कृष्ण र सानु बैनी हामीसँग छुट्टी नजाने भएपछि समय त्यतिकै बित्दै जान्छ । दिन, रात र हप्ता बितेर गयो । हाम्रो छुट्टीको व्यवस्था मिलाउन नसकेर एकदम मन हलचल भइरहेको छ । आखिर छुट्टी जान नै पर्छ । त्यसैले जति चाँडो मिलायो उति तनाव कम हुन्छ भन्ने लागिरहन्छ । तर ताराले छुट्टी जानको लागि एउटा शर्त अघि सारेकी छिन् । उनको शर्त भनेको, “हामी मात्र जानु हुँदैन है । कोही न कोही साथी हुनुपर्छ,” भनेकी छिन् ।
नोभेम्बरको उराठ लाग्दो महिना छ । मौसम एकदम धेरै ठन्डी छ । नोभेम्बर बेलायती शीतकालको समय भएको हुनाले दिउँसोको ४ बजे नै दिन अँध्यारो हुँदै जान्छ र रात परिहाल्छ । यसरी हरेक दिन मौसम परिवर्तन हुँदै गएता पनि ताराको विचारमा खास्सै परिवर्तन आउन सक्दैन । उनी आफ्नो विचारदेखि टसमस हुन नमानेपछि म केही अन्य उपायहरु सोच्न थाल्छु । हुन त उनको बानी मलाई राम्रैसँग थाहा छ । तर थाहा नहुनु पनि कसरी, हाम्रो बिहे भएको नै ३५ वर्ष भैसकेको छ । तर मेरो विवाह भएको ३५ वर्ष जति नै अध्ययन गरेर मनोविश्लेषक सिग्मन्ड फ्रायडले आइमाई के चाहन्छ पत्ता लगाउन सकेका थिएनन् ।
जे होस् बेलुकी खाना खाने बेलामा पनि हामी मात्र छुट्टी जाउँ है भनेर एक चोटी जिस्क्याएँ । तर उनले मेरो कुरोलाई टेरपुच्छर लगाइनन् । त्यसपछि हातमा एक कप चिया लिएर म खन्द्रङ खन्द्रङ भर्याङ चढ्छु र आफ्नो सानो कोठामा पुग्छु । कोठामा पुगेपछि बेलायतमा अहिले सबैकुरोहरु महङ्गो छ भन्ने सोच्छु । केवल जाबो चियामात्र सस्तो भन्ने लाग्छ । हुन त चिया पनि पहिले कहाँ अहिले जस्तो सस्तो थियो र ? सत्रौ शताब्दीतिर एशियादेखि इस्ट इन्डिया कम्पनीले चिया खरिद गरेर बेलायत ल्याउनु पर्थ्यो । अब त्यति टाढादेखि ल्याएको चिया स्वाभाविक रुपमा महङ्गो हुन्थ्यो । त्यसैले उच्च घराना र राजपरिवारका सदस्यहरुले मात्र चिया पिउने गर्थे । तर तीनताकादेखि सुरु भएको बेलायती चिया इतिहासको मुख्य पात्र भने तत्कालिन महारानी क्याथरिन ब्रागान्जा नै हुन् भनेर म एक झमट सम्झन्छु ।
तर बेलायतको चिया इतिहासलाई एकछिन छाड्ने हो भने यसको आविस्कारको मुख्य नायक चाहिँ चिनिया सम्राट सन नङलाई नै जान्छ । इसा पूर्व २७३७ तिरको कुरो हो । एक दिन सम्राट बगैँचामा बसेर तातो पानी पिइरहेका थिए । अचानक कहीँ नभएको हुरी बतास चल्यो । हावाले हल्लाएर क्यामिलियाको पात उनले पिउदै गरेको तातो पानीको कपमा खस्न पुग्यो । तिनै बहादुर सम्राटले कपमा पसेको पात मिसिएको पानी पिएर चियाको आविस्कार गरेका थिए ।
