क्रुजले हङ्गरफोर्ड साँघु पार गरेपछि गति घटाउँदै जान्छ । त्यसपछि निक्कै लामो समयसम्म रोकिएको जोनको मुख पुनः खोलिन सुरु गर्छ ।
“हामी पानीको वेग रोकिने स्थल (इमबेङ्मेन्ट पियर) मा रोकिन गइरहेका छौ । यदि यहाँ कोही उत्रनु चाहनु हुन्छ भने उत्रनु सक्नु हुन्छ । आजको मौसम पनि ज्यादै राम्रो भएको हुनाले नयाँ यात्रीहरु निक्कै धेरै क्रुजमा आउने छन् । तर त्योभन्दा अगाडि एकपटक मेरो कुरो ध्यान दिएर सुनिदिनु होला ?”
म यहाँबाट निक्कै टाढा हेनडन भन्ने ठाउँमा बस्छु । मेरो घर पुग्न भूमिगत रेलदेखि लगभग ४५ मिनेट जति समय लाग्छ । दिनभरि काम गरेर घरमा पुग्दा प्राय सबैको आफ्नो श्रीमान् वा श्रीमती हुन्छन् । तर दुर्भाग्यवस मेरो अवस्था त्यस्तो छैन । साँच्चै साँच्चै भन्नु पर्दा मेरो अवस्था अति दयनीय छ । अत्यधिक मादक पदार्थ सेवन गर्ने भएकी हुनाले मैले मेरी श्रीमतीसँग पारपाचुके गरिसकेको छु । खयर जे सुकै होस् । मेरो घरमा दुईजना स-साना भाल्टाङभुल्टुङहरु छन् र उनीहरुलाई पाल्ने मेरो उत्तरदायित्व भएको छ ।
जस्तो कि यहाँहरुलाई अवगत भएकै कुरो हो । लण्डनमा हरेक कुरोहरु महङ्गो छ । तैपनि तपाईहरुसँग पैसा छ र त संसारको विभिन्न देशहरुबाट यहाँ छुट्टी मनाउन आउनु भएको छ । तपाईहरुको छुट्टी मनोरन्जनात्मक होस् भनेर कामना गर्दै अब म मुनी तलामा जान्छु । मुनी तलामा क्रुजबाट बाहिर जमिनमा निस्कने सानो भर्याङ (ग्याङ वे) छ । हो, म त्यहिँनेर एउटा कालो टोपी थापेर एकछेउमा उभिरहेको हुन्छु । तपाईहरु जो जो क्रुजदेखि बाहिर निस्कनु हुन्छ । र, जे जति चानचुने पैसाहरु दिन सक्नु हुन्छ, कृपया मलाई दिनु होला ।
“तर छाती ठूलो छ वा विशाल हृदय छ भने जेन अस्टिनको तस्विर भएको एउटा नोट दिनु होला ? होइन भने विन्स्टन चर्चिलको तस्विर भएको भएपनि एउटा नोट खुत्रुक्कै टोपीमा हालि दिनु भयो भने मेरो छोराछोरीले भरै बेलुकी टन्न खाना खान पाउँथे,” – उनी भन्छन् ।
त्यति भनि सकेपछि उनको शरीर हामीदेखि बिलय भइहाल्छ । उनी मुनि तलामा झरेपछि हामी चुपचाप क्रुजको माथिल्लो तलामा घाम तापेर बसिरहेका हुन्छौं । एकछिन पछि क्रुज रोकिन्छ । त्यसपछि नयाँ यात्रुहरु धमाधम तलामाथि उक्लन थाल्छन् । सबैजना यात्रीहरु कुर्सीमा आरामले बसिसकेपछि क्रुजले पुनः गति लिन सुरु गर्छ । यतिकैमा हस्याङफस्याङ गर्दै जोन हाम्रो नजिकै आइपुग्छ तर हाम्रो नजिक आउने बितिक्कै ख्याक्क एकचोटी खोक्छ । त्यसपछि लामो सास तान्छ र सुस्तरी अगाडि बढेर क्रुज चालकको नजिक पुग्छ ।
क्रुज बहन थालेको केहीबेरमा हामी वाटरलु साँघु पुग्नै लागेको हुन्छौं ।
