‘बेलायतमा नेपालीको नयाँ पहिचान स्थापित गराउनेछु’

लण्डन । गैरआवासीय नेपाली संघ बेलायतको जुलाई २२ मा हुन गइरहेको निर्वाचनको सरगर्मी बढ्दै छ । अध्यक्षमा मनोनयन दाखिला गराएका उम्मेदवारहरुमध्ये कतिपयले मनोनयनपूर्व नै आफ्ना प्रतिवद्धता पत्रहरु पत्रकार सम्मेलन र सामाजिक सञ्जालमार्फत पुर्याए भने कतिले अहिले पुर्याउने क्रममा छन् ।
शनिबार अध्यक्ष पदमा मनोनयन बुझाएपछि आकांक्षी दिनेश घिमिरेले सोमबार साँझ अनलाइन पत्रकार सम्मेलनमार्फत आफ्नो घोषणा पत्र सार्वजनिक गरे ।
मंगलबार बिहान वीनेपालीसितको भेटमा उनले पत्रकार सम्मेलनमा व्यक्त गरेभन्दा केही विस्तृत केही नयाँ आफ्ना योजनाहरु बताए ।
बेलायतमा एक लाखभन्दा बढीको संख्यामा रहेका नेपालीहरुलाई नयाँ पहिचान दिलाउने उनको सपना छ । निर्वाचनको मुखमा धेरैले आकाशको तारा झारिदिन्छु भन्छन् तर उनको कुरा सुन्दा यो योजना असम्भव पनि लागेन । बेलायतमा नेपालीहरुको अधिक बसोबास रहेका टाउनहरुमा स्थानीय काउन्सिलहरुसित सहकार्य र समन्वय गरी नेपाली पहिचान स्थापित गराउन उनले चाहेका छन् । ती काउन्सिलहरुमा अहिले नै नेपाली मूलका मानिसहरु काउन्लिर, उपमेयर हुँदै मेयरसमेत भइसकेको अवस्थामा उनको सपना साकार हुन असजिलो पनि छैन ।
बेलायतमा बसोबासरत वयोवृद्ध अवस्थाका पूर्व गोरखा सैनिकका परिवारलाई सहयोगका लागि उनीहरुको बाक्लो बसोबास रहेका क्षेत्रमा स्थानीय काउन्सिलहरुसित सहायता कक्ष (हेल्प डेस्क) राख्न पहल गर्ने पनि उनले बताए ।
गोरखाहरुको वंशजको नागरिकताको माग उठिरहेकोमा गोरखाहरुका लागि अलग्गै कानुनी व्यवस्था गर्न नेपाल सरकारसित माग गर्ने प्रतिवद्धता उनको छ । ‘बेलायतमा विभिन्न समुदाय जस्तो विण्डरसका लागि अलग्गै कानुनी व्यवस्था गरियो, गोरखाहरुका लागि अलग कानुन बनाइयोे भने नेपालमा गोरखाहरुका लागि छुट्टै कानुनी व्यवस्था गर्न किन सकिँदैन’ उनको तर्क छ । आफ्ना धेरै समकालिनहरु अहिले नेपालको संसदमा सदस्य रहेकाले यो विषयलाई संसदमा प्रवेश गराउनेमा उनी पूरै ढुक्क छन् ।
विगतका चुनावहरुमा अध्यक्षका प्रत्याशीहरुको भन्दा उनको चुनावी अजेण्डा अलि फरक छ । उनले नेपालबाट बेलायत अध्ययनका लागि आउने विद्यार्थीहरुलाई बेलायत आउनपूर्व नेपालमै बेलायतबारे जानकारी दिने योजना ल्याएका छन् । बेलायत आउनुपूर्व विद्यार्थीहरुको बेलायतका बारेमा देखेको सपना र भोग्ने यथार्थ बीचको वास्तविकता चित्रण गर्न उनको यस योजनाले पक्कै सहयोग गर्ने छ ।
बेलायतमा एनआरएन विभाजित अवस्थामा छ । दुई वटा त कार्यसमिति नै छन् । जसका कारण यहाँको समाज पनि विभाजित अवस्थामा छ । विभाजनको रेखा एनआरएनमा मात्र सीमित छैन । अरु विभिन्न वहानामा समाज विभक्त अवस्थामा छ । उनले समाजलाई एकतावद्ध गराउने संकल्प लिएका छन् । यसका लागि अध्यक्षमा निर्वाचित भएको दिनदेखि नै लाग्ने उनको ध्येय छ । विभाजनल समाजमा ल्याएको संवादहीनतालाई चिर्दै आपसी छलफल, अन्तत्र्रिmयाबाट अविश्वास, आशंका हटाउने तथा नयाँ, फराकिलो सोचले एकता कायम गराउने उनको अठोट छ ।
एनआरएनलाई संस्थागत रुपमा सुधार गर्ने पनि उनको योजना छ । यसका लागि अधिवेसनको केही दिनअघि मात्र सदस्यता खुला गर्ने परम्परालाई हटाउँदै वर्षैभरि सदस्यता नविकरण र नयाँ सदस्यता लिन सकिने व्यवस्था गर्ने उनको सोचाइ छ । साथै प्रविधिका नाममा र कसैले भोट बैँकका रुपमा प्रयोग गर्छ कि भन्ने भयले बेलायतमा बसोबास गर्दै आएका हजारौँ वयोवृद्ध गोरखाहरुलाई एनआरएनएबाट बाहिरै राख्ने कोसिस भइरहेकोमा उनले आफू अध्यक्षमा निर्वाचित भएमा उनीहरुलाई सदस्य बन्न सहयोग गर्न विशेष व्यवस्था गर्ने वचन दिए ।
घिमिरे दुई दशकदेखि बेलायतमा बसोबासरत छन् । बेलायतको नेपाली समुदायमा विभिन्न सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय रहेका उनी अहिलेसम्म कुनै विवादमा परेका छैनन् । उनी ओभरसिज नेपलिज फोरम (ओएनएफ) युकेको दुई कार्यकाल अध्यक्ष थिए भने ग्रीनीच नेपलिज फोरमको संस्थापक महासचिव । एनआरएनए युकेको १५ वर्ष अविछिन्न सल्लाहकार रहेका उनी अहिले अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसी) को सदस्य छन् ।
ताप्जेलुङमा जन्मिएका घिमिरेको नेपालमा अहिलेको बसोबास झापामा छ भने बेलायतमा उनी दक्षिण पूर्वी लण्डनमा बस्छन् । उनी नेपालको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेका भाइ पनि हुन् । उनीसित सानै उमेरदेखि नेपालमा विद्यार्थी राजनीति, मानवअधिकार आन्दोलन, सामाजिक सेवामा लागेको अनुभव छ ।
पेशाका रुपमा भने उनी बेलायतमा परामर्शदाताका रुपमा कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री