यद्यपि अहिले मेरो अस्थायी बसोबास बेलायतमा भएको हुनाले चिनियाँ सम्राटलाई चट्टै भुलिदिन्छु । र, फेरि महारानी क्याथ्रिनलाई सम्झँदै चिया पिउने गर्छु । तर आज उनलाई सम्झँदै बिर्सदै गर्दा मलाई कता कता नमिताको याद आउँछ । उनी मेरो दाजुको छोरी हुन् र मेरो पनि छोरी । तिनै छोरी अहिले जुवाइँको साथमा अल्डरसट टाउनमा नै बस्ने गरेकी छिन् । अब कृष्णहरु पानीजहाजको यात्रामा नजाने भनेपछि वा उनीहरु गइ पो हाल्छन् कि भनेर मलाई सोध्न मन लाग्छ । किनभने हामी पहिले एकचोटी उनीहरुसँग पनि पानीजहाजको यात्रामा निस्केका थियौं । र, त्यसबेला हामीले फ्रान्स, जर्मनी, बेल्जियम र द नेदरल्याण्डको यात्रा गरेका थियौं ।
अन्य सबै स्थानहरुलाई थाँती राखेर उनीहरुसँग आम्सटर्डम यात्रामा बिताएका क्षणहरु लेख्न मलाई यहाँ थोरै रहर लागेर आउँछ । सामुन्द्रिक सतहभन्दा २ मिटर अथवा ६ फिट ६ इन्च मुनी रहेको अलौकिक सहर आम्सटर्डम द नेदरल्याण्डको राजधानी हो । हरेक वर्ष लाखौं पर्यटकहरुलाई आकर्षण गर्ने सहर आम्सटर्डमको डि वालेन क्षेत्रभित्र रातो बत्तीको जिल्ला (रेड लाइट डिस्ट्रिक) रहेको छ । जसले गर्दा यस सहरलाई विश्वको ‘सेक्स क्यापिटल’ भनेर यस धर्तीका हरेक मानवहरुले चिन्ने गरेका छन् । कता कता घैँटोमा घाम लागेर यतिको प्रख्यात स्थलको भुइँमा बिछ्याइएका ‘ब्रोन्ज ब्रेस्ट’ मा मेरा पाइलाहरुले दुई-दुईचोटी टेकिसकेका छन् ।
पहिलोचोटी म, तारा र छोरीसँग पुगेको थिएँ । दोश्रोचोटी चाहिँ नमिता छोरी र जुवाइँसँग पुगेको छु । तर म जस्तो भुँइमान्छेले पटक पटक वेश्यालयहरुको किन भ्रमण गर्छ होला भनेर मेरा पाठकहरुको मनमा जिज्ञासा लाग्न एकदम स्वाभाविक ठान्दछु । जस्लाई मैले मानवीय गुण नै हो भनेर सहर्ष स्वीकार गर्छु । त्यसै सन्दर्भमा मैले अर्को एउटा सानो घटनालाई यहाँ जोड्न चाहें । हामी एकदिन तारासँग जेरुसेलमदेखि जिसस क्राइष्टको जन्मस्थान बेत्लेहेम जाँदै थियौं । बेत्लेहम पेलेस्टाइनमा परेतापनि जेरुसेलमदेखि त्यति टाढाको दुरीमा छैन् । तर हामी इजरायलदेखि पेलेस्टाइन जानुभन्दा अगाडी पश्चिमी पर्खालमा पुगेर केहीबेर रोकिन्छौ ।
पश्चिमी पर्खाल प्राचिन कालमा निर्माण भएको मन्दिर पहाड (टेम्पल माउण्ट) को एकतर्फको हिस्सा हो । पुरानो जेरुसेलममा अवस्थित यो पर्खाललाई यहुदीहरुले कोटेल वा कोसेल र मुसलमानहरुले बुराक पर्खाल भन्ने गरेका छन् । उक्त्त मन्दिरको निर्माण इसापूर्व १९ मा भएको थियो र मन्दिरलाई राजा हेरोड महानले निर्माण गरेका हुन् । पटक पटक भएको लडाइँ, झगडा र आगोले मन्दिरको सबै भाग नष्ट भएतापनि भाग्यले साथ दिएर पश्चिमतिरको पर्खाल अहिलेसम्म बाँकी रहेको छ । त्यस पर्खालको लम्बाइ ४ सय ८८ मिटर र उचाइ १९ मिटर छ । विश्वभरी रहेका हरेक यहुदी धर्मावलम्वीहरुले आफ्नो जीवनकालमा एकचोटी पुग्ने त्यस स्थललाई ‘पवित्र स्थल’ भनेर चिन्ने वा जान्ने गरिन्छ ।
