“हुनु वा नहुनु, त्यो एउटा प्रश्न हो ।”
सेक्सपियरको नाटक ह्यामलेटमा राजकुमार ह्यामलेटले बिलौना गरिरहेको उक्त कुरो सम्झँदा मलाई जीवन नहुनुभन्दा पनि जीवन हुनुपर्छ भन्ने लागिरहन्छ । किनभने जीवन छ र त संसार देख्न सकिन्छ, नत्रभने जमिनमुनी पुरिएपछि त के देख्न सकिएला र भन्ने यदाकदा लागिरहने गर्दछ ।
हामी यतिबेला लण्डनमा छौं । अझै यो सहर एक जमानामा कहिले सूर्य नअस्ताउने राज्यको राजधानी मात्र नभएर दुनियाँको अलौकिक सहर पनि हो । बेलायती ग्रीष्मकालिन मौसममा शनिबारको दिन छ, अथवा २०२३ को जुलाई महिना । ठीक मध्यान्हको सूर्यको किरणहरु बिगबेनको शीरमा टलक्कै टल्किरहँदा तिनै बिगबेनमा लण्डनको समय ठ्याक्कै १२ बजिरहेको मज्जाले देख्न सकिन्छ । जुलाई महिनाको जति राम्रो मौसम यहाँ अन्य कुनै पनि महिनामा हुँदै हँदैन है भनेर ठोकुवा गर्न मिल्छ । अझ यसलाई थोरै मिलाएर यसो भनौ न, यस्तो मौसममा हामी अहिले “सर्कुलर क्रुज” को छातीमा टेकेर वा थेम्स नदीको पानीमाथि तैरिएर त्यति राम्रो मौसमसँग रुमलिरहेका छौ ।
तारासँग हामी त्यसरी पानीमा तैरिरहेको त्यति धेरै लामो समय भइहालेको छैन । तर एकछिनपछि लण्डन नै थर्कने गरी सर्कुलर क्रुजले छाडेको हर्नले हरेक यात्रीको मुटु नै थरङ्गै बनाउँछ । त्यसपछि तिनै हर्नको साथसाथमा थेम्स क्रुजले सुस्तरी आफ्नो टाउको घुमाउन थाल्छ । त्यसरी क्रुजलाई आफ्नो वसमा राखेर फनक्क घुमाउने क्रुज चालकका नाम चाहिँ चार्ल्स डेभिस हुन् । उनले क्रुजलाई त्यसरी एक फन्को घुमाउँदै गर्दा जोन फ्रान्सिसले चाहिँ ध्वनी प्रसारक यन्त्रदेखि हाम्रा यात्राको विषयमा खुरखुरु भट्याउन सुरु गर्न थालिहाल्छ ।
अँ सुरुमा यसो भन्छ, –
“ल यहाँहरु सबै जनालाई थेम्स नदीमा स्वागत छ । अब तपाईहरु जहाँजहाँ बस्नु भएको छ त्यहाँदेखि सिधै आफ्नो अगाडि हेर्नुहोला ? हेर्नुहोस त – हाम्रो सामुन्ने खडा भएर रहेको भीमकाया भवन बेलायती संसद भवन वेस्ट मिन्सटर पार्लियमेन्ट हो । यस्को निर्माण तपाईहरुले कल्पना गरेको समय ५ सय वर्ष होइन ७ सय वर्ष होइन अझै त्योभन्दा धेरै अगाडि भएको हो अथवा आजभन्दा ९ सय वर्ष अगाडि भएको हो । त्यहाँ ‘हाउस अफ लर्डस’ र ‘हाउस अफ कमन्स’ गरेर दुई थरीका सदस्यहरु बस्ने गरेका छन् । अझै एउटा कुरो के मान्नोस् भने यो नै विश्वको सबैभन्दा पुरानो तर आधुनिक प्रजातन्त्रको जन्म भएको देश हो । त्यसैले वेस्ट मिन्स्टर पार्लियमेन्टलाई ‘प्रजातन्त्रको जननी’ भनेर पनि चिन्ने गरिन्छ । तर मैले यसो भनिरहँदा एउटा अर्को कुरो चाहिँ ख्याल गर्नु होला । प्राचीन प्रजातन्त्रको उपाधि भने अहिलेसम्म एथेन्स, ग्रीसलाई नै गइरहेको छ ।”
