन् भनेको सुन्दा मेरो हृदय छियाछिया भएको थियो ।  

हो, त्यतिबेला पनि दिखुवा खोलामा टिम्बुरको बिष पिएको माछा झैँ उमेद रक्सीले अलिअलि रमरम भइरहेको थियो । तैपनि ऊ अघि घर आउँदा एकघना बास बोकेर आको थियो । अहिले त्यही बासको प्रयोग गरेर उनले घर नजिकै रहेको बाख्राखोर मर्मत गर्न थाल्यो । अब मेरो अन्य केही काम थिएन । त्यसैले दुवै हात कम्बरमा राखेर एकाध उनको रमिता हेरिरहेको थिएँ । तर ठीक त्यहीबेला अचानक घर भित्रदेखि, ‘भात खाने होइन ? लु खाना पस्के है,’ भन्दै तारा कराइन् ।

उनी कराएको सुनेपछि म आगोले पोले झैँ हत्तपत्त, ‘केटा ! ल खाना खान जाउँ, तेरो यो काम भोलि गर्दा पनि हुन्छ,’ भनेको के थिएँ । ऊ पनि के कमी थिए र ? ‘तपाई हिँड्दै गर्नोस्, म अहिले खान्न,’ जवाफ फर्किहाल्यो । उनको भनाइ सुनेर म सुइत्त घरभित्र पसेँ । त्यसपछि दाल, भात, भैसीको सुकुटी, गुन्द्रुक र तामाको अचारसँग मज्जाले खाना खान थालें ।  

‘जेठा ! तिमी पनि आउ न हौ, तिमीहरुले खाना खाइसकेपछि मैले नै जुठोभाँडो गर्नुपर्छ । धारामा पानी पनि आएको छ कि छैन ? कसैले हेरिदिने होइन ? मलाई पनि चुनावको रमिता हेर्न जान मन लागिरहेको छ । बिहानभरी घरि जाँड, घरि रक्सी, घरी चिया बनाउदैं हत्ते भएँ । यो काका भतिजले त मलाई गाउँमा सजाय नै दिएको छौ । के सार्हो गर्छौ हौ ?’ तारा गाउँमा पहिलो चोटी क्रोधित भइँ । उनको हृदय टुटेको चाल पाएपछि उमेद निन्याउरो अनुहार बनाउँदै घरभित्र आयो र खाना खान थपक्कै बस्यो । मेरो काका थोत्रे देशी हुन् । त्यसकारण काकीले दिएकी हुकुमबाहेक अन्य केही जान्दैनन् भनेर केटोले मलाई निक्कै हेप्ने गर्छ । म पनि थाहा नपाए झैँ गर्छु । तर नमातेको बेला काकीसगँ चाहिँ अलिअलि डराए झैँ गर्छ । तैपनि मातेको बेला त ऊ के कम हुन्थ्यो र ? केटो जङ्गलको राजा सिंह झैँ भइहाल्छ ।  

उनले खाना खादैं गर्दा, ‘काकी ! तपाईहरु भोट हाल्नु जानुहोला ? म बाख्रा गोठाला जान्छु । र, भरै बेलुकीपख भोट हाल्नु आउछु है,’ भन्यो । उनको कुरो सुनेर तारा केही बोलिनन् । बरु मैले प्रति उत्तरमा, ‘हुन्छ, हुन्छ त्यसै गरौँ न त है,’ भनें । 

बिहानीको खाना खाइसकें । त्यसपछि सर्ट र पतलुङ्गमाथि एउटा थोत्रो भोटो ओढें । एकजोर चप्पल उनिहालें र मतदानस्थल जानको लागि तयार भएँ । तर मतदानस्थल कुन बाटो जाउँ भनेर एकछिन दोधारमा परें ? दायाँ जाउँ कि बायाँको बाटो जाउँ ? दायाँको बाटो एमाले र बायाँको बाटो गठबन्धनको पार्टी चलिरहेको छ । अब अहिले जादाँ गठबन्धन र फिर्दा एमालेको पार्टीस्थल भएर झर्नु पर्यो भन्ने निर्णय गरें । त्यसपछि लम्रङलम्रङ हिडें । एक्कैछिनमा गिताम्पाको घर नजिकै पुगिहालें । त्यहाँ पुग्ने बितिक्कै मेरो नजर आँगनमा भएका दुईवटा अस्थायी चुल्होहरुमा पर्यो ।   

त्यसबेला ती चुल्होहरुमा बङ्गुरको मासु भकभक उम्लिरहेका मज्जाले रमिता हेर्न सकिन्थ्यो । अनि आँगनको पर कुनामा एउटा सानो चित्रे गोठले शीतल दिइरहेको आभास हुन्थ्यो । तिनै गोठभित्र एकचक्कर नजर डुलाउने हो भने च्यूराका केही बोराहरु परेड खेल्न फलिन भएका सिपाहीहरु जस्तै एक्कै लाइनमा बसेका देखिन्थे । अनि त्यसलाई साथ दिनको लागि सुनाखरी महिला समूह (छिप्ती) का स्टिलका थाल र बटुकाहरु मङ्सिरमा काटिएका धानका पाँजा झैँ लरर टल्किरहेका थिए ।

त्यसपछि म सुस्तरी एक दुई कदम अगाडी बढदै गएको थिएँ । तर अचानक गिताम्पा दाजैलाई देखेर, ‘नमस्ते ! दाजै,’ भन्दै टक्क रोकिएँ । दाजुसँग त्यसरी भेट हुँदा उहाँले ठूलो काँसे डबकाभरी जाँड समातिरहनु भएको थियो । तर उहाँलाई भेटने बितिक्कै, ‘अना दाजै ! भोट दिन जाने बेला भएन र ?’ मसिनो स्वरमा सोधें ।  

‘केटा ! म भैंसीलाई पानी खुलाएर आँउछु । तँ हिड्दै गर है,’ भन्नु भयो ।

उहाँले त्यसो भन्नु भएपछि ‘हस हजुर,’ भनें । तर दाजुको घरमा गठबन्धन पार्टीको पार्टी चलिरहेको थियो । बरु उहाँ चाहिँ कुन पार्टीको हुनुहुँदो रहेछन् भनेर जान्ने उग्र रहर लागेर आयो । त्यसैले, ‘खास खासमा गठबन्धनभित्र पनि तपाई कुन पार्टीमा आवद्ध हुनुहुन्छ नि ?’ भनेर सोधें ।  

‘केटा ! म त राजावादी हुँ,’ मज्जाले हासेर जवाफ फर्काउनु भयो ।

‘लौ किन र, राजावादी ?’ आश्चर्य मान्दै सोधें ।

‘पहिला भगवानको पालामा पनि राजारानी हुन्थ्यो । अब बुढेसकालमा राजारानीलाई के छोड्यौ भनेर हो ।’ उहाँले भन्नु भयो ।  

