बेलायतमा मुद्रास्फीति आठ महिनायताकै न्यून, खाद्यवस्तुमा ४५ वर्षकै महङ्गो

लण्डन । बेलायतको वार्षिक मुद्रास्फीति दर अप्रिलमा विगत आठ महिनाको सबैभन्दा कम ८.७ प्रतिशतमा झरेको छ ।
बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस)ले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मार्च महिनासम्म दोहोरो अंकमा रहेको मुद्रास्फिति अप्रिलमा एकल अंकमा झरेको हो ।
मार्चमा मुद्रास्फिति १०.१ प्रतिशत रहेको थियो ।
ओएनएसले ऊर्जाको मूल्यमा स्थायित्व आएकाले मुद्रास्फिति झरेको विश्लेषण गरेको छ ।
उता बैँक अफ इङ्ल्याण्ड (बीओइ) ले भने यस अवधिमा मुद्रास्फिति ८.४ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको थियो ।
बेलायतको बेलायतको मुद्रास्फीति दर क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिकासहित जी–सेभेन समूहका सम्पन्न अर्थव्यवस्था भएका देशहरूमध्ये सबैभन्दा बढी रहेको छ ।
बीओईले यस वर्षको अन्त्यसम्ममा बेलायतको मुद्रास्फिति तर २ प्रतिशतमा झर्ने आँकलन गरेको छ तर अहिलेको संकेत हेर्दा सो लक्ष्य धेरै टाढा रहेको भान हुन्छ । बेलायत सरकारले भने यो वर्षको अन्त्यसम्ममा मुद्रास्फीति करिब ५ प्रतिशतमा झर्ने दावी गरेको छ ।
समग्र मुद्रास्फिति दर घटे पनि खाद्यवस्तुको मूल्य भने घटेको छैन । ओएनएसका अनुसार अप्रिलमा पनि खाद्यवस्तुमा १९.१ प्रतिशत मुद्रास्फिति रहेको छ । जुन विगत ४५ वर्ष यताकै उच्च हो ।
उता अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले हिजोमात्र बेलायती अर्थतन्त्र यसवर्ष आर्थिक मन्दीबाट बचेको आँकडा सार्वजनिक गरेको भएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२३ मा बेलायतको अर्थतन्त्र ०.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । जबकि आईएमएफले गत अप्रिलमा ०.३ प्रतिशतले सङ्कुचन हुने प्रक्षेपण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री