इङ्गल्याण्डका कनिष्ठ चिकित्सकहरु पाँच दिने हड्तालमा

लण्डन । बेलायतका अस्पतालका चिकित्सकहरूले राज्यको आर्थिक सहयोगमा सञ्चालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को इतिहासमा सबैभन्दा लामो हडतालको घोषणा गरेका छन् ।
परामर्शदाता स्तरभन्दा मुनिका चिकित्सकहरू जुलाई १३ का दिन बिहान ७ बजेदेखि जुलाई १८ सम्म पाँच दिनका लागि सेवामा हाँजिर नहुने ‘ब्रिटिश मेडिकल एशोसिएशन’ले जनाएको छ ।
एनएचएसले आफ्नो ७५ औं वार्षिकोत्सव मनाएको केही समयपछि सरकारले पाँच प्रतिशत तलब वृद्धिको प्रस्ताव अस्वीकार गरेको विरोधमा यसै महिना ७२ घण्टे हडताल भएको थियो ।
प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले नयाँ हडताल ‘अत्यन्त निराशाजनक’ भएको बताउनुभएको छ ।
“यसले बिरामीको सुरक्षा र प्रतिक्षा सूची कटौती गर्ने हाम्रो प्रयासलाई जोखिममा पार्छ,” उहाँले पत्रकारहरूसँग भन्नुभयो ।सरकारको प्रस्ताव ‘निष्पक्ष र उचित’ थियो ।
तर चिकित्सकहरूले विगत १५ वर्षमा वास्तविक रूपमा २६ प्रतिशत तलब ‘कटौती’ भएको बताएका छन् ।
उनीहरू तलब सन् २००८–२००९ को स्तरमा फर्काउन चाहन्छन् तर सरकारले यसको अर्थ यो वर्ष औसत ३५ प्रतिशत तलब गर्नुपर्ने र र यो निकै महँगो हुने बताएको छ ।
बीएमए कनिष्ठ चिकित्सक समितिका संयुक्त अध्यक्ष रोबर्ट लरेन्सन र विवेक त्रिवेदीका अनुसार सरकारले एनएचएसको पतन चाहेको देखिन्छ ।
उनीहरूले बीएमए सर्वेक्षणलाई जोड दिएका छन् जसमा लगभग दुई हजार कनिष्ठ चिकित्सकमध्ये आधाभन्दा बढी (५३ प्रतिशत) ले विगत चार महिनामा विदेश जाने प्रस्तावहरू प्राप्त गरेका थिए ।
अस्ट्रेलिया दक्षिणी राज्यको सरकारले ‘पिकेट लाइन’मा पठाइने विज्ञापन ट्रकका लागि समेत पैसा तिरेको र चिकित्सकले बसाइँ सराइ गरेको खण्डमा राम्रो तलब दिने बताएको उनीहरूको दाबी छ ।
लरेन्सन र त्रिवेदीले सरकारले तलबको विषयमा वार्ता पुनः सुरु गर्न अस्वीकार गरेको र ‘एनएचएसको इतिहासमा चिकित्सकहरूले गरेको सबैभन्दा लामो सेवा बहिस्कार’ गर्न बाध्य भएको बताएका छन् ।
यदि सरकारले तलब बहालीका लागि ‘विश्वसनीय प्रस्ताव’ ल्यायो भने हडताल टार्न सकिने उनीहरूले बताएका छन् ।
चिकित्सक, नर्स र अन्य मेडिकल स्टाफले मुद्रास्फीतिभन्दा कम तलब वृद्धि र अवस्थालाई लिएर हडतालको शृङ्खलाले बिरामीको हेरचाहमा असर पारेको छ, जसले नियुक्तिहरू रद्द गर्न वा पुनर्निर्धारित गर्न बाध्य बनाएको छ ।
स्वास्थ्य अधिकारीहरूले हडतालले वर्षौंको कम–कोष, कर्मचारी, र कोभिड महामारीको कारण उपचारमा ठूलो अभावलाई हटाउन संघर्ष गरिरहेको समय सेवालाई थप अवरुद्ध गरेको बताएका छन् ।
एनएचएसले जुलाई ६ मा आफ्नो ७५ औँ वर्षगाँठ मनाएको छ । सन् १९४८ मा नागरिकको ‘जन्मदेखि मृत्युसम्म’ निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित यसको स्थापना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री