कतै ब्राइटन घुम्न जाने कि ?

नियात्रा

मित्र मित्र नै हुन्छ । तर त्यस्ता मित्रहरु जीवनमा एकदम थोरै मात्र मिल्ने गर्दछ । मेरो पनि एकजना घनिष्ठ मित्र छन् र उनको नाम इमरान महमद हो । अझै भएन, उनी बानबरी रेल अड्डाका कर्मचारी हुन् । रेल अड्डामा काम गर्ने भएकोले मैले उनलाई, “बानबरीदेखि ब्राइटनसम्म जाने एकदम सस्तो टिकट मिलाइ दिनु है,” भन्दा हल्का मुस्कान छाड्छन् तर केही बोल्दैनन् । हुनत उनी सिसाभित्र र म सिसाको झ्याल बाहिरदेखि बोलिरहेको छु । सिसामा मानिसले बोलेका आवाज छिर्ने स-साना प्वालहरु मात्र छन् । त्यसैले मैले बोलेको सबैकुरो उनले नसुन्न पनि सक्छन् ।

मैले त्यति भनिसकेपछि उनी कम्प्युटरको स्क्रिनमा एकछिन घोत्लिन्छन् । त्यसपछि सिसाको दुलोदेखि ब्राइटन जाने र आउने रेलका दुईवटा टिकटहरु छिराइ दिन्छन् । उनले मलाई टिकट दिँदै गर्दा भित्तामा भएको टेलिभिजनको पर्दामा मेरो नजर पुगेर ठोकिन्छ । समय बिहानीको ९ बज्नै लागेको देख्छु । उनले मेरो हातमा टिकट थमाइ दिइसकेपछि मधुरो स्वरमा शुभयात्रा सहित, “प्लेटफर्म ३ मा जानु र ९ बजेर १५ मिनेट जाँदाको रेल समात्नु है,” भनेर हामीसँग बिदा माग्छ । मैले धन्यवादसहित हातको बुढी औँला ठड्याएर उनलाई हुन्छ भन्ने संकेत गर्छु ।  

इमरानसँग बिदा भएपछि हामी तलामाथि जानको लागि सुस्तरी सिँढी चढ्न थाल्छौं । तर त्यसरी सिँढी चढ्दै गर्दा, “अब लण्डनको भीडभाड र भूमिगत रेलभित्र कति पटक हराइने हो, हो ?” अनायासै ताराको मुख खोलिन्छ । उनको भनाइ सुनेर म त्यसबेला अतीतमा गरेका यात्राका पानाहरुलाई सरर स्मरण गर्छु । हो, हामी त्यसरी यात्रामा निस्कँदा धेरैचोटी हराएका छौं । त्यो ध्रुवसत्य हो । अनि घरिघरि हराएको ती क्षणहरुलाई सम्झँदा मलाई एकचोटी फिस्स हाँसो लाग्छ ।

म त्यसरी हाँसेको देखेर, “लण्डनमा हराइएला भनेर मेरो मनभित्र एकभारी पिर छ, तपाई हाँस्नु हुन्छ,” सुटकेस डोर्याउँदै डोर्याउँदै ताराको दोश्रो चोटी मुख खोलिन्छ । आखिर छोरी मान्छे न हुन् भनेर बिके रानाको गीत झल्यास्स सम्झन्छु । त्यसैले समय समयमा थर्मामिटरको पारो तल र माथि हुने गर्छ भन्छु त्यसैले केही बोल्दिनँ । बरु उनलाई वेवास्ता गर्दै सरासर अगाडि बढ्छु । त्यसपछि अर्को सिँढीदेखि प्लेटफर्म ३ मा सुस्तरी हिड्दै झर्छु ।

