लण्डन । मेडवेमा नेपाली र बेलायती गोर्खा समुदायको पहिलो महिला मेयर नीना गुरुङले कार्यभार सम्हालेकी छिन् ।
दुई सय वर्षभन्दा लामो समय गोर्खा भर्तीको इतिहासमा नेपालबाट युके आएर सेवा गर्दै गरेका गोर्खाली समुदायको निमित्त र बेलायतबासी नेपाली मूलका नेपालीहरुका लागि यो सुखद समाचार हो ।
मेडवे काउन्सिलको वार्षिक बैठक (२४ मे) मा मेडवेको नयाँ मेयरमा गुरुङ निर्वाचित भइन् । उनी मेडवेकी पहिलो नेपाली र बौद्ध धर्मावलम्बी मेयर हुन् ।
कास्कीको रिभानमा जन्मिएकी गुरुङ मेडस्टोनस्थित इन्भिक्टा ब्यारेकमा रहेको क्वीन्स गोर्खा इन्जिनियर्समा कार्यरत गोर्खा श्रीमान् ताइकाजी गुरुङसँग सँगै बस्न पहिलोपटक सन् १९९९ मा बेलायत आइन् ।
सन् २००५ देखि मेयर गुरुङ र उनको परिवार मेडवेमा बसोबास गर्न थाल्यो । उनीहरुका दुई छोरी यास्मीन रानी र जास्मिन रानी मेडवेमै हुर्किए । विश्वविद्यालय जानुपूर्व स्थानीय विद्यालय र सिक्स्थ फर्म कलेज यहीँ पढे ।
मेयर गुरुङ आफैँ पनि अध्ययनमा लागिन् र मिडकेन्ट कलेजमा कोर्स पूरा गरेपछि केन्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध र सामाजिक नीतिमा स्नातकोत्तर गरिन् । उनले यसअघि सामाजिक कार्य (सोसल वर्क) मा प्रथम श्रेणीमा डिग्री पनि हासिल गरेकी थिइन् ।
मेयर गुरुङ प्राज्ञिक अनुसन्धानकर्ता पनि हुन् । उनको अनुसन्धानले बेलायतमा गोर्खाहरुको बसोबास र समायोजन प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको थियो । उनको अध्ययनका सिफारिसहरूले समुदाय र स्थानीय सरकारलाई गोर्खाहरूको समायोजन प्रकृयालाई सहयोग पु¥याएको थियो ।
उनले बेलायतबासी नेपालीहरुको गतिविधि समेट्नका लागि केही समय गोर्खाज डटकम नाम गरेको वेभसाइट पनि सञ्चालनमा ल्याएकी थिइन् ।
उनीसँग विशेष अवस्थाका बालबालिकाको सेवामा काम गरेको १२ वर्षभन्दा बढीको अनुभव छ । उनी गोर्खा नेपाली कम्युनिटी मेडवेको पहिलो महिला अध्यक्ष पनि हुन् । उनी अहिले सो संस्थामा सल्लाहकारको रूपमा रहेकी छिन् ।
मेयर गुरुङ बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) बेलायत र मेडवेमा रहेका परोपकारी संस्थाहरु सेकेन्ड चान्स मेडवे र अल सेन्ट्स कम्युनिटी प्रोजेक्ट ट्रस्टका ट्रस्टी पनि हुन् ।
मेयरमा निर्वाचित भएपछि आफ्नो सम्बोधनका क्रममा मेडवेका मेयर गुरुङले भनिन्, “मेडवेको मेयरमा निर्वाचित हुन पाउँदा गर्व लागेको छ । म आशा गर्छु कि मेरो सुरुवातदेखि यो चरणसम्मको यात्राले मेडवेका सबैलाई कहिल्यै हार नमान्न, सधैं दयालु हुन, राम्रो निर्णय गर्न, संधै अघि बढ्ने प्रयास गर्न र आफूलाई सकारात्मक मानिसहरूसँग घुलमिल हुन र सधैं निःस्वार्थ रूपमा हाम्रो समुदायको सेवा गर्न प्रेरित गर्नेछ । म मेडवेलाई अर्को वर्ष विभिन्न प्रकारका कार्यक्रमहरूमा प्रतिनिधित्व गर्न र त्यहाँका बासिन्दाहरूलाई भेट्नको लागि तत्पर छु ।”
