लण्डनमा मनाइयो नेपाली सेना दिवस

लण्डन । लण्डनमा नेपाली सेना दिवस मनाइएको छ ।
नेपाली दुताबास लण्डनमा विहीबार साँझ एक कार्यक्रम आयोजना गरी सो दिवस मनाइएको हो ।
कार्यक्रमको शुरुवातमा सैनिक सहचारी कर्णेल रत्नबहादुर गोदारले आमन्त्रित पाहुनाहरुलाई स्वागत गर्दै नेपाली सेनाको इतिहास र अहिले गरिरहेका कार्यका बारेमा जानकारी दिनुभएको थियो । उहाँले नेपाली सेनाले देशको रक्षाका साथै राष्ट्रिय निकुञ्जहरु र वन्यजन्तु आरक्षहरुको रक्षा, सगरमाथा लगायतका हिमालबाट फोहोर संकलन, संयुक्त राष्ट्रसंघ मातहतमा शान्ति सेनामा रहेर उल्लेख्य कार्य गरेको बताउनुभयो । बेलायती सेनाका बीचमा सयौँ वर्षदेखिको सहकार्य हुँदै आएको र सो सहकार्य दीर्घकालसम्म रहने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि बेलायती सेनाका जनरल रिचर्ड वार्ड ल ओबीई रहनुभएको थियो । सो समारोहमा बोल्दै वार्ड लले नेपाली सेना र बेलायती सेना तथा नेपाल र बेलायतबीच शताब्दीयौँ पुरानो सम्बन्ध रहेको र भविष्यमा पनि सो सम्बन्ध सुमधूर रहने आशा व्यक्त गर्नुभयो । आफू हालै नेपाल गएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेश गरेको बताउँदै उहाँले नेपाली सेनालाई हार्दिक शुभकामना दिनुभयो ।
बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले नेपाली सेनाले देशको रक्षा गर्नुका साथै पर्यावरण, प्राकृतिक स्रोतको रक्षा र शान्ति सेनामा समेत उल्लेख्य भूमिका खेलेको बताउनुभयो । नेपाल र बेलायतबीच शान्ति सन्धि भएको यो वर्ष १०० वर्ष पुगेको ऐतिहासिक अवसरको स्मरण गर्दै उहाँले दुई देश र दुई सेनाबीचको सम्बन्ध अनन्तकालसम्म रहने आशा प्रकट गर्नुभयो ।
उपनियोग प्रमुख रोशन खनालले सञ्चालन गर्नुभएको सो कार्यक्रममा विभिन्न देशका सैनिक सहचारीहरु, बेलायतस्थित नेपाली तथा गैरनेपाली महानुभावहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गायकगायिकाहरु शर्मिला वर्देवा, सितु खरेल, सपनकुमार राई र विनु गोदारले देशभक्ति तथा अन्य गीतहरु गाएर कार्यक्रमलाई रमाइलो बनाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री