बेलायती हिउँदे मौसमले वाक्क बनाएपछि केही दिन भएपनि देश बाहिर जानु पर्यो भन्ने मैले सोचिरहेको थिएँ । तर तारालाई सोधौँ भने ६ महिना अगाडीमात्र नेपाल गएर आको होइन, भनिहाल्छिन् । त्यस्तो नानाथरिका कुरो सुन्नुभन्दा बरु उनलाई थाहा नदिइँ सुटुक्कै छुट्टी बुक गर्नु पर्यो । अनि छुट्टी बुक गरि सकेपछि सबै कुरो ठीकठाक हुन्छ होला । त्यसपछि मौका मिलाएर उनलाई सुनाउनु पर्ला भन्ने सोच बनाउँछु ।
यसचोटी पनि छुट्टीमा बार्सिलोना नै जानु पर्यो । अनि त्यहीँदेखि पानीजहाज समात्नु पर्यो भन्ने विचार आइरहेको छ । तर बार्सिलोना भनेको सुन्ने बितिक्कै उनी रिसले अगुल्ठो नै हुन्छिन् । किनभने हामी पहिले पनि एकचोटी त्यहाँ पुगेका थियौं । अब एउटै ठाउँमा पटकपटक किन जानु पर्यो भनेर मेरो कान खाएपनि म जोखिम मोल्नको लागि तयार हुन्छु ।
पहिलोचोटी बार्सिलोना पुग्दा लास रम्बलास, साग्रादा फेमिलिय, बार्सिलोना फुटबल रङ्गशाला (क्याम्प नाउ) र ओलम्पिक रङ्गशालाहरु एक्कै दिनमा घुमेका थियौं । त्यति धेरै ठाउँहरु एक्कै दिनमा घुम्दा निक्कै धेरै मेहनत गर्नु परेको थियो । किनभने बार्सिलोना निक्कै ठूलो सहर छ । अब त्यति ठूलो सहरको सबै ठाउँहरु पुग्न त्यति सजिलो छँदै छैन । अझै मैले त्यसदिन घरीघरी नक्सा पढ्नु गल्ती गरेको थिएँ । गलत पढाइले गलत ठाउँमा पुगेपछि तारा बिच्किनु स्वभाविकै नै थियो । अनि त्यसरी हराउँदा लखतराना भएको शरीरलाई सम्झँदा मेरो आङ अहिले पनि जिरिङ्गै हुने गर्छ ।
हुन त मानिस जब नौलो ठाउँमा पुग्छ ठ्याक्कै त्यस्तै अनुभव गर्छ । त्यसैले घर छाडेर घुम्न निस्कने बितिक्कै सोचेको जति कहाँ सजिलो हुन्छ र ? हरेक झमेलाहरु आइपर्छ, त्यसलाई पार गर्नुपर्छ । अनेकन बाधा, अड्चन र ठक्करहरु खानुपर्छ । तर पनि मलाई कुनै कुनै बेला यस्तो लाग्ने गर्छ, “यात्रा मात्र जिन्दगीमा यस्तो चिज हो । जस्ले मानिसको आँखा खोल्छ र दिमागको वृद्धि गर्दछ ।” मेरो विचारमा यो भनाइ सायद अधिकतम सत्य होला । तैपनि घुम्नको लागि रहरले मात्र पनि नपुग्दो रहेछ । त्यही भएर मलाई यस पटकको छुट्टी मिलाउन फलामको च्यूरा चपाउनु जतिकै गार्हो भयो । कहाँ जाने ? के गर्ने ? कति दिनको लागि जाने ? भनेर यो मन दोधारमा परिरह्यो ।
आखिर मन जतिसुकै खेले पनि मानिसको मन नै त हो भन्दै मैले क्रुज यात्रामा जाने निधो गरिरहेको थिएँ । तर क्रुज यात्रामा निस्कनु पनि कहाँ त्यति सजिलो हुन्छ र ? समय मिल्छ, क्रुजको भाउ बढछ । क्रुज सस्तो हुन्छ, समय मिल्दैन । अझ सबैभन्दा ख्याल गर्नु पर्ने कुरो त के थियो भने पानीजहाज यात्रामा कुनै कुनै स्थान दोहोरिन पनि सक्छ । अनि पटकपटक दोहोर्याएर एक्कै ठाउँमा जाँदा पहिले पनि आइसकेको ठाउँ बित्थैमा पैसामात्र खर्च भयो जस्तो लाग्छ ।
