बिनाकसुर काराबास

केही समयदेखि नेपालमा पनि प्राय नेताहरुको मुखबाट अपराधी नछुटोस् तर निर्दोषलाई सजायँ नहोस् भन्ने गरेको सुनिन्छ। यो कानुनको सर्वमान्य सिद्धान्त नै हो। परापूर्व कालदेखि विभिन्न धर्म ग्रन्थमा समेत निर्दोषलाई सजायँ दिन नहुने उल्लेख गरिएको पाइन्छ। रोमन कानुनमा पनि यही आशय थियो । यो सिद्धान्त १८ औं शताब्दीमा प्रभावशाली “कमेन्ट्री अन द लज अफ इङ्गल्याण्ड” लेख्ने अङ्ग्रेजी न्यायविद् र कानुनी विद्वान सर विलियम ब्ल्याकस्टोनको नामबाट पनि चिनिन्छ। यो सिद्धान्तले विश्वभरि कानुनी प्रणालीको विकासमा गहिरो प्रभाव पारेको छ र यसलाई आधुनिक फौजदारी न्यायको आधारशिला मानिन्छ । उनले सन् १७६० मा ‘एक निर्दोषले सजाय भोग्नुभन्दा दश दोषी व्यक्तिहरूले सजाय नपाउनु राम्रो हो’ लेखेका थिए। त्यसैले यसलाई ब्ल्याकस्टोनको  सिद्धान्त पनि भनिन्छ। हुन् त यस अगावै सन् १६९२ मा एक प्रख्यात न्यू इंग्ल्याण्ड प्युरिटन मन्त्री, धर्मशास्त्री र शिक्षाविद्  इनक्रिज माथरले द सलेम विच ट्रायलमा “एक निर्दोष व्यक्तिलाई सजायँ गर्नुभन्दा दश संदिग्ध बोक्सीहरू भाग्नु राम्रो हो” भनेर लेखेका थिए। उता अमेरिकामा बहुप्रतिभाशाली विद्वान बेन्जामिन फ्रैंकलिनले यसलाई  “एक निर्दोष व्यक्तिले सजाय भोग्नु भन्दा १००  दोषी व्यक्तिहरू भाग्नु राम्रो हो” भनेर लेखेका थिए। 

यही जुलाई २६ मा लण्डनस्थित रोयल कोर्ट अफ जष्टिसले बलात्कारको आरोपमा १७ वर्षसम्म काराबास सजायँ भोगेका ५७ बर्षीय एन्ड्रयू माल्किन्सनलाई निर्दोष साबित गरेको थियो। उनलाई सन् २००३ जुलाई १९ गते ग्रेटर म्यानचेस्टरको साल्फोर्ड मोटरवेको छेउमा घाइते अवस्थामा छोडिएकी ३३ वर्षीया महिलालाई बलात्कार र ज्यान मार्ने उध्योग गरेको आरोपमा सन् २००४ फेब्रुवरी १० मा दोषी ठहर गरी जन्मकैदको सजायँ सुनाइएको थियो। तर उनले शुरुदेखि आफू यस घटनासँग सम्बन्धित नभएको र निर्दोष रहेको बताउँदै आएका थिए। यो फैसला विरुद्ध उनले म्यानचेस्टर क्राउन कोर्टमा निबेदन दिएका थिए। त्यहाँ पुरानै सजायँलाई सदर गरियो। त्यसपछि सन् २००६ मा अपिल कोर्टमा आफू निर्दोष भएको याचना गरे उनीहरुले पनि पत्याएनन्। त्यसपछि दुई पटकसम्म  क्रिमिनल केश रिभ्यु कमिशनमा समेत पुगे। त्यहाँबाट पनि उनले न्याय पाउन सकेनन् । सामान्यत उनको कैद सजायँ सन् २०१० मा सकिनु पर्ने थियो। तर अनुसन्धानमा आरोप स्वीकार गरेर प्रहरीलाई सहयोग नगरेको कारण अर्को दश वर्ष कारागारमा बस्न परेको थियो। सन् २०२०  मा जेलबाट छुटेपछि उनले आफूलाई निर्दोष साबित गर्नको लागि नै बाँकी जीबन बिताउने निधो गरे। विभिन्न संघ संस्थाहरुसँग सहयोगको लागि सम्पर्क गरे। अन्तत: सरकारको डीएनए संग्रहमा यस घटनाको पिडित महिलाको माथि लगाउने कपडामा भेटिएको डीएनएसँग मेल खाएको एउटा रिपोर्ट देखियो। उक्त व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको लागि जमानतमा छोडिएको छ। यस बारे नयाँ फोरेन्सिक प्रमाणको आधारमा अनुसन्धान जारी रहेको छ।  त्यही आधारमा एन्ड्रयु आफूलाई  निर्दोष साबित गरिपाउँ पनि पुनराबेदन अदालत पुगेका थिए। 

