प्रधानमन्त्रीसित के कुरा उठाए प्रेम गाहामगरले ?

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहामगरले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संग भेट गरी प्रवासी नेपालीहरूको नागरिकता तथा गोरखा समस्याका बारेमा छलफल गरेका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको करिब ४५ मिनेट लामो भेटवार्तामा भूतपूर्व गोर्खाका मुद्दा, वंशजको नेपाली नागरिकता निरन्तरता,एनआरएन विवाद आदिबारे कुराकानी भएको गाहामगरले बताए । उनले प्रधानमन्त्रीलाई आफ्ना माग समेटिएको एक ज्ञापनपत्र समेत बुझाएका छन् ।
अध्यक्ष गाहामगरले विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकलाई सधैंका लागि नेपाली नै रहिरहन दिनका लागि नेपालको नागरिकता ऐन २०६३ को दफा १० लाई पूर्णतः संशोधन गर्न जरूरी रहेको बारे प्रधानमन्त्रीको ध्यानाकर्षण
गराएका थिए ।
दफा १० को उपदफा ९१० अन्तर्गत नेपालको कुनै नागरिकले आफू खुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम नरहने व्यवस्था छ ।
नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशमा बसोबास गरेका नेपालीलाई स्वदेश फर्केर आफ्नो योग्यताअनुसार विभिन्न पदमा नियुक्ति लिई देशको सेवा गर्ने अवसरबाट वञ्चित गरेको उल्लेख गर्दै गाहामगरले यसलाई सच्याई सबै प्रकारका नियुक्तिमा योग्यताको कदर गरी देशको सेवा गर्ने अवसर प्रदान गरियोस् भन्ने माग समेत गरेका छन् ।
नेपाल, बेलायत र भारत सरकारबीच त्रिपक्षीय सन्धिमार्फत भर्ती भई बेलायत, हङकङ र सिंगापुरमा सेवा गर्न पठाइएका गोर्खाहरु विदेश बसेको वा विदेशी नागरिकता लिएकै कारण उनीहरुको वंशजको नेपाली नागरिकता सधैँका लागि नखोसियोस् भन्ने माग पनि उनको थियो ।
​​​भेटका क्रममा गाहामगरले एक उच्चस्तरीय समिति गठन गरी संविधानमा भएको नागरिकता सम्बन्धि व्यवस्था संशोधन गर्न समेत अनुरोध गरेका छन् ।
आफैं भूतपूर्व ब्रिटिश सैनिक रहेका उनले प्रधानमन्त्रीसमक्ष भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि शुरु भएको बेलायत र नेपाल सरकार (जीटुजी) वार्ता छिट्टो टुंग्याउन पहल गरिदिन समेत आग्रह गरेको जनाए ।
वार्ताका क्रममा गाहामगरले गत अक्टोबरमा सम्पन्न गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय दशौं महाधिवेशनले पारित गरेको विधान परराष्ट्र मन्त्रालयले गत शुक्रबार प्रमाणीकरण गरेको विषय पनि उठाएका थिए । निवर्तमान परराष्ट्रमन्त्री विमला राई पौड्यालले हतार हतार एनआरएनए विधानमा हस्ताक्षर गरेको कुरा सुनाउँदा प्रधानमन्त्रीले आफू यसबारे अनभिज्ञ रहेको र उनी अब पूर्व भइसकेको बताएको गाहामगरले बताए ।
प्रधानमन्त्री प्रचण्डले आफूहरुको माग सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको उनले जनाए ।
अध्यक्ष गाहामगरले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती, निवर्तमान उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, सोही पार्टीका नेता दीपकबहादुर सिंह, निवर्तमान उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेता रमेश प्रसाईं लगायत नेताहरुलाई भेटेर उल्लेखित मुद्दाबारे अवगत गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री