बेलायतमा पहिलो किरात राजा यलम्बरहाङको स्मृति दिवस

लण्डन । किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिले पहिलो किरात राजा यलम्बरहाङ स्मृति दिवस मनाएको छ ।

बेलायतबासी किरात राईहरुले नौ वर्ष अगाडि खरिद गरेको जग्गा किरात राई हाउस ग्याम्बलस लेन, वोकिङमा बेलायतका लागि नेपाली डेपुटी चिफ अफ मिसन श्रीमती रोसन खनालको प्रमुख आतिथ्यता र नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पालगायत बेलायतका विभिन्न संघसंस्थाका अध्यक्षहरुको अतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

संस्थाका अध्यक्ष मेजर योगेस कोयी राईको अध्यक्षता रहेको कार्यक्रममा किरात राई यायोक्खा नेपालका पूर्व अध्यक्ष डा. सुमाया राई, निवर्तमान अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार कल्पना राई, प्रसिद्ध गायक धिरज राई, प्राज्ञ भीषण मुकारुङ, गायक निश्चल राई लगायत विभिन्न विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

संस्थाले पहिलो किरात राजा यलम्बरहाङको सम्झनामा यही साल स्थापना गरेको पहिलो यलम्बरहाङ भलिबल कप कार्यक्रमको प्रमुख आकर्षण रहेको थियो । कपमा बेलायतका विभिन्न शहरहरुबाट १५ टिमको प्रतिस्पर्धा रहेको थियो । पहिलो यलम्बरहाङ कप १६ सय पाउन्ड नगद पुरस्कारसहित केन्ट भलिबल क्लबले हात पारेको छ भने ग्रिनविच भलिबल परिवारले १ हजार पाउन्ड नगदसहित दोस्रो हुन सफल भएको छ । महिला तर्फको सुम्निमा भलिबल कपको उपाधि विनचेस्टर भलिबल क्लबले १ हजार पाउन्ड नगदसहित जितेको छ भने दोस्रो स्थानमा मोना भलिबल क्लबले ६ सय पाउन्ड नगद जित्न सफल भएको छ ।

कार्यक्रममा गत साल स्थापित यलम्बर आर्चरी च्याम्पियनसीप पनि अर्को आकर्षण थियो । दोस्रो यलम्बर आर्चरी च्याम्पेन रबिन पुनले हात पारेका छन् भने पुरुषतर्फ बिसी राई, आशिष लिम्बु र अम्बर राईले क्रमश पहिलो, दोस्रो र तेस्रो पुरस्कार जितेका छन् । महिलातर्फ सुमित्रा राई प्रथम भएकी छिन् भने पुनम पुन र चन्द्रावती राई दोस्रो र तेस्रो भए । युथ क्याटेगोरीमा स्पन्दन राई, स्तम्भ राई र रिचा राई क्रमैसँग पहिलो, दोस्रो र तेस्रो बन्न सफल भए ।

कार्यक्रममा संस्थाको मुखपत्र विमोचन, किरात राई हाउस खरिदको नवौँ वार्षिक उत्सव मनाइनुका साथै साल्पा सिलीचुङ संरक्षण सहयोग अभियानको उद्घाटन पनि गरिएको थियो । अतिथि कलाकारहरु प्राज्ञ भीषण मुकारुङ, धिरज राई, निश्चल राई लगायत बेलायतका कलाकारहरुलाई सम्मान गरिएको थियो । साथै बेलायतमा डिग्री हासिल गर्ने नानीहरुलाई सामूहिक ग्राजुयसन सम्मान तथा साहित्य, कला खेलकुदमा बेलायतबाट विशेष योगदान पुर्याउनु हुने डा. सुमाया राई, कवि नरेश काङमाङ राई, गीतकार सन्जीव पारदर्शी राई लगायतका विशिष्ट ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

साँझमा कार्यक्रम राजा यलम्बर हाङलाई समर्पित सेवा सेवारो हौ राजा यलम्बर हाङ गीत लगायतका गीतहरु सहितको यलम्बर सांस्कृतिक श्रृंखलासहित समाप्त भएको थियो ।

संस्थाका सल्लाहकार मास्टर राष्ट्र राईको प्रमुख संयोजकत्व र कर्मा पहाडी शेर्पाको सहयोगमा सम्पन्न यलम्बरहाङ कप साथै उपाध्यक्ष मेजर भूपजित राईको संयोजकत्वमा सम्पन्न यलम्बर आर्चरी च्याम्पियनसीप हरेक वर्ष राजा यलम्बरहाङको सम्झनामा मनाइने संस्थाको योजना रहेको संस्थाका कार्यबाहक महासचिव ईश्वर चाम्लिङ राईले जानकारी दिए ।

सबै तस्वीर मिलन तमु गुरुङ

प्रतिक्रिया

सम्बन्धित सामाग्री