“मित्रहरु – ल ! हेर्नुहोस् त । यति राम्रो मौसममा यो कति मज्जाले चमक्कै चम्किरेहको छ । तर जति मज्जाले यो भवन चम्किरहेको देखिएता पनि इतिहासका विभिन्न कालखण्डहरुमा यहाँ अनेकौ दुखद घटनाहरु घटेका छन् । मज्जाले दिल खोलेर सुन्नुहोस् है, यहाँ एउटा घटना चाहिँ यस्तो घटेको थियो । ४ नोभेम्वर १६०५ को रात्रिकालिन समय थियो । आतङ्ककारी गतिविधिमा लागेको गाइ फोक्सले बारुद (गन पाउडर) राखेर तत्कालिन इङ्गल्याण्डका राजा जेम्स प्रथम र भवनलाई सँगसँगै उडाइ दिने योजना बनाएका थिए । तर राजाका सिपाहीहरुले उनको योजनालाई चाल पाए र त्यस कार्यलाई सफल हुन दिएनन् । तैपनि त्यस्तो विचारको सम्झनामा अहिले पनि हरेक नोभेम्बर ५ तारिकलाई ‘गाइ फोक्स नाइट’ भनेर मनाउने बेलायती परम्परा छ ।“
“ल अब पार्लियमेन्टलाई बिदा गरौ । तर त्यहाँदेखि थोरै बायाँ दिशातिर हेर्नु होला ? अनि सिधै अगाडि देखिएको त्यो विशाल साँघुको नाम वेस्ट मिन्स्टर साँघु हो । ल यसो गर्नोस् । साँघुबाट यतातिर हामीलाई रमिता हेरिरहेका मानिसहरुलाई एकचोटी सबैले हात हल्लाई दिनुहोस् ।”
उनको कुरो सुनेर हामी सबैजना आ-आफ्ना हात उठाउँछौं । क्रुजमा अन्दाजी ३ सय जना यात्रीहरु रहेका होलान् ? तर हामी सबैले एक्कैचोटी हात उठाएर हाइ हाइ भन्दा सारा लण्डन नै थर्केको मलाई महसुस हुन्छ ।
माथि आकाशतिर उठेको हातहरु मुनी झरेपछि क्रुज केहीबेर शान्त रहन्छ । अब अन्य सबैकुरो छाडेर एकछिन नदीमा भएका साँघुहरुका कुरा गरौं । अहिलेको मितिसम्म आइपुग्दा थेम्स नदीमा जम्मा २ सय जति साँघुहरु बनिसकेका छन् । अझै लण्डनको मात्र कुरो गर्ने हो भने पनि यहाँ २१ वटा साँघुहरु निर्माण भइसकेका छन् । तर थेम्स नदी नै बेलायतको सबैभन्दा लामो नदी चाहिँ हुँदै होइन । यहाँको सबैभन्दा लामो नदी त ‘सेभर्न नदी’ हो । जुन नदी कम्ब्रिया पर्वत वेल्सबाट सुरु भएर ब्रिस्टल जलसंयोजनमा पुगेर मिसिन्छ । त्यसको आधिकारिक लम्बाई २ सय २० माईल छ ।
मध्यान्हको समय छ । त्यसैले लण्डनमा टन्टलापुर घाम लागिरहेको छ । हुनत घाम जतिसुकै चर्को लागेको भएतापनि थेम्स नदीको सुदुर पूर्व क्षितिजदेखि बहेर आएको हावाको मन्दमन्द गतिले वातावरणलाई वातानुकुलित बनाइरहेको आभाष हुन्छ । म जस्तो आर्थिक अवस्थाले बिल्कुलै निम्छुरो मान्छे । त्यसैले जिन्दगीमा यस्तो अवसर आक्कलझुक्कल मात्र पाउने गर्छु । आज चन्द्रमा मेरो दाहिने भएको हुनाले यस्तो अवसर पाएको छु । त्यसैले मौकाको पूर्ण फाइदा लिइरहेको छु ।
एकछिनपछि, “यो घर लण्डनको काउन्टी हल हो । घरको बीच भाग धनुष्टङ्कार आकारको छ । त्यसैले म यसलाई धुनष्टङ्कार घर भन्न रुचाउछु । तर अरुले जे सुकै भनोस् । मलाई के मतलव ?” हाम्रो दाहिनेतिरको घर देखाउँदै जोन थोरै उग्रवादी कुरो गर्छ । उनको त्यस्तो कुरो सुन्दा मलाई नेपालमा भेटिने कुनैकुनै बस सहचालकहरुले प्रयोग गर्ने भाषाको बेस्सरी याद आउँछ ।
ऊँ फेरि थप्दै जान्छ, –
“यो घर सन् १९२२ निर्माण भएको हो । त्यस घरको निर्माण भइसकेपछि राजा जर्ज आठौँले यसको उद्घाटन गरेका थिए,” त्यसपछि उनी रोकिन्छ र एकछिनपछि पुनः उनको कुरोले गति लिन सुरु गर्छ ।