अब त्यस्तो कुनै गल्ती नहोस् है भनेर अलिक मज्जाले गृहकार्य गर्न थाल्छु । त्यसपछि विभिन्न क्रुज कम्पनीहरु जस्तैः– क्रुज किङ्ग, भर्जिन होलिडे, थोम्पसन क्रुज, सेलेब्रिटी क्रुज, पिएनओ क्रुज, रोयल क्यारेबियन क्रुज, कोस्टा क्रुज, कार्निभल क्रुज, हल्याण्ड अमेरिका, आइडा क्रुज, नर्वेजियन क्रुज र एमएसी क्रुज कम्पनीहरुको वेवसाइटहरु खर्लप्पै खान्छु । त्यसपछि अरु कसैलाई वास्ता नगरी अन्तत मैले इग्लु क्रुजलाई नै छान्छु । इग्लु क्रुज पानीजहाज कम्पनी होइन तर पानीजहाज यात्राको टिकट बेच्न निक्कै प्रख्यात कम्पनी वा एजेन्सी हो ।
वास्तवमा कुनैपनि टिकट बेच्ने एजेन्सीहरुलाई खस भाषामा ठ्याक्कै भन्दिने हो भने दलालहरु हुन भनेपनि खास्सै फरक त पर्दैन । किनभने यसको आफ्नो एउटा पनि पानीजहाज छँदै छैन । तर क्रुज कम्पनीहरुदेखि होलसेलमा अलिक सस्तो टिकट ल्याएको हुन्छ । अनि मानिसलाई बेच्ने गर्छ । तर मलाई जहाँसम्म लाग्छ । आजभोलि दलाल भन्ने शब्द नेपालमा त्यति लोकप्रिय छैन, क्यारे । त्यसैले जग्गा दलालहरुले दलालदेखि नाम परिवर्तन गरेर जग्गा व्यापारी (जबे) भनेर आफ्नो परिचय दिएका आक्कलझुक्कल सुन्ने गरेको छु ।
तैपनि बेलायती दलालहरु नेपाली दलालहरु जति अलिक बेइमानी हँुदैनन् । अझै मेरो आत्मा जोडिएको इग्लु क्रुजले त झन मलाई पटक्कै धोका दिनु हुँदैन । नत्रभने त पानीजहाजमा जानु अगावै मेरो जहाज डुबिहाल्छ । वास्तवमा त्यहीँ भएर मैले इग्लु क्रुजलाई सबैभन्दा बढी माया गरेको छु । सन् २००८ देखि क्रमशः काखी च्याप्दै म सँगसँगै हिँडाएको छु ।
अ… यसो भन्दैगर्दा इग्लु क्रुजको मालिक रिचार्ड डाउन हुन् । उनैले सन् १९९८ मा ‘स्की होलिडे’ भनेर पहिले सानो कम्पनी खोलेका थिए । सोही कम्पनीले रुप धारण गरेर अहिले इग्लु क्रुजमा परिणत भएको छ । तिनै इग्लु क्रुजदेखि मैले पटकपटक पानीजहाजको टिकट खरिद गरे पनि आजको मितिसम्म मलाई टाउको समाउने बनाइ हालेको छैन । नत्रभने कुनैकुनै कम्पनीहरुले त मज्जाले दिल जलाउने काम गरेको मसँग तीता अनुभवहरु पनि छन् ।
मैले यसचोटी तिनै कम्पनीदेखि लण्डन, बार्सिलोना र लण्डन आतेजाते हवाइजहाजको भाडा संलग्न गराएको छु । अनि अलिक महङ्गो भएपनि ब्रिटिस एयर नै होस् है भनेर बेकीलाई पटकपटक भनेको छु । अङ्ग्रेजहरु रेबेका नाम गरेकी महिलालाई छोटकारीमा बेकी भन्ने गर्छन् । त्यसैले मैले पनि उनलाई बेकी भनेर सम्बोधन गर्छु । टेलिफोनमा निक्कै धेरैचोटी बोलिसकेको हुनाले उनीसँग फोनमा मेरो राम्रै हिमचिम भएको छ । किनभने अलिक नामुद एअरलाइन्स बाहेक अन्य बजेट एअरलाइन्सहरुको प्रयोग गर्दा मसँग अमिलो चुक चाटिसकेको अनुभव छ । त्यसैले आजभोलि अलिक चनाखो भएको छु ।
खासमा खास त्यति मात्र नभएर बेकीसँग मैले बार्सिलोना हवाइ अड्डादेखि होटलसम्म अनि तीन दिनपछि होटलदेखि बार्सिलोना बन्दरगाहसम्म र एक हप्तापछि बन्दरगाहदेखि बार्सिलोना बिमान अड्डासम्मको निजी कारको व्यवस्था पनि मिलाइ दिनु है भनेर राम्ररी सम्झाइ बुझाइ गरेको छु । उनले मलाई बार्सिलोनामा रहेका चारतारे होटलहरुमध्ये जुनसुकै छान्नु भएपनि हुन्छ र दाममा खास्सै त्यस्तो असर पर्दैन भनेर अनुरोध पनि गरेकी छिन् । त्यसपछि उनले होटल छानेर पुनः सम्पर्क गर्नु है भनेर मायालु शब्दमा भनेकी छिन् ।
