ताराले खाना खान बोलाएपछि म सुस्तरी हिँड्दै भान्सा कोठातिर लाग्छु । अब भान्सा कोठामा पुगेपछि नानाथरिको प्रश्न आउँछ होला भनेर मनभरि पिर छ । त्यसैले घरिघरि कुम उचालेर गजधुम्म पर्छु । बेलायती संसद भवनमा हरेक बुधबार हुने प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रममा जस्तै बरु प्रश्न चाहिँ के के आउँछ होला नि भनेर प्रधानमन्त्री झैँ अलिअलि अग्रिम तयार हुन्छु ।
भान्सा कोठाको ढोका खोलेर भित्र पस्ने बितिक्कै एकछिन टक्क उभिन्छु । त्यसपछि दुईचार कदम हिँड्दै अघि बढछु । धारा नजिकै पुग्छु र एक गिलास पानी सार्छु । मैले आज बिहान आगामी दिनमा छुट्टी कता जाने होला भनेर कुरो गरेको हुनाले उनको अनुहार अलिअलि धुमिल छ भन्ने कुरो मलाई राम्रै हेक्का छ । त्यहीँ भएर पहिले म मरिगए बोल्दिनँ भनेर भित्रभित्रै गमक्कै पर्छु । त्यसैले गिलासमा सारेको पानी टेबलमा राखिन्जेलसम्म मेरो मुखदेखि एक्कै शब्द फुत्किन सकेको छैन् ।
घर बाहिरको मौसम एकदम चिसो भएपनि भान्सा कोठाको तापक्रम एकदम ठिक्कको छ । पानी टेबलमा राखि सकेपछि पहिले चम्चाकाँटाको बन्दोबस्त गर्नु पर्यो भन्छु । तैपनि एक झलक उनको अनुहार हेर्ने रहर जागेर आउँछ । उनी किचनको भित्तातिर फर्केर तरकारी चलाउन व्यस्त देखिन्छे । बिरालोको चालमा हिँड्दै आलमारीको नजिक पुग्छु । भान्सा कोठाभित्र काठको फल्याकदेखि बनेको एउटा सानो आलमारी छ । हो, त्यहिँनेर आलमारीको पहिलो खोपामा ताराले चम्चाकाँटाहरु थन्काउने गर्छिन् । त्यहाँ पुगेर एकजोर चम्चाकाँटा निकाल्छु र टेबलको नजिकै रहेको कुर्सी तानेर थपक्कै बस्छु ।
मेरो जिन्दगी अस्थायी भएपनि मेरो त्यो कुर्सी लगभग स्थायी जस्तै हो । किनभने त्यो निक्कै समयदेखि त्यहीँ बसेर मेरो प्रतीक्षा गरिरहेको हुन्छ । जस्ले गर्दा म हरेक बिहान बेलुकी त्यही कुर्सीमा बसेर नै भोजन गर्छु । तर त्यहाँ बस्नु अगाडी पानी र चम्चाकाँटाको व्यवस्था गर्न त्यो मेरो कार्यतालिकाभित्र पर्छ । यदि कुनै कुनैदिन कार्यतालिका भुलिहाले भने जाबो चम्चाकाँटा पनि खोज्न नसक्नेले खाना नै पकाउनु पर्यो भने झन के हालत हुन्छ होला भन्ने गोलाबारुद आउन सक्छ भनेर थोरै तर्सिन्छु । त्यसैले त्यो सबै अगाडी नै जोहो गर्छु । त्यसपछि केही बोल्दै नबोली कुर्सीमा म थपक्कै बसेको देखेपछि उनले खाना पस्काउन सुरु गर्छिन् । तर खाना पस्कँदै गर्दा उनको अहिलेसम्म ताला लागेको मुख अचानक खुल्छ ।
“यतिबेलासम्म तलामाथि के के उट्फट्याङ गर्नु भयो ?” खिरिरि आँखामा आँखा जुधाउँदै पहिलो प्रश्न आउँछ ।
“त्यही हो, क्रुज होलिडेहरु हेरेँ ।”
“कहाँ जाने हो र ? मलाई त जाडोको समयमा कतै पनि जान मन छैन ।”
“हेरौ नि ठाउँहरु खोज्दै छु ।”
“क्यारेबियन टापुहरु जाउँ कि क्यानरी टापुहरु जाउँ भनेर दोमन भाछु ।”
“क्यारेबियन टापुहरु हुँदै हुँदैन है । मैले भन्देको छु । एकदम टाढा छ । पहिले पनि मन्टिगो बे, जमैका पुग्दा दश घण्टा हवाईजहाजमा बस्नु परेको थियो । बाफ रे बाफ ! दश-दश घण्टा जहाज चढेर के छुट्टी मनाउन जानु हौ । त्यैमाथि जहाजले थकाएर हैरान बनाउँछ । अनि क्यानरी टापुहरु पनि पहिले पुगिसकेको ठाउँहरु हुन् । पटक पटक एक्कै ठाउँतिर कति पटक जानु ?”
