बेलायतका लागि नेपाली सैनिक सहचारीमा शाह

लण्डन । बेलायतका लागि नेपालका सैनिक सहचारीमा महासेनानी अनुप शाह नियुक्त भएका छन् ।
नेपाली सेनाको सिफारिसमा मन्त्रिपरिषदको गत साता बसेको बैठकले शाहलाई सो पदमा नियुक्त गरेको हो ।
मन्त्रिपरिषदले बेलायतका साथै फ्रान्सको समेत सैनिक सहचारीको जिम्मा शाहलाई दिएको छ ।
मन्त्रिपरिषदले अमेरिका, चीन, पाकिस्तान, भारत, बंगलादेशमा पनि नयाँ सैनिक सहचारी नियुक्त गरेको छ ।
अहिले रत्नबहादुर गोदार बेलायतका लागि सैनिक सहचारीका रुपमा कार्यरत छन् । उनी सेवाकै क्रममा बढुवा समेत भएका छन् ।
नवनियुक्त सैनिक सहचारीहरुले पदस्थापन गर्न केही समय लाग्ने बताइएको छ ।
नेपाल र बेलायत दुवैले आफ्ना दुताबासमा सन् १९३४ देखि सैनिक सहचारी राख्ने गरेको हो । नेपालको पहिलो सैनिक सहचारी सोभागजंग थापा थिए । सैनिक सहचारीको कार्यकाल तीन वर्षको हुने गरेको छ । शाहअघि २६ जना सैनिक सहचारीले कार्यकाल पूरा गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री