बगलीमारहरुको सहर – बार्सिलोना ५

संस्मरण

“अब जाने होइन र ?”
कोठाको ढोका बहिरदेखि छोरीको मसिनो आवाज आउँछ । हामी त्यसबेलासम्म बिस्तारामा तारासँग मज्जाले तन्किरहेको हुन्छौं । छोरीको आवाज सुनेर, “होइन, कति बजिसक्यो र ?” ताराले पहिलोचोटी मुख खोल्छिन् । उनको बोली सुनेपछि सिरानी नजिक रहेको बत्तीको स्वीचलाई टक्क गर्दै बाल्छु । त्यसै त मेरा आँखाहरु चिम्से चिम्से छन् । त्यसैले खोलिन मानेका छैनन् । जसोतसो जबरजस्ती आँखा खोल्छु । “घडीको अलार्म पनि लगाउनु भएन हगि ?” उनी प्रश्नमाथि प्रश्न थोपर्छिन् । आखिर अलार्म लगाउन भुलिए छ भनेर म चुपचाप बस्छु । र, उनले भनेको कुरो नसुने झँै गर्छु । तैपनि भर्खर भर्खर उठदै गरेको बेला कसलाई पो त्यति साह्रै बोल्न मन लाग्छ र ?
१८ जनवरी २०२३ को एउटा सुन्दर बिहानी छ । म उठ्ने बितिक्कै पहिले दाँत माझ्छु । त्यसपछि मुख धुन्छु । मुख धोइ सकेपछि एकचोटी अहम् गर्दै घाँटी सफा गर्छु । त्यसपछि सिढीमा घन्द्रङ घन्द्रङ आवाज निकाल्दै मुनी तलामा झर्छु । मुनी तलाको बायाँपट्टी एउटा खाली कोठा रहेको छ । त्यस कोठामा पहिलेपहिले छोरो प्ले स्टेसन खेल्थ्यो र थाकेपछि सुत्ने गर्दथ्यो । ऊ अहिले लण्डनमा सरेपछि कोठा बिल्कुल खाली भएको छ । कोठा साह्रै खाली भयो भनेर आजभोलि ताराले घरभित्र मौलाउने हरिया फूलहरु राखेकी छिन् । नत्रभने कोठाभित्र पस्ने बितिक्कै केवल एउटा सुत्ने बिस्तारा र केही कपडाहरु भएको पुरानो आलमारी मात्र देखिन्थ्यो ।
मैले तिनै खाली कोठाको प्रयोग गर्दै गत सप्ताहन्तमा अत्याधिक मादक पदार्थ सेवन गरेपछि कपडा सपडा फालेर बङ्लङ्गै उतानो परेर सडक पेटीमा सुत्ने बेलायती तरुनीहरु जस्तै एउटा सुटकेसलाई एक हप्ता अगाडिदेखि बङ्लङ्गै खोलेर राखेको छु । सुटकेसभित्र धर्के, कालो, सेतो र बैजनी रङ्गका चार पाँचवटा सर्टहरु, पतलुङहरु, भित्री गन्जीहरु र बेलायती हुनुमाने कट्टुहरु हालेको छु । अझै अचम्मलाग्दो कुरो त के छ भने ती सबै कट्टुहरु काल्भिन क्लेनका हुन् । मध्ये जनवरी महिनाको जाडो खपिनसक्नु छ । त्यही भएर खाली कट्टुहरुलाई मात्र होइन मैले बाक्लो बाक्लो कपडाहरुलाई विशेष ध्यान दिएर सुटकेसमा भर्दैछु ।
हरेक बेलुकी पानीजहाजभित्र खाना खान जाँदा लगाउने दुई तीनजोर बेलायती धर्के सुटहरु र पुकेटमा सिलाएका बेसपोक सेतो र कालो दुई प्रकारको डिनर ज्याकेटहरु (डिजे) पनि तयार पारेको छु । धन्न स्वयम पाक्य ब्राम्हणको पुत्र परिएनछ । नत्रभने यसरी घरीघरी घर छाडेर पानीजहाज यात्रामा निस्कनु पर्दा लामो जनै र सेतो लुङ्गी पनि तयार गर्नु पर्ने हुन्थ्यो । भाग्यले साथ दिएर किराँतीको छोरो भएर जन्मिएछ । त्यसैले देशी जाङ्गे हाप पाइन्ट, जुत्ता, मोजा, स्वेटर, टोपी, गलबन्दी र चश्मामात्र नभएर कोटको बायाँ छातीमा झुन्डुयाउनको लागि किरात राई यायोख्खाको ब्याज पनि राखेर सुटकेस टन्न भर्दैछु ।
त्यसरी सुटकेसमा सरसामान भर्दै गर्दा २३ किलोग्रामभन्दा एक किलोग्राम पनि बढी हुनुहँुदैन है भनेर ब्रिटिस यएरले भनेको घरिघरि सम्झन्छु । नत्रभने उनीहरुले फाल्टो पैसा पनि तिर्नु पर्छ भनेका छन् । अझै त्यहीमाथि म अलिक सरकारी मान्छे छु । त्यसैले समान मिलाउँदा मलाई घरिघरि खन्तर पैदा हुन्छ । अब त्यसरी समान मिलाउँदै गर्दा वा कतै बढी भइहाल्छ कि भनेर सुटकेसको नजिकै एउटा समान जोख्ने सानो मेसिन पनि राखेको छु । आखिर समान धेरै भयो भने जोख्ने मेसिन छँदैछ निकाली हालिन्छ भनेर सुटकेसभित्र अलिकति खाली ठाउँ हुने बितिक्कै एक–दुई जोर जुत्ताहरु थपिहाल्छु ।
मैले त्यसरी समान भर्दैगर्दा तारा मेरोसामु आएर बिहानीको सूर्य झैँ घरिघरि झुल्किने गर्छिन् । उनी त्यहाँ झुल्किने मात्र गरे त मेरो टाउको दुख्दै दुख्दैनथ्यो । तर कुन कुन लुगाफाटा हालेर मैले सुटकेस भर्दैछु भनेर क्वारक्वार्ती हेर्छिन् । एकछिन पछि अन्डर आरमोरको एउटा नीलो भेस्टलाई दायाँ हातले सर्लक्कै उचाल्छिन् र यसरी मुख खोल्छिन्, “ए बाबा ! यो भेस्ट त पहिले पनि लगाउनु भाको छ । यो लगाएर फोटो खिचेको मलाई झल्झली याद छ । पहिले पहिले छुट्टीमा जाँदा लगाएको कुनै पनि लुगा नबोक्नोस् है ?” उनी कड्कीन्छिन् । उनी कड्केमात्र त मेरो दिल रुदैनथ्यो । त्यसपछि भेस्ट पर कुनामा पुग्ने गरी भुइँमा मिल्काइदिएको हेर्न मलाई केही असजिलो हुन्छ ।