“उसो भए कि दुबइतिर जाने त ?”
“दुबई गाको दुई वर्ष पनि भाको छैन । एशिया पनि नजाने तेलअभिब, इजरायल र सियमारिप, कम्बोडियाको दुर्गन्धले नाक भाँचेको अहिलेसम्म झल्झली सम्झन्छु । अनि नेपाल पनि भर्खर गएर आको छ महिना पनि भाको छैन । अझै छ–छ महिना बसेको उतैतिर । यदि छुट्टी नगै नहुने भा बरु मलाई त दोहोर्याइ तेहर्याइ भएपनि नर्वेजियन फियोर्ड नै जान मन छ ।”
“कान्छी ! नर्वेजियान फियोर्ड त जुन जुलाईमा मात्र हुन्छ नि । अहिले सबै पानीजहाजहरु गर्मी ठाउँतिर हुन्छ के ।”
“मलाई कान्छी सान्छी पनि भन्नु पर्दैन । मैले भन्दे छु, मलाई मन पर्दैन । भुट्ने होटलको भाँडा माझ्ने केटीको नाम जस्तो सुनिन्छ । बरु छुट्टी जाने नै हो भने साउथाम्पटनदेखि नै जानु मन छ । हवाईजहाज पनि चढ्नु नपर्ने । नत्र भने हवाइजहाज चढ्नको लागि जाने दिन र फर्कने दिन गन्दै दुई दिन समय व्यर्थैमा खर्च भइ हाल्छ ।”
“अब साउथाम्पटनदेखि बायाँ जाने हो भने त्यो इलाकाको सबै देशहरु घुमेर सकियो । त्यहाँदेखि दक्षिण लागेर ओरालै ओरालो झरियो भने पोर्चुगल, फ्रान्स र स्पेन त सजिलै पुग्न सकिन्छ । तर बाटोमा ‘वे अफ बिस्के’ पर्छ । तिमीलाई थाहा भएकै कुरो हो । जाडोको समयमा बे अफ बिस्केमा समुन्द्रको पानी २०-२५ मिटर माथिसम्म आउँछ । त्यति धेरै माथि आको पानीले पानीजहाज कोक्रोमा नानी हल्लाए जस्तै हल्लाउँछ । त्यसरी पानीजहाज हल्लाउँदा यही खानु आको होइन भनेर गनगन गरि हाल्छौ ।”
मेरो कुरो सुनेर उनी एकछिन नबोली बसिन् । तैपनि निदाउन लागेको बिरालोले जस्तै एउटा आँखा सानो बनाएर मलाई छड्के नजर मार्दै एकथाल भात पस्केर टेबलमा थपक्कै राखि दिइन् । त्यसपछि पहेँलो दाल र गुन्द्रुकको तरकारीमा तर्लङ्गै हालेको झोल । अब मेरो गिध्दे दृष्टी सीधै अगाडी खडा भएको गुन्द्रुकको बटुकामा पर्छ । गुन्द्रुक नखाउँ भने त्यति टाढा नेपालदेखि ल्याएको हो । तर खाउँ भने सुकेको सब्जी गुन्द्रुकले भिटामिन, प्रोटिन, कार्बोहाइड्रेड, आइरन र सोडियम के के उपलब्ध गर्छ होला भनेर एकछिन सोच्छु ।
उनले खाना पस्किएर दिएपछि म खाना खानको लागि तयार हुन्छु । तर खाना खानुभन्दा अगाडी उनको बिरमाइलो अनुहार फेरि एकपटक पढ्छु । आखिर मानिसको मन न हो । श्रीमती भनेको श्रीमती नै हुन्छ । चाहे त्यो छाक, मासुको होस् वा गुन्द्रुक नै किन नहोस् । तैपनि, “मासु भनेको मासु नै हो, गुन्द्रुकभन्दा मिठो हुन्छ काजी,” जुनेम्पा दाजुले गाउँमा भनेको झल्याँस्स सम्झन्छु । हुनत जस्तो परिकार पकाएर दिएपनि उनले बाहेक यो संसारमा मलाई अरु कस्ले त्यति धेरै माया गर्छिन् र ? अनि यस जमानामा अरुले गर्ने माया सबै नक्कली हुन्छ र आफ्नो श्रीमतीले गर्ने मायामात्र सक्कली हुन्छ भन्ने लाग्छ । त्यसैले उनले जेसुकै भनेपनि सही दिन्छु है भन्छु ।