आफ्नो पार्टनरसँग ठाकठुक भएको कारण बिहान पाँच बजेतिर दुई बच्चाका आमा ती महिला घरबाट बाहिर निस्केकी थिइन्। एकछिन बाहिर बसेर फर्किएला भनेर उनको प्रेमीले केही वास्ता गरेनन्।  ती महिला भने त्यतिकै मूल सडकमा हिँड्न थालिन्। कसैले उनलाई झाडीमा आऊ होइन भने मसंग पेस्तोल छ मार्छु भनेको सुनेर आत्तिएर छिटो हिँड्न थालिन्। तर त्यो व्यक्तिले उनलाई पिछा गरेर आक्रमण गर्दै बलात्कार गरेर त्यही बाटोको छेउमा छाडेर जान्छन्। कुटपिटका क्रममा महिलाको गालाको हड्डी भाँचिएको, भ्वाइस बक्समा र स्तनमा चोट लागेको थियो। करिब आधा घण्टा पछाडी त्यही बाटो हिँडेको एक मानिसको सहयोगमा प्रहरीलाई बोलाइ जिम्मा दिइएको थियो। यो घटनालाई अनुसन्धान गर्ने एक प्रहरीले आफ्नो २६ वर्षे जागिरे अनुभवमा यस्तो घटना नदेखेको बताएका थिए। ती महिलाले बताएको हुलिया अनुसारको आकृति प्रहरीले सार्वजनिक गरेपछि व्यापक खोजतलासी हुन थाल्यो। स्थानीय बोली जस्तो लाग्ने मानिस भनेकोले वरिपरि नै केन्द्रित भयो। अन्तत: लामो समयसम्म विदेशमा काम गरेर केही समयदेखि मात्र यस ठाउँमा आएर बसेका एन्ड्रयुलाई प्रहरीले पक्राउ गरेको थियो। पीडित महिलाले आफूलाई बलात्कार गर्ने पुरुष ऊ नै हो भनेको कारण उनिमाथि मुद्दा चलाएको र अदालतले सजायँ सुनाएको थियो। त्यति बेला उनिविरुद्ध अन्य कुनै प्रमाण प्रश्तुत गरिएको थिएन।  

यस घटनामा अन्य प्रमाणहरु उपस्थित गराउन नसक्नु र डिएनए परिणामलाई सुक्ष्म ढंगले नकेलाउनुले नै एक निर्दोष व्यक्ति यति लामो समयसम्म जेल जीवन बिताउन बाध्य भएको थियो। यही कारण उनको बाँकी जीवन पनि प्रभावित हुने पक्का छ। उनले सफाइ पाइसके पछि अहिले गलत ढंगले काराबासमा बस्न बाध्य भएकाहरुलाई क्षतिपूर्ति सम्बन्धि प्रचलित कानुनलाई व्यापक परिमार्जन गरिनु पर्ने आवाज उठेका छन्। यसबारे प्रधान मन्त्रीको समेत ध्यान आकर्षण भएको समाचार आइरहेका छन्।  

तेश्रो विश्वका मुलुकहरुमा बिध्यमान कानुनीभन्दा पनि ब्यबहारिक कारणले निर्दोष मानिसहरु जेल पर्नु त्यति अनौठो मान्नु पर्दैन। अपराध अनुसन्धानमा प्रयोग हुने प्रबिधि तथा जनशक्तिको कमीको कारण त्यस्तो हुने सम्भाबना बढी हुन्छ। कतिपय अबस्थामा पहुँचको आधारमा बास्तबिक अपराधीहरुलाई उन्मुक्ति दिएर नक्कली  मानिसहरुलाई सजायँ दिएर केश सामसुम गर्ने चलन पनि छ। तर बेलायत जस्तो विकसित देशमा पनि यस प्रकारको कमि कमजोरी हुनु पुलिस प्रसाशन वा न्यायालय मात्र नभई सिंगो सरकार र समाजकै लज्जास्पद विषय बन्न जाने गरेको देखिन्छ। यसै सन्दर्भमा केही अन्य घटनाहरु उल्लेख गर्न सकिन्छ।  

