गोरखाको समस्याबारे मन्त्रिस्तरीय वार्ता नोभेम्बर ८ मा

फाइल फोटो

लण्डन । गोरखा भूतपूर्व सैनिकहरुको समस्याका बारेमा नेपाल तथा बेलायत सरकारबीच भइरहेको वार्ता नोभेम्बरको पहिलो साता समापन गर्ने तय भएको छ ।
दुई देशका सरकारहरुबीच भइरहेको (जीटूजी) वार्ताको अन्तिम चरणमा दुई देशका परराष्ट्र मन्त्रीहरुबीच नोभेम्बर ८ मा वार्ता हुने बताइएको छ ।
वार्तामा गोरखा भूतपूर्व सैनिकहरुका तर्फबाट प्रतिनिधित्व गरिरहेका गोरखा दुत मेजर रिटायर्ड जुदबहादुर गुरुङले नोभेम्बर ८ मा मन्त्रिस्तरीय वार्ता हुने पुष्टि गर्नुभयो ।
यद्यपि गोरखाहरुले भने दुई मन्त्रीबीचको बैठकअघि प्राविधिक समितिले टुङ्गो लगाउनुपर्ने थुप्रै विषयहरु थाँती रहेको भन्दै त्यसअघि वार्ताको मिति माग गरेका छन् ।
बेलायती पक्षले भने धेरै कुराहरु सकिइसकेको भन्दै वेलफेयरको विषयमा मात्र कुरा गर्ने हो भने सेप्टेम्बर ११ मा बस्न सकिने जानकारी दिएको छ जसलाई गोरखा भूतपूर्व सैनिकहरुले इन्कार गरेका छन् । गोरखाहरुले भने पेन्सनको माग मुख्य भएकाले त्यसका बारेमा वार्ता गर्न जोड दिएका छन् ।
मेजर गुरुङले भने, ‘सेप्टेम्बर ११ को वार्तामा बेलायतले वेलफेयरका बारेमा छलफल गर्न चाहेको छ, हामीले पेन्सनको विषय टुंगो लगाउनु पर्छ भन्ने माग गरेका छौँ । तर छलफलको विषय के हुने अहिलेसम्म तय भइसकेको छैन ।’
वार्ताको शुरुवातदेखि नै बेलायतले गोरखा भूतपूर्व सैनिकहरुको वेलफेयरका विषयमा मात्र वार्ता गर्न चाहेको थियो तर गोरखाहरुको दबाबका कारण पेन्सनका विषयमा पनि छलफल भएको थियो । तर कुनै पनि विषय टुंगोमा नपुग्दै बेलायतले वार्तालाई समापन गर्न चाहेको छ । उता गोरखाहरुले भने विना कुनै निस्कर्ष वार्ता अन्त्य गरिएमा आन्दोलनमा उत्रनुको विकल्प नभएको चेतावनी दिँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री