त्यसपछि हामी दुवैजना एकछिन चुपचाप बस्छौं । दुवै जनाको बोलचाल बन्द भएपछि कोठाको वाताबरण एकदम शून्य हुन्छ । त्यती शान्त वातावरणमा अब म फेरि उनलाई नहेरी खपाखप खाना खान थाल्छु । एकछिनपछि उनैले कुरो खोतल्छिन् ।
“बेलायतमा बस्ने अन्य नेपालीहरुलाई छुट्टी सुट्टी कतै जानु पर्दैन । पानीजहाज, हवाइजहाज र रेल केही चढ्नु परेको छैन । खुरखुरु काम गर्छन् र टन्न पैसा कमाउँछन् । बैँकमा धेरै पैसा जम्मा भएपछि सुन र हीराका गहनाहरु घरभरि किनेर राख्छन् । तपाईलाई चाहिँ यो के भएको हो ? बर्षमा दुई-दुईचोटी घुम्नु जानु पर्ने ? मानिसहरुका गहना के कति छन् भनेर कहिलेकहीँ टिकटिकमा हेर्नु भाछ, कि छैन ? अनि हामीचाहिँ कति घुम्नु पर्ने ? कति जान्नु पर्ने ? कतिपय कुरोहरु त नजाने पनि हुन्न र ?” अलिक लामै भाषण छाँटिन् तर यसचोटी अलिक सानो स्वरमा ।
वास्तवमा उनको कुरोहरु एकदम जायज छन् । अझै यसो भनौ, उनको कुरोमा केही दम छ । त्यसैले म यसबेला उनले भनेकी कुरोहरु एकोहोरो सुनिरहन्छु । तर त्यसो भन्दै गर्दा अरुले जे जे गरेको छ आफूले पनि सोही गर्नु पर्छ भन्ने विचार उत्कृष्ट विचार होइन होला भन्ने मलाई लाग्ने गर्छ । तैपनि केही नबोलि सुइँसुइँ खाना खान्छु । त्यसरी खाना खाँदैगर्दा म बसिरहेको नजिकै टेबलमाथि उनले हिउँदमासमा बनाएको मुलाको अमिलो अचार देखिन्छ । बरु सिसाभित्रको त्यो अमिलो अचारलाई चम्चाले कोट्याएर अलिकति निकाल्छु । तर मैले अचार निकालेको देखेर, –
“होइनौ, खुर्सानी पनि कति खानु हुन्छ हौ ? अझै त्यसमा झन बढी तेल हुन्छ र पो धेरै नखानोस् भनेको । कुरो त बुझ्ने प्रयत्न गर्नोस् न ?”
उनको भनाइ सुनेर म एकछिन शान्त बस्छु । त्यसपछि सानो स्वरमा मेरो मुख खोलिन्छ, “आम्मामा ! झन् दालमा त नुन हाल्नै हालेछौं नि, बेलटार जतिकै ?”
पहिले पहिले हामी पहाडदेखि नुन बोक्न बेलटार बजार झर्ने गर्थ्यौ । ताराको बाबुले बेलटारमा एउटा सानो घर बनाउनु भएको थियो । तर बाबुको उमेर ढल्कदै जाँदा घरको उमेर पनि बुढो हुँदै गयो र अहिले घर भत्किसकेको छ । हिउँदको समय उनी तिनै बेलटार बजारमा बस्ने गर्थिन् । जसले गर्दा उनलाई बेलटारको विषयमा राम्रै ज्ञान छ । तिनताका मधेशदेखि सरर मटर चढेर त्यहाँसम्म नुन आउने गर्थ्यो ।
मैले नुनलाई बेलटारसँग तुलना गरेपछि उनको टुप्पीदेखि धुँवाको मुस्लो छुट्टियो, “त्यसो भा पानी मिसाएर खानु नि,”
“एक अम्खोरा पानी मिसाए पनि नुनको मात्रा त त्यति नै हो क्या । गाँठे तिमीले मलाई बेलामा नै मार्ने भयौं ।”
मेरो कुरो सुनेर उनी केहिबेर चुपचाप बसिन् । त्यसपछि हामी दुवैजना खाना खानमा केहीबेर व्यस्त भयौँ ।
“अनि क्रुज नै जाने भए हामी दुईजना मात्र त हुदैन है । साथी खोज्नु भयो त ?” फेरि उनैको मुख खोलिन्छ ।
“खोज्दै छु, अब खोज्छु ।”