उनको कुरो सुनेपछि म घरको सानो कोठामा पुग्छु र बार्सिलोनामा भएका दुई–चारवटा होटलहरुको रिभ्यु सर्सर्ती पढन थाल्छु । मैले आरक्षण गर्नै लागेको होटल वास्तवमा सहरभित्र नै नपरोस् किनभने मलाई धेरै चमकधमक र होहल्ला त्यति मन पर्दैन । त्यसैले अरु होटलहरुसँग तुलना गर्दा होटल आलिमारा अलिक शान्त जस्तो लाग्छ । त्यसपछि बेकीलाई फोन गरेर आलिमारामा नै बस्छु है भन्छु । मेरो कुरो सुनेपछि उनले त्यस होटलमा दुई रातको लागि एउटा कोठा आरक्षण गरिदिन्छिन् ।
त्यसपछि पानीजहाजमा एक हप्ता बस्न, खान र त्यहाँ भएको सुबिधाहरु प्रयोग गर्नको लागि प्रति व्यक्ति के कति रकम लाग्छ । मलाई त्यसको पूर्ण विवरण विद्युतीय पत्रमा सामेल गर्नु है पनि भन्छु । मेरो कुरो सुनेर उनले, “हुन्छ नि, किन नहुनु ? म त्यति सेवा गर्नको लागि त बसेकी हुँ,” उनले हाँस्दै हाँस्दै त्यसो भनेकी सुनिन्छ । उनी झन उत्साहित हुँदै “म तपाइँलाई एक हप्तापछि यात्राको पूर्ण विवरण पठाउँछु है,” भन्छिन् ।
“तर मैले त्यसो भन्दै गर्दा तपाइँले पनि दुवैजनाको जीवन बीमा र कोभिड १९ को प्रमाणपत्रहरु जुटाउनु पर्छ । अनि जीवन बीमा गर्दाखेरि चाहिँ केही मापदण्डहरु पनि पूरा गर्नु पर्ने हुन्छ । जुन मापदण्डहरु के के हुन् भनेर म विद्युतीय पत्रमा उल्लेख गर्ने छु,” भनेर मलाई फेरि जत लगाउँछिन् । मैले उनलाई प्रति उत्तर दिनेक्रममा, “हुन्छ, हुन्छ,” भनेर फोन राखिदिन्छु । उनको कुरोसँग ढुक्क भएर फोन राखेपछि अब तारालाई चाहिँ कसरी छुट्टी आरक्षण गरँे भन्ने होला भनेर पिरको पहाड चढनु थाल्छु ।
बेलायतमा ठन्डी नोभेम्बर महिनाले बिदा लिनै आँटेको छ । अति बिघ्न जाडोले बिदा गर्ने भएपछि हृदयलाई थोरै भएपनि शीतल थप्ने काम गर्छ । सोही महिनाको अन्तमा ताराको जन्मदिन पनि पर्छ । अब ताराको जन्मदिनमा एउटा रेष्टुराँमा जानु पर्यो । अनि रेष्टुराँमा खाना खानभन्दा अगाडी उनलाई हामी छुट्टी जाँदैछौं भनेर भन्नु पर्यो भनेर सानो योजना बनाउँछु ।
यदि नेपालमा हुँदो हो त आफ्नो श्रीमतीसँग को डराउँछ र ? कोही पनि डराउँछ जस्तो लाग्दैन । तर यहाँ त आइमाईहरुको हालीमुहाली चल्छ त्यसैले जे गरे पनि थुरथुर पैदा भइहाल्छ । रेष्टुराँमा छोराछोरीको अगाडी कुरोको बियो खोल्यो भने उनी त्यति शक्त्तिशाली हुन सक्त्तिनन् कि भन्ने मलाई लाग्छ । त्यसैले त्यतातिर सोच्छु । तर छोरा चाहिँ हामीसँग घरमा बसेको छैन, लण्डनमा बस्छ । र, उतैतिर आफ्नो पेट पाल्छ । तर छोरा जस्तोसुकै काम भएपनि माया मारेर त्यसदिन घर आउँ है भनेर फोनमा भन्छु । उसले मेरो कुरोलाई राम्ररी बुझ्छ र हुन्छ म आउँछु भन्छ । छोरी पनि केही समय अगाडी रेडिङदेखि बानबरी सरेकी छिन् । जसले गर्दा पारिवारिक भेटघाट गर्न एकदम सरल भएको छ ।
छोराछोरी हुर्केपछि ताराको जन्मदिन पनि अचम्मैले मान्ने गरिएको छ । नानीहरुलाई हामी पूर्वको मान्छे हौं । त्यसैले पाश्च्यात्य चलनको धेरै नक्कल गर्न हुँदैन है भन्छु । तर मेरो कुरो कसैले सुन्दै सुन्दैन । त्यसैले कोहीबेला कहाँ कोहीबेला कहाँ जन्मदिन मनाउँन पुगिरहेको हुन्छौं ?