उनको कार्यशैली देखेर, “ए गाँठ्ठे, त्यसो नगर न हौ म छ दशक पुग्नै लागेको मान्छेलाई अब कस्ले हेर्छ र ? हेर्दै हेर्दैनँ । जस्तोसुकै लुगा लगाए पनि के फरक पर्छ र ? नाङ्गैभुतुङ्गै पो हिँड्नु भएन,”
बिहानको समय छ त्यसैले सुस्तरी बोल्छु ।
“तपाइँलाई के थाहा छ र ? घरिघरि एउटै लुगाफाटा पहिरेर सामाजिक सन्जालमा तस्वीर राख्यो भने मान्छेहरुले यो मुर्दो खाते रहेछ भन्छ,”
उनी सामाजिक सन्जालको कुरो सुनाएर मलाई सावधानी गराउँछिन् । उनको रहर अनुसारको लुगाफाटाहरु हालेर सुटकेस भर्छु । त्यसपछि जोखेर २३ किलो भयो कि भएन भनेर निश्चित गर्छु । २५ वर्ष अगाडि चुङकिङ म्यान्सन काउलुन, हङकङमा खरिद गरेको सेम्सोनाइट सुटकेसलाई, “तँ मभन्दा भाग्यमानी रहेछस्, एकजुनीमा पचासौं राष्ट्रको अनुहार देखिसकिस्,” मनमनै भन्छु । त्यसपछि पानीजहाजको कर्मचारीहरुले चिन्न सजिलो होस् भनेर उनीहरु आफैँले पठाएका ट्यागलाई सुटकेसमा टालिदिन्छु । अनि सरासर तलामाथि निस्कन्छु र सानो कोठामा पुग्छु ।
कोठामा पुगेर ब्रिटिस एयरको वेबसाइटमा गएर राहदानीको पाना पल्टाउँदै भरे हुने उडानको लागि चेक इन गर्न थाल्छु । विमान चेक इन गरेपछि बोर्डिङ पास प्रिन्ट गर्छु । पहिले पहिले कागज बिनाको जिन्दगी बिताएर पृथ्वीको साथी हौं भन्ने मलाई रहर लाग्दथ्यो । त्यसैले घरमै चेक इन गरिसकेपछि मोबाइलमा नै बोर्डिङ पास बोकेर हिँड्दथे । तर मोबाइलको बोर्डिङ पासलाई ताराले राम्ररी प्रयोग गर्न नजानेर घरीघरी अध्यागमनमा अडके पछी त्यसलाई सधैँको लागि बिदा गरेको छु । त्यसैले आजभोलि बोर्डिङ पास प्रिन्ट गरेर बोक्न थालेको छु । जसले गर्दा तारालाई यात्रामा एकदम सहयोग मिलेको छ ।
बोर्डिङ पास प्रिन्ट गरेपछि बेकीले पठाएको सबै टिकटहरु धमाधम प्रिन्ट गर्न थाल्छु । टिकटहरु प्रिन्ट गरिसकेपछि फेरि एकसरो हेर्छु । सबैभन्दा पहिले होलिडे एक्स्ट्रा कम्पनीदेखि पठाएको जीवन बीमाको प्रमाण पत्रलाई मज्जाले ध्यान दिएर पढ्छु । त्यसमा लेखिएका नाम र ठेगानाहरु सही भए नभएको राम्ररी जाँच्छु । अचानक भव्यतव्य वा दुर्घटना घट्यो भने र पैसा असुली गर्नु पर्यो भने सबैभन्दा पहिले नाम, ठेगाना र सम्पर्क नम्बरको अति जरुरी पर्ने गर्छ । त्यसैले बिशेष ध्यान दिएर कोभिड १९ विरुद्धको बेलायती राष्ट्रिय स्वास्थ सेवाबाट प्राप्त पत्रमा उल्लेख गरिएको खोपको तिथिमिति र खोपको प्रकारहरुलाई एक झमट पढ्छु । १६ मार्च २०२१ मा पहिलो खोप लगाएपछि अहिलेसम्म चारवटा खोपहरु लगाइसकिएको रहेछ भनेर एक छिन छक्क पर्छु । अब त्यतिका धेरै खोपहरु आफ्नो शरीरमा लगाउँदा फाइदा कि बेफाइदा के हुन्छ होला भनेर एकछिन सोचमग्न बन्छु ।
आफूलाई चाहिने ती सबै सूचनाहरु प्रिन्ट गरेर राखेपछि लण्डन हिथ्रो विमान अड्डामा १० दिनको लागि कार पार्क गरेर राखी छाड्ने स्थानको ठेगाना विद्युतीय पत्रमा हेर्छु । त्यसलाई प्रिन्ट गरेर कति बजेभित्र कारपार्कमा पुग्नु पर्ने रहेछ भनेर समयलाई नोट गर्छु । त्यहाँ पार्क गरेर राखी छाड्ने कारको नम्बर सही छ वा छैन भनेर निश्चित गर्छु । किनभने मसँग दुईवटा कारहरु छन् । तिनै कारहरुलाई आलोपालो चलाउने गर्छु र कारपार्क गर्नको लागि कुन कारको नम्बर दिएको रहेछु भनेर तसल्ली गर्छु । मैले यसचोटी पर्पल कार पार्क रोजेको छु । अनि त्यो पार्किङ स्थान लण्डन हिथ्रोको कुन ठाउँमा अवस्थित रहेको छ भनेर कम्प्युटरमा घुमाई घुमाई हेर्छु । नत्रभने पोहोर साल मेरो छोरो पेरिस हिँडेको थियो । कार पार्कमा हराएर जहाज उडि सकेपछि मात्र विमानस्थल पुगेर पसिनै पसिना हुँदै मलाई फोन गरेको मज्जाले सम्झन्छु ।
त्यति भएपछि इग्लु क्रुजले पठाएको ‘एटोल’ प्रमाणपत्र जाँच्छु । म यात्रामा निस्कन अगाडि नै मलाई टिकट मिलाइ दिने त्यो कम्पनी इग्लु क्रुज अचानक बन्द भयो भने त्यस यात्राको पैसा असुल गर्न एटोल प्रमाणपत्रको अति नै जरुरी हुन्छ भनेर निश्चित गर्छु । नत्रभने बेलायतमा कम्पनीहरु खोल्न र बन्द हुन कुनै साइत जुराइ रहन पर्दैन । आफ्नै जिन्दगीमा तीन चारवटा कम्पनीहरु बन्द गरेको भुक्तभोगी भएको हुनाले त्यस विषयमा मलाई पूर्ण ज्ञान छ भनेर एकछिन गमक्कै पर्छु । त्यसपछि लण्डन, बार्सिलोना र लण्डन हवाइजहाजको टिकटलाई एक झलक पढेर उडान नम्बर कण्ठस्थ बनाउँछु ।