उनको कुरो सुनेपछि म थोरै तिलमिलाउँछु । अब साथी पनि को खोज्ने होला भनेर मनमनै सोच्छु । तैपनि खाना खाइ सकेपछि टेबलमा भएका थाल, बटुका र पानी पिउने गिलासहरु उठाउछु । र, सुइँसुइँ जुठोभाँडा गर्न थाल्छु । मैले जुठोभाँडा गरेको देखेपछि उनले टेबल पुछपाछ गर्न सुरु गर्छिन् । हरेक बिहान बेलुकी जुठोभाँडा गर्नुपर्दा कुनै कुनैबेला त भाडाकुँडा धुने यन्त्र (डिस वासर मेसिन) पनि चलाए हुन्थ्यो कि भन्ने मेरो मनमा लागिरहन्छ । तर उनलाई केही भन्दिनँ । यदि त्यसो भनिहाले पनि आखिर दुईजनाको जुठोभाँडा त हो भन्ने पूर्व तैयारी उत्तर पाइ हालिन्छ । त्यसैले यो जिन्दगीमा मेरो हातको हस्तरेखाहरु नै खियाउन लेखेको रहेछ भनेर मैला थाललाई भाँडा धुने साबन (फेरि लिक्वेड) लगाएर मरिमरि घोट्न थाल्छु ।
जिन्दगीमा खाना पकाउन नजान्नु जतिको अभिसाप अरु केही चिज नहुँदो रहेछ भनेर पागल झैँ एक्लै बोल्छु । हुन त म जस्तै हरेक पुरुषहरुले खाना पकाउन नजानेपछि सायद जुठोभाँडा नै पाउँदर होला भन्ने सम्झन्छु । तर नेपालमा त खै कुन्नि है ? म पनि उतातिरको घर विजया चोक, बानेश्वरमा बसेको भए त ठूलो मान्छे भएर जुन ठाउँमा खाना खायो त्यही ठाउँमा थाल छाडेर सायद तास खेल्न पो जान्थे हुँला ? अझै हातमा तीन बुङ तास लिएर सम्धिनीको घरमा नवराज र रामजीहरुसँग । अब बेलायतको बसाइ छ । न यहाँ तास खेल्ने समय छ । न तास खेल्नको लागि साथी नै छ । अँह केही पनि छँदै छैन् । केवल खाना पश्चात् जुठोभाँडा गर्न समयमात्र छ ।
जुठोभाँडा सकिएपछि सुख्खा कपडाले टलक्क टल्कने गरेर भाँडाकुडा पुच्छु । र, आफ्नो ठाउँ ठाउँमा ठ्याकठ्याक मिलाएर राख्छु । यदि गल्ति ठाउँमा राखेछु भने उनले खोज्दा नभेटाउन पनि सक्छिन् । अस्तिको दिनमात्र मेरो कार पुछ्नको लागि भनेर एउटा सानो टालो लगेको थिएँ । कार पुछिसकेपछि मैला टालो उतै छाडेको छु । “खै ! यहाँ हिटर माथि सुखाएको टालो, एक्कै छिनमा कसरी हरायो ?” भनेर उनले छाडेकी शब्द मेरो कानमा अहिलेसम्म गुन्जिरहेको छ ।
भान्सा कोठाभित्र राखेको सरसमान उनले खोज्दा भेटिनन् भने सायद सजाय पाइने हो कि भनेर मनमनै डराउँछु । भाँडाकुडा पुछिसकेपछि बिजुली कित्ली (केटल) मा आधाजस्तो पानी भर्छु र तताउनको लागि टक्क गर्दै स्वीच अन गर्छु । जब पानी उम्लेर भुलभुल आवाज आउँछ त्यसपछि केटल आफैँ फेरि टक्क गरेर बन्द हुन्छ । म उभिरहेको नजिकै एउटा चिया पिउने ठूलो कप मलाई देखेर हाँसी रहेको हुन्छ । हो, म त्यही कपमा भकभक उम्लिरहेको एककप तातोपानी सार्छु । र, अलिकति हरियो चिया हाल्छु ।