‘ल ल ठीक्कै छ नि हजुर ! जस्लाई जे मन लाग्यो त्यो नै ठीक्छ ।’ मैले उहाँको भनाइलाई समर्थन गरें ।

मानिसको दिमाग पनि अचम्मैको हुन्छ । किनभने, ‘जस्तो सोच्यो, त्यस्तै हुन्छ ।’ तैपनि दाजुले भगवानको कुरो गर्दा मलाई प्रख्यात दार्शनिक नित्सेले भनेको एउटा कुरोको त्यसबेला बेस्सरी याद आयो । मैले पोल्याण्डमा पुगेर महान खगोलविद् निकोलस कोपरनिकसले हाम्रो ब्रम्हाण्ड पृथ्वी केन्द्रित नभएर सूर्य केन्द्रित छ भनेपछि भगवानको मृत्यु भयो (द गड इज डेड) उनले भनेका चाल पाएका थिए । सायद दाजुले ईश्वरको मलामी जान नपरेर भगवानको कुरो गरेका होलान् कि भन्ने मनमनै लाग्यो । त्यसपछि दाजुसँग बिदा भएर हिडेको मिलिककै भरमा उहाँको बुहारीले, ‘आबुइ ! बाबै पो रहेछ । बाबै, यो तीनपाने रक्सी चाख्नुहोस् त,’ पहिले भनिन् । त्यसपछि हातमा समातिरहेकी ड्युको बोतलमा भएको रक्सी सारेर जब्बरजस्ती एक गिलास मेरो हातैमा थमाई दिइँ ।

‘बुहारी ! लौ यो के गरेको ? म त कहिले पनि रक्सी पिउदिन नि ।’

‘त्यही भएर त आज देको । त्यति पिउनोस् न, केही हुँदैन के ?’

उनले जब्बरजस्ती गरिन् । अनि उनको जब्बरजस्ति पनि अस्ति माथिलो टोलको बिहेमा हाम्रो जेठा दाजुको छोरी जयपुराको जस्तै थियो । बुहारीले गरेको व्यवहार देखेर तिनै छोरीको पो झझल्को आयो । छोरीले त झन, ‘अना बिना बिच्चमा किन ढर्रा पार्नु हुन्छ ? छोरीले माया गरेर पो दिएको । त्यति खानोस् ना । लाइनमा आको त सरासर खाइहाल्नु पर्छ,’ सम्म भनेकी थिइन् । तर मैले, ‘छोरी ! होइन होइन । म कहिले पनि पिउने गरेको छैन क्या,’ त्यति भनेको मात्र थिएँ ।

‘आफ्नो अगाडी परेको थपक्कै खानोस् । ठूलो मान्छे नहुनोस् । तपाईको छोराछोरी पनि हुर्किसक्यो । तपाईलाई अब के को पिर छ र ? त्यत्रो धेरै गोराको पिन्सन छ । तपाई बाचिन्जेल आइरहन्छ । कप्तान पर्शुराम दाइले त दिनमा ५/६ बोतल बियर लडाउनु हुन्छ । अनि हरेक सनिबार भूजेल्नीले एक डोको खाली बोतल ढाँडे खोलामा लगेर मिल्काइ दिन्छिन् । मेरो बाबै डरछेरुवा मान्छे । रक्सी खाएर अहिलेसम्म को मरेको छ ? मान्छे सबै काल आएर मर्छन् । रक्सी खाएर मर्नु भयो भने हाम्रो पार्टीले तपाईलाई शहिद घोषणा गरिदिन्छ । ल भयो ?’

तिनै छोरीको कुरो सम्झेर म एकछिन किंकर्तब्यबिमुढ बनिरहें । त्यसैले आगनमा बीच भागमा हल न चल भएर उभिरहेको थिएँ । त्यसपछि यसो दायाँ बायाँ हेरें । पर फूलबारी कुनामा मुसुक्क मुस्कुराउदै खार्मीले माइलाले रक्सी पिइरहेको देखें । रक्सीको गिलास त्यता देखाएर, ‘ए खार्मीले माईला ! अलिक जोस् गरौ है,’ बिस्तारै भने । उनले टाउको हल्लाएर स्वीकार जनाएँ । त्यसपछि गिलासको रक्सी उसलाई सारि दिएँ । अनि आँगन माथि कान्ले बाटो थियो । तिनै बाटो भएर सुस्तरी एक कान्ला चढिहालें । तर कान्ला चढेर माथिलो खण्ड बारीको डिलमा पुगेर एकचोटी लामो सास तान्नै पाएको थिइनँ । मोरो खार्मिले मेरो पछिपछि आएको रहेछ, ‘कान्छा राई ! भोट त म हजुरले भनेको ठाउँमा नै दिन्छु । तर मलाई यसो आराखा पिउने पैसा दिने होइन र ?’ मेरो पछाडीबाट उनको सानो स्वर आएर मेरो कानमा ठोकियो ।   

उनले रक्सी किन्ने पैसा मागेपछि, ‘खार्मीले ! होइन अहिले भर्खरसम्म रक्सी पिएको होइन र ? धेरै रक्सी खायो भने मरिन्छ हौं ? होस् गर है, पछि नयाँ कलेजो किन्नु पर्ला र ?’ उनलाई थोरै जिस्काए जस्तो गरें ।

खासमा खास उनको नाम खार्मीले होइन । तर खार्मी भन्ने गाउँदेखि उनको बाजे बराजु बसाइँ सरेर बुईपा आएको हुनाले उनलाई खार्मीले भनेर चिनिन्थ्यो । तिनै खार्मीले दमाई पनि के कमको थिए र ? ‘के मरिन्थ्यो हजुर । मर्ने भए उमेद उहिले नै मर्नु पर्थ्यो । उनले त झन दम्कु खोलाको पानी बराबर रक्सी पिउँछ । तैपनि उनी केही भाको छैन् । रक्सी पिउने मर्ने र नपिउने बाँच्ने भन्ने कुरै हुँदैन । मर्नु र बाँच्नु त भगवानको कृपा हो । अनि मान्छेको दिनको कुरो हो, हजुर । अझै आज त झन चुनावको दिन पनि हो । दम्कुबाट छिप्ती आको मान्छे, म । कमसेकम नमाति के घर फिर्नु हैं । त्यसैले नरेसेम्माको घरमा गएर एक बोतल नखाइ के घर फर्किन्थे ? अनि के यसो र उसो भन्नु हुन्छ हौ गाँठे, त्यति लामो समयपछि लाहुरबाट आएर पनि । हामी जस्तो दुःखीलाई हेर्नु पर्दैन र ?’  