वास्तवमा भन्ने हो भने मेरो जिन्दगीका रहरहरु पनि अचम्म अचम्मैका छन् । हरेक बिहानीको सूर्योदयसँगै एउटा रहर झुल्केर आउँछ र हरेक बेलुकिपखको सुर्यास्तसँगसँगै अस्ताएर जान्छ । तर कुनै कुनै रहरहरु यस्ता हुन्छन जस्लाई मैले अधिकतम बचाउने प्रयत्न गरिरहेको हुन्छु । ति मध्येको एउटा रहर चाहिँ पवित्र भूमि जेरुसेलम पुगेर हेरोड महानलाई सम्झँदै सम्झँदै पश्चिमी पर्खाललाई नजर लगाउने थियो ।
मेरा तिनै रहर पूरा गर्न म एकदिन जेरुसेलमतिर रमाना हुन्छु । हामी पश्चिमी पर्खालमा पुग्दा त्यस दिनको समय त्यस्तै बिहानीको ११ बजेको हुनुपर्छ । जसले गर्दा त्यहाँ मानिसहरुको निक्कै धेरै भिडभाड सुरु भइसकेको देखिन्छ । पर्खालको भित्तामा पुगेर आफ्नो मनमा लागेको कुरोहरु लेखेर प्वालमा टास्यो भने मोक्ष प्राप्ति हुन्छ भन्ने कुरो पहिले नै सुनेको छु । तर त्यहाँ पुगेर हेर्दा पुरुषहरु बायाँतिरबाट र महिलाहरु दायाँ दिशादेखि पर्खालमा जानु पर्ने चलन रहेछ ।
हामी पनि तारासँग छुट्टिएर त्यो नियमलाई स्वीकार्दै त्यसै गर्छौं । म चाहिँ अलिक चुल्बुले प्रकारको मान्छे छु । त्यसैले सरासर हिँड्दै जान्छु र पर्खालको भित्तामा पुगिहाल्छु । गोजिदेखि कागजको एउटा टुक्रा निकाल्छु । त्यसपछि ठूल्ठूलो अक्षर लेखेर कर्याङकुरुङ चित्र जस्तो कोर्छु । अनि यसो दायाँ बायाँ हेरेर भित्तामा प्वाल खोज्छु र कच्याककुचुक्क बनाएर प्वालमा टालिदिन्छु ।
आफ्नो भित्री आकाङ्क्षा भित्तामा टालेपछि प्रशन्न हुन्छु । जिन्दगीमा एकपटक पश्चिमी पर्खाल आउने धोको थियो पूरा भयो भनेर फर्किहाल्छु । त्यसैले पछाडी फर्केर तारा पनि आउँदै छिन् कि भनेर उनलाई हेर्दै र्हेर्दै म अघि बढ्छु । केही समय अगाडी हामी जहाँदेखि छुटेका थियौं, म सोही स्थानमा पुग्छु । अब त्यहाँ पुगेर म उनलाई खुरुन्धार पर्खन थाल्छु । हुन त तारा अलिक ढिलो खाले मान्छे नै हुन् तै माथि आज उनले अलिक अग्लो चप्पल पनि पहिरिएकी छिन् जस्ले गर्दा हिँड्न सायद ढिलो भएको होला भनेर मनमनै भन्छु । अझै पर्खालको अगाडी जमिनभरि ढुङ्गा बिछ्याइएको छ । जस्ले गर्दा उनलाई हिँड्न समस्या भयो होला कि भनेर घरिघरि भिडतर्फ हेर्छु ।
जेरुसेलमको मौसम ज्यादै राम्रो छ । मध्यान्हको घामले सहर टलक्कै टल्केको अनुभूति हुन्छ । वास्तवमा इजरायल निश्चय नै उजाड मरुभूमि हुँदै होइन र एकाध ठाउँहरुलाई छाडेर त्यति उर्वर भूमि जस्तो पनि मलाई लाग्दैन । त्यति राम्रो मौसम भएको दिनमा पर्खालको ठीक पछाडी पट्टी अति आकर्षक मस्जिद झलल टल्किरहेको देख्न सकिन्छ । जसको नाम ‘अल आक्सा मस्जिद’ हो भनेर मैले सुनेको छु । जिन्दगीमा त्यस्ता मस्जिदहरु कति हेरिए हेरिए । तैपनि एक/दुई वटाको नामै लिने हो भने पनि ताज महल, आग्रा शेख जायद मस्जिद, आबुधावी हागिय सोफिया र ब्लु मस्जिद, इस्तानबुल घुम्न नै मलाई अति रमाइलो लाग्छ ।