दाहिने हातमा एककप चिया लिएर टेबलको दाहिनेतिर रहेको सोफामा पुगेर थचक्कै बस्छु । मलाई हरियो चिया असाध्यै मन पर्छ । त्यसैले निक्कै लामो समयदेखि मैले त्यो चिया पिउँदै आएको छु । केहीवर्ष अगाडी बेइजिङ्, चीनमा पुगेको थिएँ । चियाको विषयमा अध्ययन गर्दा तिनै बेइजिङ् सहरमा चिया चाख्ने उत्सव (टि टेस्टिङ सेरेमनी) मा भाग लिने अवसर पाएको थिएँ । त्यस दिनभन्दा अगाडी म चियाको विषयमा एकदम अन्धो रहेछु भन्ने कुरो चिया मास्टर्नीले भनेको अहिले झल्झली सम्झन्छु । त्यसबेला मैले कालो, हरियो, पियोर र ओलाङ लगायतमा विभिन्न चियाहरु चाखेको थिएँ । तर अफ्रिकादेखि आयात गरेको रातो चिया चाहिँ लण्डनको सानदार होटलहरुमा गरिने मध्यान्हको चिया (आफ्टरनुन टी सेरेमनी) मा मात्र चाल पाएको हुँ ।
तातो चियाले छाडेको मगमग बासनासहित सोफामा बसेपछि एकपटक घर बाहिर हेर्छु । अनि फेरि ध्यान कोठाभित्र नै फर्काउँछु । कोठाको भित्तामा बिजुलीको प्लगसँग मितेरी गाँसिरहेको मोबाइललाई टक्क आवाज सहित छुटाउँछु । र, कृष्ण भाइलाई हत्तपत्त फोन गरिहाल्छु । खै के भएर हो कुन्नि ? बरु फोन कराउँदा कराउँदा फुट्न खोज्छ, तर उनको फोन उठ्दै उठ्दैन । अब के गर्ने होला भनेर एकछिन रणभूल्लमा पर्छु र एक्लै भुन्भुनाउँछु । मलाई ताराको अगाडी नै फोन गरेर उनीहरु पनि आउने भो है भनेर प्रत्यक्ष प्रमाण दिन मन लागिरहेको छ । तर फोन उठ्दै नउठेपछि मेरो मन यसैयसै बरालिन्छ । त्यसैले दोश्रोचोटी सिसादेखि बनेको फ्रेन्च ढोकादेखि फेरि घर बाहिर हेर्छु । जमिनभरि सेताम्मे हिउँ देखिन्छ । जस्ले मेरो मन थोरै भएपनि आनन्दित बनाइ दिन्छ ।
भाइले फोन नउठाएपछि मेरो मन थोरै खिन्न हुन्छ । तर जस्तोसुकै अवस्था सिर्जना भएपनि मलाई पानीजहाजमा छुट्टी जान नै मन छ । ताराले चाहिँ पटकपटक साथी बिना त म जाँदै जान्न भनेको सम्झिन्छु । अझै जता गएपनि जोडी पानी ओत जस्तो हामी दुईजना मात्र त वाक्क हुन्छ है भनेकी घरिघरि स्मरण गर्छु । मलाई अब पर्नै आपत परिरहेको छ । उनको भनाइ सम्झँदै फेरि उनको मुहार एक झलक हेर्छु । त्यसबेलासम्म उनी हातमा झाडु लिएर कोठा सफा गर्नमा नै व्यस्त देखिन्छे । त्यसपछि म दोश्रोचोटी भाइलाई सम्पर्क गर्न कोसिस गर्छु । दोश्रोचोटी पनि असफल भएपछि दाहिने हातको चोरऔँलाले फोनमा टिकटिक घोचेर, “तुरुन्त सम्पर्कमा आउनु है,” भन्ने टेक्स्ट म्यासेज पठाउँछु । त्यसपछि मात्र मेरो मन अलिकति हल्का हुन्छ ।
बेलायती पल्टन घरमा लगभग २० वर्ष जति सँगसँगै काम गरेको कृष्ण मेरो एकदम मिल्ने जिग्री दोस्त हुन् । तर खै कसरी त्यति मिल्ने साथी भैयो । म कुनैकुनै बेला छक्क पर्छु । उनी धरानको बोर्डिङ स्कूलदेखि जिन्दगी सुरु गरेर अमृत साइन्स क्याम्पस थर्काएको मानिस । जाबो म चाहिँ बुईपा, छिप्तीको ठूलो तर एक्ले पिपलको फेदमा पढेको मुन्छे । खयर जे होस् सैनिक सेवादेखि निवृत्त भएपछि उनी आफ्नो परिवारको साथमा अल्डरसट टाउनमा बस्ने गरेका छन् । अल्डरसट र फार्नबोरो जुम्ल्याहा टाउनहरु बेलायतमा बस्ने अधिकतम नेपालीहरुको मुख्य भूमिहरु हुन् । दशौँ हजार नेपालीहरुले आफ्नो कर्मथलो छानेको त्यस ठाउँमा के बालक के बयोबृध्द, के धनी के गरिब, को पूर्व, को पश्चिम र को नेपाल, को दार्जीलिङ सबैजना मिलेर बसेका छन् ।