उनको कुरो सुनेपछि, ‘आ मरोस् है । यस गाँउमा कसैलाई बोलाइँ सक्नु छैन गाठेँ,’ मनमनै भनें । हुनत अस्तिको दिन सम्झनाम्पाको घरमा, ‘म रक्सी पिउदिनँ नातिमा । किनभने मसँग पैसा छैन,’ भन्दाखेरि उनकी सात वर्षे छोरीले त, ‘लाहुरे बाजेसँग पैसा नभएर कोसँग हुन्छ ? हामीसँग हुन्छ र ?’ भनेकी सुन्दा अवाक बनेको थिएँ । अब झन् खार्मिलेसँग गलबाजी गरेर मैले के जित्न सक्थे र ? जित्न सक्दै सक्दिन भन्ने लाग्यो । त्यसपछि गोजीबाट थपक्कै पाँचसय रुपैया निकालेर उनको हातमा थमाइँ दिएँ । अनि म अघिअघि र उ मेरो पछिपछि सँगसँगै हिडेर डाँडाघरसम्म निस्क्यौं ।

डाँडाघर मेरो साईला दाजुको जेठा छोरोको घर हो । उनको जेठी छोरीको नाम असिम हो । त्यसैले उनलाई असिमेम्पा भन्ने गरिन्छ । करिब ५-७ वर्षदेखि यता असिमेम्पाले त्यहाँ एउटा चिट्टिक्कको बङ्गला घर बनाएर परिवारसँग मज्जाले बसेका छन् । गाउँका सबै मानिसहरुले त्यस घरलाई साह्रै उदाहरणीय घर भन्ने गरेका छन् । असिमेम्पाले उनको जिन्दगी जिउने क्रममा लगभग ३०-३२ वर्ष जति समय जिल्ला सदरमुकामको हाइ स्कूलमा हेडमास्टर गरेर बिताएका थिए । अझै सदरमुकामको हाइ स्कूलमा मात्र नभएर उनी दिक्त्तेल क्याम्पसमा पनि राजनीति शास्त्रका प्रख्यात गुरु थिए । त्यसपछि सेवा निवृत्त भएर उनी अहिले नेपाली काङ्ग्रेसमा लगनका साथ काम गर्ने सकृय राजनीतिमा लागेका छन् । उनले राजनीति शास्त्रमा मास्टर डिग्री मात्र होइन । समयको सदुपयोग गर्ने क्रममा प्रशस्त अध्ययन गरेकै कारण धेरै जिल्लावासीहरुले उनलाई खोटाङ्का प्रदिप गिरी जतिकै हुन भन्ने गर्दछन् ।  

हामी उनको घर पुग्दा बुहारीसँग आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नको लागि उनी दिक्त्तेल मतदानकेन्द्र जानै लागेको रहेछन् । लामो समयसम्म दिक्त्तेलमा बसेको हुनाले उनीहरुको मतदान केन्द्र पनि सोही स्थानमा थियो । तैपनि अटो पर्खेर बसेको हुनाले हामी त्यसदिन हुन गइरहेको मतदानको विषयमा थोरैबेर केन्द्रित भएका थियौं । नत्रभने हाम्रो गफ होमरको पुस्तक ‘ओडेसी’ देखि सुरु गरेर प्लेटोको ‘रिपब्लिक’, म्याकाभेलीको ‘द प्रिन्स’, हब्सको ‘लिबियाथान’ जर्ज ओरेलको ‘एनिमल फार्म’ गोर्कीको ‘मदर’ मार्क्सको ‘दास क्यापिटल’ स्मिथको ‘वेल्थ अफ नेसन’ मात्र नभएर माओको ‘लिटिल रेड बुक’ हुँदै फ्रान्सिस फुकुयामाको ‘इन्ड अफ हिस्टोरी’ सम्म पुगेर हाम्रो ‘हिस्टोरी’ समाप्त गर्ने गर्दथ्यौं ।    

अझै मैले उनलाई के कहानी सुनाउँथे भने, ‘म अमेरिकन र चिनियाँ राष्ट्रपति मात्र होइन भारतीय र बेलायती प्रधानमन्त्री चुनिने तरिकादेखि पनि पटक्कै खुसी छैन । त्यसको सट्टामा सुक्रोटिसको विचारलाई आधार मानेर मतदान प्रकृया अगाडी बढ्नु पर्छ । किनभने चुनावमा मतदान गर्न पनि एउटा “सीप” जस्तै हो । अनियमित अन्तर्ज्ञान हुँदै होइन,’ भन्थे । त्यसैले मानिसले सिकेको अन्य कुनै ज्ञान वा सीप जस्तै मतदान गर्न पनि सिकाउन आवश्यक छ । उनले, ‘सीप बिनाको मानिसलाई मतदान गर्न दिनु भनेको आँधीबेरीमा नजान्नेलाई पानीजहाज (क्रुज) को कप्तान बनाउनु जतिक्कै जोखिम हुन्छ,’ भनेका थिए । मेरा पाठकहरुलाई स्मंरण रहोस्, मैले विश्व भ्रमणको क्रममा १२ पटक ठूल्ठूलो पानीजहाज क्रुजको यात्रा गरिसकेको छु । त्यसैले राम्रो नेता छानियो भने सबैको लागि राम्रो हुन्छ । तर मुर्खहरुको जमातले छानेको नेता मुर्ख पनि हुन सक्छन् । सधैँसधैँ मुर्ख मानिस नेता छानियो भने अहिलेको जस्तै नियति नेपालमा निक्कै धेरै लामो समयसम्म भोगिरहनुपर्छ भनें ।

हाम्रो राजनैतिक विचारको चिन्तन त्यतिले मात्र के बिट मर्थ्यो र ? तर पहाडे कच्ची सडकमा घन्द्रङ घन्द्रङ आवाज निकाल्दै चालक कबित (उमेदको सहोदर भाइ) अटो लिएर सडकमा आएको उनको घरैबाट सुनियो । त्यसपछि आगनको छेउदेखि नै, ‘कान्छा ! आइ पुगिस् ?’ असिमको बाबुले भन्यो । र, उनीहरु दुईजना बुहारीसँग दिक्त्तेलतिर लागे । त्यसपछि म एक्लै भए । त्यसैले गोरेटो बाटोमा दुई-चार कदम हिंडेर उनको घरदेखि मूल सडकमा निस्कें ।