३ नम्बर प्लेटफर्ममा पुग्छु र त्यहाँ पुगेपछि मेरो सीधै अगाडि एउटा थोत्रो तर फलामे बेन्च देखा पर्छ । सुनसान मसान घाटमा कोही नभए झैं एउटा खाली बेन्च देख्छु र म तिनै बेन्चमा खुइय्य गर्दै बस्छु । म बसेको देखेर तारापनि मसँग नजिकै टाँसिएर बस्न आउँछिन् । त्यसबेला हामी एकआपसमा सँगसँगै बसेको भएतापनि केही बोलेका छैनौं । तर यसरी यात्रामा निस्कँदा कहाँ खाने ? कस्तो ठाउँमा बास बस्ने ? कता कता हराइने ? यावत प्रश्नहरुले मलाई पनि थोरै पिर पर्छ । हुनत यात्राका रोचक पक्ष पनि त्यहिँ हो । सबैकुरो आफ्नै घरमा बसिरहे जस्तो सजिलो कहाँ हुन्छ र ? आ….जस्तोसुकै स्थिति सिर्जना भएपनि नौलो स्थानमा पुगेर फरक कुरोको अनुभव गर्न पाइन्छ भनेर एकछिनपछि चित्त बुझाउँछु ।    

त्यो दिन २ जुलाई २०२३ को दिन छ । प्लेटफर्ममा पुगेको केहीबेरपछि चिल्टर्न रेलको एउटा रेल बिना आवाज हाम्रोसामु आएर टक्क रोकिन्छ । रेल रोकिएपछि रेल भित्रका यात्रुहरुले पहिले ढोका खोल्छन् र दुईचार जना रेलदेखि बाहिर निस्कन्छन् । उनीहरु बाहिर निस्किसकेपछि हामी रेलभित्र पस्छौं । रेल बर्मिङघामदेखि बानबरी हुँदै लण्डन गइरहेको छ । आइतबार छुट्टीको दिन भएकोले अन्य दिनभन्दा रेलको सेवा अलिक थोरै हुन्छ । रेलको सेवा थोरै भएकोले रेलभित्र एकदम भीडभाड देखिन्छ ।

त्यति धेरै भिड देखिएपछि, “जानु भयो कि त – ब्राइटन ?”  

ताराको मसिनो स्वर आएर मेरो कानको जालीभित्र पुगेर ठोकिन्छ । यसै म ६५ केजीको लुते मान्छे । भीडमा मुस्किलले जिउ जोगाइ रहेको हुन्छु । अझै यता र उता नहल्ली सिमानाका सदैव उभिरहने एउटा दशगजा खम्बाझैं ठिङ्गै उभिरहेको हुन्छु । अब त्यति कठिन परिस्थितिमा उनको भनाइ सुनेपनि नसुने झैँ गर्छु ।

एकछिनपछि रेलभित्रको वातावरण एकदम सुनसान हुन्छ । त्यसपछि रेलले आफ्नो गति लिन सुरु गर्छ । रेल गुड्न थालेपछि कोही मानिसहरु रेलको अगाडि र कोही पछाडिको भागतिर लाग्छन् । तारा र म निक्कैबेरसम्म त्यतिक्कै उभिरहेका हुन्छौं । तर केहीबेरमा, “यो रेल अन्त कतै रोकिँदैन्, सीधै लण्डन जान्छ,” ध्वनि प्रसारक यन्त्रदेखि चालकले बताउँदा ताराको मलिन मुहार सुस्तरी परिवर्तन हुँदै जान्छ ।   

रेलले किङ्स सटन अड्डा छाडेर बिस्टर नर्थ पुग्नै लागेको छ । नाथे ! यसरी कति उभिरहनु है भन्ने मनमनै लाग्छ । त्यसपछि पलेटी कसेर नेपाली तरिकाले भुइँमा थपक्कै बस्छु । म भुइँमा बसेपछि दाहिने सिटमा परेवा जोडी जस्तै देखिने एक जोडी युवा र युवती मस्किरहेको मज्जाले देख्छु । उनीहरुलाई देख्दा छ दशक पार गर्नै लागेको मेरो जिन्दगी सम्झेर ‘थैइया भाते, मेरो जिन्दगी’ भन्छु । वयस्क हुँदा त्यस्तो मज्जा गर्न पाए पो माप्पाको जिन्दगी हुन्थ्यो होला ? तर बैंसमा केही गर्न पाइएन । त्यसैले अहिले पश्चातापको भुमरीमा जलिरहन्छु ।  

