एनआरएनए यूकेको सदस्यता खुल्यो, १५ जुलाईसम्म लिन सकिने 

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को सदस्यता खुल्ला भएको छ ।

१५ जुनदेखि खुला भएको सदस्यता १५ जुलाई २०२३ सम्म लिन सकिने बताइएको छ । https://members.nrnauk.org/ लिङ्कमा गई सो सदस्यता लिन सकिने बताइएको छ ।

यसपटक सदस्यता नवीकरण वा नयाँ बन्न कुनै शुल्क नलाग्ने बताइएको छ ।  

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले भने बेलायतको हाम्रो सदस्यहरुको डेटा बेलायतको सर्वरमा राखिने र ‘डेटा प्रोटेक्सन एक्ट’ को अधीनमा रहेर सदस्यता खुलाइएको जनाउँदै सदस्यहरुका व्यक्तिगत विवरण गोप्य राखिने बताए । त्यसैले  ढुक्कसँग सदस्य बन्न उनले अपिल गरे ।  

‘विगतमा सदस्यहरुबाट उठाइएको झन्डै ४० हजार पाउन्ड एक समूहले घोटाला गरेपछि संघको छवी उकास्न हामी अहिले निशुल्क गर्न बाध्य भएका हौं’- गाहामगरले भने- ‘म बेलायतका सबै संघसंस्था र व्यक्तिलाई सदस्य बनेर संघको शुद्धीकरण तथा हाम्रो वंशजको नागरिकता निरन्तरता अभियानमा साथ दिन अपिल गर्दछु ।’  

गाहा अध्यक्ष रहेको एनआरएनए यूकेको निर्वाचन २१ र २२ जुलाईमा हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि निर्वाचन आयुक्त विश्वासदीप तिगेलाको संयोजकत्वमा सदस्य सचिव कर्मा पहाडी शेर्पा र सदस्यहरु लक्ष्मी राई (लारा), रुद्र थापा एवं टेकबहादुर थापा क्षेत्री सम्मिलित एक निर्वाचन समिति समेत गठन भइसकेको छ ।

यसपटक पनि एनआरएनए मतदान अनलाइनबाट गरिने भएको छ । २१ जुलाई मध्यान्ह १२ बजेदेखि २२ जुलाई मध्यान्ह १२ बजेसम्म अनलाइन मतदान हुनेछ भने मनोनयन ९ जुलाई बिहान ११ देखि अपरान्ह ४ बजेसम्म मनोनयन गर्ने समय तोकिएको छ ।  

नयाँ कार्यसमिति घोषणा २२ जुलाई एम्पायर हल अल्डरसटमा गरिने एनआरएनए यूकेले जनाएको छ ।

घोषणासभामा नेपाल र बेलायतका विशिष्ठ व्यक्ति तथा एनआरएन अभियन्ताहरुको सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री