त्यो मूल सडक आजभन्दा करिब १५-१६ वर्ष अगाडी खनिएको थियो । तैपनि अहिलेसम्म सडकमा एकथोपो अलकत्र परेका छैनन् । कहिले पर्छन् त्यो त जो जो यातायात मन्त्री हुन्छन् । केवल तिनलाई मात्र थाहा हुन्छ होला ? यद्यपि त्यो सडकले बिजुले भन्ज्याङदेखि खोटाङ्गको सदरमुकाम दिक्त्तेललाई मज्जाले जोडेको छ । तर सडकले अलकत्र मात्र होइन । अहिलेसम्म नाम नपाएर त्यो सडक बेनामे सडक बनेको छ । सडक त्यसरी बेनामे हुनको मूख्य कारण भनेको त्यस क्षेत्रका किराँतीहरु त्यति धेरै प्रख्यात नभएर नै हो भन्ने मेरो ठम्याइ छ । अब मानिस प्रख्यात हुनको लागि कि धेरै लेखेपढेका, कि राजनीतिमा प्रसिध्दी कमाएका वा साहित्यिक क्षेत्रमा अगाडि बढेकाहरु हुनु पर्यो । ती उपलब्धिहरु त्यस क्षेत्रमा मानिसहरुले पटक्कै पाएका छैनन् ।

मेरो विचारमा त्यसो नहुनुको मुख्य कारणहरु दुई वटा छन् । पहिलो मुख्य कारण भनेको तिनै रक्सी नै हो । किनभने त्यस क्षेत्र किराँतीहरुको उद्गम भूमी हो । अब किराँतीहरु भनेपछि उनीहरुको संस्कृतिमा जन्मेदेखि मरेसम्म रक्सीको नै आवश्यकता पर्छ । अब धेरै रक्सी पिएपछि त्यसको नतिजा के आउँछ होला ? त्यो एक्काइसौ शताब्दीका हरेक मानवलाई ज्ञान भएकै कुरो हो । अर्को कारण भनेको चाहिँ बिर्ता हो । किनभने त्यस क्षेत्र वरिपरि बस्ने किराँतीहरुले इतिहासको निक्कै लामो कालखण्डसम्म खार्पाली पोखरेलहरुको बिर्ताको मार सहनु पर्यो । तर तिनै खार्पाली पोखरेलहरु चाहिँ देश विदेशमा अध्ययन गरेर देशको मन्त्री, सचिव र सैनिक वा प्रहरी सेवामा जनरलहरुसम्म भए । अकुत सम्पति जोडे र राजधानीतिर बसाइँ सरे ।   

अब आफ्नै भूमिमा बिर्ताका रैती भएकाहरुलाई चाहिँ, ‘पढि गुनि के काम, हलो जोती माम,’ भनेर कण्ठस्थ गर्न लगाइएका थिए । तिनै कुरो जिन्दगीमा घरिघरि स्मृतिमा आउँदा मलाई दक्षिण अफ्रिकन धार्मिक गुरु आर्कविसप डजमन्ड टुटुको एउटा भनाइले मस्तिष्कघात नै बनाउन खोज्छ र दिमाग उट्पट्याङ भइरहन्छ । उनले ‘मिसिनरीहरु अफ्रिका आउँदा हातमा बाइबल लिएर आए । त्यसबेला हामीसँग जमिन थियो । उनीहरुले प्रार्थना गरौं भने त्यसपछि हामीले आँखा चिम्ल्यौं । जब हामीले आखा खोल्यौं । त्यसबेला हाम्रो हातमा बाइबल र उनीहरुसँग जमिन भए ।’ ठ्याक्कै त्यस्तै हरिशरण पोखरेलहरु ठेलीका ठेली रामायण र महाभारतको पुस्तकहरु लिएर खार्पामा आए । कानुन हातमा लिएर किराँतीहरुलाई जब्बरजस्ती हिन्दु बनाए र दशैं मान्न लगाए । त्यतिले मात्र उनीहरु के खुसी हुन्थे र ? तिनै अफ्रिकाको घटना दोश्रोपटक बुईपामा दोहर्याए । त्यसपछि उनीहरुले देखेको जति र टेकेको जति सबै बिर्ता बनाउन सफल भए । 

एक पटक पुनः तिनै अफ्रिकाकै प्रसङ्ग कोट्याउँ । त्यहाँ एक प्रकारको जङ्गली जनावार पाइन्छ । मानिसहरु त्यस जनावरलाई ‘हाइना’ भनेर चिन्ने गरेका छन् । हाइनाहरु मिलिजुली एकढिक्का भएर सिकार गर्न ज्यादै चलाख हुन्छन् । त्यसैले आफू सानो भएतापनि ठूल्ठूला जनावरहरुको सजिलै सिकार गर्न सक्छन् । तिनै हाइनाभन्दा अझै बढी चतुर खार्पाली पोखरेलहरुकै कुरो सुनेर सबै किरातीहरु अहिलेसम्म खेती किसानमा मात्र सीमित भइरहे । अब पढ्ने अवसर नै नपाएपछि मानिस कसरी ठूलो हुन्छ र ? त्यसैले त्यस क्षेत्रमा ठूलो मानिस नै नभएपछि सडकको नाम के राख्ने भन्ने समस्या खड्केर आएको छ । तर त्यो भन्दा बढी शब्द खर्च गरेर नलेखि हालौं होला ? नत्रभने जातिवादी उपनामले सुशोभित हुने सम्भावना हुन्छ । तर एउटा कुरो के स्पष्ट बनाउन चाहन्छु भने म जातिवादी नभएर मानवतावादी चाहिँ निश्चय नै हुँ ।

अ….मूल सडक छाडेर एक-दुई खुट्किला उकाली चढेको मात्र के थिएँ एउटा बुढो पीपलको रुख नजिकै पुगिहालें । आधा शताब्दी पहिलेदेखि त्यो पीपललाई मैले जहाँको त्यही खडा भएर रहेको देखेको छु । तर पहिले त्यस पीपलको रुखलाई हाङ्गा बिङ्गाले राम्ररी सुहाएको देखिन्थ्यो । अहिले सबै हाङ्गा बिङ्गा काटिएर झन् सतुङ्गे भएको रहेछ । तिनै पीपलको फेदमा पुग्ने बितिक्कै टारीखोला पारी लेक्पा गाउँका भुपराज काका र सुर्जबाजेसँग मेरो अचानक भेट भइहाल्यो ।

उहाँहरुसँग भेट हुने बितिक्कै, ‘भतिज ! एकछिन एकान्त जाउँ न ?’ सानो स्वरमा काकाले भन्नु भयो ।

‘काका ! नमस्ते हजुर, म मात्र त छु । के धनसेरिम्पा एकान्त जाने र ? यो पनि एकान्त जस्तै त हो नि ? के छ हजुर भन्नोस् न ?’  