बार्सिलोना पुगेपछि त्यहाँ हामीलाई लिन आउने निजी कारको ठेगाना र सम्पर्क नम्बरहरु हेर्छु । नत्रभने भरे बार्सिलोनामा कार चालक आएन भने कन्तबिजोक हुन्छ भनेर निश्चित गर्छु । पहिले एकचोटी म्युनिख विमानस्थल जर्मनीमा कार चालक नआएको अनुभव चाखिसकेको छु । त्यसपछि भयो फसाद । न कार चालक छ, न त जर्मन भाषा नै मलाई आउँछ ।
अ…बार्सिलोनामा जसोतसो कारले होटलमा पुर्याएपछि बस्नका लागि आरक्षण गरेको आलिमारा होटल बार्सिलोनाको संकेत (रिफ्रेन्स) नम्बर जाँच गर्छु । इग्लु क्रुजले मलाई बेड्स अनलाइनदेखि होटल आरक्षण गरेको रहेछ भन्ने चाल पाउँछु । त्यसैले बेड्स अनलाइनको सम्पर्क नम्बर लेखेर राख्छु । ता कि भरे बार्सिलोना पुगेर सडकमा बास बस्न नपरोस् भनेर पहिले नै जोहो गर्छु ।
अन्तमा क्रुजको टिकट हेर्छु । एक हप्ताको लागि खाने, पिउने र सुत्ने बन्दोबस्त भएको टिकटमा जाँच गर्छु । हरेक बेलुकी दुई बोतल पानीको अग्रिम व्यवस्था गरेको टिकटमा उल्लेख गरेको छ कि छैन भनेर निश्चित गर्छु । प्रत्येक दिन दिनु पर्ने बकस (ग्रेचुइटी) अग्रिम भुक्तानी गरेको रेकर्ड हेर्छु । कस्तो पहिरनमा सजिएर कुन रेष्टुराँमा कति बजे खाना खानको लागि जानु पर्ने हो त्यो पनि बुझ्छु । नत्रभने श्रीमतीले त्यति पनि थाहा नहुनेले के संसार घुम्न रहर गर्नुहुन्छ भनेर पटकपटक भनेको सम्झन्छु । त्यसपछि अचानक पानीजहाजमा आगो लागिहाल्यो भने कुन ठाउँमा जाने भनेर पहिले नै लेखिएको ठाउँलाई दोहर्याएर पढ्छु ।
यतिकैमा, “सुन्नु भो ! ब्रेकफास्ट खाने होइन र ?” अचानक किचनदेखि ताराको सुरिलो स्वर आएको सुनिन्छ ।
उनको स्वर सुनेपछि हतार हतार भान्सा कोठामा पुगिहाल्छु । भुलभुल उम्लेको तातो पानीमा उसिनेर तयार पारेकी दुईवटा चिकन ससेज, एउटा अण्डा, फक्रन नसकेका थोरै च्याउका डल्लाहरु र दुईपात टोस्ट थालमा देख्छु । म त्यहाँ पुग्न अगावै टेबलमा खाजा सजिएको देखेपछि काँटा र छुरी समात्छु र थपक्कै कुर्सीमा बस्छु । अनि केही बोल्दै बोल्दिनँ तर खपाखप खाजा खान थाल्छु । मैले मज्जा मानीमानी खाजा खाँदै गर्दा ताराले, “लु ! चिया पनि,” भन्दै ठूलो मगमा एकमग हरियो चिया दिन्छिन् । चियाको मगलाई समात्छु तर तातो रहेछ भन्दै टेबलमा हतारहतार राख्छु । त्यहीमाथि म अलिक हतार हतारमा छु । त्यसैले एक्कै शब्द बोल्दै नबोली मिलिक्कै खाजा खाइसक्छु ।
खाजा खाइ सकेपछि, “अब तिमी पनि तयार हुनु है । भरे निक्कै लामो समयसम्म गाडी हाँक्नु छ । त्यसैले गाडीको तेलपानी जाँच गर्छु,” भनेर भान्सा कोठादेखि घन्द्रङ्गै ढोका खोलेर बाहिर निस्किहाल्छु ।
भर्खर भर्खर उज्यालो भएतापनि बानबरी गाउँमा सूर्योदयको कुनै संकेत देखा पर्दैन । बिहानीपखको हुस्सुले गाउँ छपक्कै ढाकेको छ । मूलढोका खोलेर बाहिर निस्कने बितिक्कै घर छेउको रुखहरुमा बास बसेका चराचुरुङ्गीहरुले नरमाइलो तरिकाले सङ्गीत भरेको सुनिन्छ । जाडो निक्कै धेरै छ । त्यसैले तातो तातो कपडामात्र होइन मैले हातमा एकजोर पन्जा पनि लगाइरहेको छु । रातको तापक्रम शून्य डिग्रीभन्दा मुनी झरेको रहेछ भन्ने कुरो कारको सिसामा जमेको बरफले चाल पाउँछु । त्यति धेरै जमेको बरफलाई देखेर ‘बास्टर्ड’ भनेर अङ्ग्रेजीमा मध्यम स्तरको गाली गर्छु ।
बिस्तारै हिँड्दै गएर कारको डिकी छेउमा पुग्छु । ढ्याङ्गै डिकी खोलेपछि डिआइसर खोज्न थाल्छु । डिआइसर निकाल्छु तर स्प्रे गर्न खोज्दा स्यासु स्यासु केही आवाज आउँदैन । थुक्क बुद्धि हिजो बिहानै सकिएको थियो भनेर त्यसबेला सम्झन्छु । बरु डिकीको कुनामा लडिरहेको एउटा थाङ्नालाई देख्छु । अब त्यही थाङ्नाले सिसा पुछ््न थाल्छु । तर त्यति सजिलो के हुन्थ्यो र ? रातभरी जमेको बरफले मरिगए आफ्नो ठाउँ छाड्न मान्दै मान्दैन । मलाई अलिक हतार हतार भएकोले जेसुकै मरोस् है भन्दै घरभित्र पस्छु । त्यसपछि एक कित्ली तातो पानी लगेर कारको सिसामा छर्किन थाल्छु । नभन्दै तातो पानीले सिसामाथि टालिएको बरफलाई बिस्तारै बिदा गर्छ । त्यसपछि कारको इन्जिन छोप्ने ढकनीलाई खोल्छु र इन्जिनको तेलपानी जाँच गर्छु ।