“यस घरमा निक्कै लामो समयसम्म लण्डन महानगरपालिकाको कार्यालय रहेको थियो तर अहिले छैन् । अहिले चाहिँ यहाँ के होला भनेर तपाईहरुले मनमनै प्रश्न गर्नु भयो होला ? यहाँ सामुन्द्रिक जीवन (सि लाईफ) अक्वेरियम रहेको छ । अब त्यहाँदेखि अलिक पछाडि हेर्नु होला ? त्यसको ठीक पछाडि देखिएको ठूलो घर सेन्ट थोमसेज अस्पताल हो । जसमा ८ सय ४० अस्पतालका बिस्ताराहरु रहेका छन् । तैपनि यो लण्डनको सबैभन्दा ठूलो अस्पताल भने हुँदै होइन । यस सहरको सबैभन्दा ठूलो अस्पताल त सेन्ट जर्जेज अस्पताल हो । जहाँ १३ सय बिरामी सुत्ने बिस्ताराहरु छन् ।”
“ल ल अब यता हेर्नुहोस् । यो अजङ्गको रोटे पिङ जस्तो देखिने ‘लण्डन आइ’ हो र यो लण्डन आकर्षणको मुख्य केन्द्रबिन्दु पनि हो । यस्को निर्माण स्रहस्राब्दी (मिलिनियम) मनाउने क्रममा सन् २००० मा भएको थियो । यस्को प्रमुख आर्किटेक मार्क्स बारफिल्ड हुन् । यो १ सय ३५ मिटर अग्लो छ र यस्मा औषधिको गोली राखिने क्याप्सुलहरु जस्तै मानिसहरु बस्ने क्याप्सुलहरु छन् । ती क्याप्सुलहरु जम्मा ३२ वटा छन् र हरेक क्याप्सुलले लण्डन महानगर पालिकाको ३२ नगरहरु (बरो) को प्रतिनिधित्व गर्दछ । वास्तवमा यस्को निर्माण हुँदा नगरले ५ वर्षको लागि बनाउने अनुमति दिएको थियो । त्यसपछि भत्काएर अन्त कतै सार्ने योजना भएतापनि धेरै मानिसहरुले रुचाएको हुनाले अहिलेसम्म केही गर्न सकिएको छैन् ।”
उनको त्यति कुरो सुनिसकेपछि मेरो नजर नदीको बायाँ दिशातर्फ पर्छ । जहाँ चौबिसै घण्टा तीन/ तीनवटा झण्डा फरर फहराइ रहेको एउटा ठूलो घर देख्न सकिन्छ । त्यो झण्डाहरुले बेलायती स्थल सेना, जल सेना र वायु सेनाको प्रतिनिधित्व गर्छ । अथवा यो सैनिक मुख्यालय वा बेलायती रक्षा मन्त्रालयको कार्यालय हो । यो ह्वाइट हल सडक, सिटी अफ वेस्टमिन्स्टरमा पर्दछ । यस घरको डिजाइन सन् १९१५ मा भिन्सेन्ट ह्यारिसले गरेका हुन् । तर यसको निर्माण भने सन् १९३९ देखि १९५९ सम्ममा भएको थियो । जमिनभन्दा माथि १० तला र जमिन मुनि ३ तला रहेको उक्त भवनलाई सन् २००० देखि २००४ सम्म मर्मत गर्दा ७ सय ४६ मिलियन स्टर्लिङ पाउण्ड खर्च भएको थियो ।
बीसौ वर्ष पूर्व बेलायती गोर्खा सेना भएर काम गरेको हुनाले मलाई त्यतिसम्म थाहा थियो । त्यहीँमाथि जोनले, –
“यिनै घरमा बसेर सैनिक वा गैरसैनिक अधिकारीहरुले अष्ट्रेलियादेखि अमेरिकासम्म कस्तो सुरक्षा नीति अवलम्वन गर्ने हो भनेर सरसल्लाह गर्ने गर्छन्,” भनेको सुन्दा तारा एकछिन छक्क परिन् ।
“त्यहाँदेखि अब तपाईहरुको टाउकोलाई सीधै दायाँतर्फ लानु होला, अथवा बेलायती रक्षा मन्त्रालयदेखि विपरित दिशामा खोला पारि हेर्नु भयो भने कुङलिङ्ग परेको एउटा पहेँलो घर देख्न सक्नु हुनेछ । त्यो घरको निर्माण सन् १९५१ मा भएको हो । जुन घरभित्र ठूल्ठूला हलहरु रहेका छन् । जहाँ नाटक, सङ्गीत र सिनेमाहरु देखाइने गरिन्छ । जस्ले गर्दा त्यस घरलाई राजकीय महोत्सव केन्द्र (रोयल फेस्टिभल सेन्टर) भनेर चिनिन्छ । हरेक वर्ष साढे ४ मिलियन मानिसहरुले भ्रमण गर्ने त्यस ठाउँमा निःशुल्क महोत्सवहरु पनि हेर्न मिल्छ,” जोनको धारावाहिक आवाजहरु आइरहन्छ ।