‘हामी दुईजना छौ । नरेसेम्माकोमा दुईसेर रक्सी किनि खानु पर्यो । यसो पानसय दिनोस् त ।’

‘अनि भोट दिइसक्नु भो र ?’

‘दिएको छैन, आ…जाबो भोट भरैभरै दिन्छु ।’

‘भरै त रक्सी खाएपछि माति हाल्नु हुन्छ नि ?’

‘त्यस्तो मुला भोट । मातियो भने मेरो नाममा अर्कोलाई हाल्न लगाइ हाल्छु नि । के फिकर गर्नु हुन्छ ?’

‘काका ! त्यसरी त भोटको दुरुपयोग भइहाल्छ नि हजुर,’ भनें । तैपनि, ‘ल ल ठीक्छ, हजुर ।’ रक्सी किन्ने अनुरोधलाई स्वीकार गरेर भोटोको बगलीदेखि पाँचसय रुपैया निकालेर दिएँ । त्यसपछि काका र बाजेलाई पीपलको रुख छेउमा छाडिराखेँ । हुनत पैसा दिएपछि यो लेक्पालीहरुलाई जिन्दगीभरि कति पैसा दिनु है भन्ने मनमनमा सोचें । तर के गर्ने र ? उहाँहरुलाई त्यति धेरै दुर्व्यवहार पनि गर्न सक्त्तिनथे । किनभने मेरो जीवन सङ्गिनी पनि लेक्पा भन्ने गाउँकी नै थिइन् । त्यसैले लेक्पाको विषयमा यसो तलमाथि कुरो पर्यो भने घरमा परालको आगो बलिहाल्थ्यो । बरु ‘पैसा दिऔं, आगो नबालौं’ भन्ने विचार लिन्थें ।   

त्यसपछि म सुस्तरी ठाडो गल्लीको बाटो हुँदै उकाली चढ्न थालें । हरेक वर्ष नजिकैको पाखोबारीहरुमा खेती गर्दा निस्केका ढुङ्गाहरु तिनै गल्लीमा बग्रेल्ती मिल्काइने गरिन्छन् । तिनै बर्कौले ढुंगाहरु गन्दै गन्दै केहीबेर अगाडी बढिरहें । एकछिनपछि स्कूल भवनको नजिकै पुगें । त्यहाँ पुग्ने बितिक्कै हुलका हुल मानिसहरु मतदान गर्नको लागि कमिलाको ताति झैँ लामवद्ध भइरहेको देखें । हुनत विगत ३८ वर्षदेखि यता म गाउँघरलाई चटक्कै माया मारेर फिरङ्गी जीवन बिताइरहेको छु । जसले गर्दा मैले त्यहाँ मतदानका लागि उपस्थित भएका कतिपय मानिसहरुलाई मज्जाले चिन्न सक्त्तै सकिनँ । ज-जसलाई चिनें, उहाँहरुसँग हल्का भलाकुसारी भयो ।   

एकछिनपछि म अलिक मास्तिर हिँड्दै गएँ । उभिँदा उभिँदा हल्का थकान महसुस भएको थियो । त्यसपछि गल्लीको छेउमा एउटा ठूलो ढुङ्गा देखें । आ…कति उभिनु हौं ? भनेर तिनै ढुङ्गामाथि टुक्रुकै बसिहालें । म त्यहाँ निस्फिक्रीसँग एक्लै बसिरहेको थिएँ । मलाई देखेर पिके मेरो नजिकै आइपुग्यो । हामी दुईजना सानोमा सँगसँगै हुर्केका हौं । अझै उनी मेरो समकालिन मित्र मात्र नभएर मेरी ठूली दिदीकी कान्छो छोरो पनि हुन् । त्यसैले उनी मेरो सहोदर भान्जा । हामी सँगसँगै हुर्केतापनि जुङ्गामा रेखी आएपछि म विदेशतिर लागेको थिएँ । तर मेरो भान्जाले ३५-४० वर्ष यता स्वदेशमा नै राजनैतिक सेवा प्रदान गरिरहे र क्रमशः गरिरहेकै छन् ।   

त्यति लामो समयसम्म जिल्लामा राजनीति गरेर प्रख्यात भएका मेरो भान्जाले जिल्लाको ‍हरेक घरगाउँ पुगेका छन् । र, जनताको सुख दुःखमा साथी बनेका छन् । जस्ले गर्दा जिल्लाका किसान र ब्यापारीहरुले मात्र नभएर धोबी हजामले उनलाई चिन्छन् । म जिल्ला सदरमुकाममा पुगेर नयाँ मानिसहरुसँग आफ्नो परिचय दिनु परेको खण्डमा ‘म पिकेको साख्खै मामा हुँ । अनि मेरो घर पनि बुईपा हो । त्यसैले म पनि कहाँको मामुली मान्छे हुँ र ?’ भनेर धमास पिट्ने गर्दछु ।  

मेरो कान्छो भान्जा त्यति प्रख्यात भएकै कारण हजारौँ हजार वर्षमा (नेताहरुले भन्थे) आउने नेपालको संविधान सभाका चुनावमा एमालेबाट प्रत्यक्षतर्फ सांसद सदस्य जितेर यस देशको संविधान पनि लेखेका छन् । जिल्लाको राजनीतिमा ‘क’ अक्षरदेखि ‘ज्ञ’ सम्म अनुभव बटुलेका मेरो भान्जालाई मैले भेट्ने बितिक्कै,-

‘होइनौ भान्जा ! यो भक्कु मादक पदार्थ सेवन गरेका मानिसहरुले के सही नै भोट दिन्छन् त ? उनीहरुलाई भोट दिनु भन्दा अगाडी नखानु र भोट दिइसकेपछि मात्र खानु भनेर हामीले सम्झाउन सकिन्न र ?’ भन्दै प्रश्न गरें ।

उनले मेरो प्रश्न सुन्ने बितिक्कै प्रतिउत्तरमा, ‘मामा ! लोकतन्त्रमा उनीहरुलाई कहाँ सम्झाउन सकिन्छ, हजुर । हाम्रो एउटा संसार छ । र, मात्नेहरुको लागि अर्कै संसार छ । अझै उनीहरु मातेपछि गएर खेतको आलीलाई मज्जाले तकिया मानेर बङ्लङ्गै उतानो परेर सुत्छन् । त्यसपछि उनीहरुलाई केही चाहिँदैन । त्यसैले हामी कहाँ सम्झाउन सक्छौ र ? उल्टै जाइ पो लाग्न सक्छन् ।’ त्यति भनिसकेपछि उनी जहाँदेखि आएका थिए, उतैतिर गए ।