मेरो देब्रेतिरको सिटमा बस्ने मानिसहरुको कथा अलिक फरक पृष्ठभूमिको छ । एकजना बुढी अङ्ग्रेजी महिला र उनीसँगै बस्ने सायद उनकी छोरी हुनुपर्छ । उनीहरुको ठीक अगाडि सिटमा दुईजना चकचके बच्चाहरु छन् । ती बच्चाहरुलाई आमाले ह्यारी पोटर्सका कथाहरु सुनाइरहेकी स्पष्ट देख्न सकिन्छ । ती आइमाइको कुरो सुनेर मलाई जे के रोलिङको यादले भित्रभित्र सताउन थाल्छ । उनलाई देखेपछि म पनि के कमी छु र ? मनमनै भन्छु । त्यसपछि हाते झोलामा बोकिरहेको जय छाङ्छाको पुस्तक “नियात्रा विधाः परिचय” निकाल्छु र खुरुखुरु पढ्न थाल्छु ।

म भुइँमा बसेर पढ्न थाले पनि तारा चाहिँ भुइँमा बस्न पटक्कै रुचाएकी छैनन् । “आ….म त उभिएर नै यात्रा गर्ने हो, तर त्यति धेरै पैसा तिरेर पनि जाबो बस्ने सिट नपाउनु त सोह्रै आना अन्याय भयो कि जस्तो लाग्छ,” भनेर उनले मेरो ध्यान एकचोटी खलबल्याइ दिन्छिन् । कुनबेला के भन्छिन्, कुनबेला के ? समय समयमा प्रस्तुत हुने उनको व्यङ्ग्यात्मक कुरोलाई म केही वास्ता गर्दिनँ । तर, पुस्तकको पहिलो अनुच्छेद पढ्न पाउँदा नपाउँदै कसैको हात मेरो कुममा आएर सलबलाएको जस्तो महसुस गर्छु । त्यो चाल पाएपछि हत्तपत्त त्यतातिर मुन्टो फर्काइ हाल्छु ।   

त्यता फर्किने बितिक्कै, “मलाई माफ गर्नोस् है,” भन्दै एकजना भलादमी अङ्ग्रेजी बुढो मान्छेले मलाई मसिनो स्वरमा भन्छ । अझै उनले, “तपाईलाई केही कठिन भएजस्तो छ । तपाई मेरो सिटमा बस्नोस् । केही छैन्, बरु म उभिएर यात्रा गर्छु,” उनले मलाई विनम्रताका साथ सल्लाह दिन्छन् । म पनि झन के कमीको छु र ? पूर्व गोर्खा सैनिक पो हो त भन्छु र प्रति उत्तरमा, “होइन, होइन ! मलाई बेस्सै छ, महाशय ! बरु हजुर नै बस्नोस्,” सानो स्वरमा भन्छु । तैपनि, “तपाईको हृदयप्रति उच्च सम्मान गर्छु,” भनेर अर्को वाक्यांश थप्छु । त्यसपछि उनी पुनः हिड्दै उनको सिटमा फर्कन्छन् । तर म त्यसरी भुइँमा बसेको देखेर मप्रति उनको दया जागेको देख्दा मलाई चिल्टर्न रेल कम्पनीबाट होइन त्यस मानिसबाट थोरै भएपनि राहत मिल्छ ।   

त्यसपछि म पुनः पुस्तकको पानाहरु पल्टाउन थाल्छु । रेल हेडेन हाम, हाइवे कम, बेकन्सफिल्ड, जेराडक्रस, डेनहाम, रुइस्लिप र वेम्ली पार गर्दै लण्डनको मार्लिबोन अड्डामा पुगेर अन्तिम चोटी रोकिन्छ । अन्य समयमा हुँदो हो त ती अड्डाहरुको नाम पुकार्दै ठेक्क ठेक्क रेल रोकिने गर्दथ्यो । आज रेल कतै रोक्त्तै रोकिएन, त्यसैमा धन्य छ ।

