बेलायतका राजारानीले पहिरिए राजमुकुट

लण्डन । बेलायतका राजा चार्ल्स तृतीय र रानी कमिलाले बेलायतको वेष्टमिन्स्टर आबेमा आयोजित एक विशेष समारोहमा राजमुकुट पहिरिएका छन् ।
विश्वका करिब १०० भन्दा बढी मुलुकका राष्ट्रप्रमुखहरुको उपस्थितिमा बेलायती राजाले कार्यकालको शुरुवात गरेका हुन् ।
आर्कविसप अफ क्यान्टरबरी जस्टिन वेब्लीले उनलाई मुकुट पहिर्याएका थिए भने नयाँ राजाले सपथ लिएका थिए ।
गत सेप्टेम्बरमा तत्कालिन महारानीको निधनपछि गद्दीमा आसिन नयाँ राजाको औपचारिक कार्यकाल भने अब शुरु भएको छ ।
शुभराज्याभिषेक हेर्न हजारौँ सर्वसाधारण केन्द्रीय लण्डनका सडकमा भेला भएका थिए भने हजारौँको संख्यामा सेनाको टोलीले मार्चपास गरेका थिए । राजसंस्थाका विरोध गर्ने एउटा समूहले भने लण्डनमै प्रदर्शन पनि गरेको थियो ।
औपचारिक रुपमा राज्यभिषेक भएपछि राजदरबारको बाल्कोनीबाट राजा र रानीले जनसाधारणलाई अभिवादन साटेका थिए भने कलाकारहरुले विशेष प्रस्तुति पनि दिएका थिए ।
बेलायतमा करिब सात दशकपछि भएको यस उत्सवलाई भव्यतापूर्वक मनाउन सोमबार पनि बिदा दिइएको छ भने ठूलो धनराशी पनि खर्च गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री