तर उनको भनाइ सुनेपछि, ‘एउटा राजनीतिज्ञले मानिसहरुलाई दुई वर्गमा विभाजन गर्छ, औजार र दुश्मन (टुल्स एन्ड इनेमी),’ भन्ने पूर्वी जर्मनीमा पुगेर फ्रेडरिक नित्सेको भनाइ पढेको थिएँ । तर मेरो राजनीतिज्ञ भान्जाले, ‘मादक पदार्थ सेवन गर्ने र नगर्नेहरुको आ-आफ्नै संसार हुन्छन्,’ भनेको सुन्दा त्यो मेरो लागि बिलकुल नौलो विषय भएको थियो ।   

उनी गएपछि म निक्कैबेर त्यहाँ एक्लै बसिरहें । एकछिनपछि मानिसहरुको हुल बढ्दै गयो । त्यसपछि गल्लीमा बसीबसी कैयन चिनेजानेको मान्छेहरुसँग अभिवादन साटासाट भयो । लामो समयको अन्तरालपश्चात चिनेका मानिसहरुसँग त्यसरी भेटघाट हुँदा आनन्द पनि आयो । मैले त्यहाँ मातेका मानिसहरु बाहेक शारिरीक अस्वस्थ भएका मानिसहरु पनि मतदानको लागि उपस्थित भएका देखें । मातेका मानिसहरु बाहेक आँखा नदेख्ने बुढापाकाहरु, मस्तिष्क पक्षघात भएकाहरु, डिमेन्सिया लागेकाहरु सबै सबैको त्यहाँ उपस्थिति देखियो । जस्ले मलाई के प्रश्न खडा गर्यो भने,-

‘के दिमाग बिग्रेका मतदाताहरुले पनि सही मतदान गर्न सक्छन् ? वा उनीहरुको सट्टामा अरुले मत दिँदा के मतको सही सदुपयोग हुन सक्छ र ?’  

यिनै नाजवाफ प्रश्नहरु मेरो दिमागमा निक्कैबेर घुमिरहेको थियो । तर त्यहाँ उपस्थित भएका सबै मानिसहरुलाई नजर लगाउने हो भने सबैभन्दा बढी फार्तीफूर्ति शुभनको थियो । लगभग ४०-४२ वर्षको उमेरसम्म नेपाली काङ्ग्रेसमा जिल्लाको राजनीति गरेका र अहिले कम्युनिष्ट भएर एमालेमा प्रबेश गरेका शुभन र छिप्ती एक अर्कामा पर्यायबाची शब्द जस्तै हुन् । यदि उनी गाउँमा नबस्ने हो भने त्यहाँ हुने न्वारान, छेंवर, पास्नी, उधौंली, उभौंली, बिहे र किरियाको कुनैपनि कार्यक्रम सफल हुँदैनन् भन्ने मलाई लाग्छ ।

अरु त परै जावस् । सम्झनाम्पाको घरमा भइरहेको एमालेको आजको कार्यक्रमको मुख्य आयोजक पनि उनी नै हुन् । लेक्पा, टारी, कट्टी र फूलेलीमा हुने विभिन्न कार्यक्रमहरुको बेला मसिनो सालको पातले सिलाएको तैपनि छिद्रै छिद्र भएको दुनामा ३-४ टुक्रा मासु बाँडेको देखेर ओइँतुङ्ग भेलामा, ‘साथी हो । छिप्तीको कार्यक्रम हो । अरु ठाउँ जस्तो हुँदै होइन । छिप्ती जिल्लाको नमुना गाउँ हो । त्यसैले आँखा चिम्लेर मासु डबकामा ड्याम ड्याम बाड्नु पर्छ है,’ भनेर उनले उर्दी लगाउदा गर्वले मेरो छाती फुलेर आएको थियो ।   

‘धान, मकै र कोदोखेतीले मात्र किराँतीहरुको भविष्य छैन्,’ भनेर मौसमी फलफूल खेतीतर्फ उन्मुख गराउने ऊ नै गाउँको पहिलो उदाहरण हो । तर खेतिपातीबाहेक उनले व्यापारमा हात लगाउँदा चाहिँ मोरोले ठ्याक्कै उल्टो काम गरेको छ कि के हो भन्ने मेरो मनमा लागिरहेको थियो । किनभने बुईपाका नेवारहरुले बुईपा, पन्चरबाटो, दिक्त्तेल र गाईघाट हुँदै काठमाण्डौसम्म व्यापार बढाएर लैजाँदा उसले काठमाण्डौमा पहिले होटलहरु खोले । त्यसपछि ब्यापारलाई क्रमशः घटाउँदै घटाउँदै छिप्तीमा आँउदा भुलटुङ्गे दोकान ल्याइपुर्याएको छ । अनि उसको दोकानमा मुख्य बिक्री हुने चिज भनेको मलाई मन नपर्ने तिनै रक्सी नै हो । तर मलाई मन नपरेर के गर्ने र ? म बाहेक गाउँका अरु सबै मान्छेहरुलाई भित्री दिलदेखि खोया बिर्के नै मन पर्छ ।

पहिले पहिले जहिले पनि पैसाको आवश्यक मात्र परिरहने शुभनले रक्सीबाहेक दाल, चामल, घ्यू, बिस्कुट, चिउरा र मरमसला बेच्न थालेपछि आजभोली ऋण खोज्न छोडेको छ । त्यो बाहेक निबुवा, कागती, खुर्सानी, गोलभेडा, अण्डा, कुखुरा, सुङ्गुर, राँगा जेपनि बेच्न ऊ तयार हुन्छ । ती सामानहरु बाहेक एउटा ठूलो सुङ्गुरको वीर पालेर वीर्यको मोल ‘बालगिरी’ भनेर उठाउन पनि छाड्दै छाड्दैनन् । त्यसैले समग्रमा ऊ जे पनि बेच्नको लागि तयार हुन्छ । जस्ले गर्दा आजभोलि उसलाई ऋण खोज्न आबश्यक पर्दै पर्दैन । बरु हरेक बिहान बेलुकी पैसाले शुभन खोज्दै खोज्दै उनको घरमा आफैं बास बस्ने गरि आउन थालेको छ ।   

दालङ्गे टोलको सडक किनारमा उनको एउटा सानो दुईतले घर छ । तिनै घरको मुनी तलामा धान, मकै, कोदो र गहुँ पिस्ने एउटा मिल अनि त्यसको ठीकमाथि एउटा सुत्ने कोठा छ । त्यस घरलाई उसको पार्टी नेकपा – एमालेका अध्यक्ष केपी बाले देखेको भए हिन्दीमा, ‘निचे दोकान, उपर मकान,’ रहेछ भनेर उखान टुक्का लगाउँथे होला ।