तर उनको ५०औं जन्मदिन भने अलिक फरक प्रकारले मनाएको याद छ । हामी त्यसबेला उनलाई केही भन्दैनौं । तर देशभन्दा बाहिर जाने छोराछोरीसँग सल्लाह गर्छौं । “अनि जाने ठाउँ चाहिँ तपाईले छान्नु होस् है,” भन्दै छोरीले मलाई ठाउँ छान्ने जिम्मा दिन्छिन् । मैले पनि, “आ…हुन्छ हुन्छ,” भन्छु र बोलोइना, इटाली जाने भनेर ठाउँ छान्छु । हुन त हामी इटाली निक्कै धेरैचोटी पुगिसकेका थियौं । तर बोलोइना चाहिँ पुगिहालेको थिएनौं । त्यसैले मलाई त्यहाँ जाने तीव्र इच्छा भइरहेको थियो ।
अनि सकेसम्म त्यहाँ जाँदा छोराछोरीलाई पनि सँगसँगै लैजाऊँ भन्ने मेरो पुरानो रहर थियो । किनभने बोलोइना युनिभर्सिटी संसारको सबैभन्दा पुरानो युनिभर्सिटी हो । जसको निर्माण सन् १०८८ मा भएको थियो । त्यसको ८ वर्षपछि सन् १०९६ मा खोलिएको अक्सफोर्डले दोश्रो स्थान हासिल गरेको छ भने सन् १२०९ मा निर्माण भएको क्याम्ब्रिज तेश्रो पुरानो हो । हामी अक्सफोर्ड र क्याम्ब्रिज पटक पटक पुगेता पनि बोलोइना पुगेको थिएनौं । त्यसैले सो स्थान जान उपयुक्त्त हुन्छ भन्ने मलाई लागिरहेको थियो ।
अझै बोलोइनामा त्यति पुरानो युनिभर्सिटीमात्र होइन । इटालीको प्रख्यात खाना ‘स्पाइगेटी बोलोइना’ को जन्म पनि त्यही सहरमा भएको थियो । जुन खानाले अहिले पूरै यूरोप खर्लप्पै खाएको छ । त्यति मात्र नभएर त्यहाँदेखि फ्लोरेन्स पनि नजिक पर्छ । र, त्यहाँ घुम्नको लागि पनि सजिलो हुन्छ भन्ने अर्को कारण थियो । अन्तत हामी त्यता रमाना हुन्छौं । भनौं उनको ५०औ जन्मदिन मनाउन ग्याटविक विमानस्थलदेखि हाम्रो पखेटा लाग्छ । तर बिचरा तारालाई कुन ठाउँ जादैछौं भन्ने कुरोको अत्तोपत्तो हुँदैन । हामी बोलोइना पुगेर एउटा ट्याक्सी पक्रेर होटलमा पुग्छौं । त्यसपछि मात्र उनले चाल पाउँछिन् ।
बेलुकीको समय करिब छ बज्नै लागेको छ । आज ३० नोभेम्बरको दिन ताराको जन्म दिन पनि हो । उनलाई यसचोटी पनि भन्दै नभनी हामी तीनजनाले रेष्टुराँमा खाना खान जानको लागि सल्लाह गरेका छौं । त्यसैले लण्डनदेखि छोरा हस्याङ्गफस्याङ्ग गर्दै घर आइपुग्छ । त्यसपछि डिनरको लागि हामी तयार हुन्छौं । मैले हिजै दिउँसो रेष्टुराँमा हामी आउँछौ है भनेर अग्रीम सिट आरक्षण गरिसकेको थिएँ । त्यसैले हामी सबैजना तयार भएपछि घरदेखि निस्कन्छौं । घरदेखि निस्केर पहिलो बायाँ घुम्ने बितिक्कै साउथम सडकमा ठोकिन्छौं र केही अगाडी बढेर ड्यूक्स मिडो ड्राइभ आउँछ । हामी त्यतातिर घुम्छौं । त्यहाँदेखि लगभग ५–६ सय मिटर जति टाढा पुगेपछि लेप्स्ली ड्राइभको अलिक मुन्तिर एउटा ठूलो कारपार्कमा पुग्छौं । तिनै कारपार्कमा पुगेपछि मेरो थोत्रो मर्सिटिजले घन्द्रङ्गै आवाज निकाल्दै अन्तिमचोटी सास फेरेर मर्छ ।
त्यो कारपार्कको वरिपरि नेपालको बसपार्क नजिकै पाइने दोकानहरु जस्तै स–साना भुटुने दोकानहरु छ्यास्छ्यास्ती देखिन्छन् । तर कारपार्कको एकापट्टी कुनामा हानवेल भट्टी पसल र त्यसको ठीक विपरित दिशामा तर भित्ताको नजिकै रहेको घरमा “परपल म्याङ्गो” भन्ने भारतीय रेष्टुराँ छ । हुन त बेलायतको हरेक टाउनदेखि सहरभरी भारतीय र चाइनिज रेष्टुराँहरु फालाफाल पाइन्छन् । तैपनि चाइनिज रेष्टुराँलाई छाडेर भारतीय रेष्टुँराहरुको मात्र कुरो गर्ने हो भने प्रायजसो सबै रेष्टुराँहरु बङ्गालीहरुले चलाएका हुन्छन् । तर बङ्गालीहरुले आफ्नो नाम नराखेर किन भारतीय नाम राखेका होलान् भनेर म घरिघरि उदेक मान्ने गर्छु । सायद त्यस पछाडी केही कारणहरु होलान् । तर मलाई पटक्कै कारण थाहा छैन् । अझै हामी जुन रेष्टुराँमा गइरहेको छौँ त्यसको कथा पनि त्यस्तै लिखितम नै छ अथवा बङ्गालीहरुले चलाएका छन् ।
