वार्तामा पेन्सनको कुरा राख्न पाएपछि गोरखाहरू खुशी

लण्डन । गोरखाहरूको समस्याका बारेमा आज बेलायती रक्षा मन्त्रालयमा नेपाली तथा बेलायती सरकारका प्रतिनिधिहरूबीच गोरखा भूतपूर्व सैनिकहरूको समेत उपस्थितिमा भएको वार्तामा पेन्सन बारे कुरा राख्न पाएपछि गोरखाहरू खुशी देखिएका छन् ।

दुई चरणमा गरी करिब चार घण्टा चलेको वार्तापछि बेलायती रक्षा मन्त्रालयबाहिर भेला भएका गोरखाहरूलाई सम्बोधन गर्न आउँदा वार्ता टोलीका सदस्यहरू प्रशन्न मुद्रामा उपस्थित थिए ।

छोटो सम्बोधनमा वार्तामा गोरखाहरूका प्रतिनिधि मेजर रिटायर्ड जुदबहादुर गुरुङले पेन्सनका सवालमा तीनवटा कुरा आफूहरूले राखेको र बेलायती सरकारको टोलीले ती विषयहरूमा अध्ययन गर्ने आश्वासन दिएको बताए ।

‘सन् १९७५ पछिका गोरखाहरूलाई १५ वर्ष सेवा गरेवापत गोरा सहकर्मीसरह अनुपातमा (प्रोप्रोरसनेट) पेन्सन दिइनुपर्ने, २२ वर्ष सेवा गरेकाहरूलाई गोरा सहकर्मीहरूसरह पेन्सन दिनुपर्ने र १६ देखि २१ वर्ष सेवा गरेका अधिकृतहरूलाई गोरा सहकर्मीसरह पेन्सन दिइनुपर्ने विषय राखेका छौँ । बेलायती रक्षा मन्त्रालयका प्रतिनिधिहरूले यी विषयहरूमा अध्ययन गर्छौँ भनेका छन्’ गुरुङले भने ।

गेसोका उपसभापति तथा वार्ता टोलीका सदस्य धर्मबहादुर तामाङले आजसम्मको वार्तामा सन्तोषजकरूपमा विषयप्रवेश नभएको र आजबाट बल्ल गोरखाहरूको समस्याका बारेमा छलफल शुरु भएको बताए । उनले आउँदो वार्तामा बेलायती सरकारको तर्फबाट पेन्सनका बारेमा सकारात्मक जवाफ पाउने आशा व्यक्त गरे ।

वार्तामा सहभागी गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राईले ‘भाग्न खोजेका कुखुरा चोरहरू आज पासोमा परेको’ प्रतिक्रिया दिए । उनले भने, ‘आफ्नो पीडा सुनाउन पायौँ, कुरा शुरु भएको छ । हामीहरू खुशी हुनुपर्छ ।’

वेलफेयरका सवालमा भने अहिले सोल्सब्री र अल्डरसटमा मात्र रहेको वेलफेयर सेन्टर अपुग भएको भन्दै त्यसलाई विस्तार गर्ने योजना बेलायती टोलीले जानकारी दिएको थियो । गोरखा प्रतिनिधिहरूले भने गोरखाहरूसित परामर्श गरेर मात्र कुन कुन स्थानमा विस्तार गर्ने निर्णय लिन सुझाव दिएको मेजर गुरुङले बताए । उनले नेपालमा बसोबासरत गोरखाहरूले वेलफेयरमा भोग्नुपरिरहेको समस्याका बारेमा पनि वार्तामा कुरा उठाएको प्रष्ट पारे । बेलायतमै बसोबासरत वयोवृद्ध गोरखाहरूको निधन हुँदा श्रीमती वा श्रीमानलाई वेलफेयरले अनावश्यक प्रश्नहरू साेधेर तनाव दिने गरेकोमा गोरखाहरूले प्रश्न उठाएका थिए ।

आजको वार्तामा स्टेट पेन्सन र गुडविल पेमेन्टबाहेक सबै कुरामा विषय प्रवेश भएको राईले बताए । स्टेट पेन्सन र क्षतिपूर्तिका बारेमा भने आजको वार्तामा बसेको बेलायती वार्ता टोलीको विभागीय कार्यक्षेत्र भित्र नपरेकाले छलफल नभएको बताइएको छ । मेजर जुद गुरुङले भने जुन विभागले ती विषयहरू हेर्छ तिनीहरूसितै वार्तामा बस्न आफूहरू सदैव तयार रहेको बताएका थिए ।

गेसो उपसभापति धर्म तामाङले आजको वार्तामा हवाइ काण्डका बारेमा पनि कुरा उठाएको बताए । बेलायती पक्षले यस बारेमा उतिबेलै छानविन भएको तर्क गरेका थिए भने गोरखाहरूले त्यतिबेलाको छानविनमा गोरखाहरूमाथि अन्याय भएकाले पुन छानविन हुनुपर्ने माग गरेका थिए ।

वार्ताको शुरुमा बेलायतले वेलफेयरका बारेमा मात्र वार्ता गर्ने भन्दै पेन्सनका बारेमा सुन्नै चाहेको थिएन । गोरखाहरू र नेपाल सरकारका प्रतिनिधिहरूका अडानका कारण आजबाट पेन्सनको विषय पनि वार्तामा समेटिएपछि गोरखाहरूको अनुहारमा चमक देखिएको हो ।

आजको वार्तामा नेपाली सरकारको प्रतिनिधित्व लण्डन दुताबासकी उपनियोग रोशन खनालले गरेकी थिइन भने सैनिक सहचारी जर्नेल रत्नबहादुर गोदार पनि सरिक थिए ।

खनालले अर्को वार्ता जुलाई १५ भित्रै गर्न अनुरोध गरेको पनि वार्तामा सहभागी गोरखाहरूले बताए ।    

प्रतिक्रिया

सम्बन्धित सामाग्री