पर्यटन दूतमा सापकोटाको ह्याट्रिक

काठमाडौँ । बेलायतको वेल्स राज्यका लागि नेपालको पर्यटन सद्भावना दुतामा सोम सापकोटा नियुक्त भएका छन् ।
गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) का प्रवक्ता तथा पर्यटन समितिका संयोजकसमेत रहेका सापकोटालाई नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयले चार वर्षको लागि नियुक्त गरेको हो ।
सापकोटालाई शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नियुक्तिपत्र हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा सचिव अधिकारीले लामो समयदेखि पर्यटन क्षेत्रमा आबद्ध सापकोटालाई सरकारले दिएको जिम्मेवारीबाट यो क्षेत्र झनै बिस्तार र बलियो हुने विश्वास व्यक्त गर्नुभयो । नवनियुक्त सद्भावनादूत सापकोटाले राज्यले आफूमाथि विश्वास गरेर दिएको जिम्मेवारीलाई मुलुकको हित र प्रवासी नेपालीको साथ लिएर सफलतापूर्वक निर्वाह गर्ने बताउनुभयो ।
सापकोटा बेलायतको नेपाली समुदायका लागि नौलो नाम हो । उनी विगतमा युरोपको पोर्चुगल, डेनमार्क लगायतका देशहरुमा बसोबास गर्दै आएकोमा केही वर्षदेखि बेलायतमा बसोबास गर्न थालेका हुन् ।
त्यस्तै उहाँले सन् २०१६ देखि सन् २०१८ सम्म डेनमार्कका लागि नेपाली टुरिजम बोर्डको मानार्थ जनप्रतिनिधि भएर काम गर्नुभयो । सापकोटा सन् २०१९ देखि २०२१ सम्म माल्टाका लागि नेपाल टुरिजम बोर्डबाट मानार्थ जनप्रतिनिधिका रूपमा नियुक्त हुनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री