हामी त्यहाँ पुग्दा बेलुकीको समय ठीक ७ बजेको हुन्छ । बेलुकी पखको बानबरीको मौसम ज्यादै बिरमाइलो छ । किनभने अघि मध्यान्हदेखि नै सिमसिमे पानी परिरहेको छ । तैपनि पानी मात्र परिरहे त भइहाल्थ्यो । अलिअलि हावा र बतास पनि चल्छ । त्यसैले जाडो खपिनसक्नुको छ । जाडोसँग बाँच्नको लागि हामी सबैजनाले लामोलामो कोटहरु पहिरेका छौं । जस्तोसुकै जाडो भएतापनि सहेर कारदेखि निस्कँदा म सबैभन्दा अगाडी हिँड्छु । र, हावाको विपरीत दिशामा आछुछु गर्दै अरुले मलाई पछ्याउन थाल्छन् । हामी सुस्तरी हिड्दै रेष्टुराँको मूल दैलोमा पुग्छौं । हामी त्यहाँ पुग्दा हसिलो मुद्रामा खालिल हाम्रो सामुन्ने खडा भएको देख्छौं । “खालिल ! सबै खबरहरु ठीक छ ?” भनेर सबैभन्दा पहिले मेरो मुख खोलिन्छ । मेरो त्यति निम्छरो प्रश्नको जवाफमा, “बाहिर थोरै जाडो छ, नत्रभने भित्र बिल्कुल ठिक छ,” भनेर उनले जवााफ फर्काउँछ ।
पर्पल म्याङ्गो रेष्टुँराको एक नम्बर बेयरा खालिलसँग मेरो राम्रै चिनजान छ । उनले काम गर्ने रेष्टुराँ हाम्रो घर नजिकै पर्छ । हामी घर बाहिर खाना खानको लागि निस्कँदा त्यहीँ जाने गरेका छौं । अनि पापाडमदेखि नानसम्म खुलाउने खालिलले हामीलाई गज्जबले नै चिनेको छ । वास्तवमा उनी सिल्हेट, बङ्लादेशमा जन्मेका हुन् । अब उतै जन्मेर हुर्केता पनि धीत मरिन्जेल माछा र भात खान नपाएर दुई कोरी उमेर पुग्दा ऊ पनि म जस्तै देश छाडेर हिँडेका मान्छे रहेछन् । तर म त समयमा नै उचाइ, छाती र तौल नापेर सेनामा भर्ती भएको हुनाले बेलायत छिर्न त्यति गाह्रो भएन । तर उसले ‘बेलायती सपना’ को लागि निक्कै धेरै परिश्रम गर्नु परेको कथा मलाई समय समयमा सुनाउने गर्छ ।
बङ्लादेश छाडेपछि अरब, टर्की, ग्रीस, इटाली र फ्रान्सतिर शरणार्थी जीवन गुजारा गर्दैगर्दै १२ वर्ष लगाएर बेलायत छिरेका उनी निश्चय पनि एक जीवित इतिहास हुन् । त्यति लामो समयमा उनले के के हन्डर खाए होलान् भनेर त केही भन्न सकिँदैन । तर मेहनत गरेर उनको जीवन कहानी लेख्ने हो भने अर्को एउटा नयाँ रामायण बन्न सक्छ । तर खालिललाई मैले त्यसबेला देख्ने बितिक्कै, “राईजी ! दिनमा एक बस्ता प्याज काट्छु, अझैसम्म प्याजले पोलेर निस्केको आँसुले मेरो आँखा सुकेको छैन । अझैसम्म आँसु ब्रम्हपुत्रको पानी जतिक्कै अविरल बहिरहन्छ,” भनेको सम्झन्छु । अझै त्यतिले मात्र उनको कथा के सिद्धिन्थ्यो, “मैले उठाएको फोहोर थाल र बटुकाहरुको रास एक ठाउँ थुपार्ने हो भने सायद भुसुभुए पर्वत जतिकै अग्लो हुन्थ्यो होला ?” भनेको पनि सम्झन्छु ।
निक्कै लामो समयसम्म इटालीमा काम गरेका खालिलले भुसुभुए पर्वतको कुरो गर्दा मेरो दिल खरानी झै भित्रभित्रै जल्छ । उनको त्यो भनाइ सुनेर म केहीबेर स्तब्ध हुन्छु । म त्यसबेला पोमपोइ, इटालीमा घटेको त्यो दर्दनाक घटनालाई बेस्सरी स्मरण गर्छु । सन् ७९ मा भुसुभुए पर्वतदेखि निस्केको तातो खरानीले पोमपोइ सहर पूरै डढेर खरानीमा परिणत भएको थियो । त्यो घटना घटेको लगभग २ हजार वर्ष पछि म पोमपोइ पुगेको थिएँ । जहाँ तातो खरानीले पुरिएको मानिसहरुको आकृतिहरु अहिले पनि जस्ताको तस्तै देख्न सकिन्छ ।
“खै तपाईहरुको कोटहरु दिनुहोस् त ।”