अहिले जहाँ म उभिरहेको छु, त्यहाँदेखि झन अल आक्सा मस्जिदको दृश्य ज्यादै सुन्दर देखिरहेको छ । अझै मध्यान्हको सूर्यको प्रकाशले मस्जिदको पहेँलो छानो सुन झैँ टलल टल्केको नजर मार्दा म ज्यादै आनन्दित भइरहेको छु । जाबो एकतोला सुनको लागि मरिहत्ते गर्ने मानिसलाई मस्जिदको पूरै छानो नै सुनको जस्तो देख्दा मन प्रफुल्ल भइरहेको हुन्छ । त्यहाँदेखि मस्जिदलाई राम्ररी नियालिरहँदा मलाई एउटा कथाको याद आउँछ । त्यो कथा रोचकभन्दा पनि साह्रै उदेकलाग्दो छ । अनि त्यो कथा हो वा सत्य घटना हो भनेर एकछिन आफैं रणभुल्लमा पर्छु । अनि म जस्तै अलमलमा पर्ने मानिसहरु सायद अरु पनि छन् होला कि भनेर भित्रभित्रै कल्पना गर्छु ।
कथाको सार चाहिँ यस्तो छ । प्रोफेट महमदले यस धर्तीमा बस्ने अन्तिम दिन मक्का र मदिनामा बिताइ सकेपछि यहीँ जेरुसेलममा आउँछन् । त्यसपछि सोही मस्जिदमा अन्तिमचोटी प्रार्थना गरेर वायु पङ्खी घोडामा चढेर स्वर्गमा बिलय हुन्छन् । अब मलाई लाग्छ -साँच्चै भन्न पर्दा प्रोफेट घोडाबाट कसरी उडे होलान् ? यसरी उड्दै गर्दा माथि आकाशमा कुन दिशातिर लागे होलान् ? मनभित्र असङ्ख्य प्रश्नहरु ओइरिन्छन् । सायद प्रोफेट यतै तिरदेखि उडे होलान् भन्दै आकाशतिर मुन्टो घुमाएर एक चक्कर डुलाउँछु ।
म त्यतिबेलासम्म एक्लै छु तैपनि आफै बोलिरहेको छु । तर सबैभन्दा मुख्य कुरो त प्रोफेटलाई निस्फिक्रिसँग सम्झँदै हलचल नगरी एक्कै ठाउँमा उभिरहन्छु । उनले आकाशमा उडेको बाटो कल्पना गर्दै गर्दै एक चक्कर हेरिसकेपछि मेरो मस्तिष्क गलेर लखतरान हुन्छ । त्यसैले थकाइ मार्न खोज्छु । सुस्तरी घुमाएर टाउको जमिनमा ल्याउँछु । तर ठीक त्यहीबेला एकजना अर्ध नग्न युवती मेरो नजिकै ठिङ्ग उभिरहेको देख्छु । मेरो नयन उनको शरीरमा पर्ने बितिक्कै म झसङ्ग झस्किन्छु । त्यसैले हतारहतार ती तरुनीदेखि मेरो अनुहार लुकाउन खोजिहाल्छु । तै पनि मेरो भित्री मन त्यो शरीरदेखि त्यति सजिलो भाग्न के मान्थे ? अहँ मान्दै मान्दैन, त्यसैले फेरि एक झलक छड्के नजरले हेरिहाल्छु ।
उनलाई त्यसरी हेरेपछि उनको कदमहरु सुस्तरी सुस्तरी मतर्फ अगाडी बढे झैँ मलाई भान हुन्छ । सुरुसुरुमा त मेरो सोचाइ गलत हो कि भन्छु । तर जब जब उनी मेरो नजिक आइपुग्छिन् तब तब मेरा नयनहरु के झुटा हुन्थे । सबै सत्य रहेछ । उनी त्यति नजिक आएर अब मलाई के भन्ने हुन् भनेर थोरै छट्पटिन थाल्छु । तर मेरो ठीक सामुन्ने आएर उभिएपछि मलाई प्रख्यात कलाकार भिन्सेन्ट भ्यानगगले कोरेको ठिङ्ग उभिरहेकी एकजना अर्धनग्न आइमाईको तस्वीर जस्तै लाग्छ । म एकछिन अगाडीसम्म प्रोफेट महमदसँग कल्पनामा डुबेर कताकता हराइ रहेको मान्छे । अचानक मेरो अगाडी त्यति सुन्दरी युवती खडा हुँदा कतै उनैले पठाएको हो कि के हो भनेर एकछिन रणभुल्लमा पर्छु ।
