एनआरएनएभित्रको विकृति शल्यक्रिया गर्न चाहन्छन् डा साह

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको चुनाव भोलि हुँदैछ । विभिन्न पदहरूमा विविध आकांक्षा बोकेर प्रत्याशीहरू चुनावी मैदानमा होमिएका छन् । जसमध्ये एक पृथक उम्मेदवार हुन् डा सुनिल साह ।

पेशाले चिकित्सक उनी बेलायतको स्वास्थ्य सेवा (एनएचएस) अन्तर्गत मिड योर्कशायर हस्पिटल ट्रस्टमा ‘कन्सल्टेन्ट ओरल एण्ड म्याक्सिलोफेसियल सर्जन’ का रुपमा कार्यरत छन् । चुनावी मैदानमा र पेशागत जिम्मेवारीमा उनी एकैसाथ खटिइरहेका छन् । बिहीबार बेलायतमा कन्सल्ट्याण्ट चिकित्सकहरूको हडताल परेको दिन भए पनि  उनी दिनभर बिरामीको सेवामा तल्लीन थिए । साँझपखको फोनवार्तामा उनले भने, ‘दिनभर शल्यक्रिया गरेर आएँ । साँझ साँझ साथीभाइलाई म पनि चुनावमा उठेको छु भनेर सन्देश पुर्याउने कोसिस गरिरहेको छु ।’

युनिभर्सिटी अफ लिड्स र हडर्सफिल्ड युनिभर्सिटीमा भिजिटिङ प्रोफेसरका रुपमा समेत प्राध्यापन गर्ने साह अहिले बेलायतबाट अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी) सदस्यको चुनावी मैदानमा छन् । चार जना निर्वाचित हुने सो पदमा छ जनाले उम्मेदवारी दिएका छन् । यसअघि सन् २०१९-२१ मा उनी बेलायत राष्ट्रिय समन्वय परिषद्को सदस्य र स्वास्थ्य विभाग प्रमुख थिए । उनी कार्यसमिति सदस्य रहेकै बेला विश्व कोभिड महामारीको चपेटामा पर्यो । उनले आफ्नै संयोजकत्वमा बेलायत र नेपालमा रहेका नेपालीहरूलाई कोभिडबाट बचाउन सक्दो भूमिका खेले । जसका कारण उनलाई बेलायतको नेपाली समाजमा परिचय फराकिलो बनायो ।

बेलायतमा सयौँको संख्यामा नेपाली मूलका चिकित्सक छन् तर उनीहरू आफ्नो पेशेवर संस्थाबाहेक बाहिर आएको देखिन्न । उनीहरूको आफ्नै वृत्त छ जसमा अरू पेशा व्यवसायमा रहेका नेपालीहरूको धेरै घुलमिल भएको देखिँदैन । यस्तो अवस्थामा कहिले सुनाम कहिले बदनाम एनआरएनमा आउन डा साहलाई केले प्रेरित गर्यो ? डा साह भन्छन्, ‘हामी सर्जनहरू अलि जोखिम लिन मन पराउँछौँ । एनआरएन राम्रो उद्देश्यका साथ स्थापना भएको एउटा अभियान हो । शुरूमा यसको नेतृत्व राम्रो थियो, बीचमा बाटो अल्मलिएजस्तो भयो । मेरो चिकित्सकीय पेशाको ३५ वर्षको अनुभव र बेलायतमा सिकेको २७ वर्षको सीप एनआरएनएलाई सही नेतृत्व दिनका लागि प्रयोग गर्नेछु ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री