मूलढोकामा खालिलसँग भेट भएपछि हामी सबैजनाको कोटहरु झुन्डाउन लानको लागि उनले अनुरोध गर्छ । हामी आ–आफ्ना कोटहरु खोलेर उनलाई दिन तयार हुन्छौं । तर उनको कुरो सुनेर ताराले थोरै आनाकानी गर्छिन् ।
“होइन ! वा भरै कोटमा करीको रङ्ग लगाइ दिन्छ कि मोराले । बरु म नै जतन गरेर राख्नु पर्ला ?” मेरो कान नजिकै आएर उनले सुटुक्कै भन्छिन् ।
“लाटी ! थपक्कै देऊ । तिमीले पो बरु खाना खाँदा मैला पार्छौ त ।”
उनको प्रश्नको छोटो जवाफ फर्काउँछु । तर मेरो कुरो सुनेर ताराको मन बेचैन हुन्छ । बत्तीको प्रकाश मुनी भएपनि उनको धुमिल बन्दै गरेको मुहारलाई मैले मज्जाले ठम्याउन सक्छु । उनले मुटुमाथि ढुङ्गा राखेर कोट खोलेर बेयरालाई दिन्छिन् । वास्तवमा उनले त्यो कोट केहीदिन अगाडीमात्र खरिद गरेकी थिइन् । त्यही पनि ‘म्याक्सामारा’ दोकान बिस्टर भिलेजदेखि । त्यसैले उनको त्यति प्रिय कोटलाई कतै मैला लाग्छ कि भनेर उनलाई थोरै शङ्का लागिरहेको थियो । आखिर बिस्टर भिलेज भनेको के हो ? यस्को विषयमा मलाई यहाँ दुई चार हरफहरु लेख्न मन लाग्यो ।
केहीवर्ष अगाडी बिस्टर टाउनमा ६० वटा अति सुविधा सम्पन्न बहुर्राष्ट्रिय ब्रान्डेड पसलहरु खोलिएका छन् । अब ब्रान्डेड भनेपछि त्यहाँका सबै समानहरु अति महङ्गा छन् । त्यहाँ भएका दोकानहरु भ्यालु रिटेल कम्पनीले नियन्त्रण गर्दछ । भ्यालु रिटेल कम्पनीको मालिक चाहिँ अमेरिकन अर्बपति स्कट माल्किन हुन् । तिनै धनाढ्य माल्किनले बिस्टर भिलेज बेलायतमा जस्तै अन्य एघार देशहरुको विभिन्न एघार स्थानहरुमा त्यस्तै ब्रान्डेड दोकानहरु खोलेका छन् ।
साँच्चै साँच्चै भन्नु पर्दा म पनि अलिक रहरे मान्छे रहेछु । एकदिन लण्डनदेखि चिल्टर्न रेलको एउटा रेल चढेर तिनै बिस्टर भिलेज दोकानमा जाँदै थिएँ । मसँग त्यस यात्रामा एकजना उमेर पाकेर बृद्ध भएकी अङ्ग्रेजी महिला पनि थिइन् । एउटै सिटमा हामी नजिकै बसेको भएतापनि त्यसबेलासम्म हाम्रो बोलचाल भइहालेको थिएन । तैपनि हामी अन्य मानिसहरुभन्दा थोरै भाग्यमानी रहेछौं । जसले गर्दा सिटमा बस्ने अवसर पाएका थियौं । नत्रभने धेरैजसो मानिसहरु रेलमा उभिएर यात्रा गरिरहेका थिए भने कोही मान्छेहरु भुइँमा पलेटी कसेर मज्जाले बसिरहेका थिए । जब जब यूरोपलाई उछिनेर एसियन मुलुकहरुको अर्थतन्त्र राम्रो हुन थाल्छ । तब तब बिस्टर भिलेजमा आउने जाने रेल यसरी नै भिड लाग्ने गर्छ ।
त्यस रेलमा यात्रा गर्ने सबैभन्दा बढी यात्रुहरु चिनियाँ मूलका थिए । त्यसपछि अरबहरु अनि कोरियनहरु र जापानिजहरु अलिक थोरै देखिन्थे । वर्षौ वर्ष परदेश बसेको हुनाले उनीहरुले कुन कुन भाषा बोलिरहेका छन् भनेर बुझ्न मलाई सजिलो भएको छ । त्यसैले आजभोलि को चाइनिज, जापानिज र कोरियन हुन् भनेर छुट्याउन सक्ने भएको छु । तर समय समयमा त्यति धेरै भिडदेखि नजर भगाएर रेलको झ्यालदेखि बाहिर हेर्ने गर्छु । झ्याल बाहिर देखिएका हरिया नागीहरुमा हुलका हुल गाइगोरूहरु र भेडाका बथानहरु जमिनमा मुखै गाडेर चरिरहेको देख्दामात्र म बेलायतमा नै छु कि भन्ने आभास हुन्छ । नत्रभने रेलभित्रको वातावरण हेर्दा चाहिँ बेइजिङदेखि सांघाई जाँदै गरेको छु कि वा जमिरावीचदेखि बरदुबाइ गएको झै अनुभव भइरहन्छ ।
