बेलायतमा घरको मूल्य निरन्तर ओरालो लाग्दो

लण्डन । बेलायतमा कोरोना महामारीपछि सुस्ताएको घरको कारोबार अहिलेसम्म पनि तङग्रिन सकेको छैन ।

बेलायतको एक वित्तीय संस्था नेशनवाडले बुधबार सार्वजनिक गरेको आँकडाअनुसार फेब्रुअरी महिनामा घरको मूल्यमा सबैभन्दा ठूलो गिरावट आएको छ । नेशनवाइडका अनुसार फेब्रुअरीमा १.१ प्रतिशतले घरको मूल्य घटेको छ । यसलाई सन् २०१२ को नोभेम्बर यताकै सबैभन्दा ठूलो गिरावट मानिएको छ ।

यो अर्थशास्त्रीहरूको प्रक्षेपणभन्दा धेरै पनि हो । रोयटर्सका अर्थशास्त्रीहरूले फेब्रुअरीमा ०.९ प्रतिशतले मूल्य घट्ने आँकलन गरेका थिए ।

यसका साथै यो विगत सात महिनामा भएको निरन्तर सातौँ गिरावट पनि हो । जनवरीमा घरको भाउ ०.९ प्रतिशतले घटेको थियो ।

उता बैँक अफ इङल्याण्डका अनुसार मोर्गेज स्वीकृत हुने दर पनि घटेको छ । जनवरी महिनामा ३९ हजार ६०० वटा मात्र मोर्गेज स्वीकृत भएको छ । यो सन् २०२० को मे यताकै कम्ती संख्या हो । जबकि डिसेम्बरमा ४० हजार ५०० वटा स्वीकृत भएको थियो ।

यसैगरी घरको किनबेचमा मन्दी आएछि औसत मूल्यमा पनि गिरावट आएको छ । गत अगष्टमा बेलायतको घरको औसम मूल्य २ लाख ७३ हजार ७५१ पाउण्ड रहेकोमा फेब्रुअरीमा २ लाख ५७ हजार ४०६ पाउण्डमा झरेको छ ।

उता नयाँ घरहरू बनाउन कम्पनी पर्सिमन हाउजिङले अहिलेकै आर्थिक अवस्था रहिरहेमा नयाँ घरहरूले ४० प्रतिशत मूल्य घटाएर बिक्री गर्नु पर्ने बताएको छ ।

नेशनवाइडका प्रमुख अर्थशास्त्री रोवर्ट गार्डनर अहिलेको आर्थिक अवस्थाको कारण क्रेताको घर किन्ने आत्मबल कमजोर भएकाले घरको कारोबाट घटेको बताउँछन् ।

उता प्यान्थोन माइक्रोइकोनोमिक्सका वरिष्ठ अर्थशास्त्री गाब्रियला डिकेन्स भने बैँक अफ इङल्याण्डले ब्याजदर घटाएमा र उर्जाको मूल्य घटेमा सन् २०२४ मा घरको बजार सामान्य अवस्थामा फर्कनसक्ने बताउँछिन् ।

के भन्छन् नेपाली मोर्गेज एडभाइजरहरू ?

एस्टार फाइनान्सियल सोल्युसन्सका रमेश सराङकोटी अहिले वित्तीय संस्थाहरूले ‘स्ट्रेस रेट’ बढाएका कारण ‘बाइ टु लेट’ (घर किनेर भाडामा लगाउने) स्वाट्टै घटेको तर आवासीय घर किनबेचको कारोबार भने उस्तै चलिरहेको बताउनुहुन्छ । यतिबेला घर किन्नेहरूका लागि मोलमोलाइ गर्ने राम्रो अवसर रहेकोले पहिलो पटक घर किन्ने र घरमा लगानी गर्नेहरू दुवैका लागि उचित मौका भएको उहाँको भनाइ छ ।

”भाडामा बसिरहेकाहरूले त घर किन्नु जहिले पनि फाइदाजनक छ किनभने बेलायतमा घरको मागअनुसारको आपूर्ति हुन सकिरहेको छैन त्यसैले घरको मूल्य घट्ने सम्भावना कम छ । त्यसैगरी लगानी गर्न चाहनेहरूका लागि पनि अहिले मूल्य स्थीर भएको बेलामा किन्यो भने केही समयपछि घरको मूल्य बढ्दा ‘क्यापिटल गेन’ हुने निश्चित छ”, उहाँले भन्नुभयो ।

उहाँको अनुभवमा अहिले पनि औसत मूल्यका घरमा क्रेताहरूबीच प्रतिस्पर्धा हुने गरेको छ भने औसतभन्दा अलि माथि मूल्य भएका घरहरूमा भने राखिएको मूल्यभन्दा थोरैमा किनबेच हुने गरेको छ ।

यसैगरी पीपल ग्रुपका प्रबन्ध निर्देशक सूर्यप्रकाश गुरुङ घरको किनबेचमा केही कमी आएपनि निराशाजनक अवस्था भने नरहेको बताउनुहुन्छ । घरको मूल्यमा १ प्रतिशत गिरावट हुँदा क्रेतालाई धेरै असर नपार्ने र यस्तो आँकडा देशव्यापी तथ्याँङ्कका आधारमा निकालिने भएकाले कुनै ठाउँमा मूल्य बढिरहेको र कुनै ठाउँमा घटिरहेको हुनसक्ने उहाँको विश्लेषण छ । आफू कार्यरत दक्षिण पूर्वी इङ्ल्याण्डमा भने धेरै मूल्यका घरमा मात्र मूल्य घटेको आफूले पाएको अनुभव पनि उहाँले सुनाउनुभयो ।

घरको मूल्य थोरै भएपनि घट्नु किन्नेहरूका लागि राम्रो अवसर भएकाले घर किन्न खोज्नेहरूलाई केही महिना पछि ब्याजर घट्ला वा घरको भाउ अझै घट्ला भनेर नपर्खन उहाँको सुझाव छ । पहिले जस्तो अब ब्याजदर धेरै नघट्ने पनि उहाँको निस्कर्ष छ । यसैगरी नेपाली क्रेताहरूलाई घर किन्ने क्रममा नेगोसिएन वा वार्गेनिङ गर्न नहिचकिचाउन पनि उहाँको सल्लाह छ किनभने अहिले क्रेताहरूको समय हाे ।    

प्रतिक्रिया

सम्बन्धित सामाग्री