तेलपानी हेरिसकेपछि कारको चक्कामा हावा छ, छैन भनेर खुट्टाले लात्ती हान्न सुरु गर्छु । कारको चक्कामा लात्ती हान्दै गर्दा यसरी लात्ति हान्न थालेको पनि ३८ वर्ष पूरा भएछ भनेर अचानक सम्झन्छु । किनभने सोही समयमा मैले गाडी चलाउन सिक्दा पहिलोचोटी लात्ती हानेको थिएँ । तिनताका म गोर्खा मेकानिकल ट्रान्सपोर्ट स्कूल (जिएमटिएस) सेकङ, हङकङमा गाडी सिक्दै थिएँ । र त्यो नै मेरो गाडीसँगको जिन्दगीमा पहिलो अनुभव थियो । हामीलाई त्यसबेला गाडीको विषयमा पाठ पढाउने एकजना सार्जन्ट गुरुजी हुनुहुन्थ्यो ।
गुरुङ थर भएका गुरुजीको सैनिक नम्बर चाहिँ ९१२५ हो । म अहिले पनि उहाँको लाक्षणिक भनाइहरुलाई सम्झेर एक्लै फिसिक्कै हाँस्छु । उहाँ छैटौं गोर्खा इन्फेन्ट्री बटालियनको एमटी प्लाटुनमा कार्यरत हुनुहुन्थ्यो । त्यसबेला उहाँले मलाई, “ए ठिटा ! लु गाडीमा भएको २५ वटा समानहरुको नाम फटाफट भन् त ?” भनेर प्रश्न सोध्नुभएको म सम्झन्छु । त्यो प्रश्नलाई स्मंरण गर्दा म अहिले छक्क पर्छु । किनभने म त्यसबेला ठेट्ना नै थिएँ । त्यहीमाथि गाउँदेखि आएको मान्छे न परें । लेखपढ थिएन, त्यसैले केही जान्दिनथेँ । तैपनि निक्कै धेरैचोटी गाडी चढेको हुनाले केवल दुई चिजहरुको नाम निःसङ्कोच भनिदिन्छु ।
“सार्जन्ट गुरुजी ! एउटा चक्का र अर्को ऐना त्यतिमात्र आउँछ हजुर,” भनेपछि मलाई बोलीको खडेरी लाग्छ ।
“ए ! तँ पनि पानी माथि सलल रहेछस् ।”
उहाँको कुरो पुनः मेरो कानमा पुगेर ठोक्किएको सम्झँदा अहिले पनि हाँसेर मरिजान्छु । अहिले जस्तो कसरी गाडीको ब्रेक लाग्छ । गाडी जति चले पनि किन इन्जिन नतातिएको होला ? गाडीमा बिजुली कसरी उत्पन्न हुन्छ । चक्काहरु घुम्दा अगाडि वा पछाडिमात्र किन घुम्छ । किन दायाँ बायाँ घुम्दैनन् । गाडी घुम्दा बाहिरको चक्का अलिक चाँडै र भित्रको चक्का अलिक ढिलो किन घुम्छ भन्ने क्याम्बर र कास्टर कोणहरुको हिसाब बुझ्न मलाई वर्षौवर्ष लागेको थियो ।
अझै स्टेरिङको ज्यामितीय हिसाब झन् रोमान्चकारी छ । त्यसको लागि रुडोल्फ एकेरम्यान धन्यवादका पात्र छन् । उनले प्रतिपादन गरेको ‘एकरम्यान सिद्धान्त’ लाई बुझ्न मैले घण्टौँघण्टा समय खर्च गरेको छु । अझै मलाई जिन्दगीमा सबैभन्दा धेरै आश्चर्य त निकोलस अगस्ट ओट्टोले पो दिएको छन् त । जस्ले चार स्ट्रोक ‘ओट्टो साइकल’ को नियम पस्नु (इनलेट) थिचिनु (कम्प्रेस) उर्जा (पावर) र निकास (एक्जहस्ट) निकालेका छन् । जो अहिलेसम्म ज्यादै प्रख्यात छ ।
यहाँ लेख्दै गर्दा गाडीको ज्ञान सम्बन्धी त्यति धेरै गहिरिएर नजाउँ जस्तो लाग्छ । हुन त जिन्दगीको लगभग चार दशक समय तिनै स्टेरिङ र गियर खेलाएर नै बित्न लागेको छ । त्यसैले जति कुरो गर्न नखोजे पनि चट्ट भुलिहाल्न पनि के सकिन्थ्यो होला र ? तैपनि गाडीको तेलपानी जाँच गरिसकेपछि घरभित्र पस्छु । गरम गरम कपडा फेरेर यात्रामा जानको लागि तयार हुन्छु । ताराको र मेरो सुटकेसहरु थपकथपक लगेर कारको पछाडी डिक्कीमा हाल्छु । वास्तवमा छोरी पनि हामीसँगसँगै बार्सिलोना जादै थिइन् । तर उनी तीन दिनको लागि मात्र जाने भएकिले उनको होल्ड ब्यागेजहरु केही पनि थिएन । यसो एउटा हाते झोलामात्र बोकिरहेकी थिइन् ।
नभन्दै कारमा सबै समानहरु राखिसकेपछि हामी खुरखुरु बाटो लाग्छौं । घरदेखि बायाँ घुमेर साउथम सडक पुगिन्जेलसम्म सिटबेल्ट नलाएको डेस्कमा संकेत बत्ती बल्नुको साथसाथै एकोहोरो टिङ्टिङ् आवाज आइरहन्छ । “लाटी ! सिटबेल्ट लगाउने होइन ? हिजो पनि गाडीदेखि झर्ने बेलामा लगाउँदै नलाएको सिटबेल्ट खोल्न खोजिरहेकी थियौ ?” तारालाई थोरै गाली गरे जस्तो गर्छु । “ए ! म यस्तै त छु त, भुसुक्कै बिर्सेछु । जाडो हुन्छ भनेर धेरै कपडा लगाएकी छु र ड्याम्मै बस्दा सिटभरी भए । त्यसैले केही चाल पाइनँ,” गल्ति गरेपछी उनको मसिनो आवाज सुनिन्छ । नत्रभने त मैले नचिनेको विस्ट होइनन्, उनी ।
