बेलायतमा दुई गोरखाले शुरु गरे ‘एल’ बियर व्यवसाय

लण्डन । बेलायतका दुई नेपाली व्यवसायीहरुले व्यावसायिक रुपमा एल बियर व्यवसाय शुरु गरेका छन् ।

बेलायतका ननिटनमा व्यवसायरत पूर्व गोरखा सैनिकद्वय क्याप्टेन भीम सारु र स्टाफ सार्जेन्ट चाउ गुरुङले भ्यालेन्टाइन डे (फेब्रुअरी १४) को दिनमा फिसटेल एल (माछापुच्छ्रे) नाम राखेर सो उत्पादन सार्वजनिक गर्नुभएको हो । यही शुक्रबार अझै बृहत कार्यक्रममा यसको उद्घाटन गरिने सारुले बताउनुभयो ।
नेपाली समुदायमा सक्रिय गोर्खा इन्जिनियर्सका सारुको ननिटनमा सारु इम्ब्रोइडरी लिमिटेड छ भने गोर्खा सिग्नल्सका गुरुङले ननिटनमै गोरखा कर्नर नाम गरेको पव सञ्चालन गर्दै आउनुभएको छ ।
उहाँहरुले बी एण्ड सी ब्रदर्स नामबाट सो उत्पादन बजारमा ल्याउनुभएको हो । अहिले रुबी र पेल गरी दुई स्वादमा उत्पादन शुरु गरिएको सारुले जानकारी दिनुभयो । उहाँका अनुसार रुबीको स्वाद अलि गुलियो नेपालको जमुना फलको जस्तो छ भने पेलको स्वाद अलि टर्रो छ ।
एल बियर इङल्याण्डको पुरानो उत्पादन मानिन्छ । करिब ४ हजार वर्ष पहिले यसको उत्पादन शुरु भएको बताइन्छ । बेलायतको विभिन्न भागमा स्थानीय ब्रुअरीमा यसको उत्पादन गर्ने गरिन्छ र अलि तीतो स्वाद हुने यसलाई इङ्गल्याण्डको मौलिक स्वाद मानिन्छ । एल तातो तापक्रममा उत्पादन गर्ने गरिन्छ । कान्टार नामक संस्थाले गरेको एक सर्भेक्षणका अनुसार बेलायतमा ३७ प्रतिशत हिस्सा लागर बियरले ओगटेको छ भने २२ प्रतिशत हिस्सा एल बियरको रहेको छ ।
बेलायतमा नेपाली व्यवसायीहरुले विगतमा वाइन, लागर बियर, कोदोको रक्सी आदिमा लगानी गरेका थिए । किन एल बियर उत्पादनमा लाग्नुभयो भन्ने प्रश्नको जवाफमा सारुले भन्नुभयो, “हामी नेपालमा पनि जाँड खाँदै हुर्क्यौँ । बेलायतमा आएपछि विभिन्न किसिमका पेयपदार्थ खाँदा नेपालको जाँडको स्वाद पाउन सकेनौँ । त्यसले त्यसको तिर्सना मेट्ने किसिमको पेय पदार्थको खोजी गर्दै जाँदा यो उत्पादनमा हात हालेका हौँ । यसले नेपालमा जाँड खाएजस्तै स्वाद दिने विश्वास लिएका छौँ ।”
उहाँका अनुसार कोभिड महामारी पछि यो परियोजना शुरु भएको थियो । हाल दुई स्वादमा भए पनि भविष्यमा ग्राहकहरुको रोजाइअनुसार अरु स्वाद थप्दै जाने र बेलायतभित्र बजार विस्तार गर्दै जाने योजना रहेको पनि उहाँले बताउनुभयो ।
फिसटेल एल बियरको खुद्रा मूल्य आधा लिटरको ३ पाउण्ड ५० पेन्स राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री