मेयर गुरुङले अगाडि भनिन्, “मेडवे समावेशी र प्रगतिशील छ । यसले प्रत्येक व्यक्तिमा रहेको सम्भावनालाई महत्व र मान्यता दिन्छ । मेडवेसँग अत्यन्त गौरवपूर्ण सम्पदा र अपार सम्भावना छ ।”
“हामी सबै क्षेत्रहरूमा लगानीको लागि खुला, तयार र उत्सुक छौंँ । हामी सबैलाई अझ राम्रो, राम्रो र अधिक समृद्ध मेडवे चाहन्छौं जसले सबैलाई अझ अवसर दिन्छ । समुदाय र काउन्सिल नेतृत्वहरू मिलेर काम गर्दै एकजुट भएर लक्ष्यमा चाहन्छौं”, उनले थपिन् ।
मेयर गुरुङले साफा (सशस्त्र बल परोपकारी संस्था), युक्रेनका लागि मेडवे हेल्प, र यङ (युवा) मेडवेलाई यस वर्षको परोपकारी संस्थाका लागि छनोट गरेकी छिन् ।
उनले भनिन् “मैले यी तीन विशेष परोपकारी संस्थाहरू रोजेको छु किनकि यसले हाम्रो सेनाको वीरता, युक्रेनका जनतासँगको हाम्रो ऐक्यवद्धता र मेडवेका युवाहरूलाई उनीहरूको पूर्ण क्षमता हासिल गर्न प्रवर्धन र मद्दत गर्ने हाम्रो विश्वासलाई प्रष्ट पार्छ ।”
नीनाले आफू र आफ्ना भाइबहिनीहरूलाई राम्रो शैक्षिक जग दिनुभएकोमा आफ्ना ब्रिटिश गोर्खा बुबा प्रेमबहादुर गुरुङ र आमा जोगन सुवा गुरुङलाई श्रेय दिइन् । साथै आफू पढेको विद्यालयकी प्रधानाध्यापक श्रीमती इन्दिरा याक्थुम्बालाई बलियो र सकारात्मक महिला रोल मोडेलको रूपमा लिँदै आफ्नो गन्तब्यमा पुग्न सही मार्ग निर्देश गर्ने व्यक्तित्वका रुपमा चित्रण गरिन् ।
मेडवेका मेयरलाई मेडवेको पहिलो नागरिक पनि भनेर चिनिन्छ । स्थानीय महलको कन्स्टेबल र नदीको एडमिरलको औपचारिक उपाधिहरूद्वारा सम्मानित गर्ने गरिन्छ ।
मेयरको समयको ठूलो हिस्सा क्षेत्रीय र राष्ट्रिय सन्दर्भमा मेडवेको छवि र महत्वलाई प्रवर्धन गर्न खर्च गरिन्छ । मेयरले पूर्ण परिषद् बैठकको अध्यक्षता पनि गर्छन् ।
बुधबार भएको मेयरको सपथ ग्रहण र पूर्ण वार्षिक परिषद बैठकमा डेभिड क्विर्क–थोर्नटन र एक बौद्ध पुजारीले आशीर्वाद दिनु भएको थियो भने नवनियुक्त म्याडम मेयर नीना गुरुङले बैठकको अध्यक्षता गरेकी थिइन् ।
बेलायतको स्थानीय राजनीतिमा नेपाली मूलका मानिसहरुको प्रवेश निरन्तर बढ्दो छ । खासगरी स्थानीय राजनीतिमा उनीहरुले चुनावमा सफलता पनि पाउँदैछन् । केही काउन्सिलरहरुले मेयरका रुपमा पनि निर्वाचित हुने मौका पाएका छन् । जसमा विष्णुबहादुर गुरुङ, डा जगन्नाथ शर्मा, लक्ष्यबहादुर गुरुङ, शंकर गैरे छन् । तर महिलातर्फ भने नीना गुरुङ नै पहिलो महिला मेयर बनेकी छिन् । हालसम्म संसदीय चुनावमा टिकट पाउने अवसर भने डा बच्चुकैलाश कैनीले मात्र पाएका छन् ।