“ल ! मेरो बायाँ हेर्नु होला,” ऊ अर्को चोटी खोक्छ र “मलाई माफ गर्नु होला,” भनेर पुनः बोल्न सुरु गर्छ । उनले छाडेका शब्दहरु हावामा बिलीन हुन पाउदा नपाउँदै हामी सबैको टाउको बायाँ दिशातर्फ घुम्छ ।
“आम्मामा ! हेर्नुहोस् त बायाँ भित्तामा पहरो जस्तो देखिने भीमकाय बिल्डिङ ।” उनको कुरो सुन्ने बितिक्कै हामी सबै त्यतातिर हेरेर एकछिन मन्त्रमुग्ध हुन्छौं । उनी एकछिनसम्म रोकिन्छ, केही बोल्दैन । त्यतिबेला हामी सबै उनले छाड्ने अर्को शब्दको प्रतीक्षा गरिरहेको हुन्छौं ।
“यो होटल सेभोइ – लण्डन हो,” निक्कैबेरपछि उनको मुख खोलिन्छ ।
“सन् १८८९ यस्को निर्माण हुँदा यो विश्वको सबैभन्दा पहिलो बिजुली भर्याङवाला होटल बनेको थियो । अझै होटलको हरेक कोठाकोठामा शौचालय राखेपछि अति सुविधा सम्पन्न होटल भनेर यस होटलले सुप्रसिद्धि कमाएको थियो । अब त्यस्तो होटललाई तपाईहरुले शानदार, विलासी, रवाफी, सोखी वा लग्जरियस भनेर जुनसुकै शब्दले सुशोभित गरेपनि यहाँहरुको हातैमा छ । तर मलाई सोध्नु हुन्छ भने यो बेलायतको सबैभन्दा पहिले बनेको सुखभोगी होटल भन्न म रुचाउँछु । यो जहाँ निर्माण भएको छ । त्यो जग्गा दशौ शताब्दीदेखि ड्युक अफ सेभोइको थियो । जस्ले गर्दा यस होटलको नाम सेभोइ लण्डन रहन गएको हो । स्ट्राण्ड लण्डनको यति विलासीयुक्त्त होटलमा मलाई पनि एकचोटी होटलभित्र छिर्न रहर लागिरहेको छ । तर मेरो उमेरले ५० हिउँदहरु काटिसकेका छन्, सेभोइ छिर्ने सौभाग्य अहिलेसम्म जुरिहालेको छैन्,” भनेर उनी एकछिन अवाक हुन्छन् ।
दिउँसोको समयमा थेम्सको पानी अविरल गतिमा पूर्व दिशातर्फ बहिरहेको छ । यहाँनेर नदीको गहिराई लगभग ६६ फिट र चौडाइ २ सय ५० मिटर जति फराकिलो रहेको छ । पानीको प्रवाह र ज्वारभाटा जतासुकै बहेको भएतापनि जोनको कुरोले मलाई होटल सेभोइ जाँदाको याद बेस्सरी दिलाइ दिन्छ । यस मानेमा म उनीभन्दा थोरै भाग्यमानी मान्छे परेछु भन्ने मलाई त्यसबेला बोध हुन्छ । सेभोइ जाँदाको कुरो स्मरण गर्दैगर्दा मलाई अचानक ताराको मुहार हेर्न मन लाग्छ । मेरो त खै के भन्ने र ? ताराका ती पाइतालाहरु पनि कम्ती भाग्यमानी छैनन् । संसारलाई घरिघरि चक्कर लगाइ रहने उनको पाइतालाहरु भनेर मनमनै भन्छु ।
कुरो तीन वर्ष अगाडिको हो ।
