अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका गोरखा सैनिक सगरमाथा आरोहणमा

काठमाडौँ । बेलायत सरकारका तर्फबाट खटाइएको सैनिक टोलीमा रहँदा अफगानिस्तानमा विस्फोटमा परी दुवै खुट्टा गुमाएका पूर्व गोरखा सैनिक: हरिबहादुर बुढामगर सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आज सोलुखुम्बु प्रस्थान गर्नुभएको छ ।
पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलका अनुसार बुढामगरले सगरमाथा आरोहणका लागि केही दिनअघि आरोहण अनुमति लिनुभएको थियो । बुढामगरले आरोहणका लागि आवश्यक प्रक्रिया पूरा गरेर सगरमाथातर्फ प्रस्थान गर्नुभएको उहाँले बताउनुभयो ।
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्नुभएका बुढामगरका दुवै खुट्टा छैनन् । बुढामगरले कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लाग्नुभएको हो । कृत्रिम खुट्टाको सहायतामा यसअघि नै सगरमाथाको आधार शिविर पुगेर ‘स्काइड्राइभिङ’गर्ने उहाँ पहिलो व्यक्तिसमेत हुनुहुन्छ ।
लामो प्रतीक्षापछि सगरमाथा आरोहणका लागि जान अनुमति पाउँदा खुशी लागेको र निकै उत्साहका साथ आरोहणमा निस्किएको बुढामगरलाई उद्धृत गर्दै महानिर्देशक लुइँटेलले बताउनुभयो ।
सन् २०१० मा अफगानिस्तानको लडाइँमा बुढामगरले दुवै खुट्टा गुमाउनुभएको थियो । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने उहाँ पहिलो व्यक्ति भएको बताइन्छ । बुढामगरले माउन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर) र मेरा पिक (६,४७६ मिटर) हिमाल आरोहण गरिसक्नुभएको छ ।
बेलायतको क्यान्टरबरीमा बसोबासरत रोल्पाका बुढामगर साहसिक खेलमा रुचि राख्नुहुन्छ । प्रेरणादायी प्रवचनका लागि कहलिएका बुढामगरले विभिन्न प्रतिष्ठानहरूमा प्रवचन पनि दिइसक्नुभएको छ । उहाँले व्यक्तिले हिम्मत नहारी निरन्तर लागिरहेमा जे काम पनि गर्न सम्भव छ भन्ने सन्देश दिन र अपाङ्गताका बारेमा जनचेतना फैलाउन आरोहण गर्न लागेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री