आफ्नो टाउकोमा ३०६९ नम्बर लेखेको चिल्टर्न रेलले बेलायती सानो गाउँ हेडेनहाम अड्डालाई बिदाइ गरेको केहिबेरमा बिस्टर भिलेज अड्डामा रोकिनै लागेको छ । “केहीबेर पछाडी बिस्टर भिलेज रेल अड्डामा रेल रोकिदैछ है,” भनेर सबैभन्दा पहिले अङ्ग्रेजी भाषामा, त्यसपछि म्याण्डरिन र अन्तमा अरेबियन भाषामा ध्वनि प्रसारक यन्त्रदेखि आवाज आउँछ । म म्याण्डरिन र अरेबियन भाषाको एक दुईवटा शब्दहरु बुझ्छु । त्यसैले रेल कुन प्लेटफर्ममा रोकिँदै छ भनेर कान ठाडो ठाडो बनाएर सुन्ने प्रयत्न गर्छु । तर अचानक मेरो नजिकै बसिरहेकी ती बृद्ध महिलाले एक्कासी “इङ्गल्याण्ड अब अङ्ग्रेजहरुको रहेन, अरु कसैको भइसक्यो ” भनेको सुनेपछि म झसङ्गै झस्किन पुग्छु । तैपनि रेल रोकिएपछि मानिसहरु ढोकाबाट बाहिर निस्कन सुरु गर्छन् । सबैभन्दा पहिले ठेलाठेल गर्दै चिनियाँहरु अगाडी बढ्छन् । त्यसपछि कोरियनहरु अनि जापानीजहरु बाहिर निस्कदै गरेको देख्न सकिन्छ । अन्तमा बाहिर निस्कनेहरु चाहिँ अरबहरु छन् । वास्तवमा उनीहरु जुनसुकै मुलुकमा गएपनि उनीहरुको पहिरनले गर्दा अरबहरु हुन् है भनेर छुट्याउन ज्यादै सजिलो हुन्छ । र, अरुभन्दा अलिक ढिलो गर्दै ढलकढलक गर्दै हिँडेका देखिन्छन् ।
बिस्टर भिलेज दोकानमा मालसमान खरिद गर्न आउने ग्राहकहरुको रमाईलो खेल हेर्दै हेदै म रेलबाट सबैभन्दा अन्तिममा बाहिर निस्कन्छु । त्यसपछि सुस्तरी हिँडेर फलामबाट बनेको आकाशे पुल चढ्न थाल्छु । तर त्यसरी पुलको अखेटाहरु गन्ने क्रममा ती अङ्ग्रेजी महिलाले किन त्यसो भनेकी होली भनेर एकछिन गम्न थाल्छु । उनको भनाइले मेरो मन भुरुरु उडेर माम्सबरी गाउँमा पुर्याउँछ । तिनै गाउँमा सन् १५८८ मा थोमस हब्सको जन्म भएको थियो । हब्सले मानिसहरु लोभीपापी, ढाँेगी, निर्दयी र स्वार्थी हुन्छन् भनेका छन् । उनको भनाइ सायद एकदम जायज हो कि के हो जस्तो मलाई त्यसबेला लागिरहन्छ । अब भूमण्डलीकरणको समयमा न त अङ्ग्रेजी न नेपाली संसार सबैको एउटा घर हो र यसलाई सबै मिलेर जोगाउन पर्छ । आफू मात्र बाँच्ने र अरु मर्ने विचार सकिसकियो जस्तो लाग्छ ।
त्यसपछि ती आइमाईलाई सधैँ सधैँको लागि भुलिदिने प्रयत्न गर्छु । पर्पल म्याङ्गो रेष्टुराँको मुख्य बेयरा खालिलले हाम्रो कोटहरु झुन्डाइ सकेपछि झ्याल छेउको टेबलमा गएर बस्नको लागि अनुरोध गर्छ । हामी त्यहाँ पुगेर बस्दै गर्दा, –
“आज मम्मीको जन्मदिन हो । त्यसैले के पिउनु हुन्छ होला ? एक बोतल प्रोसेको मगाउँ है । कि मोयट वा बोलिन्जर फुटाउने रहर छ ? सायद त्यो भन्दा ठूलो रहर डोम पेरिङनन त छैन होला ?”
छोराले हाँस्दै हाँस्दै पहिलो शब्द छाड्छ । बिहे गर्ने उमेर काटेर बत्तीस पुगेको छोरो मम्मीसँग जिस्कन माहिर छन् । उनको कुरो सुनेर तारा एकछिन अकमकाउँछिन् र झ्यालदेखि बाहिर नजर मार्छिन् । म जाबो जाँडरक्सीको नामै नलिने मान्छे । त्यही भएर उसले मलाई केही सोध्दै सोध्दैन । बरु तारा केहीबेर नबोलेपछि, –
“छोरा ! म एक क्यान कोक पिउँछु, त्यो पनि जिरो है,” सुस्तरी मेरो मुख खोलिन्छ ।
झ्यालदेखि बाहिर झन्झन् ठूलो पानी परिरहेको देखिन्छ । निक्कै लामो समयसम्म पानी परिरहेको हेरिसकेपछि ताराले, “प्रोसेको सबैभन्दा सस्तो छ सायद त्यही पिऊँ है,” सानो स्वरमा बोल्छिन् ।
“के यो परिवारमा मेरो चाहिँ विचार राख्ने कुनै अधिकार छैन र ? प्रजातान्त्रिक राष्ट्रमा बसेपछि सबैको मतको कदर गर्न जान्नु पर्छ । के यो नेपाल हो र ? जहाँ महिलाहरुको कुनै अधिकार नहुने ? अहँ ! प्रोसेको मलाई पटक्कै मन पर्दैन ।” कानुनको विद्यार्थी छोरीको मुखदेखि अचानक तीतो गन्ध निस्कन्छ ।
