वंशजको नेपाली नागरिकता निरन्तरता आन्दोलनमा एनआरएनए युकेको साथ

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले वंशजको नेपाली नागरिकता निरन्तरता सशक्त रुपमा लैजाने भएको छ ।
आइतबार अल्डरसटस्थित आफ्नै कार्यालयमा भएको एक बहसका सहभागीको ऐक्यवद्धतासँगै यस अभियानलाई सशक्त रुपमा लैजाने निष्कर्ष निकालिएको छ ।
अध्यक्ष प्रेम गाहामगरले एनआरएनए यूकेले नै वंशजको नेपाली नागरिकता अभियानको नेतृत्व गर्ने र यसमा विश्वका अन्य समितिहरुलाई पनि सामेल गराउने योजना सुनाए ।
सो अभियानका लागि समाजसेवी भरत क्षेत्रीको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गर्ने निर्णय भएको छ । बहसमा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिले राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण गरेको गैर आवासीय नेपाली नगरिकता विदेशका नेपालीलाई ललीपप भएको धारणा राखे ।
वक्ताहरुले वंशजको नेपाली नागरिकताका लागि वाधक रहेको संविधानको धारा १४, धारा २९१ र नेपाल नागरिकता ऐन ६३ को दफा १० खारेजीका लागि परिआए सडक र सदनबाट आन्दोलन गर्न पनि तयार हुनुपर्ने बताए ।
जुमबाट जोडिएका नेपालका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि संविधान र कानूनी प्रक्रियामा प्रश्न उठाइएको जनाउंदै नयां संसद, जनप्रतिनिधिले गर्नुपर्नेमा मन्त्रिपरिषदको निर्णयबाट हुने संविधानमा कहीं नभएको बताए ।
विधेयक प्रमाणीकरणविरुद्ध मुद्दाको पेशी मंगलबार छ ।
प्रमुख अतिथि एनआरएनए यूके प्रमुख सल्लाहकार ८२ वर्षीय क्याप्टेन वीर थापाले अभियानलाई सार्थक बनाउन प्रेम गाहामगरलाई साथ दिन सबैमा अपिल गरे ।
मन्तव्यका क्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले नक्कली भुटानी शरणार्थीहरुले आफूलाई सहज हुने गरि प्रावधान अगाडि बढाएको आरोप लगाए ।
‘एनआरएनए यूके अब एउटामात्र एजेन्डा लिएर अगाडि बढ्ने छ, त्यो हो वंशजको नेपाली नागरिकता’, उनले भने, ‘कानूनी प्रक्रिया र आन्दोलन अगाडि बढाउन तयार रहन म सबैलाई आग्रह गर्दछु ।’
एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्रीले गैर आवासीय नेपाली नागरिकतबारे भ्रम फैलाइएको बताए । एनआरएन नेताहरु नै उक्त नागरिकता लिन तयार नरहेको दावी उनको थियो । ‘नागरिकता र समृद्धिको नाममा हामीबाट अरबौं पैसा उठाइयो तर अहिले देश संकटतर्फ उन्मुख हुंदैछ । मातृभूमि नेपाल, आफ्ना सन्तान र संगठन बचाउन सबै लाग्नुपर्ने बेला आएको छ’, क्षेत्रीले भने ।
वंशजको नेपाली नागरिकता निरन्तरता महाअभियानका अध्यक्ष खगेन्द्र पाठकले एउटा कमिटी गठन गरेर अभियानमा प्रेम गाहामगरलाई सहयोग गर्ने ऐक्यवद्धा प्रकट गरे । ‘अब चरणवद्ध रुपमा जाऔं, नेपालमा सडक, सदनमा समेत आवाज उठाउं’, उनले सुझाए ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले नेपालले मानिस बेच्ने र बेलायतले किन्ने गरेको आरोप लगाए ।
मानव वेचविखनको मुद्दामा अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी समेत उनले दिए । अदालती प्रक्रियामा गए मानव वेचविखनमा बेलायत र नेपाल दुई देश नै फंस्ने उनको दावी थियो ।
गेसो महासचिव नरहाङ राईले झुण्ड झुण्डमा गएर बोल्दा आवाज नजाने भएकाले विषयवस्तुको गाम्भीर्यता बुझेर एकजुट भइ अगाडि बढ्न सुझाए ।
एनआरएनए युकेका सल्लाहकार ओमप्रसाद थापा एनआरएन आइसीसीले बेलायतवासी नेपालीलाई ठूलो धोका दिएको बताए ।
स्याङ्जा समाज यूके अध्यक्ष शारदा गुरुङले ज्ञापनपत्र बुझाउंदैमा माग पुरा नहुने भएकाले अब सशक्त रुपमा अगाडि बढ्न सुझाव दिए ।
कार्यक्रम सञ्चालन गर्दै सचिव प्रमिला लाबुङ राईले एकता नै बल भएकाले समयको सदुपयोग गरेर अगाडि बढ्न अभियन्ताहरुलाई आग्रह गरिन् । उनले संस्था खोल्ने, पद लिने होडमा अभियन्ता भनिनेहरु रहेको आरोप लगाउंदै देशको अनागरिक हुने अवस्था नआउन बेलैमा जागरुक हुन पनि उनले सुझाव दिइन् ।
झण्डै ४ घण्टा चलेको उक्त वहसको मध्यस्तकर्ता सञ्चारकर्मी राजेन्द्र भट्ट र शिव भण्डारी थिए ।
कार्यक्रममा गोर्खा मुद्दामा बेलायत नेपाल सरकार (जीटुजी) वार्ताका मध्यस्तकर्ता एवं गोर्खाहरुका तर्फबाट प्रवक्ता मेजर रि. जुदबहादुर गुरुङ, काउन्सिलर धनबहादुर सार्की, डा. भीम पुन, भरत रोका क्षेत्री, चन्द्र कार्की, धन रोका, क्याप्टेन विष्णु श्रेष्ठ, लेख गुरुङ, हितमान गुरुङ लगायतले नेपालका वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपाने र वक्ताहरुसंग विभिन्न जिज्ञासा र आफ्नो विचार राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री