त्यति बोलिसकेपछि हाम्रो कुराकानी सकिन्छ । आफ्नै श्रीमती हुन् । एकजुनी बाँच्दा कति भन्नु है भनेर सोच्छु । त्यसपछि उनलाई केही भन्दै भन्दिनँ । जति भनेपनि आफ्नै गाला आफ्नै लपेटा चाहिँ मनमनै भन्छु । साउथम सडकमा हामी केहीबेर गुडेपछि ज्याकब ड्यु इगबर्ट कफी कारखानाको ठ्याक्कै अगाडि पुग्छौं । हाम्रो दायाँतिर खानेकुरोको भीमकाय दोकान टेस्कोलाई देख्छौं । सामुन्ने मझौला खालको गोलघुम्ती खडा भएर बसेको छ । घरदेखि निस्केपछि भेटिएका तिनै पहिलो गोलघुम्तीदेखि सर्लक्कै बायाँ घुम्छौं । त्यसरी घुम्ने बितिक्कै हामी हेनफ वेमा जोडिन्छौ । हरेक बिहान बेलुकी कमिलाको ताँती झैं ट्राफिक लाग्ने त्यो सडक आज खै के भएर हो कुन्नि निक्कै खाली छ । त्यसैले दुई चार मिनेट त्यस बाटोमा हुइँकिएपछि हामी बेलायती महासडक (मटर वे) एम ४० मा पुगेर जोडिन्छौं ।
मलाई घर नजिक अथवा ढुङ्गा हान्दा पुग्ने दुरीमा भएको त्यो महासडक एकदम सुविधाजनक लाग्छ । त्यसैले बानबरी गाउँ निक्कै नै उपर्युक्त ठाउँमा छ कि भन्ने मेरो ठम्याइ छ । किनभने तिनै एम ४० मा पसेर देब्रे जाने हो भने एक घण्टामा सजिलै बर्मिङघम सहर पुग्न सकिन्छ । बेलायतको करिब करिबमध्ये भागमा अवस्थित बर्मिङघम सहर लण्डनपछिको दोश्रो ठूलो सहर हो । तर त्यता नगएर त्यसको ठीक विपरीत दिशामा जाने हो भने एकै घण्टामा लण्डन पुगी हालिन्छ । अब घरदेखि निस्केर एक घण्टामा बर्मिङघम र एक्कै घण्टामा लण्डन पुग्न सकिएपछि दिदीबहिनीहरुलाई आक्रोशीत बनाउने जेबी टुहुरेको गीतको एक अंश, “तिम्रो घरको अट्टलीमा लण्डन र न्यूयोर्क छ,” भने झैं सजिलो भएको छ ।
हामी यसबेला लण्डनको हिथ्रो विमानस्थल गइरहेका छौं । किन मैले पटक पटक हिथ्रो भनेर विमानस्थलसँग नाम जोडेको हो भने लण्डन सहरभित्र जम्मा ६ वटा अन्तर्राष्ट्रिय विमानस्थलहरु छन् । त्यसैले लण्डन विमानस्थल मात्र भन्यो भने मानिसहरु अलमलमा पर्न सक्छन् । र, लण्डनभित्र क्रमशः हिथ्रो, ग्याटविक, लण्डन सिटी, स्टानस्टेड, लुटन र साउथ इन्ड विमानस्थलहरु रहेका छन् । अब एउटै सहरमा यतिका धेरै अन्तर्राष्ट्रिय बिमानस्थल भैसकेपछि अलमलमा नपरियोस् भनेर विमानस्थलको नाम भन्न जरुरी लाग्छ ।
महासडक एम ४० को तीव्र गतिमा गुड्ने (एक्सिलेरेसन) लेनमा पुग्ने बितिक्कै मैले कारको एक्सिलेटरलाई कहीँ नभाको गरी बेस्सरी दाप्छु । एकैछिनमा हुतुतु मर्सिडिजलाई ७५ माइल प्रतिघण्टाको गतिमा दगुराई हाल्छु । प्रायजसो चीन, जर्मनी, अमेरिका वा बेलायतको ठूल्ठूलो सडकहरुमा यसरी मर्सिडिजमा हुइँकिन मलाई एक प्रकारले मज्जा आउँछ । तर जति ठूलो बाटो भएपनि जाबो सैनिकको थोत्रो ४ टन वा ८ टन ट्रक हाँक्न भने मलाई पटक्कै मज्जा आउँदैन । खाली सडकमा त्यतिको गतिमा कार गुडेपछि क्रुज कन्ट्रोललाई एक क्लिक दबाउँछु । त्यसपछि कार क्रुज कन्ट्रोलले एउटै रफ्तारमा गुडाइ रहन्छ र नक्सा चाहिँ नेभिगेसन प्रणालीले हेर्ने जिम्मा लिन्छ । अब सबै कुरो यन्त्रले गरेपछि म फुर्सत हुन्छु । अनि मेरो केही काम नभएपछि कारको दाहिनेतिरको ढोकासँग जोडिएको गोजीदेखि सत्यकला राई बैनीले बेलायत भ्रमणमा आउँदा दिनुभएको पुरानो सिडी निकाल्छु र टक्क आवाजसँग “तिमी मसँग नबोल्ने अरे ?” भन्ने गीत बजाउन थाल्छु ।
तारा मेरो बाँया सिटमा ठूलो खास्टो गम्लङ्गै ओढेर सुत्न थालेकी छिन् । खै के के नमिल्दा उनी थोर बहुत चलेको मैले उनलाई देख्छु । संसारको लगभग ७५ वटा राष्ट्रहरु उनी यसरी सुतेर नै घुमिसकेकी छिन् । जिन्दगीमा कहिले नपुगेको कोरियामा निर्माण भएको कोरियन ड्रामा हेर्नमा छोरी कारको पछाडी व्यस्त छिन् । तर म कार हाँक्नमा व्यस्त छु । वास्तवमा बेलायती महासडकहरुको अधिकतम गति कानूनी रुपमा ७० माइल प्रतिघण्टा मात्र हो । तर प्रतिघण्टा ५ माइल जति बढी कुदाइयो र पक्राउ परियो भनेपनि सायद माफ पाइएला भनेर थोरै चलाखी गर्छु । धेरैजसो पक्राउ पर्नेहरुले त्यतिसम्म क्षमायाचना मिल्छ भन्ने यदाकदा सुनेको छु र जहिले पनि गाडी चलाउँदा त्यतिमात्र चोर्ने गर्छु । तिनै महासडकहरु एम ४०, एम २५ र एम ४ मा लगभग सवा एकघण्टा जति गुडेपछि हामी सानो बाटोतिर लाग्छौँ । तिनै सानो बाटोलाई लण्डनमा बाथरोड भनेर चिन्ने गरिएको छ ।