उनी त्यहाँ आएपछि मलाई क्वारक्वार्ती हेरी रहन्छिन् । म पनि झन् के कम छु र ? झन् दुइटै आँखा झिमिक्क नगरी उनलाई मज्जाले हेर्छु । त्यसपछि पूरै जिउ हल्लाउँदै उनी मसँग बोल्न थाल्छिन् । तर उनले बोलेकी कुरो म पटक्कै बुझ्दै बुझ्दिनँ । अँह के के भन्छिन् भन्छिन् । तैपनि उनको टुटेफुटेको अङ्ग्रेजीलाई राम्रो सुन्ने प्रयत्न गर्छु । तर सोहीबेला शिरदेखि पुछारसम्म उनको शरीर झन् मज्जाले नियाल्छु । त्यसरी नजिकदेखि उनलाई नियाल्दा उनको भीमकाय छातीले मलाई निक्कै नै आकर्षण गर्न खोजिरहेको हुन्छ । त्यसपछि मैले उनको हेउभेउ मज्जाले चाल पाउँछु ।
यति पवित्र स्थलमा एकजना छाडा तरुनी भेट्दा एकछिन दङ्गै पर्छु । त्यसपछी उनलाई म थोरै घृणाको दृष्टिले हेर्छु र सुस्तरी हिँडेर थोरै टाढिन खोज्छु । तर जतिजति म उनीसँग टाढा हुन खोज्छु उनी त्यति त्यति मेरो नजिक आउँछिन् । अब परदेशको ठाउँ न हो । तै माथि कसैलाई चिनेजानेको छैन् भनेर अलिअलि त्रसित हुन्छु । तर एकजना बैसालु युवतीले त्यसरी मरिहत्ते गर्दा मलाई झन् बढी त्राश पैदा हुन थाल्छ । मेरो टाउको सुस्तरी फुलिएर आए जस्तो हुन्छ । झन् त्यसबेला तारा मेरो सामुन्ने आइ पुगिन् भने मैले के भन्ने होला भनेर डरले थुरुरु हुन्छु । निक्कै लामो समयसम्म म केही नबोलेपछि, “हजुरलाई केहि सेवा चाहिन्छ कि ?” भनेर उनी प्रश्न गर्छिन् ।
त्यसपछि उनले मलाई बोल्न बाध्य पार्छिन् । “छ्या हौ, लु भयो । मलाई तिम्रो सेवा र धर्म दुवै पर्दैन,” सानो स्वरमा जबाफ फर्काउँछु । फेरि अन्तिम पटक उनले तिनै प्रश्नलाई दोहोर्याउँछिन् । अब म भित्रभित्रै चनाखो हुन्छु । र, सदैव मानवीय हितको लागि सोचिरहने तर हाइगेट, लण्डनमा अवस्थित कार्ल मार्क्सको शालिक जस्तै ठिङ्गै खडा भइरहन्छु । तर म त्यसरी एकै स्थानमा उभिरहेको भएपनि पटकपटक म उनको जिउँडाललाई राम्ररी नियालिरहेको हुन्छु । निक्कै लामो समयसम्म हेरेपछि यो आइमाई पक्कै पनि कि रसियन वा युक्रेनियन मूलुककी हुनुपर्छ भनेर ठम्याउँछु ।
समय आफ्नै गतिमा बहँदै जान्छ । हामी एक अर्कामा गतिलो हिमचिम हुन सक्त्तै सक्त्तैन । त्यसै त म निष्ठूरी मान्छे । त्यसो भएकोले उनीप्रति मरिगए पनि चासो देखाउँदै देखाउँदिनँ । किनभने जिन्दगी जिउने क्रममा यस्ता लबस्तराहरु मैले कति भेटेको छु कति । त्यसैले सजिलै बिर्सन सक्छु । मैले त्यति सोचिरहँदा उनी मेरो नजरदेखि एकछिन हराउँछिन । भैरे ! घरिघरि यस्तो मौका पाइँदैन भन्ने सोच्छु र म त्यहाँदेखि कुलेलाम ठोकिहाल्छु । एकदम अपरिचित बेश्यादेखि उम्किएपछि मलाई पवित्र स्थल जेरुसेलममा जीवनदान पाएको जस्तो महसुस हुन्छ । त्यसपछि म सुस्तरी हिँड्दै भीडको नजिकै पुग्छु र एकछिनपछि तारासँग भेट्छु । उनलाई भेट्दा मेरो अनुहार रातो र पिरो भइसकेको चाल पाउँछु । तैपनि उनले खास्सै वास्ता गरिनन् तर भेटने बितिक्कै, –