धेरै नेपालीहरु मिलेर बसेको त्यस स्थानमा बेलाबखतमा नेपाली कार्यक्रमहरु हुने गर्छ । त्यसैले कुनै कुनै कार्यक्रमहरुमा मेरो पनि त्यस टाउनहरुमा पाइलाहरु पर्ने गरेका छन् । अझै त्योभन्दा अर्को कुरो त के छ भने बिसौ वर्ष पहिले म बेलायती सेनामा छँदा हाम्रो टुकडी पनि त्यही अल्डरसटमा जमेर बसेको थियो । जस्ले गर्दा मैले त्यस टाउनको लगभग सबै गल्ली गल्लीहरुसँग राम्रै मितेरी गाँसेको छु । बुढी भैँसीको सुकुटीदेखि सुङ्गुरको बोसोको मोमो पाउने त्यस टाउनमा पुग्दा मलाई हङकङको जोर्डन, सिङ्गापुरको मुस्ताफा, क्वालालाम्पुरको जालान राजा, दुबाईको मिनाबजार वा न्युयोर्कको ज्याक्सन हाइट पुग्दा लाग्ने तिर्सना त्यस टाउनमा पुगेर मेट्ने गर्छु ।
त्यति मिलनसार साथी कृष्ण र उनको श्रीमती सानुसँग हामी पानामा नहर, पानामा सिटीमा पुगेर पौडी खेलेको यसबेला झल्झली सम्झन्छु । यहाँ घर बाहिर अहिले सेताम्मे हिउँ देखिएपनि सान्टामार्टा, कोलम्बियाको सामुन्द्रिक बालुवामा बङलङ्गै उतानो परेर सुतिरहँदा कोलम्बियन युवतीहरुले हाम्रो भुँडी देखेर तर्सेका अहिले सम्झेर एक्लै फिस्स हास्छु । चाहे त्यो अरेबियन बाजाको मधुर तालमा पानीको फोहोरा दुबइमा नाचेको होस् वा रसियन सङ्गीतको तालमा पिटरहोप, रुसमा पानीका फोहोरा नाचेको होस् हामीले सँगसँगै हेरेका छौं । साँच्ची ती पानीका फोहोराहरु बुईपा, खोटाङ्का दमाइँहरुले बजाउने नौमती बाजामा नाच्न सक्छ कि सक्दैनन् होला भनेर मनमनै सोच्छु ।
म जाबो सोच्ने मान्छे । अझै यो मन त्यतिले मात्र के मान्थ्यो र ? इस्तानबुल, टर्कीको ग्राण्ड बजारमा पाइने पाकिस्तानी छालाको ज्याकेट एक एकवटा खरिद गरेर धर्मेन्द्र र जितेन्द्रको अभिनय गर्दैगर्दै खुसादाशी खुद्रा बजारको फुच्चे व्यापारीहरुलाई मज्जाले हँसाएका झल्झली याद गर्छु । हाम्रा अलौकिक कथाका श्रृंखलाहरु त्यति सजिलै सकिनेवाला छैनन्, के सकिन्थे र ?
झन् सबैभन्दा रमाइलो त हामीलाई त्यसबेला भएको थियो । जतिबेला लान्जारोटी, स्पेनको बालुवामा बियरको स्वादमा भूमध्यसागरको पारीलो घाम ताप्दै ताप्दै चिनियाँ युवतीहरुलाई आ-आफ्नो ढाड र कम्बर माड्न लगाइरहेका थियौं । समय समयमा हल्का सामुन्द्रिक ज्वारभाटाबाहेक सुनसान वातावरणमा तिनै बतासले सुस्तरी उडाएर ल्याएका बालुवाका कणहरुसँग मिसिएका तिनै हातहरु जीवनका उत्तारचढाव मार्ने अचुक औषधीहरु थिए । सम्भवत त्यो भन्दा आनन्ददायक चिज यस धर्तीमा अन्य केही छैन् होला जस्तो मलाई त्यसबेला अनुभूति भएको थियो ?