मार्लिबोन अड्डामा रेल रोकिएपछि हामी भूमिगत रेल वे लाइनभित्र छिर्छौ र बेकरलु लाइनलाई समातेर अक्सफोर्ड सर्कसतर्फ हानिन्छौं । त्यसपछि अर्को भूमिगत नै रेल समातेर केहीबेरमा भिक्टोरिया रेल अड्डामा पुग्छौं ।

वास्तवमा भन्ने हो भने लण्डन भूमिगत रेलको आफ्नै इतिहास छ र एकदम सुनौला इतिहास छ । आजभन्दा लगभग १ सय ६० वर्ष पहिले खोलिएको यो नै विश्वको सबैभन्दा पुरानो भूमिगत रेल हो । २ सय ७० रेल अड्डाहरु रहेको लण्डन भूमिगत रेललाई “लण्डन अन्डर ग्राउण्ड” भनिएता पनि ४५ प्रतिशत लाइनहरु मात्र जमिनमुनि र बाँकी लाइनहरु जमिन बाहिर छन् । अझै कतिपय मानिसहरुले त झन् ६० प्रतिशत लाइन नै जमिन बाहिर छन् है पनि भनेका छन् ।

खयर गणितीय हिसाब जे सुकै होस् । लण्डन सहरमुनी माकुराको जालझैं जताततै जेलिएका रेलका लाइनहरु १० प्रतिशतमात्र थेम्स नदीको दक्षिणी र बाँकी उत्तरी भागमा रहेका छन् । भूमिगत रेलको सबैभन्दा गहिरो भागमा दगुर्ने रेलको नाम ‘नर्दन लाइन’ हो । जुन जमिनभन्दा ६० मिटरमुनी दगुरिरहेको हुन्छ । अनि दोश्रो विश्वयुध्दको समयमा बेलायती सङ्ग्रहालयको सबै श्रीसम्पतिहरु ‘पिकाडेली लाइन’ मा लगेर लुकाइएको थियो भन्दा म तीन छक्क पर्छु ।  

हामी अहिले भिक्टोरिया रेल अड्डामा आइपुगेका छौं । उक्त रेल अड्डा महारानी भिक्टोरियाको नामबाट नामकरण भएको हो । अझै भिक्टोरिय रेल अड्डामात्र नभएर तिनै महारानीको नाममा ‘भिक्टोरिया लाइन’ पनि छ । उक्त्त रेल वे लाइनले भिक्टोरिया अड्डादेखि किङ्स क्रसलाई जोड्ने काम गर्छ र यसलाई झण्डै झण्डै ‘भाइकिङ्स लाइन’ पनि भनिएको थियो ।

लण्डन भिक्टोरिया रेल अड्डा जहिले पनि व्यस्त हुन्छ । वास्तवमा त्यो रेल अड्डा त्यति व्यस्त हुनको मुख्य कारण चाहिँ त्यहाँ जमिनमुनी र जमिन बाहिरको रेलको सङ्गमस्थल भएकोले मात्र चाहिँ अवश्य पनि हुँदै होइन । अर्को मुख्य कारण भनेको विभिन्न स्थानदेखि आउने कोचहरुको मुख्य अड्डा भएकोले पनि हो । अब त्यतिका धेरै मानिसहरुको भीडभाड र जीवित रेल अड्डा देखेपछि, – 

“मानिसहरुको यति धेरै घुइँचो छ । खै ! खै ! मेरो एउटा सानो भिडियो क्लिप बनाइ दिनुहोस् त ?”