“कति धिलो गरेको हौ ?” भन्छु ।
“लेख्ने कलम भेट्दै नभेटेर नि,” जवाफ फर्किन्छ ।
“पर्खदा पर्खदा वाक्क भै सक्यो ?” यसो पछाडीतिर फर्केर त्यसो भन्छु ।
“अनि के लेखेर टाल्नु भो त ?” उल्टै उनी प्रश्न गर्छिन् ।
“मैले त लत्तरपत्तर गरेर एउटा चराको नक्सा बनाइ दिएँ ता कि चराजस्तै उडेर संसार देख्न सकौँ,” भन्दिएँ ।
“मैले त अर्को जुनीमा पनि तपाइँकै अर्धाङ्गिनी हुने भनेर लेखेँ,” भन्दै थोरै मुस्कान छाडिन् ।
“ए राम्रै गरे छौं त,” भनें ।
मेरा शब्दहरुको समापन हुन्छ । त्यसपछि म निशब्द हुन्छु र खुरखुरु अगाडी बढ्छु । तर पश्चिमी पर्खालमा एकजना बेश्यासँग एक्लै उभिरहँदा घटेको घटनालाई बताइ हाल्ने जमर्को गर्दिनँ । तैपनि मेरो मनभित्र कताकता हलचल पैदा भइरहेकै हुन्छ । मेरो हृदयभित्र जतिसुकै तरङ्गहरु तरङ्गित भइरहेता पनि आ…. ठीक्कै छ है भन्छु । अरुबेला झैँ म उनको अघिअघि र उनी मेरो पछिपछि पछ्याइ रहन्छिन् । पश्चिमी पर्खालदेखि निस्केर हामी एक्कैछिनमा मूल सडकमा पुग्छौं । त्यहाँ पुग्ने बितिक्कै हाम्रो सामु एउटा ट्याक्सी देखापर्छ । ट्याक्सीलाई समातेर इजरायल र पेलेस्टाइनको सिमानातर्फ लाग्छौं ।
ट्याक्सिभित्र पसेपछि चालकलाई जेरुसेलममा बेश्याहरुको एकदमै बिग्गी रहेछ भन्न मन लाग्छ । तैपनि मैले सोध्दा ऊ रिसाउने हो कि भनेर एकछिन् नबोली बस्छु । तर यहुदीहरु हामी नेपालीहरु जस्तो गोरुस्वाँठ हुँदै हुँदैनन् । उनीहरु भनेको संसारको सबैभन्दा बुध्दिमानी मानवहरु हुन् । हामी नेपालीहरु त्यसको ठीक उल्टो छौं भन्ने लाग्छ । सायद त्यसैले होला आजसम्म वैज्ञानिकहरुको अग्रपङ्त्तिमा उनीहरु नै छन् । हाम्रो चाहिँ हात लाग्यो शुन्य । अब त्यस्तो मानिसहरुले के कुतर्क गर्छ होला र ? गर्दैन होला भन्ने मनमनै लाग्छ । तै पनि के भनेर मेरो प्रश्नको जवाफ दिन्छ होला भनेर म आफैँ एक मिनेट सोच्छु ।
नभन्दै उनलाई जेरुसेलममा बेश्याको विषयमा सोधेपछि ऊ पहिले थोरै मुस्कुराउँछ । अनि मतर्फ एकपटक नजर मार्छ । ट्याक्सीको भित्री ऐनादेखि पछाडी बसिरहेकी तारालाई एक झमट हेर्छ । त्यसपछि मोरो थोरै लज्जाएको जस्तो गर्छ । म उसको गतिविधिलाई नजिकदेखि नियालिरहेको हुन्छु ।
त्यसपछि उसले मुख खोल्छ । “ए तपाईलाई थाहा छैन र ? बेश्याहरु संसारको हरेक ठाउँ ठाउँमा पाउन सकिन्छ । किनभने बेश्याबृति विश्वको सबैभन्दा पुरानो मात्र नभएर अति सरल व्यवसाय पनि हो,” ऊ बिस्तारै बोल्छ ।
म उनको कुरो ध्यानपूर्वक सुन्छु । उसैले फेरि कुरो थप्न थाल्छ ।
“इसापूर्व २४ सय वर्ष पहिले सुमेरियनहरुले यो व्यवसाय सुरु गरेका हुन् । त्यसैले यो व्यवसाय आजदेखि सुरु भएको होइन,” भनेर मलाई इतिहास पनि सुनाउँछ ।