तर ‘बा’ अहिलेसम्म किराँत भूमीमा पाइला टेकिहाल्ने जमर्को गरिहालेका छैनन् । आखिर बा होस्, वा छोरा होस् । जस्ले जे सुकै भनेता पनि मेरो गाउँमा हुने हरेक सामाजिक कार्यको लागि कि ऊ वा उसको श्रीमती छैन् भने कसैको जुङ्गा हल्लिने वाला छैनन् । त्यसैले ऊ समाजको लागि एकदम असल मान्छे हो भन्नुमा कसैले कन्जुस्याइँ गर्न मिल्दैन । तर उनी असल मान्छे मात्र नभएर अलिक पाको मान्छे पनि हुन् । हुनत जति पाको भएतापनि साइनोमा हारेको मेरो नातीले जतिसुकै राम्रो काम गरेतापनि उनलाई नराम्रो मान्छे भन्ने मानिसहरु पनि मैले गाउँमा ओइरो भेटेको थिएँ ।   

मेरो नयनहरु शुभनदेखि सुस्तरी बिलय हुँदै गर्दा समयले मध्यान्हको प्रहर पार गरिसकेको थियो । त्यसबेला मतदान स्थलमा अचानक निक्कै ठूलो पानी पर्यो । त्यति ठूलो पानी पर्नाले मानिसहरु तितरबितर भएर आ-आफू ओत खोज्नको लागि छरपष्ट भएका थिए । म चाहिँ मतदान अधिकृत र उनका कर्मचारीहरुले अब के गर्छन् होला । अनि उनीहरुले सुरक्षा सम्बन्धि बैकल्पिक योजनाहरु के कस्ता बनाएका छन् होला भनेर चिलाउनेको फेदमा ओत लागेर निक्कैबेर रमिता हेरिरहें ।

म त्यहाँ एक्लै भएपनि अन्य मानिसहरु पानीले गर्दा स्कूलको छानोमुनि ओत लागिरहेका थिए । उनीहरु केहीबेर अगाडीसम्म फरक फरक पार्टीका भएकाले फाल्टै फाल्टै ठाउँमा गुज्जुमज्जु भएर बसिरहेका देखिन्थे । तर अचानक परेको पानीले गर्दा उनीहरुको विचारहरु भताभुङ्ग भए । अनि स्कूलको छानोमुनी सबै एक्कै ठाउँमा गएर मिलिमिलि उभिँदा मलाई निक्कै खुशी लाग्यो । किनभने आखिर चुनाव त प्रकृया न हो । त्यो सधैंभरी आइरहन्छ र गइरहन्छ । यसलाई ठूलो कुरो मान्न हुँदै हुँदैन । किनभने गाउँघरको मानिसहरु सधैँ एउटै समाजमा बस्नुपर्छ । त्यसैले एक आपसमा झगडा गर्नुको सट्टा मिलेर बस्नु नै सबैभन्दा उत्तम हुन्छ भन्ने मलाई लागिरहेको थियो ।   

एकघण्टा जति पानी परेर रहेपछि पुनः मानिसहरु मतदानस्थल नजिक जम्मा हुन थालेका थिए । मैले गल्लीमा बसेर निक्कै लामो समय व्यतित गरेपछि स्कूलको माथिल्लो खन्ड निस्केँ । जहाँ मझौला साइजको एउटा चौतारी रहेको छ । र, चौतारीको बीच भागमा एउटा प्रतिमा छ । त्यो प्रतिमा तिनै स्कूलमा निक्कै लामो समयसम्म मास्टरी पेसा गरेका सिरेम्पा सरको हो । उनको प्रतिमा उनको मृत्युपश्चात् उनकी बैनी प्रतापेम्माले दाजुप्रतिको अगाध स्नेह देखाउँदै बनाइ दिएकी थिइन् ।

म तिनै प्रतिमाको छेउमा बसेर सिरेम्पालाई निक्कैबेर सम्झिरहें । किनभने सिरेम्पा मेरो छिमेकी सम्झनाम्पाको बाबु हुन् । उनको भौतिक शरिर यस धर्तीमा नरहेता पनि आफ्नो बच्चाहरुलाई माया गर्दा होस वा गाली गर्दा प्रयोग गरेका शब्दहरु यतिन्जेलसम्म मेरो कानमा गुन्जिरहेकै छन् । उनको प्रतिमा जस्तै एथेन्समा पुगेर सुक्रोटिस, प्लेटो, अरिस्टोटल र अलेक्जान्डर महानको प्रतिमाहरु हेरेको त्यसबेला मैले झल्याँस्स स्मरण गरें ।

विश्वको सबैभन्दा पुरानो सहर एथेन्सको बीच भागमा एउटा सानो टापु रहेको छ । जुन टापुलाई आक्रापोलिस टापु भनेर मानिसहरुले चिन्ने गरेका छन् । तिनै टापुको नजिकै लगभग २ हजार वर्ष पहिले, ‘जनताद्वारा शासन,’ भनेर २० वर्षभन्दा माथिका छोरा मानिसहरुको उपस्थितिमा हात उठाएर मतदान गर्न पाउने सबैभन्दा पहिलो प्रजातान्त्रिक अभ्यास सुरु गरिएको थियो ।

‘एथेनियन डेमोक्रेसी’ को त्यो अभ्यास नै विश्वको सबैभन्दा पहिलो डेमोक्रेसी थियो । त्यसैले तिनै पवित्र स्थानमा विश्वको चर्चित नेताहरु थ्याचर, ओबामा र सि जिन पिङहरु पनि त्यहाँ पुगेका छन् । हुनत म बन्दुकको सिपाही हुँ । राजनीति शास्त्रको विधार्थी त होइन । तैपनि रहरे भएको हुनाले त्यहाँ पटक पटक पुगेको छु । तर म सँगसँगै हुर्केका राजनीतिकर्मीहरु जस्तैः- मेरो भान्जा पिके र भतिज असिमेम्पालाई पनि त्यहाँ पुगेर केही राजनैतिक ज्ञान सिक्नु है भनेर सल्लाह दिने गरेको छु ।

म त्यसबेलासम्म चौतारीमा एक्लै बसिरहेको थिएँ । र, एथेनियन डेमोक्रेसीलाई मन्त्रमुग्ध भएर सोचिरहेको थिएँ । म त्यसरी एक्लै घोरिरहेको बेला अचानक मेरो छेउमा धनिराम आइपुग्यो । अनि ऊ त्यहाँ आएर, ‘बाबै,’ भन्दा म झसङ्ग झस्कँदै, ‘हना के भन्छस्, माईला ?’ भनें ।

‘होइनौं ! यो उमेदलाई भोट दिनु दिउँ कि नदिउँ हौं ?’

