सोने युकेद्वारा ‘पर्यावरणका लागि इन्जिनियरिङ‘ सम्मेलन आयोजना

लण्डन । सोसाइटी अफ नेपलिज इन्जिनियर्स (सोने) युकेले पर्यावरणका लागि इन्जिनियरिङ विषयक एक दिने सम्मेलन आयोजना गरेको छ ।
जुलाई ८ तारिखका दिन लण्डनमा आयोजना गरिएको सो सम्मेलनको सहआयोजक नेपाल इन्जिनियर्स एसोसिएसन रहेको थियो ।
सोसाइटीले आयोजना गरेको यस आठौँ श्रृंखलामा बेलायतका विभिन्न भागबाट करिब ६५ जना इन्जिनियरहरु सहभागी थिए ।
सम्मेलनको उद्घाटन बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले गरेका थिए । सो अवसरमा राजदुत आचार्यले नेपालको विकास र दीगो अभ्यासका लागि सम्मेलनमा आदानप्रदान हुने ज्ञान, प्रविधि हस्तान्तरण, इन्जिनियर र नीति निर्माताबीच सोचाइको आदानप्रदान महत्वपूर्ण हुने बताए ।
नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष डा हरिबहादुर दर्लामी मगर र महासचिव रविभूषण झा पनि सो सम्मेलनमा सहभागी थिए ।
सोने युकेका अध्यक्ष रुद्र कोइरालाको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । महासचिव रविचन्द्र कोइरालाले अतिथि तथा सहभागीहरुलाई स्वागत गरेका थिए । दोस्रो र तेस्रोमा की नोट स्पीच तथा प्राविधिक पत्रहरु प्रस्तुत गरिएको थियो ।
नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष दर्लामीमगरले काठमाडौँ उपत्यकामा विद्युतीय यातायातका बारेमा कि नोट स्पीच दिएका थिए । सम्मेलनमा छ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए । जसमा काठमाडौँमा पैदलयात्रीले बाटो काट्ने तरिका, प्रदुषण र हरित ग्याँस उत्सर्जन नियन्त्रणका लागि निर्माण क्षेत्रमा विद्युतीय औजारको प्रयोग, बायोग्याँस उर्जाको नेपालमा भविष्य, नेपालको जलविद्युत क्षेत्रमा आर्कमिडिज स्क्रु टवाईनको व्याबहारिक पाटो लगायतका रहेका थिए । ती कार्यपत्र सोने युकेको वेभसाइटमा पनि हेर्न सकिने छ ।
सम्मेलनका संयोजक तथा सोने युकेका उपाध्यक्ष हरि नेपालले आगामी दिनमा विश्वभरका नेपाली इन्जिनियर र प्राज्ञिकहरुका बीचमा सोचको आदानप्रदान गर्ने बारेमा जोड दिएका थिए ।
हरेक कार्यपत्रका बारेमा प्रश्नोत्तर गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री