बाथरोडमा पसेपछि कारमा भएको नेभिगेसन प्रणालीले परपल कार पार्किङको स्थान खोजी गर्न थाल्छ । मचाहिँ वा नेभिगेसन प्रणालीले कतै काम गर्दैन कि भनेर दायाँबायाँ सूचना पार्टी (साइन) हरु हेर्न थाल्छु । तैपनि म अलिक बूढो भइसकेको मान्छे । मेरो समय ओराली लाग्दै गइरहेको छ । त्यसैले अलिक राम्रोसँग आँखा देख्न छाडेको छु । कारको पछाडी मेरी छोरी मोबाइलसँग कोरियन ड्रामामा झन गमेर बसिरहेकी छिन् । खै कसोकसो बरु उनैले पो पहिले कार पार्कको साइन देख्छिन् । र, “उ कारपार्क त्यता रहेछ,” पछाडीबाट भन्छिन् । उनको भनाइ सुनेर हामी त्यतातिर घुम्छौं र कारपर्क भित्र पुग्छौं ।
‘पर्पल कारपार्क हिथ्रो’ एउटा भयङ्कर ठूलो घरभित्र अवस्थित रहेको छ । हामी त्यहाँ पस्ने बितिक्कै एकजना पहेँलो टल्किने (हाइ–भिजिबिलिटी) ज्याकेट लगाएका मान्छेलाई देख्छौं । उनलाई देख्ने बितिक्कै, “मलाई माफ गर्नोस् हजुर ! कार कुन ठाउँमा पार्क गर्नु पर्ने होला ? कृपया बताइ दिनुहोस् न ?” भनेर नम्र भाषामा सोध्छु । झलक्क हेर्दा ऊ श्रीलङ्कादेखि आएको शरणार्थी जस्तै देखिन्छ । यदि ऊ त्यहाँदेखि आएका होइन भने पनि दक्षिण भारतदेखि त निश्चय पनि आएको होला भन्ने मलाई लाग्छ । अनि एक झमट हेर्दा उनको जस्तो रुप देखिन्छ । वास्तवमा व्यवहार पनि उनले ठीक त्यस्तै गर्छ । उसले मप्रति एक्कै शब्द खर्च गर्न मान्दै मानेन । तर हातले भुईको लाइनै लाइन कार दगुराउनु भनेर संकेत चाहिँ गर्छ ।
हुन त ऊ बेलायती भारतेली होस् कि केन्यन भारतेली होस् लण्डनमा बस्ने मानिसहरुको यस्ता व्यवहारहरु अति सामान्य मानिन्छन् । किनभने सहर एकदम ठूलो छ र समाज एकदम खुला छ । जसले गर्दा कसैले कसैलाई टेर्ने कुरो आउँदैन । हुन त यहाँ यस्तै हुन्छ भनेर मलाई पहिले नै थाहा छ । त्यसैले सन्तोष नै मान्छु । त्यसपछि उनले भने बमोजिम थोरै अगाडि जान्छु र मभन्दा अगाडिको कारहरु जहाँ रोकिन्छन् । म त्यसको ठीक पछाडि पुगेर कार रोक्छु । कार रोकेपछि चाबी लिएर पर्पल कार पार्कको कार्यालय (रिसेप्सन) मा जानु भन्ने भित्तामा साइनबोर्ड पढ्छु ।
कारपार्कमा कार रोकेपछि पछाडि डिकीमा राखेको सुटकेसहरु निकालेर भुइँमा झार्छु । थपक्क मेरो एउटा सुटकेस तान्दै तान्दै अगाडि बढछु । मलाई देखेर तारा र छोरी मेरो पछिपछि आउन थाल्छन् । म अलिक हडबडे मान्छे मात्र भए त भैहाल्थ्यो । अङ्ग्रेजी छोटो केस (इङ्गलिस सर्ट हेयर) भएको बिरालो झैँ जिज्ञासु भएर मर्न खोज्छु । त्यसैले चाँडोचाँडो हिँड्छु र एक्कै छिनमा रिसेप्सनमा पुगिहाल्छु । त्यहाँ पुग्ने बितिक्कै यसो दायाँबायाँ हेर्छु । रिसेप्सनमा दुईजना भारतीय मूलका युवतीहरु काम गर्न एकदम व्यस्त देखिन्छन् । किनभने हामीभन्दा केहीबेर अगाडि निक्कै धेरै अङ्ग्रेजहरु त्यहाँ पुगिसकेका रहेछन् । त्यहाँ पुगेर उनीहरुले आ–आफनो कारको चाबीहरु ती युवतीहरुलाई धमाधम बुझाउँदै गरेका रमाइलो दृश्यवलोकन गर्न मिल्दछ ।
म चाहिँ त्यति लामो समयसम्म गाडी हाँकेको हुनाले पिसाबले पोलेर हुरुक्कै हुन्छु । मनमनै बिहान चिया अलिक धेरै पिएछु भनेर आफूले आफैलाई “मेरो बुद्धि” भन्दै गाली गर्छु । तर नपिउनु पनि कसरी । घर बाहिर स्यूँ स्यूँ जाडो छ । त्यसैले धेरै पिएको हुँ भनेर मन थाम्छु । अब त्यति व्यस्त युवतीहरुदेखि नजर भगाएर लान्छु । र, मेरो अगाडि ठिङ्गै उभिरहेको एकजना मान्छेसँग लगेर ठोकाउँछु । त्यो मान्छे अलिक होचो कदको छ । तर राम्ररी नजर मार्दा निक्कै उमेर पाकेको जस्तो देखिन्छ । अब म उनलाई धीत मरिन्जेलसम्म हेर्छु । अझै उनले गर्लम्मै हाइभिज ज्याकेटमात्र लगाएको भए त बेसै हुन्थ्यो । त्यहीमाथि शीरको वस्त्र बाक्लो ऊनको टोपीले टाउको गम्लङ्गै ढाकेको पनि देखिन्छ ।
मसिनो बच्चैदेखि यस्तो जाडो मौसममा हुर्केका अङ्ग्रेजका तालु खुइले सन्तानहरु भएपनि त्यस्तो टोपी कहिले लगाउँदै लगाउँदैनन् । तर बेलायतभन्दा बाहिरबाट आएकाहरुको लागि टोपी भनेपछि जाडोमा फेसन नै भन्दा पनि केही फरक पर्दै पर्दैन । अब लण्डनको चिसोदेखि जोगिनको लागि नेपालीहरुले झन् टोपी के छाड्दथे । नेपाली टोपी छैन भने ऊनको भए पनि लगाई हाल्छन् । उनले लगाइरहेको टोपीको कुरो छाडेर लण्डनको जाडोले अनुहार रातोपिरो भएको त्यो मान्छे पक्कै पनि नेपाली हुनुपर्छ भन्ने मलाई कताकता लाग्छ । अब ऊ नेपाली भएपनि वा नभएपनि जे सुकै परोस् है । एकचोटी नेपाली भाषामा नै पो बोल्नु पर्यो भनेर म बोल्न सुरु गरिहाल्छु, –
“मर्निङ हजुर ! यहाँ शौचालय कता पर्छ होला ?”