सन् १९८७ मा कार्डिफका पसले फिलिप सान्डर्सको  हत्याको आरोपमा माइकल ओ’ब्रायन, ड्यारेन हल र एलिस शेरवुडलाई गिरफ्तार गरियो। ड्यारेन हल संगको सोधपुछमा केही शंका लागेको भरमा त्यसैलाई आधार बनाएर तीन जना बिरुद्ध अदालतले पनि सजायँ सुनायो। तर उनीहरुले यो फैसला बिरुद्ध क्रिमिनल केश रिभ्यु कमिशनमा निबेदन दिए। कमिशनले ड्यारेनको स्वीकारोक्तिलाई अन्य कुनै प्रमाणले पनि पुष्टी नगरेको कारण तीनै जनालाई सफाई दिएको थियो। यस क्रममा उनीहरुले एघार बर्ष जेल सजाय भोग्न परेको थियो। जेल मुक्त भए पछि  गैर न्यायिक ढंगले अनुसन्धान गरेकोले साउथ वेल्सका सम्बन्धित प्रहरी बिरुद्ध र क्षतिपूर्तिको लागी उजुरी गरे। तर कुनै प्रहरीलाई पनि सजायँ भएन। क्षतिपूर्ति भने दिईएको थियो। ओ’ब्रायन, जो अहिले एक लेखक र जेल सुधारक छन् । उनले “म जेलमा हुँदा मेरो खाना र पानीको लागि ३७ हजार ५०० पाउण्ड मेरो क्षतिपूर्ति रकमबाट कटाइएको थियो” भनेर लेखेका छन्। बिना क़सूर कैदमा परेका मानिसहरूलाई तिर्ने क्षतिपूर्तिबाट जेलमा रहदाको दैनिक खर्च कटौती गर्ने व्यवस्था खारेज गरिएको छ। गलत अनुसन्धान र फैसलाको आधारमा १० बर्ष भन्दा बढ़ी जेल जीवन बिताउनेहरुलाई दशलाख क्षति पूर्ति दिने कानून छ । तर सन् २००७ देखि भने त्यसबाट खर्च कटाउने कानून बन्यो। यो नियम खारेजी गर्न माइकलले लामो समयदेखि अभियान संचालन गर्दै आएको भए पनि हालसालै बलात्कारको आरोपमा १७ वर्ष जेल बसेका एन्ड्रयु माल्किन्सनको माग पूरा गर्दै सरकारले परिवर्तन हुने घोषणा गरेको हो । यो निर्णयले यसरी कटाइएको सबको पैसा फिर्ता पाउने भएका छन्।

सन् १९७४ मा बर्मिंघमको एउटा पबमा बम विष्फोटको घटनामा २१ व्यक्तिको मृत्यु १८० भन्दा बढी घाइते भएको थियो। यसको लगत्तै छ जना व्यक्तिहरूलाई गिरफ्तार गरि मुद्धा चलायो। अदालतले पनि सबैलाई आजिबन  कारावासको सजाय सुनाइयो। तर सन् १९९१ मा पुनरावेदन अदालतले शुरुको फैसला खारेज गरी सबलाई निर्दोष साबित गर्यो। यसलाई बर्मिंघम सिक्स भनेर चिनिन्छ जुन बेलायती कानुनी इतिहासमा लज्जास्पद  घटनाको रुपमा दर्ज भएको छ। 

त्यसैगरी यही प्रकृतिको अर्को घटना त्यही वर्ष गिल्डफोर्डमा पनि घटेको थियो। त्यहाँको पबमा भएको बम विष्फोटले पाँच व्यक्तिको ज्यान लियो र अरू धेरै घाइते भएका थिए। यस घटनामा चार जनालाई आजिवन सजायँ तोकिएको थियो तर १४ वर्ष पछाडी माथिल्लो अदालतले नयाँ प्रमाणको आधारमा निर्दोष साबित गरेको थियो। यो घटनालाई गिल्डफोर्ड फोर भनेर चिनिन्छ। 