ट्याक्सी हेब्रोन सडक, जेरुसेलममा आफ्नै गतिमा गुडिरहेको छ । उनको कुरो सुनेर म एकछिन् स्तब्ध हुन्छु । साँच्चै उनले भनेका कुरो सुन्दा मैले जिन्दगीमा बिताएको पुरानो दिनहरुको बेस्सरी याद गर्छु । अझै सबैभन्दा उदेक त मलाई के लाग्छ भने म एकदिन चेक गणतन्त्रको राजधानी प्रागमा पुगेको हुन्छु । अनि त्यस बेलुकीको समय त्यस्तै १० बजेको हुनुपर्छ । जब म एउटा होटलमा एक्लै छिर्छु । स्वागत गर्ने कर्मचारीले मलाई होटलको पाचौं तलामा कोठा दिन्छिन् ।
म होटलको लिफ्ट चँढेर पाचौं तलामा पुग्छु । तर म कोठामा पस्ने बितिक्कै किरिङ किरिङ फोन आइहाल्छ । अब मलाई यसबेला फोन गर्ने को होला नि भनेर एकछिन् सोच्छु । आ जो सुकै होस् है भनेर एकछिन् त्यतिक्कै बस्छु तर फोनको घण्टी बिसाउन मान्दै मान्दैन । फोन लामो समयसम्म रोइरहेपछि मलाई खपि नसक्नु हुन्छ । त्यसैले फोनको रिसिभर उठाउँदै ‘हेल्लो’ भन्छु । तर मैले फोन उठाउने बितिक्कै, –
“महाशय ! तपाईसँग राति सुत्नको लागि युवतीको आवश्यक पर्छ कि पर्दैन ?” होटलको कर्मचारीले प्रश्न गर्छिन् ।
म उनको कुरो सुनेर लाजले मुर्छा पर्छु । धतेरिका ! अघि म तल रिसेप्सनमा हुँदा सोधेकी भए त तिमी नै आए हुन्छ भनिहाल्थेँ भनेर मनमनै सोच्छु । अझै बत्तीको प्रकाशले मोरी कम्ति सुन्दरी देखिएकी थिइनँ । त्यसपछि पागलझैं एक्लै खितिति हाँस्छु । उनको कुरो बुझे पनि नबुझे जस्तो गरेर, “फेरि भन्नोस् त ?” भनेर प्रश्न तेर्स्याउँछु । उनले पहिले कै कुरो दोहोर्याउँछिन् । त्यसपछि मैले, “भो भो पर्दैन,” भनेपछि उनले फोन राखिदिन्छिन् ।
प्रागदेखि मेरो मन भुरुरु उडेर लण्डनको सोहोमा पुग्छ । जब जब सोहोमा रात छिपिँदै जान्छ तब तब रात रङ्गीन हुँदै जान्छ । त्यसपछि त के भन्नु र ? लण्डनको रात्रीकालिन समयमा तरुनीहरुको कपडा अलिअलि गरेर खुस्कँदै जान्छ । हुन त सोहो मात्रको के कुरा गर्नु र ? सोहो जस्तै अन्य स्थानहरु कति छन् छन् । अझै तीन दशक अगाडीको दिनहरु याद गर्ने हो भने जर्मनीको मिन्डन, मुनस्टर, हनोभर, कोलोन, म्युनिक हुँदै बर्लिनसम्म पुग्दा वास्तवमा यौन भनेको के हो भनेर छ्याङ्गै बुझ्न सकिन्थ्यो । साँच्ची ती छोकडीहरु कहाँ गए होलान् । अनि आजभोलि कस्ता भए होलान् भनेर एकछिन सोचें ।
खै ! जर्मनीको मात्र के कुरा गर्नु र ? उत्तरी साइप्रसको केरिनियादेखि फामागुस्तासम्म मात्र हेर्ने हो भने पनि संसार विचित्रमय लाग्छ । अझै दक्षिणी साइप्रसको निकोसियादेखि लिमासोलसम्म पुग्दा फिलिपिन्सदेखि क्युबासम्मको प्रतिनिधित्व गर्ने षोड्शीहरु त्यहिँ मिल्छ । अझै त्यसरी लाम लागिरहेका युवतीहरुको कुरो गर्दा इथेवान सियोलदेखि टेम्पल स्ट्रिट हङकङसम्म पुग्दा आरामदायी जिन्दगीको मज्जाले कल्पना गर्न सकिन्छ । बैकंकको सोइ काउबोइदेखि पाटपोङसम्म मात्र नभएर पुकेटको बङ्लारोडमा देखिएका भेटिएका युवतीहरु सम्झदा यस धर्तीमा अलिक चाडै जन्मिएछ कि भन्ने आभास हुन्छ ।