ताराले मसँग भिडियो क्लिप बनाउने अनुरोध गर्छिन् । हिजोआज टिकटके जमाना छ । म कसरी भो भो नबनाउ हौ – भन्न सक्छु र ? बरु उनले भनेको सर्लक्कै मान्छु । अनि नमानौ पनि कसरी ? उनी मेरो आधा जीवन पनि हुन् ।  

“ल हुन्छ, बरु कहाँनेर बनाउने हो ?” मसिनो स्वरमा सोध्छु ।

म जहाँ उभिएको छु, त्यही स्थान देखाएर, “तपाई यतैदेखि खिच्नोस्, म हिँड्दै आउँछु,” उनी भन्छिन् ।

उनको भनाइ सुनेपछि खल्तीदेखि थोत्रो मोबाइल निकाल्छु र यसो सोच्छु । बाबै नी ! मानिसलाई जमानाले कता कता पुर्याउने रहेछ । हेर ! मेरी श्रीमती हिजो कस्तो थिई, आज यस्ती भई । झन् झन्डै छोटे चलचित्र निर्देशक नै हुन आँटेकी छिन् है भन्ने मनमनै लाग्छ । उनको रहर अनुसार एउटा भिडियो क्लिप बनाइ दिन्छु । त्यसपछि सीधै अगाडि रहेको सूचनापाटीमा देखाइने रेलको गन्तव्यहरु हेर्न थाल्छु । १२ बजेर २२ मिनेट जाँदा ग्याटविक एक्सप्रेसको एउटा रेल ब्राइटन जाँदै गरेको सूचनापाटीमा देखा पर्छ । तर त्यसबेलासम्म कुन गेटदेखि रेल छुट्ने हो भनेर चाहिँ देखाइ हालेको छैन् । अब सूचना नदेखाइन्जेल हामी यताउता हिँडेर अलमल गर्छौं ।

रेल छुटने समय हुनै लागेको छ । तर, रेल छुटने गेट नम्बर अझै देखा पर्देन । जस्ले गर्दा हामीलाई फसाद पर्छ । यसो दायाँबायाँ दृष्टी लगाउँछु । हाम्रो नजिकै एकजना अश्वेत वर्णको रेलको कर्मचारी गमक्कै परेर कुर्सीमा बसिरहेको देख्न सकिन्छ । ऊ एक रफ्तारले आफ्नो मोबाइलमा झुण्डिरहेको देख्दा सायद सामाजिक सँजालका माहिर रहेछन् भन्ने जस्तो मलाई आभाष हुन्छ । म झन उनको नजिकै पुगेर, –

“मलाई माफ गर्नोस् ! ब्राइटन जाने रेल कति नम्बर गेटमा पाइन्छ होला ?” सानो मान्छे भएर सोध्छु । किनभने त्यो मानिसलाई हेर्दा ऊ जस्तै देखिने ट्याक्सी चालकले मलाई एकदिन मन्टिगे वे, जमैकामा सात्तोपुत्लो लगेको त्यसबेला झस्को आउँछ । हुनत त्यो मानिस मैले जस्तो सोचेको त्यस्तो नभई झन् गज्जबको रहेछ । मलाई एकझलक हेर्दै नहेरी गेट नम्बर १४ मा जाउ भनिहाल्छ ।

उनको कुरो सुनेपछि तारा र म हस्याङ फस्याङ गर्दै १४ नम्बर गेटमा पुग्छौं । हामी त्यहाँ पुग्दा एउटा रेल भर्खर आएर रोकिँदै गरेको देख्छौं । अचानक त्यसबेला मानिसहरुको भीड निक्कै बाक्लिँदै गरेको देखा पर्न सुरु गर्छ । धेरै मान्छेहरुले बडे बडेमाको सुटकेसहरु तानेको देख्दा उनीहरु ग्याटविक हिँडेको होला भन्ने मलाई भान पर्छ । हामी पनि हतारहतार तिनै मानिसहरुको हुलमा लामवद्ध हुन्छौं । यहाँनेर म मेरा पाठकहरुलाई के बताउन मन लाग्यो भने लण्डन सहरमा जम्मा ६ वटा अन्तराष्ट्रिय विमानस्थलहरु छन् । ग्याटविक विमानस्थल लण्डन हिथ्रो (इजिएलएल) पछिको सबैभन्दा दोश्रो व्यस्त विमानस्थल मानिन्छ ।

