एनआरएनए युकेमा दुई वटा कार्यसमिति चयन हुँदै

लण्डन । कहिले फुट्ने कहिले जुट्ने रोगबाट ग्रसित गैरआवासीय नेपाली संघ बेलायतको आज दुई वटा अलगअलग कार्यसमिति चयन हुँदैछ ।
गत महाधिवेसनबाट निर्वाचित अध्यक्ष प्रेम गाहा पक्षधरले सर्वसम्मत रुपमा नेतृत्व चयन गरी अल्डरसटको एम्पायर हलमा पद तथा गोपनियताको सपथ ग्रहण गरिरहेका छन् ।
उता केन्द्रको मान्यता पाएको सुनिलबाबु खड्का अध्यक्ष रहेको पक्षको भने अहिले अनलाइन मतदान चलिरहेको छ ।
निर्वाचन समितिका सदस्य विपिन निरौलाका अनुसार अनलाइन मतदानमा दिउँसो १ बजेसम्म करिब ६० प्रतिशत मत खसेको छ । जसमा इङ्ल्याण्डमा करिब ५१ प्रतिशत मत खसेको छ भने स्कटल्याण्डमा ७३ प्रतिशत तथा उत्तरी आयरल्याण्ड र वेल्समा ६७ प्रतिशत मत खसेको छ ।
आज राति ११ बजेर ५९ मिनेटसम्म मतदानका लागि समय तोकिएको छ । निरौलाका अनुसार त्यसको केही मिनेटपछि नै मतपरिणाम घोषणा गरिने छ ।
यसअघि सन् २०१३ मा पनि गैरआवासीय नेपाली संघ युकेमा समानान्तर महाधिवेसन भएको थियो । तर तत्कालिन कार्यबाहक राजदुत तथा समाजका अग्रजहरुको पहलमा केही महिनापछि नै कार्यकाल बाँडफाँड गर्ने सहमतिपछि एनआरएनए युकेमा एकता कायम भएको थियो ।
त्यसको ठीक विपरीत यसपटक भने करिब एक वर्षदेखि बेलायतमा दुई वटा एनआरएनका कार्यसमिति विद्यमान छन् । उनीहरुले अलग अलग सदस्यता वितरण गरेका छन् । जसमा खड्का समूहमा करिब ४ हजार सदस्य रहेका छन् भने गाहा समूहमा करिब २० हजार सदस्य रहेको बताइएको छ ।
यसपटक एनआरएनए युकेमा एकता कायम गराउन न त दुताबासले ध्यान दिएको छ न त एनआरएनए युकेका पूर्व नेतृत्वले नै । गत विश्व सम्मेलनमा विभाजित दुई अन्तर्राष्ट्रिय समन्वय (केन्द्रीय) समितिबीच एकता कायम भइसकेको छ । तर बेलायतमा भने कसैले एकताको पहल गर्न जरुरी ठानेका छैनन् । विडम्वना चाहिँ अहिले एनआरएनए केन्द्रको अध्यक्ष, उपाध्यक्ष नै बेलायतबासी छन् उनीहरुले पनि टुलुटुलु रमिता हेर्नुबाहेक केही गर्न खोजेका छैनन् । थाहा छैन आफ्नै देशभित्र विभाजित कार्यसमिति रहेको अवस्थामा विश्वका अन्य मुलुकमा गएर आदर्शको भाषण छाँट्न उनीहरुलाई कसरी हिम्मत आउँछ ? आफ्नै घरभित्रको समस्या सुल्झाउन नसक्ने उनीहरुले विश्वभरका प्रवासी नेपालीको नेतृत्व कसरी गर्न सक्छन् ?

प्रतिक्रिया

सम्बन्धित सामाग्री