“अङ्ग्रेजी ल सोसाइटी” लण्डनमा अङ्ग्रेजी कानूनको विधार्थी मेरी छोरीले बेलायती सोलिसिटरको कसम खाइसकेपछि सेभोइ ग्रिल पुगेर एक छाक खाना खाने है भनेर मैले नै सबैजनालाई कर गरेको थिएँ । हुनत म बुईपा, खोटाङदेखि बेलायत बसाइ सरेको मान्छे । अझ यसो भनौं – बुईपादेखि बेलटार नुन बोक्ने या फत्तेपुरसम्म पुगेर चामल बोक्ने एकजना ढाक्रे । तीनताका बोकेको ढाकरले पारेको डाम ढाडदेखि मेरुदण्डसम्म छोएको अनुभूति अहिलेसम्म भैरहन्छ । त्यस्तो पृष्ठभूमि भएको मान्छेले खास्सै त्यति विलासियुक्त्त स्थानमा जान उपयुक्त्त त हुँदैनथ्यो । तर बेलायतको त्यति प्रसिद्ध स्थल ल सोसाइटीदेखि आफ्नो छोरी सोलिसिटर हुँदा गर्वले मेरो छाती कति फुलिएको थियो । त्यसैले हामी त्यसदिन त्यता जाने है भनेर निधो गरेका थियौं ।
बेलुकीको समय त्यस्तै ९ बजेको हुनुपर्छ । हामी सपरिवार होटलको प्रवेशद्वार नजिकै रहेको फोयरमा पुग्छौं । होटलको फोयर ज्यादै आकर्षक भएको हुनाको हामी सबैजना एकछिन मन्त्रमुग्ध हुन्छौं । त्यहाँदेखि नजिकै एउटा भट्टीपसल पनि देखापर्छ । मेरो छोरोको बानी पनि एक प्रकारले अचम्मको नै मान्नु पर्छ । त्यति नजिकै भट्टीपसल देख्ने बितिक्कै उनलाई हरहर बियरको तिर्खा लागिहाल्छ । एकजना बाबु भएको नाताले छोराको इच्छाविरुद्ध के जान सक्थें र ? त्यसैले उनले भने अनुसार हामी भट्टी पसलमा जान्छौं र एक-एकवटा पेय पदार्थ पिउँछौं ।
एकछिनपछि होटलको भित्तामा सजिएको टिङलिङ्ग गर्दै बेलुकीको समय १० बजेको सूचना दिन्छ । त्यसपछि सुस्तरी हिँडेर हामी होटलभित्र रहेको रेष्टुराँ “सेभेइ ग्रिल” भित्र छिर्छौ । रेष्टुराँ आरक्षण गर्दा जतिसुकै बेली बिस्तारा लगाएपनि त्योभन्दा अगाडिको समय हामीले पाउन सकेका थिएनौ । आ… ढिलो भएपनि ठीक्कै छ है भनेर उक्त्त समयलाई हामीले स्वीकार गरेका थियौं ।
सेभोइ ग्रिल विश्व प्रसिद्ध स्कटिस भान्से गोर्डन राम्जीको रेष्टुराँ हो । करिब करिब मिलियन स्टर्लिङ पाउण्ड खर्च गरेर बनाइएको उक्त रेष्टुराँमा उनले बिफ वेलिङ्टनको अविस्कार नै गरेका हुन् भन्दा पनि खास्सै फरक पर्दैन । अति विकसित देशका राजा महाराजा, राष्ट्रपति र प्रधानमन्त्रीहरुले ठूल्ठूलो शिखर सम्मेलनहरुमा जीब्रो पटकाई पटकाई खाने त्यो गाईको मासुको नाम आर्थर वेलेस्ली (प्रथम ड्युक अफ वेलिङ्टन) को नाममा उनले राखेका हुन् । वेलिङटनले बहुत चर्चित “वाटरलु युद्ध” मा नेपोलियन बोनापार्टलाई पराजय मात्र गरेनन् कि आठ/आठ पटक युद्धमा घायल भएको नेपोलियनको सबैभन्दा प्यारो वा प्रख्यात घोडा ‘मरेङ्गो’ पनि खोसेर बेलायत ल्याए । ३८ वर्ष बाँचेको त्यो घोडाको मृत्यु भएपछि अहिले त्यसको अस्थिपञ्जर राष्ट्रिय सैनिक सङ्ग्रहालय लण्डनमा राखिएको छ ।