हामी रेलको नजिक पुगेपछि पहिलो ढोकाको प्रयोग गर्छौ र रेलभित्र पस्छौं । त्यसपछि लामोलामो सास तानेर थपक्कै कुर्सीमा बसेर आराम गर्न थाल्छौ । “अहिले भने मज्जाले चाहे बमोजिमको सिट पाका छौं,” मानिसहरुको ओहोर दोहोरको बिचमा ताराको मुख खोलिन्छ । तर रेलको सिटमा बसेको केहीबेरमा नै उनले आँखा चिमचिम गर्न थाली हाली र एकछिनपछि पूरै चिम्म गरिहालिन् । चाहे कार होस् वा रेल अथवा विमान होस् वा पानीजहाज । हामी यसरी यात्राको क्रममा निस्कँदा उनले आँखा बन्द गरिहाल्छिन् । मलाई उनको यो बानी एकदम राम्रो लाग्छ ।

उनी निन्द्रादेवीको शरणमा परेपछि म चाहिँ रेल सँगसँगै मेरा मनका भावनाहरु गुडाउन थाल्छु । थेम्स नदी पार गरेको एकछिनसम्म लण्डनका गगनचुम्वी महलहरुसँग लुकामारी खेल्छु । त्यसपछि जुलाई महिनामा देखिएका हरियाली नागी र फाँटहरुलाई हेर्दै कालीप्रसाद रिजालले लेखेका गीतका एक हरफ अनायासै सम्झन पुग्छु, “यसैगरी बिताइदिन्छु, दुईदिनको जिन्दगी, हाँसोमा लुटाइदिन्छु, आँसुमा डुबी,” अझै त्यति मीठो कालजायी गीतमा नारायण गोपालको स्वर सम्झँदा म झन्झन् भावनाको गहिराईमा चुर्लुम्म डुब्छु ।

*-*         *-*

“अब अगाडि आउने रेल अड्डा ब्राइटन हो । यो हाम्रो यात्राको सबैभन्दा अन्तिम गन्तव्य हो । कृपया यहाँ रेलदेखि सबैजना ओर्लनु होला र रेलमा कुनैपनि सरसमान नछाड्नु होला,” रेल चालकले अन्तिम पटक उद्घोष गर्छ । उनले उद्घोष गरिसक्ने बितिक्कै म ताराको कान सुस्तरी निमोठछु । नत्रभने उनी लरतरले निन्द्रादेखि ब्युँझने मानिस हुँदै होइनन् । उनी पनि अचम्मैको जनावर आलस्य (स्लोथ) जस्तै छन् । उनीभन्दा झन् बढी आलस्यलाई त दिनमा १५-१६ घण्टा सुत्नु पर्छ ।  

अन्तिम पटक रेल रोकिएपछि हामी रेलदेखि बाहिर निस्कन्छौं । बाहिरको मौसम एकदम राम्रो छ । ब्राइटनमा त्यतिको राम्रो मौसम देखिएपछि ताराको मुहारमा प्रसन्नताले छाउन थाल्छ । मौसम बाहेक त्यसबेला उनको केसरासीमा एक जोर कालो चश्मा, अनुहारमा पूर्ण श्रृङ्गार पट्टार, फरफर उडिरहेको पातलो हरियो जामा र रेल अड्डामा सानो सुटकेस गुडाउँदै गुडाउँदै क्रमशः अगाडि बढिरहेको दृश्य देख्दा मलाई अल निप्पन एअरवेज (एएनए) जापानको विमान परिचारिका विमानस्थलमा टकटक चप्पल पड्काउदै हिँडेको आभाष हुन्छ ।   