आफूले नगरेको अपराधको लागि २७ वर्ष जेल जीबन बिताएपछि स्टीफन डाउनिङ अन्ततः २००२ मा रिहा भएका थिए। उनी केवल १७ वर्षको हुँदा डर्बिशायरको बेकवेल शहरमा वेन्डी सेवेलको हत्याको अभियोगमा पक्राउ परे। सेवेललाई स्थानीय चिहानमा निर्मम आक्रमण गरिएको अबस्थामा भेटिएकोले हस्पिटल लागेको थियो जहाँ उसको मृत्यु भयो। स्टीफनले आफू निर्दोष भएको प्रमाणित गर्न अनबरत रुपमा प्रयास गरे र सफल पनि भए। 

 जुडिथ वार्डलाई सन् १९७० को पछि बेलायतमा शृंखलाबद्ध बम विष्फोट गरेको अभियोगमा  २४ वर्षको उमेरमा सन् १९७४ मा पक्राउ गरिएको थियो। उनले दिएको बयानलाई तोडमोड गरेको कारण दोषी ठहर भएकी थिइन् तर १८ बर्ष जेल जीबन बिताए पछि पुनरावेदन अदालतले उनलाई निर्दोष साबित गर्यो। 

सन् १९९९ मा एक ब्रिटिश टेलिभिजन प्रस्तोता जिल डान्डोको हत्याको आरोपमा ब्यारी जर्जलाई एक बर्ष पछाडी गिरफ्तार गरियो । सन् २००१ मा दोषी ठहर गरी आजीवन कारावासको सजाय सुनाइएको थियो । उनको कानुनी सल्लाहाकारहरुको अथक प्रयासमा सन् २००८ मा उनी यो यो आरोपबाट मुक्त भएका थिए। 

सन् १९९३ मा कोलिन स्ट्यागलाई एक महिला राहेल निकेललाई एक वर्ष अगाडी आफ्नो छोराको सामुन्ने क्रुरतापूर्बक हत्या गरेको आरोपमा पक्राउ गर्यो। उनको मानसिक अवस्था अलि ठिक नभएको कारण शंकास्पद बयान दिएको आधारमा मुद्धा चलाउन खोजियो तर अदालतले अनुमति नदिएको कारण एक वर्षभन्दा बढी कस्टडीमा राखेर रिहा भए । यो अपराधमा सन् २००८ मा रोबर्ट नेपर नामक व्यक्तिलाई नयाँ डीएनए प्रमाणहरूको आधारमा पक्राउ गरी सजाय दिइएको थियो। 

लन्डनमा सडक झगडामा मारिएका एसायास कासाहुनको हत्याको आरोप १७ बर्षीय साम हलमलाई पक्राउ गरी साक्षीको बकपत्रको आधारमा दोषी ठहर गरी आजिबन कैद सजाय सुनाइयो। सात वर्षको अथक प्रयासपछि सन् २०१२ मा उनि निर्दोष भएको फैसला भयो।  

सन् १९७८ लन्डन ब्रिजवाटरमा  पत्रिका बेच्ने १३ वर्षीय कार्ललाई हत्या गरेको गलत आरोपमा एक वर्ष पछाडी पक्राउ गरि चार जनालाई आजिबन कैद सजाय दियो। १८ बर्ष पछाडी उनीहरुलाई माथिल्लो अदालतले सफाइ दियो। यो घटनालाई ब्रिजवाटर फोरको नामले चिनिन्छ। 

छिटफुट रुपमा हुने यी र यस्ता घटनाहरुको कमि कमजोरीबाट शिक्षा ग्रहण गरी अपराध कानुनमा बिभिन्न परिमार्जनहरु हुँदै आएका छन्। विकसित समाजमा अपराध गर्नेहरुले पनि नयाँ नयाँ तरिकाहरु प्रयोग गर्ने हुँदा कानुन, पुलिस र न्यायालयले पनि त्यहीअनुसार आफ्नो कार्यविधिमा सुधार ल्याई सकेसम्म निर्दोषहरुले सजायँ नपाओस् भन्ने सिद्धान्तलाई पालना गर्ने हरदम प्रयास गरिनु पर्दछ।  

सुरेन्द्र नेपाल श्रेष्ठ

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री