बेलायतको स्थानीय राजनीतिमा जम्दै नेपाली समुदाय

माथिल्लो लहर मेयर नीना गुरुङ, जीव बेल्बासे, कमल गुरुङ, धन सार्की । बीचको लहर विष्णु गुरुङ, नेम थापा, गोबर्धन सिलवाल, प्रीति लिम्बु । तल्लो लहर डा जगन्नाथ शर्मा, लक्ष्य गुरुङ, जीत रानाभाट, रोजिना प्रधान राई

लण्डन । बेलायतको स्थानीय तहको राजनीतिमा नेपाली समुदायको सहभागिता बढ्दै गएको छ ।
शिक्षा, स्वास्थ्य, सुरक्षा, रेष्टुरेष्ट, व्यापार, व्यवसाय जस्ता क्षेत्रमा स्थापित हुँदै गरेका नेपालीहरुको यहाँको राजनीतिमा पनि सक्रियता बढ्दो छ ।
बेलायतका विभिन्न तहका काउन्सिलमा अहिले एकजना मेयर, एकजना उपमेयर र करिब एक दर्जन काउन्सिलर पदमा नेपाली मूलका निर्वाचित भएका छन् ।
सन २०१० अघि भने फाट्टफूट्ट रुपमा मात्र नेपाली स्थानीय तहमा निर्वाचित भएका पाइन्थ्यो । सन २००९ पछि ब्रिटिश गोरखाको परिवारलाई आवासीय सुविधा दिएसँगै नेपालीहरु जनसङ्ख्या बढेपछि उनीको राजनीतिमा पनि उपस्थिति बढ्न थालेको हो ।
पूर्व ब्रिटिश गोरखा सैनिकसमेत रहनुभएका बार्नेट बरोका काउन्सिलर लक्ष्यबहादुर गुरूङ भन्नुहुन्छ, ‘नेपाली मूलको निर्वाचित भएपछि आफ्नो समुदायको आवाज काउन्सिलको च्याम्बरसम्म पुग्ने भयो । आफ्नो समुदायको पहिचान स्थानीय तहमा हुने भयो ।’ सोही बोरोबाट सन् २०१८ मा उपमेयरसमेत भइसक्नुभएका गुरूङले आफ्नो क्षेत्रमा नेपालीको समाधिस्थल बनाएको स्मरण गर्दै आफ्नो बोरोले नेपालका विभिन्न विद्यालयसँग सहकार्यसमेत गरेको जानकारी दिनुभयो । उहाँ सत्तारुढ कन्जरभेटिभबाट निर्वाचित हुनुहुन्छ ।
विशेषगरी नेपाली समुदायमा सक्रिय भएकाहरू नै स्थानीय राजनीतिमा संलग्न भएको देखिन्छ । हालै मात्र मेडवे काउन्सिलमा मेयरमा निर्वाचित नीना गुरूङ कोभिड–१९ पछि मात्र राजनीतिमा सक्रिय रुपमा लागेको बताउनु हुन्छ । पहिलो नेपाली महिला मेयर हुने गौरव हासिल गर्नुभएकी गुरूङले त्यस क्षेत्रमा सामाजिक अभियन्ताको पहिचान बनाउनु भएको थियो । शिक्षा,समानता र सामाजिक कार्यमा सक्रिय रुपमा लाग्नु भएको उहाँले निष्पक्ष रुपमा काम गरेर नेपाली समुदायलाई गौरवको अनुभव गराउने बताउनु भयो ।
२८ वर्षदेखि कन्जरभेटिभ पार्टीले जित्दै आएको उहाँको क्षेत्रमा लेबरले ३३ स्थानमा जितेपछि उहाँलाई मेयर हुन सजिलो भएको थियो । लेबरको आन्तरिक निर्वाचनमा उहाँलाई पार्टीले मेयरमा मनोनयन गर्दा आफूले त्यस्तो नसोचेको उहाँ बताउनु हुन्छ । काउन्सिलरको चुनाव जित्नासाथ उहाँ मेयर हुनुभएको थियो ।
रोयल बरो अफ ग्रीनबीचमा लेबर पार्टीको तर्फबाट काउन्सिलर पदमा विजयी हुनुभएका जीत रानाभाट हालसालै उपमेयर नियुक्त हुनुभएको छ । उहाँ रोयल बरो अफ ग्रीनबीच नेपाली सोसाइटीको अध्यक्ष समेत हुनुहुन्छ । सामाजिक कार्यमा सक्रिय रहँदै आउनु भएका उहाँ कोभिडको समयमा उल्लेखनीय सामाजिक योगदान गरेबापत ग्रीनबीच र बेक्सली बरोबाट ‘लकडाउन हिरो’को सम्मान पनि पाउने व्यक्ति हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘समुदायका लागि काम गर्ने अवसर र चुनौति दुवै छ ।’
स्थानीय तहमा नेपालीले सक्रियता बढाउँदै लगे पनि बेलायतको संसदीय यात्रामा भने कुनै पनि नेपालीले अहिलेसम्म सफलता पाउन सकेका छैनन् । सन २०१७ को संसदीय निर्वाचतमा इङ्ल्याण्डको डार्टफोर्ड निर्वाचन क्षेत्रमा लेबर पार्टीको तर्फबाट उम्मेदवार हुनु भएका डा बच्चुकैलाश कैनी निकटतम प्रतिद्वन्द्वी हुनु भयो । त्यसअघि र पछि कुनै पनि नेपालीले संसदीय निर्वाचनमा भाग लिएको पाइएको छैन ।
सन् २०१३ मा सो काउन्सिलको काउन्सिलर भैसक्नुभएका डा कैनी भन्नुहुन्छ, ‘स्थानीय तहमा नेपाली निर्वाचित हुनु शुरूवात मात्र हो । नयाँ पुस्तालाई संसदीय यात्रामा जाने यो प्रवेश विन्दु हो ।’ भारत, पाकिस्तान, बङ्गलादेशको चार/पाँच पुस्ता बेलायतमै रहँदै आएको र उनीहरुको सङ्ख्या पनि अधिक भएकाले उनीहरुलाई राजनीतिमा पहुँच बनाउन त्यति सङ्घर्ष गर्नु परेन । डा कैनी भन्नुहुन्छ, ‘पार्टीको काममा निरन्तर लागेर विश्वास जित्न सके नेपाली पनि सांसद नहुने कुरै छैन ।’
प्रक्रियागत रुपमा यहाँको राजनीतिमा जान गाह्रो छ । अनुभव, दक्षता र योग्यताको आधारमा मापदण्डभित्र परेपछि संसदीय यात्रा तय गर्न सकिने उहाँको बुझाइ छ । उहाँ भन्नुहुन्छ, ‘काउन्सिल तहबाट समुदायको प्रतिनिधित्व हुने गरी एक किसिमको आवाज जान्छ, त्यो आवाजलाई अझ बलियो बनाउन हामी संसदमा पुग्नैपर्छ ।’ उहाँ भविष्यमा संसदमा उठने तयारीमा समेत हुुनुहुन्छ ।
हाल लेबर पार्टीबाट हाउन्स्लो बरोको काउन्सिलरमा पूर्वगोरखा बिष्णुबहादुर गुरुङ, कोलबर्न टाउन काउन्सिलमा कन्जरभेटिभबाट डा जगन्नाथ शर्मा र पूर्वगोरखा कमलबहादुर गुरूङ बार्नेट बरो काउन्सिलमा लेबर पार्टीबाट काउन्सिलरमा निर्वाचित हुनुहुन्छ । शर्मा सो काउन्सिलमा पटकपटक मेयरसमेत भइसक्नुभएके छ । यसैगरी, नेपाली समुदायको बाक्लो बस्ती रहेको रसमोर बरो काउन्सिलको बेलिङ्टन वडाबाट जीव बेल्वासे र धनबहादुर सार्की र सोही बरोकोे फानबोरो चेरीउड वडाबाट नेम थापा कन्जरभेटिभ पार्टीबाट काउन्सिलरमा निर्वाचित हुनुहुन्छ । सार्की र थापा पूर्व गोरखा हुनुहुन्छ । मेडिस्टोन बरो काउन्सिलमा लिबरल डेमोक्रयाटिकबाट दिनेश खडका, स्यान्डहर्स्ट टाउन काउन्सिलमा कन्जरभेटिभबाट प्रीति लिम्बु, डाकोराम बरोमा कन्जरभेटिभबाट गोर्वधन सिलवाल र इन्सवर्थ पेरिस काउन्सिलमा कन्जरभेटिभबाटै रोजिना प्रधान राई लगायत हुनुहुन्छ ।