“पढाउनु भयो कि छोरीलाई कानुन,” ताराले मतर्फ हेरेर आगोमा तेल थप्छिन् ।
उनको कुरो सुनेपनि म नसुने जस्तो गरेर केही बोल्दै बोल्दिनँ । तर ठीक त्यहीबेला खालिलले हातमा चारवटा मेनुहरु लिएर उपस्थिति जनाउँछ । छोराले पेय पदार्थको मेनु हेर्दै नहेरी एक बोतल मोयट एण्ड चान्डन र एउटा कोक मगाउँछ । त्यसको साथमा केही पापाडमहरु र अमिलो आपको चटनिको ट्रे पनि ल्याइ दिनुहोस् है भन्छ ।
“आ…म त खानाको मेनु सेनु पनि हेर्दिनँ । र, स्टार्टर सिस्टार्टर पनि केही खान्नँ । एउटा चिकन जलफ्रेजी खान्छु । भाते मान्छे भएकोले थोरै भात चाहिन्छ । तर एउटा सादा नान नखाए भारतीय रेष्टुराँमा आएको जस्तो हुँदैन । अँ साँच्ची केही ग्रिल वा तन्दुरी चिकन पनि खाने होला होइन ? त्यति खाएपछि म त भोलि बिहानसम्मको लागि टन्न हुन्छु,” बिस्तारै बोल्छु ।
सबैजना मेनु हेर्नमा व्यस्त देखिन्छन् । त्यसैले मेरो कुरोलाई कसैले वास्ता गर्दैन । खालिलले सुस्तरी घचेट्दै ल्याएको ट्रलीको खोपाभरि कच्याकचुक्क कुच्चिएको पापाडमको अनुहार देखापर्छ । पापाडमसँग केही डिप सस पनि आउँछ । म पापाडम छुँदै छुन्नँ । किनभने पापाडम भनेको नुनको अर्को रुप हो जस्तो लाग्छ । नुन भन्नु नुन मृत सागर (डेड सी) पुगेर धीत मरिन्जेल खाएको छु । सामुन्द्रिक सतहभन्दा ४ सय ३० मिटर मुनिरहेको त्यो सागरमा ३५ प्रतिशत लवणयुक्त्त पानी छ । अत्याधिक नुन भएको कारणले गर्दा माछा तथा सामुन्द्रिक वनस्पति केही बाँच्न सक्त्तैन । सागरको पानीमा त्यस्तो बढी नुन भएको कारणले हात खुट्टा नचलाइ पानीमा मज्जाले तैरिन सकिन्छ । अझै त्यहाँ तैरिएर मैले जोर्डिनियन अखबार कागज पनि आनन्दले पढेको छु । तर समय समयमा भुलेर मुखमा र आँखामा पानी पस्दाको अनुभव झन् मज्जाले गरेको छु ।
खालिल हामी कहाँ आएपछि थपकथपक ड्रिङ्सहरु सारेर सबैजनालाई दिन्छ । हामी सबैले ड्रिङ्स पाएपछि एकचोटी ‘चियर्स’ भन्दै गिलास ठोकाएर नक्कल पार्छौं । हो, त्यहीबेला मैले एउटा कुरो भन्नु छ भन्दा सबैजनाले कान ठाडो ठाडो बनाउँछन् ।
“तारा र म डिसेम्बर १८ तारिख बार्सिलोना जाँदैछौं । बार्सिलोनामा हामी जम्माजम्मी तीन दिन बस्ने छौं । त्यसपछि भूमध्य सागरको वरिपरि हप्ता दिन क्रुज गर्ने छौं । छोरा तिमीसँग भेट नभएको पनि महिनौँ भएको थियो । तिम्रो उमेर पनि निक्कै ढल्किसकेको छ । जिन्दगीमा महत्वपूर्ण समयहरु आउँछ र जान्छ । त्यसैले पारिवारिक गफसफ पनि गर्नु छ । त्यसैले तिमीहरु दुईजना नै हामीसँग बार्सिलोना घुम्न आउ । जिन्दगीमा निक्कै धेरै अनुभवहरु सङ्गाली सकिएको छ । त्यसैले यसचोटी पहिले जस्तो घरिघरि हराइँदैन । हामी ब्रिटिस एअरवेजको एउटा जहाजबाट हिथ्रोदेखि उड्छौं । त्यसैले छोरीचाहिँ हामीसँगसँगै आउनु र छोराचाहिँ सोही समयतिर तर फाल्टै जहाज चढेर आउनु । आखिर बार्सिलोनाको लागि दिनमा ८–९ वटा फ्लाइटहरु छँदैछन् । सम्भव भइन्जेलसम्म सुरक्षाको कारणले एउटै जहाज पनि नचढौँ ।”
मेरो कुरो सुनेर ताराले, “अब सल्लाह गर्नु पर्छ,” भन्छिन् ।
“सल्लाह न बल्लाह टिकट त पहिले नै काटिसकेको छु,” हतार हतार मुख फर्काउँछु ।
“मलाई फ्लाइट नम्बर भन्नोस् त । म टिकटको मूल्य हेरिहाल्छु,” टेबलमा आराम गरिरहेको मोबाइल उठाउँदै छोरी बोल्छिन् ।
“म चाहिँ यसै भन्न सक्तिनँ किनभने मेरो छुट्टी हेर्नुपर्छ,” छोराले गम्भीर मुद्रामा जवाफ फर्काउँछ ।
क्रमशः
पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।