यिनै कुरोहरुलाई स्मरण गर्दा म कुनैबेला अलिक अचाहिँदो नै भावुक बन्ने रहेछु । म त्यसबेला पनि थेम्समा बहदै आएको मन्दमन्द हावाको गतिसँगसँगै गोर्डन राम्जीको “बिफ वेलिङ्टन” को स्वाद चाखेको अनुभव सम्झदै बिर्सदै गरिरहेको हुन्छु । र, निरन्तर वाटरलु युद्धको सम्झना गर्दै हामीले पार गर्नै लागेको थेम्स नदीको “वाटरलु साँघु” लाई एकोहोरो हेरिरहेको छु । तर म त्यसरि भावुक बनिरहँदा अचानक ताराले मेरो पछाडिदेखि, –
“घाम ज्यादै चर्केको छ, केही पिउने कुरो लिएर आउनु न हौ – राजा ?” हुकुम बर्षन्छ ।
उनले त्यति भनेपछि प्रतिउत्तरमा “हुन्छ,” भन्छु र बसिरहेको ठाउँदेखि जुरुक्कै उठेर लुरुलुरु हिँडिहाल्छु ।
त्यहाँदेखि हिँड्दै मुनी तलामा झर्छु । र, बारको नजिकै पुग्छु । बारको सिधै अगाडि ४-५ जना मान्छेहरु उभिरहेका देखिन्छन् । म पनि उनीहरुको पछाडि पुगेर लामवद्ध हुन्छु । क्रुजभित्रको बार आकारमा अलिक सानो नै छ । सायद सानो ठाउँ भएकोले होला, बारम्यानलाई यता र उता समानहरु खोज्न निक्कै मुस्किल परेको स्पष्ट देख्न सकिन्छ ।
एकछिनसम्म पेय पदार्थ खरिदकर्ता र बारम्यानको खेल हेरिरहन्छु । मलाई उनीहरु एकआपसमा बोलेको सुन्न रमाइलो लाग्छ । तर अचानक के भयो हो कुन्नि ? मभन्दा अगाडिको एकजना मान्छेले अगाडि र पछाडि गर्दा एक्कासि मेरो खुट्टा कुल्ची दिन्छ ।
उनले खुट्टा किल्चिने बितिक्कै, “ऐय्या ! मारिहालिस् नि मोरा,” भन्छु ।
म त्यसरी कराएको सुनेर, “मलाई माफ गर्नुहोस् है, मैले त तपाईको खुट्टा देख्दै पो देखिन छु,” उनले भन्छ ।
उनले त्यति भनिसकेपछि म पहिले उनको अनुहार हेर्छु । त्यसपछि क्रमशः शीरदेखि पाउसम्म नियाल्छु । मभन्दा दुई ज्यान जस्तो ठूलो मान्छे मेरो सामुन्ने देखेपछि, “कुनै सुर्ता गर्न पर्दैन,” भनेर उल्टै सान्त्वना दिन्छु ।
तर उनको बोल्ने शैली सुनेपछि, “होइन ! तपाई कहाँदेखि पाल्नु भएको हो नि, महाशय ?” भनेर उल्टै सोध्छु ।
“ब्युनस आइरिस,” छोटकारीमा जवाफ फर्किन्छ ।
उनले त्यसो भनेपछि म एकपटक खन्द्रङ्ग झस्किन्छु । किनभने कुरो यस्तो थियो । सन् १९८२ मा बेलायत र अर्जेन्टिनाको फकल्याण्ड (मालभिना) मा घमसान युद्ध भइरहेको थियो । म त्यसबेला गाउँमा आफ्नो छाती, तौल र उचाई नापेर बेलायती गोर्खा सेनामा भर्ती हुन खोजिरहेको थिएँ । तर गल्लावालले, “अहिले तिमी अलिक कलिलो छौ । यस वर्ष घर फर्केर जाउँ । एक /दुई वर्षमा फेरि कोशिस गर है,” भन्यो । त्यतिबेला उनको कुरो सुनेर म सरासर घर फर्कें । तर त्यसको दुई वर्षपछि म गोर्खा भर्ति भएको हुँ । त्यतिबेला नै भर्ति भएको हो भने त्यति ठूल्ठूलो मान्छेहरुसँग युद्धमा भिडनु पर्ने रहेछ भनेर एकछिन थरङ्गै भएँ ।