“तर अब फेरि यता बायाँ हेर्नुहोस् । रक्षा मन्त्रालयदेखि उँभोउँभो हेर्दै जानु भयो भने एउटा ठाडो स्मारक जस्तो देख्न सक्नु हुनेछ । जस्लाई लण्डनको क्लियोपत्र सुइ (ओवेलिक्स) भनेर चिनिन्छ र यो नदीको ठीक बायाँ किनारमा अवस्थित रहेको छ । यसो हेर्दा चारपाटे जस्तो देखिने तर खिइदै गएर टुप्पोमा चुच्चो भएको त्यो स्तम्भ वा स्मारकको निर्माण इसा पूर्व १५०० मा इजिप्टका तत्कालिन फेरो थोटमस तेश्राले निर्माण गरेका हुन्,” उनी भन्छन् ।
“क्लियोपत्र सुइको निर्माण भएपछि लगभग २ हजार वर्ष जति यस्ले अलेक्जान्ड्रिय हाल इजिप्टमा हावा खायो । सन् १७९८ मा इजिप्टमा फ्रान्स र बेलायतको घमसान युद्ध भयो । तिनै युद्धलाई ‘नाइलको युद्ध’ भनेर इतिहासकारहरुले भन्ने गरेका छन् । नाइल नदीमा भएको जलयुद्धमा बेलायती रियर एडमिरल होरासियो नेल्सनका सिपाहीहरुले फ्रेन्च जनरल नेपोलियन बोनापार्टको फ्लिटलाई अदभूत विजय प्राप्त गरेका थिए । तिनै युद्धमा विजय प्राप्त गरेको उपहारस्वरुप सन् १८७८ मा इजिप्टले बेलायती जनताप्रति उच्च सम्मानको साथ उक्त क्लियोपत्र सुइ प्रदान गरेको थियो ।”
त्यति भनिसकेपछि जोन एकछिन चुपचाप बस्छ । सायद बोल्दाबोल्दा ऊ थाकेका हुनसक्छ भन्ने मलाई त्यसबेला आभाष हुन्छ । म त्यसबेला लण्डनको गगनचुम्वी महलहरुको तस्वीर लिने निहुँमा उनको नजिकै पुग्छु । त्यहाँ पुगेपछि घोक्रो फुलाएर बोलिरहने जोनको शीरदेखि पाउसम्म एक झलक नजर मार्छु । बेलायती भट्टीपसलमा पाइने बियर टन्न पिएर मज्जाले भुँडी पल्टाएका जस्ता देखिने उनको शरीर भए पनि बोलीले भने मलाई बेस्सरी मोहित पारिरहेको छ । हरेक बिहान लण्डनमा झुल्कने झुल्के घामको गति सँगसँगै क्रुजमा पथ प्रदर्शकको भूमिका निर्वाह गर्न उनी यहाँ आइपुग्ने गर्दा रहेछन् ।
म उसको नजिकै पुगेपछि नदीमा सलल बहिरहेको पानीलाई पर्वाह नगरी पर्खाल पारिपट्टी रहेको क्लियोपत्र सुइलाई पुनः एकचोटी मज्जाले नजर मार्छु । त्यसपछि दुनियाको अलौकिक सहर लण्डनमा बसेर इजिप्सियन इतिहासको विषयमा एक झलक स्मरण गर्न थाल्छु ।
क्लियोपत्र सातौं प्टोल्मिक राजवंशकी अदभुत शक्ति भएका महारानी हुन् । उनको जन्म इसापूर्व ६९ मा भएको थियो । इतिहासकारहरुले के पनि भनेका छन् भने उनी अरुजस्तै सजिलै रानी नभएर बिलकुलै फरक तरिकाबाट भएकी हुन् । उनी २० वर्षकी हुँदा उनको बुबाको अचानक देहान्त भएको थियो । इजिप्सियन राजकीय परम्पराअनुसार राजाको जेठा छोरा राजा हुने भएकोले उनको भाई प्टोलमी आठौं राजा भयो ।
आफुभन्दा १० वर्ष कान्छा भाई राजा भएपछि उनले तिनै भाइसँग बिहे गरेर उनी पनि रानी बनिन् । भाइको उमेर अलिक कलिलै थियो । त्यसैले शासनको बागडोर आफैले सम्हाल्न थालिन् । भनिन्छ – इसापूर्व ५१ देखि ३० सम्म लगभग २१ वर्ष शासन गर्दा उनले आफ्नो श्रीमानको अलिकति पनि कुरो नसुनी एकक्छत्र शासन गरेकी थिइन् । तर उनको जीवनी अध्ययन गरेपश्चात् मानिसहरु आफूले शक्ति प्राप्त गर्नको लागि कति नीच कामसम्म गर्न सक्ने रहेछ भन्ने अहिलेसम्म लागिरहन्छ ।
क्रमश:
पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।