रुकुम हत्याकाण्डका पीडितको सहयोगार्थ आसफोर्डमा वृत्तचित्र प्रदर्शन

आसफोर्ड । साढे दुई वर्षअघि रुकुमको सोतीमा भएको सामूहिक हत्याकाण्डका पीडितहरूको सहयोगार्थ बेलायतको आसफोर्डमा वृत्तचित्र प्रदर्शन भएको छ ।

शनिबार सगरमाथा गोरखा नेपाली समाज आसफोर्ड केन्टको आयोजनामा ‘अ स्याड सङ अफ लभ’ वृत्तचित्रको सफलतापूर्वक सम्पन्न भएको छ । परोपकारी कामलाई प्रोत्साहित गर्ने उद्देश्यले वृत्तचित्र प्रदर्शन भएको वरिष्ठ उपाध्यक्ष डम्मर सिङ्गकले बताए ।

‘कला, साहित्य, सँस्कृति, फिल्म र मिडियाका माध्यमबाट समेत सामाजिक चेतना फैलाउन सकिन्छ भन्ने मान्यता राखेर यस संस्थाले वृत्तचित्रलाई प्रदर्शन गरेको हो’, सिङ्गकले भने । नेपालका पत्रकार भानु बोखिमको निर्देशन र समाजसेवी जीवन शेर्माको निर्माणमा बनेको वृत्तचित्र सन् २०२० मा भएको सोती जातीय नरसंहारमा केन्द्रित रहेको छ । रुकुमका युवा नवराज विकले गैरदलित युवतीसँग प्रेम गरेकै कारण आफ्ना अन्य पाँच जना युवाहरूसहित ज्यान गुमाएको विषय र पीडित परिवारका व्यथा यस वृत्तचित्रमा हेर्न सकिन्छ । घटनामा संलग्नहरूले उन्मुक्ति पाइरहेको पीडितहरूको आरोप छ ।

घटनाका पीडित परिवारहरूको सहयोगार्थ आसफोर्डको दरबार रेस्ट्रो एन्ड बारमा दुई चरणमा प्रदर्शनी भएको कार्यक्रम संयोजक एवम् समाजका मिडिया सचिव अमित थेवेले बताए । उनले प्रदर्शनीबाट सङ्कलन भएको पन्ध्र सय पाउन्ड बढी रकम सङ्कलन भएको बताए । सो रकम वरिष्ठ उपाध्यक्ष सिङ्गकले बेलायत भ्रमणमा रहेका निर्माता शेर्मालाई हस्तान्तरण गरेका थिए ।

‘जातीय विभेद र छुवाछुतलाई निरुत्साहित गर्न वृत्तचित्र बनाएका हौँ । घटनालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा लैजान हामी यतिबेला यूके आइपुगेका हौँ’, निर्माता शेर्माले भने ।

वृत्तचित्र प्रदर्शनीमा शेर्पा सब क्युनिटी आसफोर्ड, किरात राई यायोक्खा आसफोर्ड, किरात याक्थुङ चुम्लुङ आसफोर्डले संस्थागत सहयोग गरेका थिए । यस्तै, आसफोर्डबाहेक फोकस्टोन, मेडस्टोन, चाथमबाट सहभागीहरू आएका थिए ।

प्रदर्शनी कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष कप्रसाद छन्त्यालले गरे भने समापन वरिष्ठ उपाध्यक्ष डम्मर सिङ्गकले गरेका थिए । फिल्म यसअघि ननिटन, लन्डन लगायतका सहरमा प्रदर्शन भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री