अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरद्वारा ६ स्रष्टाको सम्झना

लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरले ८ जनुवरी २३ को दिनमा नववर्षको शुभकामना आदानप्रदान तथा नेपाली वाङ्मयका ६ जना धरोहरहरू कवि शिरोमणि लेखनाथ पौड्याल, नेपाली आधुनिक चित्रकलाका पिता तथा मूर्धन्य साहित्यकार लैनसिंह वाङ्देल, नेपाली संगीतका आदि व्यक्तित्व मास्टर मित्रसेन, आधुनिक नेपाली संगीतका पिता अम्बर गुरुङ, नेपाली स्वच्छन्द कविताका अति लोकप्रिय कवि भूपि शेरचन र स्वर सम्राट नारायण गोपालको स्मृतिमा श्रद्धान्जली अर्पण गर्न स्रस्टा स्मृति दिवस लन्डनको प्लमस्टिडस्थित जिगेसा हलमा सम्पन्न गरेको थियो ।

विगत एक दशकदेखि सम्पन्न गरिँदै आएको यस कार्यक्रमलाई संस्थाकी उपाध्यक्ष माया गुरुङले संयोजन गरेकी थिइन् । संस्थाको अध्यक्ष राज श्रेष्ठको अध्यक्षता तथा बेलायतका लागि नेपाली राजदूतावास बेलायतका द्वितीय सचिव रामबाबु नेपालको प्रमुख आतिथ्यता रहेको कार्यक्रमलाई संस्थाकी महासचिव मन्जु भण्डारीले सन्चालन गरेकी थिइन् ।

यस अवसरमा नेपालबाट भ्रमणका लागि आएका वरिष्ठ साहित्यकार हरिहर खनाललाई स्वागत सम्मान गरिएको थियो । प्रतिकूल मौसमको बावजुद विभिन्न संघसंस्थालाई प्रतिनिधित्व गरेर अतिथिहरू र साहित्यकारहरू कार्यक्रममा उपस्थित थिए ।

प्रथम चरणको कार्यक्रममा उपस्थित संस्थाका आजीवन सदस्य लगायत पदाधिकारीहरूलाई वर्षभरिमा उदाहरणीय उपलब्धि हासिल गरेवापत संस्थाको तर्फबाट प्रमुख अतिथि तथा अध्यक्षको बाहुलीबाट पुष्पगुच्छा तथा खदाद्वारा क्रमशः सुमलकुमार गुरुङ, संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार -६९ वर्षको उमेरमा युनिभर्सिटी अफ लन्डनबाट बुद्धिस्ट स्टडिजमा मास्टर्स डिग्री_, मन्जु भण्डारी ग्रिनविच युनिभर्सिटीबाट चाईल्ड एजुकेशनमा मास्टर्स डिग्री र डा सुदर्शन गुरुङ, एफआरसीपी, ह्यामोटोलोजीमा कन्सल्ट्यान्सी साथै नेपालीमध्ये सबैभन्दा सानो उमेरमा जिलिङहाम अस्पतालमा विभागीय प्रमुख पदमा पदोन्नति वापत सम्मान गरिएको थियो  ।

कार्यक्रमलाई शुभकामना सन्देश तथा स्रष्टाहरूको बारेमा डा रुपक श्रेष्ठ, विजय हितान, सुमलकुमार गुरुङ, बासु शर्मा र हरिहर खनालले सम्बोधन गरेका थिए । राजदूतावासलाई प्रमुख अतिथिको रुपमा प्रतिनिधि गरी आएका द्वितीय सचिव कार्यव्यस्तताका कारण कविता वाचन अगावै आफ्नो मन्तव्यको साथसाथै एउटा कविता वाचन गरेर प्रस्थान गरेका थिए । कार्यक्रमको दोश्रो चरणमा कविता वाचनलाई प्रतिमा केसीले बडो सटिक ढङ्गले सन्चालन गरेकी थिइन् । कविता वाचन गर्नेहरुमा क्रमशः गोकुल भण्डारी, अहिल्या कुँवर, कुमार केसी, प्रतिमा केसी, रुपक श्रेष्ठ, विजय हितान, राज श्रेष्ठ, मन्जु भण्डारी, टेक बहादुर थापा, सुमलकुमार गुरुङ, हरिहर खनाल, माया गूरुङ र बासु शर्मा रहेका थिए । कार्यक्रमलाई अझ रोचक र कर्णप्रिय बनाउनका लागि सारंगीको धुन आफै बजाएर मास्टर मित्रसेनका गीत मिन रानाले प्रस्तुत गरेका थिए भने डा. सुदर्शन गुरुङले स्वर सम्राट नारायण गोपाल एउटा कालजयी गीत गाएका थिए । अन्तमा सबैलाई अध्यक्ष राज श्रेष्ठले धन्यवाद ज्ञापन गरी कार्यक्रमलाई समापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री