काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षका लागि नेकपा(माओवादी केन्द्र)का सांसद उर्मिला अर्यालले मनोनयन दर्ता गराउनुभएको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्थापना गरिएको केन्द्रमा पुगेर उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।
अर्यालको प्रस्तावकमा राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ हुनुहुन्छ भने समर्थकमा नेकपा (एमाले)का सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा हुनुहुन्छ । राष्ट्रियसभाको उपाध्यक्षका लागि आज अपराह्न चार बजेसम्मका लागि उम्मेदवारी दर्ता गर्ने समयसीमा निर्धारण गरिएको छ ।
नेपाली काँग्रेसलगायतका अन्य दलले भने उम्मेदवारी नदिने निर्णय आज मात्रै गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आज बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरेको थियो ।
माओवादी केन्द्रको स्थायी समिति सदस्य समेत रहनुभएका अर्याल पूर्व स्थानीय विकास मन्त्रीको समेत जिम्मेवारी सम्हालिसक्नु भएको छ । विसं २०१३ असोज २० गते बलराम अर्याल र जगतमायाको सुपुत्रीका रुपमा पर्सामा जन्मनुभएको हो ।
तत्कालीन नेकपाको चौथो महाधिवेशनबाट वामपन्थी आन्दोलनमा लाग्नु भएका अर्याल गत वर्ष भएको राष्ट्रियसभाको निर्वाचनमा मधेश प्रदेशबाट निर्वाचित हुनुभएको हो ।
समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका अर्याल विद्यावारीधीको शोधार्थी हुनुहुन्छ । अखिल नेपाल महिला सङ्घको केन्द्रीय अध्यक्षको समेत जिम्मेवारी सम्हाल्नुभएका अर्यालले महिला विकास अधिकृतको रुपमा पनि सेवा गर्नुभएको छ ।
सेभ द चिल्ड्रेनलगायतका संस्थामा समेत आफ्नो जिम्मेवारी सम्हाल्नुभएका अर्यालले उपाध्यक्षको उम्मेदवारी दिए लगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै तटस्थ र निष्पक्ष भएर संविधान, कानूनले दिए अनुसारको भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले राष्ट्रियसभालाई प्रभावकारी र जनपक्षीय बनाउन आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने उल्लेख गर्नुभयो ।
तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्याकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो । राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रको १५ सांसद छन् । यस्तै, नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी)का आठ, जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् । एक जना स्वतन्त्र र तीन जना मनोनित सांसद छन् । रिक्त रहेका एक सदस्यका लागि यही माघ २५ गते निर्वाचन हुन लागेको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार १२ बजे उपाध्यक्ष चयनका लागि मिति निर्धारण गर्नुभएको थियो । आज चार बजेसम्म प्रस्ताव दर्ता गर्ने र अपराह्न ४.१५ बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको छ ।
राष्ट्रियसभाको बैठकमा यही माघ २३ गते ‘उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी’ प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । समर्थकले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावमा संक्षिप्त छलफल हुने र दर्ता क्रम अनुसार निर्णयार्थ पेश गरिनेछ ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले यही माघ १३ गतेको बैठकमा उपाध्यक्षको निर्वाचनको मिति तोक्नुभएको थियो । मिति तोकेर सभाध्यक्षले निर्वाचनसम्बनधी कार्यक्रमको सूचना प्रकाशन गर्न संघीय संसदको महासचिवलाई निर्देशन दिनुभएको थियो । सोही निर्देशनअनुसार महासचिवले आजका लागि उम्मेदवारी दर्ताको समय निर्धारण गर्नुभएको हो ।