तर त्यसो भन्दै गर्दा मेरो मन हुरुरु उडेर सोइ काउबोइ, बैँककको गुप्ती कोठाभित्र पुग्छ । जहाँ नाखोन फानोमकी एकजना लज्जालु २० वर्षे तर अर्धनग्न युवतीले कागती घास (लेमन ग्रास) को बासना सँगसँगै मेरो सर्वाङ्ग नग्न शरीरलाई उनका मुलायम हातहरुले माड्दै गर्दा, “महाशय ! बाँकी सेवा पनि टक्र्याउँ कि ?” भनेको सुन्दा लाजले मेरो अनुहार जलेर रक्त्तिम वर्णमा परिवर्तन भएको याद गर्छु ।
लान्जारोटीपछि पनि हामी अझै स्वर्गीय आनन्दको खोजीमा हुन्छौं । र, कोरालेथो बिच, फियोर्टभेन्चुरा क्यानरी टापुमा पुग्छौं । तिनै टापुको सामुन्द्रिक तटमा रहेको पहेलो बालुवामा जर्मन र स्कानडेन्भियन मुलुकका मानिसहरुको नग्न शरीर घाममा सुकेर कक्रक्क परिरहेको दृश्य हेर्छौं । लाग्छ, उनीहरु जस्ता जन्मेका थिए, अहिले त्यस्तै देखिएका छन् । तर फरक के छ भने केबल हल्हली बढेको उनीहरुको शरीर मात्र छ । र, केही अङ्ग प्रत्यङ्गहरुले विकसित रुप लिएका छन् । साँच्ची यूरोपियन मानिसहरु प्रकृतिप्रति कति गहिरो प्रेम गर्छन् है भन्ने कुरा मलाई त्यसबेला बोध भएको थियो । नत्रभने नेपाली युवतीहरु त पासुला मुनीका मांसपेशीहरु देखिए भने लज्जाएर हुरुक्कै हुन्छन् जस्तो लाग्छ ।
हो…. म पनि उनीहरुलाई त्यसबेला नाङ्गैभुतुङ्गै देखेपछि मैले ओढिरहेको सानो गन्जी र बेलायती कट्टुलाई खोलेर समुन्द्रको पानीमा फालेर हिडौं कि जस्तो हुन्छु । तर ताराले त्यसो गरिहाल्न दिन्नन्, छेकबार गर्छिन् । नत्रभने म पूर्व सैनिक भएकोले बेश्यामा भर्ती हुनु र सैनिकमा भर्ती हुनु भनेको एउटै कुरो हो भनेर मलाई राम्रै हेक्का छ । त्यसैले म के डराउँथे र ? नेपाली राजनीति पो गर्न आउँदैन । त्यस्तो उट्फट्याङ गर्न त मलाई आइहाल्छ के आउँदैन थियो, भन्छु । तै पनि कसोकसो जर्मन, नर्वेजियन, फिनिस, स्वेडीस र डेनिस युवतीहरुको त्यति राम्रीराम्री नग्न शरीरहरु देख्दा चाहिँ सायद गल्ति देशमा जन्मियो कि के हो भन्ने लाग्छ । तर यसलाई देशभक्त्ति र राष्ट्रभक्त्तिसँग जोडेर कुतर्कहरु नगरियोस् भनेर म मेरा पाठकहरु समक्ष सादर अनुरोध गर्छु ।
त्यति राम्रीराम्री युवतीहरुको नाङ्गैभुतुङ्गै शरीरहरुको स्वर्गीय दर्शन गरेपछि श्लेषमान्तक जङ्गलमा गाँजाका सेवन गरेर संसार भुल्ने जोगीहरुको जिउ त छ्या छ्या भन्नु मन लाग्छ । क्यानरी टापुहरुदेखि सधैँको लागि बिदा भएपछि हामी भेनिस, इटालीमा पुग्छौं । तर जुलाईको समयमा भेनिस र दुबाई जानु भनेको एक प्रकारले बिडम्वना नै मान्नु पर्छ । किनभने गर्मी यति सार्हो हुन्छ की हामीलाई सास फेर्न नै धौ धौ पर्छ । त्यसरी श्वास प्रश्वासमा समस्या भएपछि हपक हपक हुँदा पनि हामी डे सान्टा चियारा नहरको पानी पिउँदैनौं । बरु बासिलिका डि सान मार्को गिर्जाघरको छहारीमा बसेर सितल लिन्छौं । त्यसपछि हामी चारै जना जमिनमा सर्लक्कै उतानो परेर जिन्दगीको बिषयमा सोच्छौं ।
