अन्तर्राष्ट्रिय महिला दिवस र नेपाली महिलाका समस्या

तारा पौडेल

सोसलिस्ट इन्टरनेशनलको कोपेनहेगनमा १९१० को ८ मार्चमा भएको अन्तर्राष्ट्रिय बृहत महिला सम्मेलनबाट  विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको हो । त्यति बेलाको प्रमुख उद्देश्य महिलाहरुले राजनीतिमा मताधिकार पाउन पर्ने भए पनि पछि महिलाहरुले आफ्नो हक हित, अधिकार र महिला सशक्तिकरणका लागि पनि आवाज उठाईरहे । महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलनसम्बन्धी संयुक्त राष्ट्रसंघको महासम्मेलन १९७९ मा एक महासन्धी पारित गरिएको र उक्त महासन्धी १९८१ देखि लागू भएको थियो । यस महासन्धीले महिलालाई शिक्षा, स्वास्थ्य, प्रजनन् सम्बन्धी स्वअधिकार, महिला विरुद्ध हिंसात्मक अधिकार, आवस्यक नीति निर्माण, प्रसुति विदाको ब्यवस्था जस्ता विविध महिला सम्बन्धी मानवीय आवश्यकताका अधिकार उल्लेख गरेको छ । जसअनुसार नेपालको संविधानमा पनि महिलाको हक, हित र अधिकारका लागि ब्यवस्था भए र थुप्रै नीति नियम बनाइए तर व्यवहारमा भने कमै प्रयोग भएको देखिन्छ ।

पश्मिेली मुलुकका महिलाहरुले आफ्नो हक हित, अधिकार, सशक्तिकरण, राजनीतिक अधिकार र मतदानको अधिकारको लागि आवाज निरन्तर उठाए । त्यति मात्र नभई घरायसी कामदारको रुपमा र कलकारखानामा काम गर्ने महिला कामदारहरुले आफ्नो हक र हितका लागि लडिरहे । फलस्वरूप पश्चिमेली मुलुकका महिला निकै अगाडि बढ्न सफल भएका छन् ।

नेपालको सन्दर्भमा भन्नु पर्दा नेपालमा सती प्रथाको अन्त्य चन्द्रशमशेरको पालामा भएपनि अहिले पनि हाम्रो समाजमा अरु यस्ता थुप्रै प्रथाहरु छन् जसमा केही हदसम्म परिवर्तन भएपनि त्यसको अन्त्य भने हुन सकेको छैन। जस्तो बालविवाह, बहुविवाह, अनमेल विवाह, घरेलु हिंसा, कमारी प्रथा, देउकी प्रथा, दाइजो प्रथा, छाउपडी प्रथा, दासत्व नेपाली महिलाहरुले अझै भोगिरहेका छन् ।

नेपालमा पुरुषको भन्दा महिलाको संख्या बढी छ तर राज्यले महिलाका लागि राजनीतिक प्रतिनिधित्वका लागि ३३ प्रतिशत मात्र सिट छुट्याएको देखिन्छ । तर पनि महिला अधिकार सम्बन्धी विविध ऐन तथा नियम भने केवल कागजमै सीमित छ भन्दा अत्युक्ति नहोला । महिलाले सामाजिक, आर्थिक, राजनीतिक र बौद्धिक क्षेत्रमा आगाडि बढ्न कोशिस भैरहेको भएपनि देश र समाजले महिलाप्रति सधैं भेदभाव राखिराखेक रहेको देखिन्छ । सरकारी, गैरसरकारी, निजामति तथा राजनीतिक क्षेत्रमा सधैं कोटा सीमित राखिएका छन् तर निर्णायक भूमिकामा भने अत्यन्त न्यूनता छ जसले गर्दा महिला बराबरी अवसर पाउनबाट वन्चित भएका छन् ।

विश्वमा विभिन्न यस्ता मुलुक छन् जहाँ महिला शक्ति, उनीहरुको साहस र उपलब्धिलाई उदाहरणको रुपमा लिन सकिन्छ । नेपालमा पनि परापूर्वकालदेखि महिलाहरु अगाडि बढेको देखिन्छ । भृकुटी, पासाङ्ग ल्हामु, पारिजात आदि यसका उदाहरण हुन् । अहिले पनि नेपालमा त्यस्ता पौरखी र साहसी नारीहरु नभएका होइनन् । विश्वका विभिन्न ठाउंमा गई आफ्नो कला संस्कृति र देशको नाम चिनाउने सफल थुप्रै दिदी बहिनीहरुको नाम देख्न र सुन्न पाइन्छ । त्यति हुंदाहुंदै पनि नेपालमा पुरुषको तुलनामा महिलाको पहुँच निक्कै पछाडि देखिन्छ ।

किन नेपाली महिला पछाडि परिरहेका छन् त ? के महिला सामाजिक, आर्थिक, राजनीतिक र बौद्धिक क्षेत्रमा कमजोर नै छन् त ? सरकार, समाज र राज्यको कारण पछाडि परेका हुन त ? कि महिलाहरु आफैं अगाडि बढ्न नचाहेका हुन् ? कि महिलाहरुले समान अधिकार लिन चाहँदैनन् ? के महिला साँच्चै नै कमजोर भएर हो त ? कतै महिलालाई साधन र श्रोतबाट वन्चित गराइएको त होइन यसको सही मूल्यांकन र विश्लेषण निरन्तर हुन जरुरी छ ।

एकातिर सृष्टिको जननी महिला मानिन्छ भने अर्कोतिर तिनै महिलाबाट जन्मिएका सन्तानप्रति निकै भेदभाव राख्ने यही समाज पनि छ । उहीँ ९ महिना गर्भधारण र प्रशव पीडामा कुनै अन्तर नहुने तर छोरा र छोरीमा जन्मजात विभेद किन मानिन्छ ?

