प्रोफेसर फेरालीको पुस्तकमाथि लण्डनमा चर्चा

लण्डन । द्वन्द्व, शिक्षा र विकासका बारेमा विशेषज्ञता हासिल गरेका युनिभर्सिटी कलेज लण्डनका प्रोफेसर तेजेन्द्र फेरालीको पुस्तक ‘नेपालमा द्वन्द्व, शिक्षा र शान्ति’ माथि लण्डनमा चर्चा गरिएको छ ।
युनिभर्सिटी कलेज लण्डन (युसीएल) को शिक्षा तथा अन्तर्राष्ट्रिय विकास केन्द्र (सिइआडी) ले मंगलबार साँझ आयोजना गरेको सो कार्यक्रममा प्रोफेसर फेरालीको पुस्तकमाथि प्राज्ञहरु तथा उपस्थित सर्वसाधारणले शिक्षाको परिदृश्यबाट द्वन्द्व र शान्तिका बारेमा विमर्श गरेका थिए ।
कार्यक्रमको शुरुमा प्रोफेसर फेरालीले नेपालमा माओवादी द्वन्द्वले शिक्षा क्षेत्रमा कस्तो असर पारेको छ भन्ने अवधारणा राखेर शुरु गरिएको अनुसन्धान पछि द्वन्द्वका लागि शिक्षा कति जिम्मेवार छ भन्नेमा गएर टुंगिएको बताए । उनले शिक्षामा जातिय, लैङ्गिक, भाषिक, क्षेत्रीय रुपमा असमान अवसर, भाषामाथिको दमन, राष्ट्रिय बहिष्करण, साँस्कृतिक एकरुपता लगायतका कारण शिक्षाले नेपालमा द्वन्द्वमा सहयोग गरेको तर्क गरे ।
नेपालको वर्तमान संविधानले सीमान्तकृत समुदायलाई शिक्षाको मूलधारमा ल्याउन आशा देखाएको र द्वन्द्वपछि नेपालको शिक्षाप्रणालीमा पुनर्संरचना हुनुपर्नेमा उनले जोड दिए ।
युसीएलका लेक्चरर डा उमा प्रधानले शिक्षामा सामाजिक र राजनीतिक सन्दर्भलाई जोडेर प्रोफेसर फेरालीले प्राज्ञिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताए । उनले द्वन्द्वकालमा शिक्षक र विद्यालय विद्रोही र राज्य दुवैको चपेटामा परेको उनको भनाइ थियो । विद्यालयलाई विद्रोहीले राज्यको प्रतिनिधिको रुपमा लिएको र राज्यले शिक्षकहरुलाई माओवादीको सहयोगीका रुपमा लिएको उनले बताइन् ।
शैक्षिक क्षेत्रमा भएको असमानताले द्वन्द्वलाई सघाउ पुर्याएको भन्दै उनले विद्यालयलाई शान्ति क्षेत्र घोषणा अभियान लगायतले राजनीतिक पार्टीहरुलाई दबाब दिएको उनको धारणा थियो । डा. प्रधानले विकेन्द्रीकरण र तल्लो तहमा अधिकार हस्तान्तरणले द्वन्द्व घटाउन सहयोग गर्नसक्ने उनको विश्लेषण थियो ।
सोआस युनिभर्सिटी अफ लण्डनका प्राध्यापक माइकल हटले नेपालका बारेमा विश्वबजारमा ल्याउन सकिने प्राज्ञिक कार्य गर्न आफूले नेपाली विद्यार्थीहरुलाई आग्रह गर्दै आएको उल्लेख गर्दै प्रोफेसर फेरालीको पुस्तकले प्राज्ञिक विश्वमा रोचक विषय ल्याएको बताए । उनले नेपालमा शिक्षाको असमान अवसर र निराशा दुवैले द्वन्द्वमा सहयोग पुर्याएको हुनसक्ने प्रोफेसर हटको विश्लेषण थियो । उनले नेपालमा लामो समयदेखि अनौपचारिक रुपमा चल्दै आएको वैचारिक प्रशिक्षणले पनि द्वन्द्वलाई मलजल गरेको बताए ।
युनिभर्सिटी अफ ससेक्सका प्राध्यापक मारियो नोभेलीले प्रोफेसर फेरालीको पुस्तकले शिक्षाले द्वन्द्व घटाउँछ भन्ने शैक्षिक मिथकलाई खण्डन गरेको बताए । उनले नेपालको सन्दर्भमा विभिन्न विषयमा असन्तुष्टी जनाउँदै द्वन्द्वमा जाने पक्ष नै शक्तिमा पुगेपछि पुरानै सत्ताले जस्तो परिपाटी अपनाउने गरेकाले कसले परिवर्तन गर्ने भन्ने कुरा नै समस्या रहेको धारणा राखे ।

बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले नेपाल सरकारले शिक्षामा समानता र न्यायको नीति अघि सारेको बताए । सार्वजनिक शिक्षामा थप लगानी र निजी शिक्षालाई नियमन गरेर नेपालको शिक्षालाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन सकिने उनको राय थियो ।
नेपालमा बहुजातिय, बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक नीति अँगालिएको त्यो महत्वपूर्ण कदम भएको र त्यसले परिणाम ल्याउन केही समय लाग्ने उनले बताए । बितेको दशकमा नेपालमा आरक्षण लगायतका सरकारी नीतिका कारण सीमान्तकृत समुदायलाई राज्यको प्रवाहमा ल्याउन धेरै सकारात्मक परिवर्तन भएको आचार्यको भनाइ थियो ।

युसिएल सिइआडीका सहनिर्देशक प्रोफेसर इलेन अन्टहल्टरले अध्यक्षता गरेको सो कार्यक्रममा सिइआडीका प्रमुख प्रोफेसर ब्राड ब्लीजले स्वागत गरेका थिए । कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्नको प्रोफेसर फेरालीले उत्तर दिएका थिए ।
आठ च्याप्टर रहेको सो पुस्तकको प्रकाशन ब्लुम्सबरीले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री