निःसन्देह हामीले जिन्दगी बिताउने क्रममा उनै भाइ र बैनीसँग धेरै दुःखसुख साटेका छौं । चाहे त्यो चारपाउँ टेकेर हुरुक्कै हुँदै पुलपिट पर्वत, नर्वेको उकाली चढ्दा होस् वा गलेर खुत्रुक्कै हुँदै आक्रापोलिस, एथेन्सबाट ओराली झर्दाको समय होस् । वा पानीजहाजले छाड्छ भनेर मण्टिगो बे जमैकामा दगुर्दाको समय होस् वा सम्राट निरोले देख्छ भनेर रोम, इटालीबाट भागेर सिभिटाभाकिया पुग्दाको क्षण होस् । हरेक पटक हामीले यसरि नै हाम्रो जीवनको नयाँ नयाँ इतिहास रचना गरेका छौं ।
तर त्यसरी जीवनका सुनौला इतिहासहरु निर्माण गर्दा संसारको सबैभन्दा पुरानो सहरहरु रोम र एथेन्सको माटोमा टेकेको इतिहास मात्र इतिहास नभएर इसा पूर्व ७ सय ७६ वर्ष पहिले निर्माण भएको प्राचिन ओलम्पिक रङ्शाला ‘ओलम्पिया’ ग्रीसमा सय मिटर दौड दौडेर झन् काइदाको इतिहास रचेका छौं । हो, म तिनै विभिन्न स्थानहरुमा कोरिएका इतिहासहरुलाई यतिबेला भान्सा कोठामा बसेर स्मंरण गरिरहेको छु ।
त्यसरी सम्झने क्रममा भान्सा कोठाको भित्तामा सजिएको घडीप्रति नजर लाउँछु । घडी आफ्नै रफ्तारमा एकोहोरो दगुरी रहेको हुन्छ । तर घडीलाई एक झलक हेरेपछि किनकिन बिचरा भन्न मन लाग्छ । किनभने घडी आफैँलाई थाहा छैन कि उ के भेट्नको लागि मरिहत्ते गरेर दगुरिरहेको छ । म त कृष्णको फोनको पर्खाइमा छु र पो घरिघरि घडी हेर्छु । तर त्यसरी सोच्दै गर्दा नभन्दै कागताली नै पर्छ । ठीक त्यहिँबेला किरिङकिरिङ मोबाइलमा घण्टी बज्छ । मैले हेल्लो भन्न पाउँदा नपाउँदै कृष्णले, –
“दाइ ! नमस्ते,” भनेको मधुरो आवाज सुनिन्छ । “फोन गर्नु भएको रहेछ, म काममा छु,” प्रश्न तेर्सिन्छ ।
“बाबैनि ! पैसा पनि कति चाहेको हौ ?” मौका पाउने बितिक्कै छड्के दिइहाल्छु ।
“अब अर्को वर्ष पूर्णकालिन निवृत्त हुने हो,” थोरै हाँसेको सुनिन्छ ।
“ल ठिक्कै छ । तारासँग छौं र क्रुज होलिडे जाने सल्लाहा भइरहेछ । आफ्नो के विचार छ कुन्नि ?”
“दुर्भाग्यबस हामी जान नसक्ने भयौं । नेपालमा एक महिना छुट्टी मानेर आएको हुनाले सबै छुट्टी सकिएछ । यो वर्ष यस्तै भयो । समय सालमा जाउँला नि है अनि म अलिक व्यस्त छु, पछि बोलौ है ।”
त्यसपछि फोन मर्छ । मैले जस्तो सोचेको थिएँ, ठ्याक्कै त्यस्को विपरित भयो । अझै उनको अन्तिम वाक्यांशले त मेरो दाहिने छातीमा तिखो वाण प्रहार गरेको जस्तो लाग्यो । त्यसपछि दुवै हात चिउँडोमा राखेर म नुन खाएको कुखुरा झैँ झोक्राउन थाल्छु । त्यस्तो दुर्गती देखेर तारा हिड्दै हिड्दै मेरो नजिक आइन् ।
“ल ! कुरो के भयो ?” मेरो नजिक आउने बितिक्कै उनको मुख खोलिन्छ ।
“खै ! ठीक भन्नु कि बेठिक भन्नु जे होस् कुरो भयो ।”
“उनीहरु नजाने भयो होइन ? तपाईले भन्न नमाने पनि मैले बुझिहालेँ नि ।”
“हो, हो,”
“देख्नु भो कि ? अरु कसैलाई छुट्टी नगए पनि हुन्छ । तर तपाईलाई मात्र जानु पर्छ । कति न धनी मानिस जस्तो ।”
उनको भनाइ सुनेपछि म केही बोल्न सक्तै सकिनँ, केबल उनको मलिन अनुहार हेरिमात्र रहें ।
क्रमशः
पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।