लण्डनमा मनाइयो सगरमाथा आरोहणको ७० औँ वार्षिकोत्सव

लण्डन । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७० पुगेको वर्षगाँठ नेपाली दुताबास लण्डनमा पनि मनाइएको छ ।

ड्यूक अफ ग्लोस्टरले आफू बालक हुँदा मानिसले पहिलोपटक सगरमाथा आरोहण गरेको समाचार सुन्दाको स्मरण गरे । संयोगले त्यो बेलायतकी पूर्व महारानी एलिजावेथ द्वितीयको राज्यभिषेकको बेला परेको थियो । उनले नेपाल र बेलायतको सम्बन्ध गोरखाले मात्र होइन बेलायती मानिसहरुको सगरमाथाको टाकुरामा पुग्ने चाहना र शेर्पाहरुसितको सम्बन्धमा समेत आधारित रहेको बताए ।

बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले पहिलो सफल आरोहण, त्यसको पृष्ठभूमि, हिमालको महत्व, हिमालमा बसोबासरत मानिसहरुको जीवनशैली र जलवायू परिवर्तनले पारेको असरका बारेमा जोड दिए ।

बेलायतको विदेश मन्त्रालयकी उपनिर्देशक माया शिवागनानामले राज्यमन्त्री आन मारी ट्रेभलिनको सन्देश वाचन गरेकी थिइन् ।

कार्यक्रममा प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे र सर एडमण्ड हिलारी, आरोहण टोलीका नेता लर्ड हन्टलाई सम्मान गरिएको थियो । तेन्जिङ नोर्गेका छोरा जाम्लिङ र एडमड हिलारीका छोरा पिटर हिलारी, लर्ड हन्ट पुत्री सु लेडनले पनि कार्यक्रममा बोलेका थिए ।

घुँडामाथिको कृतिम खुट्टाले सगरमाथा चढेर विश्व रेकर्ड राखेका हरि बुढामगर, १७ पटक सगरमाथा चढने केन्टन कुल, पहिलो ब्रिटिश महिला सगरमाथा आरोही रेवेका स्टेफेन्स, सगरमाथा आरोही तथा लेखक सर क्रिस बोनिङटनलाई पनि सम्मान गरिएको थियो ।

बुढामगर, कुल र स्टेफेसन्सले सगरमाथा आरोहणका रोचक कथा सुनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री