संसारभरि देखिएका तिनै युवतीहरुको सम्झनामा लिप्त हुँदै गर्दा “आइपुगियो है,” सुस्तरी ट्याक्सी चालकले भनेको सुन्छु । उनको बोली सुनेर पहिले त म झसङ्गै झस्किन्छु । किनभने त्यसबेलासम्म म आँखा खोलेर नै निदाएछु । उनको भनाइ सुनेपछि संसारको सबैभन्दा जोखिमपूर्ण सिमानामा पुगेको हुनाले अलिक चनाखो बन्छु ।
इजरायलको सिमानादेखि मेरो मन उडाएर म बसिरहेको कोठा बानबरीमा फर्काउँछु र, छोरी नमितालाई फोन गर्छु । उनले हाम्रो छुट्टी मिल्न सकेन है भनेर जवाफ फर्काउँछिन् । तर कल्पना छोरीलाई एकचोटी सम्पर्क गर्नोस् त भनेर सल्लाह दिन्छिन् । मलाई जसरी पनि साथि चाहिने भएकोले म उनलाई फोन गर्छु । उनले पनि दुई दिनपछि हामी पनि नजाने भयो है काका भन्ने खबर गर्छिन् । अब कोही पनि साथी नमिलेपछि कसरी छुट्टीको व्यवस्थापन गर्ने होला भनेर छक्क पर्छु ।
समय क्रमशः बित्दै जान्छ । अर्को हप्ता पनि यतिक्कै बित्छ । अब मैले ठोस कदम चाल्नु पर्छ भनेर कोठामा झोक्राइ रहेको हुन्छु । सोहीबेला रसियन जार पिटर महानको बेस्सरी याद आउँछ । उनले युरोपको पूरै सहरहरुको यात्रा गरिसकेपछि अहिलेको सेन्ट पिटर्सबर्ग सहर बनाउने कल्पना गरेका थिए । तर एउटा पूंरै नयाँ सहर बनाउनको लागि अत्यधिक पैसा खर्च हुने भएकोले उनको श्रीमती पिटरको विचारदेखि अति रुष्ट भइन् । तर पिटर अति आँटिला थिए । उनले आफ्नो विचारलाई सकरात्मक नलिएको भन्दै श्रीमती इडोशियालाई पारपाचुके गरे । त्यसपछि उनले संसारको सबैभन्दा सुन्दर सहर भेनिस पछिको दोश्रो सुन्दर सहर सेन्ट पिटर्सवर्गको निर्माण गरे ।
तिनै सहरलाई पछि कम्युनिष्टहरुले लेनिनग्राड भनेता पनि रसियन साम्यवाद गोलखाडी गएपछि पुनः सेन्ट पिटर्सवर्ग नै नामकरण गरिएको छ । सेन्ट पिटर्सवर्ग पुगेपछि म तिनै पिटरलाई घरिघरि सम्झेर आफैँ शक्त्तिशाली बन्न खोज्छु । र, ताराको शर्तलाई यसो बिर्से जस्तो गरिहाल्छु । अब बार्सिलोना गएर तीन/ चार दिन जति बस्नु पर्यो । त्यसपछि पानीजहाजदेखि भूमध्य सागरको एक चक्कर मार्नु पर्यो भन्ने भित्रभित्रै योजना बनाउँछु ।
मेरो भित्रिया योजना बनेपनि तारालाई केही भन्दै भन्दिनँ । बरु टिकट काटेर मात्र भन्नु पर्यो भन्ने निर्णय गर्छु । त्यसपछि केही सोच्तै नसोची पानीजहाज कम्पनीहरुलाई फोन गर्न थाल्छु । सबैभन्दा पहिले हेयज ट्राभललाई फोन गरिहाल्छु । र, त्यहाँ कार्यरत हेलेनसँग बात मार्छु । उनैले एकचोटी पानीजहाज यात्राको हामीलाई टिकट मिलाइदिएकी थिइन् । दुर्भाग्यवस यसचोटी उनले निक्कै महङ्गो भनिन् । त्यसपछि इग्लु क्रुज होलिडे कम्पनीमा सम्पर्क गर्छु । इग्लुमा काम गर्ने युवती बेकीले हामीलाई दश दिने छुट्टीको बन्दोबस्त गरिदिन्छिन् ।
क्रमश
पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।