‘अना किन र ?’

‘हेर्नोस् न उसले भोटिङ कार्ड पनि बनाएको छैन रहेछ । नागरिकता चाहिँ उहिले नै हराइसकेको रहेछ । अनि तपाईलाई थाछ उसले के गर्यो ?’

‘माईला ! के गर्यो र ?’

’१५-१६ वर्ष अगाडी अरब जाँदाको पासपोर्टको प्रतिलिपि पो देखाउँदै थियो । त्यो पनि एउटै अक्षर नचिनिने । फेरि यो कस्तो खाल्को मान्छे छ भने नमातेको बेला एमाले हुन्छ । अनि मातेको बेला माओवादी भइहाल्छ । मलाई कुनै शँका छैन, बिहान भए यस्ले एमालेलाई भोट हाल्थ्यो । अब अहिले हाल्दै हाल्दैन । केटा बिहान बाख्रा गोठाला गाको रहेछ । गोठाला जाँदा तल ब्याँसीटोलतिर खायो होला ? त्यस्तो त छ । अब यस्लाई सबैभन्दा अन्तिममा भोट दिन लाउनु पर्छ । र, यसको लागि सजाय पनि त्यति नै हो ।’

त्यति भनि सकेर ऊ पनि मदेखि बिदा भएर गयो । तर एक्कै दिनमा दुई-दुईवटा पार्टीलाई मन पराउने मेरो भतिज उमेदको राजनीति विचार सुनेर म पागल झैँ एक्लै फ्यास्सै हाँसे । हुनत उमेदले मैंचुङटोल, गैंराटोल, डाँडाटोल, हलेसेंटोल, ब्याँसीटोल मात्र नभएर जैसीगाउँ पनि पूरै खाइसकेको छ । मैले वर्षौ वर्षदेखि, ‘भो ! केटा रक्सी छाड्दे । यस्ले तँलाई फाइदा गरेन । तेरो सबै जिउ जीर्ण जीर्ण बनाइ सकिस् । अब मर्न मात्र बाँकी रहिस्,’ भन्दा खेरी, ‘काका ! म मर्न सक्छु, तर रक्सी छाडन सक्त्तिनँ,’ भनेको दोहर्याइँ तेहर्याइँ सम्झिरहें ।

मलाई त्यसबेला मानिसको सोच्ने दिमाग पनि कस्तो कस्तो प्रकारको हुन्छ होला भन्ने लागिरहेको थियो । मैले त्यसबेला स्कटिस दार्शनिक डेभिड ह्युमलाई सम्झें । उनले साधरणतय मानिसका धारणा (परसेप्सन) लाई प्रभाव (इम्प्रेसन) र उपाय (आइडिय) दुई भागमा विभाजन गरेका थिए । मैले ह्युमको दुइटै नियम जोडेर यो उमेदलाई रक्सी पिउन परेको प्रभावलाई निस्तेज गर्न सयकडौं उपाय लगाउँदा पनि बिफल भएको थिएँ । तर मैले रक्सी छाडेको दुई दशक भइसकेको थियो । त्यसैले घरिघरि गाउँ गएको बेला ऊ पनि म जस्तै बनोस् भनेर झन् अनेकन प्रयत्नहरु गर्थे । तर पटकपटक बिफल भएको थिएँ । बरु, ‘मुर्खलाई सिकायो भने आफू पनि मुर्ख भइन्छ,’ भन्ने उक्त्तिलाई शिरोपर गरेर आजभोली केही भन्न छाडेको छु । र, उनको अन्तिम बिदाइको लागि तयार भएर बसेको छु । 

मेरो भतिजको विषयमा सोच्न छाडेर त्यसपछि पुनः मतदाताहरुलाई हेर्न थालेको थिएँ । मतदानस्थल अगाडीको गल्लीमा ओराली झर्ने र उकाली चढने क्रम बराबरी नै चलिरहेका थियो । केहीबेरमा दुबै हात टाउकोमा राखेर, ‘बाजे ! हाम्रो मानिसहरुले पटक्कै कुरो बुझ्दै बुझ्दैनन् रहेछ ? के सार्हो अर्काको गोठाला हुन खोजेको हौं ? आफूलाई शासन गर्ने मानिस आफ्नो मान्छे हुनुपर्छ भनेर कहिले बुझेनन् । के सार्हो लठेप्रोहरु हौं ? भोट बिगारेर चौपट छ ।’ मनभरि बिस्मृती लिएर शुवास नाती मेरो सामु आएर उसको दुःख ओकल्यो । लामो समयसम्म परदेशमा पसिना बहाएर राष्ट्रको सेवा गर्ने उद्देश्यले उनी दिक्तेल मझुवागढी नगरपालिका वार्ड नम्बर १४ का सदस्यको उम्मेदवार पनि भएका थिए । उनको कुरो सुनिसकेपछि मैले उनको मलिन मुहारमा देखापरेका नसाहरुलाई केलाई केलाई मज्जाले नियालेर हेरें ।

आजभन्दा लगभग २४ सय वर्ष अगाडी सुक्रोटिसलाई मृत्युदण्ड दिने बेलामा हेमलक भन्ने वनस्पतीको झोल पिलाइँदै गरेको दृश्यलाई एक झमट मज्जाले सम्झें । उनले हेमलकको झोल पिउनै आँटेका बेलामा प्लेटोले, ‘गुरु ! तपाईले यो पिउनु हुदैन ? कृपया मानव जीवनको भलाईको लागि तपाइँ बाँच्नुपर्छ,’ भनेर सादर अनुरोध गरेका थिए । तैपनि मृत्यदण्डको सजाय पाउँदै गरेका मानिसले के नै पो गर्न सक्थे र ? वास्तवमा सुक्रोटिसलाई सुक्रोटिस बनाउने मानिस तिनै प्लेटो नै हुन् । उनको सम्पूर्ण विचारहरु प्लेटो नै लेखेका थिए । किनभने सुक्रोटिस निरक्षर थिए । अझै मानिसहरुले प्लेटोलाई केसम्म भनेका छन् भने उनको शरीरभित्र सबै सुक्रोटिसको आत्मा बसेको थियो । त्यसैले उनले सुक्रोटिसको विषयमा मात्र लेखिरहे । तर मैले त्यसबेला तिनै प्लेटोलाई सुक्रोटिसले भनेको अन्तिम वाक्यांशलाई स्मरण गरेर मेरो नातिलाई सुस्तरी भनें ।      

“नाति ! मलाई एउटा कुरो मात्र थाहा छ । त्यो थाहा छैन् ।”

बानबुरी, बेलायत ।  

भीम राई

पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री