बेलायतका स्थानीय निकायमा काउन्सिलर हुने पहिलो नेपाली धन गुरुङ हुनुहुन्छ भने पहिलो मेयर श‌ङ्कर गैरे हुनुहुन्छ । त्यस्तै पहिलो महिला काउन्सिलर लक्ष्मी गैरे हुनुहुन्छ । शङ्कर र लक्ष्मी श्रीमान् श्रीमती हुनुहुन्छ । गुरुङ सन् २००७ मा फोल्कस्टोन काउन्सिलमा काउन्सिलर निर्वाचित हुनुभएको थियो । गैरै सन् २०१६ मा स्वान्ली टाउन काउन्सिलमा मेयर हुनुभएको थियो भने श्रीमती गैरे पनि सन् २०१६ मा काउन्सिलर हुनुभएको थियो ।

नेपाली मूलका युवा आकाङ्क्षा गुरुङ सन् २०१९ को स्थानीय निर्वाचनमा गिल्फोर्ड काउन्सिलबाट उम्मेदवार बन्नुभएको थियो । अहिले स्याण्डहर्स्ट टाउन काउन्सिलबाट निर्वाचित प्रीति लिम्बु पनि युवा हुनुहुन्छ ।
बेलायतमा विशेषगरी दुई प्रमुख राजनीतिक दल कन्जरभेटिभ र लेबरमा नेपालीहरुको आकर्षण बढी रहेको देखिन्छ ।
बेलायतमा काउन्टी, डिस्ट्रिक, बरो, सिटी, टाउन, र पेरिस काउन्सिल गरी विभिन्न तहका स्थानिय रहेका छन् ।
यी काउन्सिलहरुमा केहीमा प्रत्यक्ष निर्वाचित मेयर तथा अन्यमा काउन्सिल लिडरको कार्यकारी अधिकार रहने गर्दछ ।
इङ्ल्याण्डमा रसमुर, ग्रीनबीच, रिडिङ, केन्ट लगायतका क्षेत्रमा नेपालीको बाक्लो बसोबास छ । यसका साथै बेलायतका अन्य राज्यहरु वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डमा पनि नेपालीहरुको बसोबास छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री