नेपाल ब्रिटेनको १६ औं वार्षिकोत्सवमा दश व्यक्तित्व सम्मानित

लन्डन । बेलायतबाट प्रकाशित हुने समाचार पोर्टल नेपाल ब्रिटेन डटकमको १६ औं वार्षिकोत्सव मनाइएको छ।
आइतबार लण्डनको स्टानवेल भिलेज हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाल बाहिर रहेर पनि नेपालको उन्नतिमा सघाइरहेको पहिलो पुस्ताको योगदान महत्वपूर्ण रहेको बताए। उनले विश्वव्यापीकरणको आजको युगमा हामी सबै एक अर्कासँग सम्बन्धित छौँ भन्दै नेपालमा बसेका नेपाली र बेलायतमा बसेका नेपाली र ब्रिटिशहरुलाई सुसूचित गर्ने पत्रकारिताको भूमिका अवसर र चुनौती पनि रहेको बताए।

”तपाईंहरुको आर्थिक मात्रै हैन, सीप, शिक्षा, नेटवर्क र अनुभव पनि योगदान हो। तपाईंहरुको अनुभव, सीप, नेटवर्क र पहुँच पनि महत्वपूर्ण छ,’ उनले भने।
बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य सुवेदीले बेलायतको समाजलाई सुसूचित गर्ने काम समाजसेवा र आफ्नो क्षमताको प्रदर्शन पनि भएको बताए। ‘नेपाललाई केही दिन नेपालमै बस्नु पर्दैन, यहाँ बसेर पनि सेवा गर्न सकिन्छ । आर्थिक मात्रै हैन बौद्धिक लगानी गर्न सकिन्छ, सीप प्रविधि लगानी गर्न सकिन्छ, थुप्रै ठाउँ छ,’ उनले भने। एनआरएनएका एकजना संस्थापक रहेका प्रा सुवेदीले २०१५ देखि आफू सक्रिय नरहे पनि आफूले जन्माएको संस्थाको माया लाग्ने बताए। कम्बोडिया, इराक र इजिप्टको उदाहरण दिंदै उनले नेपाल अगाडी बढिरहेकोले निराश नहुन र आशावादी हुन सुझाव दिए।
एनआरएनए आइसीसीका उपाध्यक्ष डा हेमराज शर्माले बाहिर बस्ने नेपालीहरुलाई मताधिकार दिने, गैर आवासीय नेपाली नागरिकता, सम्पत्तिको सुरक्षा बारे गहन छलफल भइरहेको बताए। ”एनआरएनए जस्तो ठूलो संस्थामा टुटफुट भइरहन्छ, गाली खाइन्छ, नआत्तिनु होला, नेपाली समाजको रेफ्लेक्सन हो। एनआरएनलाई एक बनाउं, सबै अट्ने संस्था बनाउँ। धेरै सदस्य बन्नोस्। नेपालमा घन्टी बजाएको जस्तै एनआरएनमा पनि घन्टी बजाउनु भयो भने मात्रै एनआरएन बच्छ्”, उनले भने।
सो अवसरमा बेलायतका नेपाली समुदायमा सन् २०२३ का चर्चित व्यक्तित्वहरु बीबीसी मास्टरसेफ विजेता सन्तोष साह, कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा, शनिबार मात्रै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका भूतपूर्व गोर्खा सैनिक (डबल एम्पुटी अबोभ नी) हरि बुढा मगर, एनआरएनए यूकेकी पूर्व अध्यक्ष पुनम गुरुङ, बेलायतको टोटेनह्याम फुटबल क्लबसँग आवद्ध खेलाडी अस्मिता आले, चर्चित नेपाली चित्रकार गोविन्द साह ‘आजाद,’ बेलायत र नेपालबीच गोरखा सम्बन्धी वार्तामा गोरखाहरुका दुत सेवानिवृत्त मेजर जुदबहादुर गुरुङ, बेलायतको किइल युनिभर्सिटीमा जनस्वास्थ्य विषयकी प्राध्यापक डा प्रियंवदा पौड्याल, वयोवृद्ध गोरखाहरुलाई सहयोग गर्दै आएका मद्दत समूहका संस्थापक तथा गोरखा म्याग्दी ओभरसिज नेपाली एसोसिएसन (मोना) युकेका पूर्व अध्यक्ष कमल पुर्जा, कलाकार तथा नायक ध्रुव दत्तलाई सम्मान गरिएको थियो।
त्यस्तै, बेलायतमा कार्यरत सामाजिक संघ संस्थाहरुमध्येबाट नेप्लिज ब्रिटिश कम्युनिटी (एनबीसी) युकेको टिमलाई सम्मानित गरिएको थियो ।
उक्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले पठाएको शुभकामना बीबीसी नेपाली सेवाकी पूर्व प्रस्तोता संगीता मरहट्टाले पढेर सुनाएकी थिइन् भने लन्डनस्थित नेपाली दूतावासकी उपप्रमुख श्रीमती रोशन खनाल, एनआरएनए यूकेकी पूर्व अध्यक्ष पुनम गुरुङ, एनआरएनए युकेका अध्यक्ष सुनिलबाबु खड्का, नेपाली जनसम्पर्क समिति युकेका अध्यक्ष युवराज गुरुङ, बीबीसी नेपाली सेवाका पूर्व संचारकर्मीद्वय सुमन खरेल तथा भगीरथ योगीलगायतले शुभकामना दिएका थिए । त्यस्तै, सुजन पराजुली तथा विकी सापकोटाले सांगीतिक प्रस्तुति दिएका थिए भने बिमला बुढाथोकीले नृत्य प्रस्तुत गरेकी थिइन् ।
नेपाल ब्रिटेन डटकमलाई सघाउने समिरनाथ प्याकुरेल, ऋषि खनाल, संगीता मरहट्टा, प्रभु न्यौपाने, एनआरएनए युकेका अध्यक्ष सुनिलबाबु खड्का, विष्णु खरेल, विनय अधिकारी, राजु आचार्य, कुमार सापकोटा, सूर्य गुरुङ, काशीराम भण्डारी, मिन दर्लामी, एलएन घिमिरे, आइएमइ लन्डन, कृष्ण तिमल्सेना, डीएन खरेल तथा मोहन कार्कीलाई सम्मान गरिएको थियो।
नेपाल ब्रिटेन डटकमका संस्थापक अध्यक्ष चिरन्जीवी ढकालको सभापतित्वमा आयोजित समारोहमा केक काटेर वार्षिकोत्सव मनाइयो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री