बेलायतमा विद्यार्थीले ‘डिपेन्डेण्ट’ ल्याउन नपाउने

File Photo

लण्डन । बेलायतले आप्रवासीको संख्यालाई नियन्त्रण गर्न विभिन्न नीति ल्याउने क्रममा विद्यार्थीहरूलाई आफ्ना आश्रित परिवार ल्याउन बन्देज लगाउने प्रस्ताव ल्याएको छ ।

बेलायतकी गृह मन्त्री सुयला ब्रेभरम्यानले आज बेलायती संसदमा पेश गरेको प्रस्तावमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई श्रीमती र छोराछोरी ल्याउन प्रतिबन्ध लगाउने उल्लेख छ ।

अहिले मास्टर्स तथा पीएचडी अध्ययन गर्न आउने विद्यार्थीहरूले आफ्ना आश्रित परिवार ल्याउन पाउँदै आएका छन् ।

उता स्नातक तहको पढाइ सकिएपछि विद्यार्थीहरूले दुई वर्षको पोस्ट स्टडी वर्क पाउँदै आएका छन् ।

नयाँ प्रस्तावमा अनुसन्धानात्मक अध्ययनमा आउने विद्यार्थीहरूले मात्र आफ्ना आश्रित परिवार ल्याउन पाउने बताइएको छ । जसमा मूलत विद्यावारिधी र केही स्नातकोत्तर पढाइमा आउनेले मात्र परिवार ल्याउन पाउने छन् ।

नयाँ प्रस्ताव सन् २०२४ को जनवरीबाट कार्यान्वयनमा ल्याइने सरकारको योजना रहेको छ ।

यस्तै, नयाँ प्रस्तावमा विद्यार्थीका रूपमा आएकाहरूले अध्ययन पूरा नभई वर्क परमिट वा अन्य रूटमा जान नपाउने प्रावधान राखिएको छ । अहिले विद्यार्थीका रूपमा आएकाहरू वर्क परमिटमा जान पनि पाइरहेका छन् ।

सरकारले सन् २०२२ मा मात्र १ लाख ३६ हजार आश्रित भिसा जारी गरिएको दाबी गरेको छ । सन २०२१ मा सो संख्या ५४ हजार ४८६ मात्र थियो । सो संख्या ह्वात्तै बढ्नुको कारण युरोपियन विद्यार्थीका कारण पनि भएको बताइएको छ ।

वर्तमान बेलायती प्रधानमन्त्रीले आफ्ना मुख्य पाँच प्रतिवद्धतामा आप्रवासीको संख्या घटाउने पनि राखेका छन् तर कन्जरभेटिभ पार्टीको सरकार सन् २०१०मा आएयता नै आप्रवासीको संख्या १ लाखमा झार्ने लक्ष्य राखे पनि कहिल्यै पूरा हुन सकेको छैन ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री