जिन्दगीमा चिन्दै नचिनेको त्यो मान्छेलाई बिना हिचकिचावट पहिलो शब्द नै शौचालयदेखि सुरु गर्छु । नभन्दै मेरो कुरो सुनेर उनले पतलुङ्को गोजीमा आराम गरिरहेको दाहिने हात निकाल्छ र यसो देखाउँदै, –
“उ त्यताभित्र जानुहोस् । शौचालय छोरा मान्छेको लागि दायाँ र बायाँ छोरी मान्छेको लागि छ । अनि सुन्नोस् त । तपाईहरुलाई एअरपोर्टको टर्मिनल टर्मिनलमा झार्ने बस चालक म नै हुँ । त्यसकारण कुनै सुर्ता गर्नु पर्दैन । अब ढुक्क भएर शौचालय प्रयोग गर्नु होला ? समय फालाफाल छ । अझै पन्ध्र बीस मिनेट यसै बाँकी छ ।” एकदम फूर्तिका साथ उनले मलाई शौचालय देखाइदिन्छ ।
त्यति फूर्तिलो मानिस देखेपछि मैले, “धन्यवाद ! हजुर,” भन्दै उनले देखाएको ठाउँतिर जान्छु । बाबैनी ! कति राम्रो मान्छे भेटिएछ भन्छु । त्यसपछी खुरुखुरु शौचालयतर्फ हिँडिरहन्छु । आज बिहान एकदम साइतमा घर छाडिएछ । त्यसैले बस चालक भएपनि एकदम राम्रो मान्छे भेटाइएछ भनेर फिसिक्कै मुस्कुराउँछु । मलाई यसरी हाँस्दा जिन्दगीमा खुसीका क्षणहरु बिताएका समयहरुको बेस्सरी याद आउने गर्छ । यसरी नै शौचालय भ्रमण गर्ने क्रममा नयाँदिल्ली विमानस्थलको शौचालय भ्रमण गरिसकेपछि एकजना भारतीय सुकुमारले हातैमा नापकिन थमाइदिएको त्यसबेला झल्झली याद गर्छु नत्रभने हङकङको पाँचतारे होटल पेनिन्सुलामा मात्र त्यस्तो अनुभव गरेको थिएँ । तर दोहा विमानस्थलको अनुभव अलिक छुट्टै छन् । शौचालयमा पुगेर, “ए भाइ ! मेरो समान एकछिन् हेरी दिनुहोस् है,” भन्दा फुरुक्कै हुने नेपालीहरुसँग भेटिएका क्षण ज्यादै रमाइलो हुन्छ ।
अझै जिन्दगीमा शौचालय प्रयोग गर्ने क्रममा सबैभन्दा रमाइलो त मलाई त्यसबेला लागेको थियो । जतिबेला म सिनेट स्क्वाएर हेल्सिन्की, फिनल्याण्डको शौचालयमा पुग्छु । त्यो सशुल्क शौचालयको रेखदेख गर्ने एकजना नेपाली बैनी रहिछिन् । म सौचालयभित्र पुग्दा उनी आफ्नो कार्यकक्षाको भुइँमा खै के हेरेर बसिरहेकी थिइन् । मैले उनको नाकमा चार आना जतिको फूली टल्किरहेको देखेपछि, “ए बैनी ! नमस्ते गरे है । अनि हामीले पैसा नतिरी शौचालय प्रयोग गर्न मिल्छ कि मिल्दैन होला ?” भनेर एकपटक जिस्क्याउँछु । “आबुइ ! नेपाली दाजु पो हुनु हुने रहेछ । होइन कहाँदेखि आउनु भाको ? कस्तो अचम्म हौं । किन नमिल्ने मिली हाल्छ नि । बरु कसरी चिन्नु भो – मेरी बाब्बै,” भनिन् । अति मिलनसार भार्से, गुल्मीकी ती क्षेत्रिनी बैनीसँग मेरो परिचय भएपछि सित्तैमा शौचालय प्रयोग गर्न पाउँछु ।
त्यस्तै पर्पल कारपार्क हिथ्रोमा सित्तैमा शौचालय प्रयोग गरेर तुरुन्त रिसेप्सनमा पुगिहाल्छु । म त्यहाँ पुग्दा तारा र छोरी भर्खरभर्खर आइपुगेका रहेछन् । तर ताराले मलाई देख्ने बितिक्कै सानो स्वरमा, “मेरो एउटा पन्जा त कता हरायो हरायो । कतै गाडीमा नै छुट्यो कि ? अब जाडो धेरै छ । एक हातमा मात्र पन्जा लगाउने कि के गर्ने ?” उनले त्यसो भनेकी भन्दा पनि एउटा हातमा पन्जा र अर्को हात खाली देख्दा मलाई हिन्दी सिनेमाका खलनायक गोवद्र्धन आसरानीको खुबै याद आउँछ ।
ताराले त्यसबेला मसँग मसिनो स्वरमा बोले पनि बस चालकले उनी बोलेकी सुन्छ । किनभने हामी तिनै चालकको नजिकै उभिरहेका हुन्छौं, “लु लु खोज्नु जानुहोस् । हामीसँग समय फालाफाल छ । बाहिर बिघ्न जाडो छ । पन्जा त हराउनु हुँदै भएन नि,” चालकले भन्छ । म उनको कुरो सुनेर तारालाई एक झलक हेर्छु । अब दुईवटा हातमा नै पन्जा लगाएर लेडी डायनाजस्तो देखिनु पर्ने मेरी श्रीमती आसरानी जस्तो देख्दा थोरै दुःख लागेर आउछ ।
चालकको कुरो सुनेपछि म त्यहाँदेखि उडेर कार पार्क गरेर राखेको ठाउँमा पुग्छु । त्यहाँ पुगेर घरी कारभित्र र घरी कार बाहिर पन्जा खोज्न थाल्छु । उनी बसेको सिटलाई एक चोटी सरर अगाडी र अर्कोचोटी सरर पछाडी सार्छु । नभन्दै उनी बसेको ठीक सिट मुनी मज्जाले आराम गरिरहेको एउटा पन्जालाई भेट्छु । त्यसपछि हस्याङफस्याङ गर्दै रिसेप्सनमा फर्किन्छु । म त्यहाँ पुग्दा मेरो श्वास प्रश्वास ह्वात्तै बढिरहेको हुन्छ । मैले त्यति लामोलामो सास तानेको देखेर चालक गुरुजीले, “ल ! एकछिन यतै आराम गर्नुहोस् । बसमा बस्ने सिट त छ, तर एकदम चिसो छ । हिटरले पटक्कै काम गर्दै गर्दैन,” मसिनो स्वरमा भन्छ ।
“हस हस बसिहाल्छु नि । तर देख्नु भयो कि ? मेरी श्रीमतीको सेवा गेरर आधा उमेर ढल्किसक्यो । यी मेरा केसहरु कहाँ हिऊँजस्तै त्यसै सेताम्मे भएका हुन् र ? यी हेर्नु हुन्छ ?” भन्दै चालकलाई मेरो टाउको देखाउँछु । मेरो कुरो सुनेर चालक मुसुमुसु मुस्कुराउँछ । तर उनले मेरो कुरोलाई मोडेर, –