हाम्रो समाजमा महिलामाथि दिनप्रतिदिन अरु यस्ता घट्नाहरु घटिरहन्छन् जुन सुन्दा पनि निकै कहालीलाग्दा छन् । आज पनि सासु ससुरा, श्रीमान् र परिवारका अन्य सदस्यहरुबाट महिलाप्रति भएका हिंसाहरु सुन्न, पढ्न परिरहेको छ । प्रेम-सम्बन्ध, दाइजो, भ्रुण हत्या, घरबाट निकला, बलात्कार, बालिकाको अपहरण, विदेश लैजाने भनी देह ब्यापारमा पारिने बाध्यता, कामको प्रलोभनमा शारीरिक शोषण, बोक्सीको बहानामा यातनाहरु दिनहुँ समाचारमा आइरहन्छन् । बाल मजदुर,  छुवाछुत, एकल महिलाहरुले बेग्लै कहालीलाग्दो पीडा भोग्नु परिरहेको छ । यस्ता विश्वास गर्नै नसकिने खालका तर सत्य घट्नाहरु नेपाली महिलाले हाम्रो समाजमा भोगिरहेका छन् ।

देशमा यी विकृतिको निरुपणका नाउमा नीति, नियम कानुन बनेको भएपनि कार्यान्वयन भने त्यति राम्रोसँग हुन सकेको देखिंदैन् । यस्ता विकृति र विसंगति बिरुद्ध न्याय पाउन महंगो, सहज र सुरक्षित बनाउन नसक्दा महिलाहरु पीडा सहेर भएपनि खुम्चन परेको अबस्था छ। विभिन्न संघसंस्थाहरुले पनि यसमा निकै चासो देखाएका छन् भने विदेशी दाताहरुले अनुसन्धान गर्नुका साथै आर्थिक रुपमा सहयोग पनि गरेका छन् । घरपरिवार र सामाजिक अगुवाहरुको सोचमा भने अझै सुधार हुन जरुरी छ ।
बिहे गरि अर्काको घर जाने छोरीलाई धेरै सम्पत्ति खर्चेर पढाउनु सम्पत्ति खर्चेर वा दाइजो दिएर पठाउन ठूलो ठान्ने प्रवृत्ति हाम्रो समाजमा अझै हट्न सकेको छैन । कानुन भए पनि विवाहित छोरीले अंश नपाउने वा लिन नखोज्ने र घरको सम्पत्ति श्रीमानको नाममा हुने हुँदा महिलाहरुमा आर्थिक पहुँच पुग्न सकेको छैन । यसका कारण समाज सधैं पुरुष प्रधान भइरहने र महिला सधैँ दोश्रो दर्जामा हुने गरेको पाईन्छ । महिलामाथि बढ्दै गरेको हरेक हिंसा अन्त्य गर्न सरकारी संयन्त्र तथा मानव अधिकारवादी संघसंस्था समयमै सक्रिय भइरहन आवस्यक छ ।

महिलाका बारेमा समाज भित्रको सोच, बौद्धिकता र व्यवहारमा नै अझै धेरै परिवर्तन आउन जरुरी छ । संगै महिलाले आफूलाई पनि आत्माविश्वासका साथ सशक्त, सक्षम र जिम्मेवार बनाउँदै लानु पनि अति आवश्यक छ । आफ्नो अधिकार अनुसारका काम कर्तब्यलाई उचित र ब्यबहारिक प्रयोगवाट मात्र महिला सक्षम हुनेछन् ।

राजनीतिक रुपमा प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा अभ्यस्त रहेको हाम्रो जस्तो देश र समाजमा महिलाको शैक्षिक, सामाजिक, राजनीतिक, आर्थिक र साँस्कृतिक रुपमा पुरुष समान अधिकार र अवसर पाउनु पर्ने हुन्छ। अनि मात्रै गाउँ, शहर र देशको समग्र सामाजिक र आर्थिक विकास तीव्र हुन सक्छ । त्यसको लागि महिलाहरु शिक्षित, उद्धमी र चरित्रवान हुनु अति जरुरी छ । समाजमा केही गरेर देखाउन सक्ने चेतना, चाहना र खुबीको विकास हुनु अति जरुरी छ । यसो भएमा कुनै पनि कठिन परिस्थितिमा पनि उपाय खोज्न सक्ने र देखा परेका समस्या समाधान गर्ने साहस महिलामा बढ्नेछ ।

 बेलायत 

प्रतिक्रिया

सम्बन्धित सामाग्री