रेल अड्डादेखि बाहिर निस्कने बितिक्कै हामी क्विन्स रोडतर्फ हानिन्छौं । सडकका दायाँ र बायाँ राम्रा राम्रा दोकानहरु, रेष्टुँराहरु र होटलहरु देख्दा ताराले, “होइन ! यो ठाउँ त क्यारेबियन टापुहरु लान्जारोटी वा फियोर्टभेन्चुरा अथवा बलेरिक टापुहरु मालोर्का वा आइबिथा जस्तै रहेछ,” ब्राइटन सहरलाई प्रथम पटक नजर लगाउने बितिक्कै उनले पहिलो प्रतिकृया दिन्छिन् । हुन त धेरैजसो बेलायतीहरु आफ्नै देशको स्थानिय स्थानमा छुट्टी मनाउन जाने हो भने ब्राइटनलाई औधी रुचाउने गर्छन् । त्यसैले जमानादेखि सुधारिदै आएको ब्राइटन अति नै सुन्दर रहेछ भन्ने कुरो मेरो आफ्नै आँखाले देखेपछि मात्र मलाई पनि विश्वास भयो । अझै भनौ, झन मज्जाले प्रमाणित भयो ।

क्विन्स रोड छाडेपछि एकछिनसम्म वेस्ट स्ट्रिटमा हिड्छौं । त्यसपछि सामुन्द्रिक तटमा पुग्छौं । तिनै सामुन्द्रिक तटमा ठूलो मात्र नभएर अति व्यस्त सडक ‘किङ्स वे’ वारपार लम्पसार परिरहेको दृश्यावलोकन गर्न मिल्छ । हामी तिनै सडक किङस वेमा पुगेर बायाँ घुम्ने बितिक्कै भीमकाय होटल “द ओल्ड सिप” को छातीमा पुग्छौं । 

सामुन्द्रिक तटको सीधै अगाडि सेतो पहरो ‘ह्वाइट क्लिफ’ जस्तै चमक्कै चम्किने ‘द ओल्ड सिप होटल’ को पूर्व नाम “द सिप” हो । उक्त होटलको निर्माण सन् १५५९ मा भएको हो कि भन्ने धेरै मानिसहरुले आँकलन गरेका छन् । तैपनि अहिलेसम्म कसैले यकिन गरिहालेका छैनन् । लगभग ५ सय वर्ष जति इतिहास बोकेको त्यस होटलमा कैयन राजनैतिक, आर्थिक र सामाजिक प्रतिष्ठित व्यक्त्तित्वहरु बसेका छन् ।

अन्य सबै व्यावसायिक मानिसहरुलाई छाडेर साहित्यकारहरुको कुरो गर्ने हो भने पनि त्यहाँ चर्चित बेलायती साहित्यकारहरु फ्रान्सेस बर्नी, चार्ल्स डिकिन्स र साम्युल जोन्सनले आफ्नो जीवन कालमा त्यहाँ बसेका थिए । यहाँहरुलाई स्मंरण रहोस् – सन् १७५५ मा साम्युल जोन्सनले बेलायती इतिहासमा सबैभन्दा पहिलो पटक बृहत अङ्ग्रेजी शब्दकोष (इङ्गलिस डिक्सनरी) लेखेका हुन् र जहाँ उनले ४० हजार शब्दहरु अटाएका थिए । तिनै पुस्तक लेखे वापत डा. जोन्सनलाई, “अङ्ग्रेजी अक्षरहरुको सबैभन्दा प्रतिष्ठित व्यक्त्ति,” भनेर अहिलेसम्म मज्जाले चिन्ने गरिन्छ ।

त्यति धेरै ऐतिहासिक महत्व बोकेका त्यस होटलमा गएर बास बस्ने मेरो ठूलो अभिलाषा थियो । त्यसैले मैले दुई रातको लागि त्यस होटलमा बस्नको लागि अग्रिम आरक्षण गरेको थिएँ ।

क्रमशः    

भीम राई

पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री