“होइन हौ ? बरु तपाईहरु कता हिँडनु भएको हो ?” भनेर हामीलाई प्रश्न गर्छन् ।
“बार्सिलोना, स्पेन,” छोटो उत्तर फर्काउँछु ।
“गाँठ्ठे ! ल ठीक गर्नु भयो छ । नेपाल जाउँ भने कस्लाई के कस्लाई के लगी दिनुपर्छ । चार पाँच हजार पाउण्डको त अर्कालाई सरसामान किन्दै ठीक हुन्छ । यसो यतैकतै यूरोप गयो होलिडे मनायो, आयो । साह्रै ठीक गर्नु भयो छ । म त अहिलेसम्म खाली नेपाल गयो, अनि आयो गर्छु । हेर्नोस् न, साँच्चै भनेको तपाईको मासु खाने । मोर्गेजको बल दाम्लाले कसेको भन्दा साह्रो हुने रहेछ । त्यसरी हात खुट्टा कक्र्याककुक्रुक बाँधिएपछि अहिलेसम्म फोक्सटन काटेर पूर्व जाने अवसर पाको छैन । हप्तामा ६ दिन सुरक्षा अधिकृतको काम गर्छु । अनि बाँकी एकदिन यसरी बस हाँक्न आउँछु । तर अब म पनि तपाईहरु जस्तै यस्तै यूरोपतिर घुम्न निस्कन्छु ।” उनको कम्पन ओष्ठबाट नरमाइलो पाराले बोली फुट्छ ।
त्यसपछि त्यति फर्साइलो मान्छेसँग हाम्रो गतिलो परिचय हुन्छ । उनी पल्टन घरमा मभन्दा एक वर्षपछि भन्नाले सन् १९८५ मा भर्ती भएका रहेछन् । हाल पोखरामा बसेता पनि उनको पुख्र्यौली घर स्याङ्जा रहेछ र नाम श्री जङ्गबहादुर गुरुङ । अब नेपालको इतिहासमा उनको नामै काफी । त्यो भन्दा बढी भन्नै परेन । अझै उनको जन्मघर स्याङ्जा भनेपछि झापापछिको नेपालको दोश्रो प्रख्यात स्थान । कुरो गरेर झन् के साध्य हुन्छ र ? उहिले म हङकङमा छँदा यदाकदा के सुन्थेँ भने, “साथी हो, स्याङ्जामा त राति सुत्दा पनि हात मुठ्ठी कसेर सुत्नु पर्छ, नत्रभने अघि औँठाछाप फुस्किन्छ ।” तर उनीसँग भेटेपछि मानिसहरुको त्यो भनाइ मलाई त्यति सही लागेन । बरु उनी त अति मिलनसार, मृदुभाषी र सहयोगी पो लाग्यो । अनि उहाँसँगको भेटले त हामी झन् एकअर्कामा वरिष्ठ मित्र पो भइहाल्यौं ।
अब त्यति हितैषी मित्रले, “तपाइँ कुन पल्टनको हो नि ?” भनेर मतिर तीर हानी पठाउँछन् ।
“म त खै के भन्ने र ? सबैले होमगार्ड भन्छन् । बुझ्नु भयो होला नि होइन ? उही गोर्खा ट्रान्सपोर्ट रेजिमेन्ट (जिटीआर) क्या ।”
“अनि कुन स्क्वाड्रन हो र ?”
“३१ स्क्वाड्रन हो ।”
“ए हो र ? म पनि सन् १९९० मा तपाईहरुको स्क्वाड्रनको ब्राभो ट्रुपमा ६ महिना बस चालकको काम गरेको छु । सायद तपाई त्यसबेला खाडीयुद्धमा जानु भएको थियो होला ? जस्ले गर्दा हाम्रो भेट हुन सकेन,” बायाँ हातको घडी हेर्दै उनी बोल्छन् ।
प्रति उत्तरमा म, “हो हो, तर एकछिन् है” भन्छु ।
त्यसपछि म गाडीको चाबी बुझाउनको लागि रिसेप्सनमा पुग्छु । भारतेली बैनी उषाले कम्प्युटरको स्क्रिनमा हेरेर मेरो कार नम्बर एकचोटी सरर पढ्छिन् । “२७ जनवरीको ४ बजेर ५५ मिनेट जाँदा तपाईहरु फर्किने होइन ?” भनेर उनले सोध्छिन् । “ज्यू हो,” भनेर टाउको हल्लाएर जवाफ फर्काउँछु । “अँ सुन्नोस् त । तपाईहरुको विमान विमानस्थलमा अवरतरण भएपछि हामीलाई पटक्कै फोन नगर्नु होला ? आज जुन स्थानमा बस रोकिन्छ, सोही स्थानमा गएर पर्पल बसलाई पर्खेर बस्नु होला ? जति ढिलो भएपनि बस त्यही आउँछ, बुझ्नु भो नि ?” मान्छे हेर्दा पातली न पातली छे । काटाककुटुक जोख्दा पाँच धार्नी पनि छैन होली ? त्यस्ती काग खुट्टीले मलाई बेमौसमी हुकुम गिराएर जग्गा रजिष्ट्रेसन गर्न जाँदा चारखालको पाखा वकिलले झैँ प्रश्न गर्छिन् । तर मसँग केही अन्य उपाय थिएन । किनभने १० दिन कारपार्क गर्नको लागि १ सय १० पाउण्ड महिनौँ अगाडी तिरिसकेको थिएँ । त्यसैले उनको भनाइ म चुपचाप सुनिरहेँ ।
तैपनि उनको कुरो सुनेपछि बसले ढिलो गर्यो भनेर यिनीहरुलाई फोन गरेर मानिसहरुले हैरान बनाएका रहेछन् भन्ने कुरो मैले मज्जाले नै बुझ्छु । हुन त यी कारपार्क कम्पनीहरु पनि कम्तिको हुन्छन् र ? गत साल मैले ग्याटविक विमानस्थलमा त्यसरी नै एक हप्ता कार पार्क गरेर राखेको थिएँ । हामी दुबाइमा तारासँग होलिडे मनाउन व्यस्त हुन्छौं । यता आफ्नो कारलाई कम्पनी कार भनेर मोराहरुले म नफर्किन्जेलसम्म चलाएछन् । यसचोटी चाहिँ चलाइ हाल्यो भने बुझ्नको लागि सजिलो होस् भनेर मोबाइलमा माइलेजको तस्वीर जतन गरेर राखेको छु ।
कारको चाबी भारतीय युवतीहरुको हातमा बुझाएपछि म सुस्तरी हिँड्दै ताराको नजिकै पुग्छु । म उनको नजिक पुग्ने बितिक्कै –“मान्छेको छोरा हप्तामा ७ दिन काम गर्ने रहेछ । उनीहरुले पैसा कति कमाएका होलान् ? तपाई त बिच्चको हुतिहारा मान्छे । त्यसै म भातमारा भन्छु । जहिले पनि छुट्टी, जहिले पनि छुट्टी ।” निक्कै लामो समयसम्म उकुसमुकुस भएको ताराको मुख खोलिन्छ ।
क्रमशः

भीम राई

पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री