उनले आफ्नो पालो आएपछि केही पेय पदार्थहरु खरिद गरे र आफ्नो बाटो तताइ हाले । त्यसपछि भट्टीपसलमा मेरो पालो आउँछ ।
“हजुर ! बियरको दाम कति होला ?” सानो स्वरमा बारम्यानलाई सोध्छु ।
“पाँच पाउण्ड,” छोटो जवाफ फर्कन्छ । उनको भनाइ सुनेपछि जाबो त्यति सानो बोतललाई पनि त्यति महङ्गो मनमनै भन्छु र एकचोटी टाउको छाम्छु ।
“पानीलाई चाहिँ कति नि ?” नरम भएर सोध्छु ।
“पाँचै पाउण्ड तर दुई बोतल आउँछ,” भन्छ ।
“अनि किन दुई बोतल चाहिँ ?” फेरि सोध्छु ।
“खुद्रा छैन् र हो,” खितिति हाँस्दै जवाफ फर्काउँछ ।
“गर्मी पनि अचाक्ली नै छ । थेम्स नदीमा जाबो पानी त सितैमा दिए पनि हुने हौ ?’ भन्छु ।
“म पनि त्यही चाहन्छु,” बारम्यानले भन्छ ।
“ल ल भैगो ! दुई बोतल पानी नै दिनुहोस्,” भन्छु ।
त्यसपछि दुई हातमा एक एकवटा पानीको बोतल बोक्छु र सुइसुइ तलामाथि चढ्छु । जब ताराको नजिकै पुग्छु । जोनले समरसेट हाउसको विषयमा बयान गरिरहेको कथा सुन्न थाल्छु ।
वास्तवमा आजभन्दा २ सय ४७ वर्ष अगाडि निर्माण भएको समरसेट हाउस एकदम भव्य दरवार हो । जहाँ बेलायतको हिरा, मोती, मणि र जुहारतहरु राखिएका छन् । अझै यसलाई पश्चिमी कलाको त केन्द्र बिन्दु नै मान्नु पर्छ । किनभने यहाँ भ्यानगग, मोने र डेगासका कलाहरु मज्जाले सजाएर राखिएका छन् । लण्डनको मुटु मानिने स्थान स्ट्रान्डमा रहेको यो “नियो क्लासिक घर” को डिजाइन चाहिँ सर विलियम च्याम्बरले गरेका हुन् । अनि ड्युक अफ समरसेटको नाममा रहन गएको “समरसेट हाउस – लण्डन” म पहिले नै पुगिसकेको थिएँ ।
करिब ९० लाख जनसख्यां रहेको लण्डनमा भएका अनगन्ती गगनचुम्वी महलहरु पार गर्दै क्रुज ब्लाकफ्रिएज साँघु पुग्नै लागेको छ । ठीक त्यहीबेला, –
“ल ! हाम्रो ठीक बायाँ पट्टी रहेको घरलाई एक झलक नजर लगाउनोस् है,” भनेर जोनले एकपटक जोड दिएर भन्छ । उनको कुरो सुन्ने बित्तिक्कै हामी सबैजना आ-आफ्ना मुन्टो त्यता फर्काइ हाल्छौं ।
“म तपाईहरुलाई यसपटक एउटा यस्तो घर देखाउन गइरहेको छु जस्लाई पवित्र मन्दिर (टेम्पल वा इनर टेम्पल) भनेर चिन्ने गरिन्छ । जहाँ अङ्ग्रेजी कानूनका बिज्ञ ब्यारिस्टरहरुले आफ्नो तालिम गर्ने गर्छन् ।”
जोनले टेम्पलको बारेमा त्यति मात्र भनेर बिसाए । खै किन हो कुन्नि ? उनी त्यसको बारेका त्यति धेरै बोल्न चाहेनन् । मेरो मनभित्र लाग्छ । सायद ऊँ बेलायती कानूनप्रति बेखुसी हुनसक्छन् । हुन पनि कुरो ठीक्कै हो । यहाँ जता फर्के पनि कानून र नियमसँग मात्र जम्काभेट हुन्छ । जस्ले गर्दा उनी नबोलेको पनि हुनसक्छन् । तर कस्लाई के पत्तो ? वा त्यससम्बन्धी गहन अध्ययन नभएर पनि हो कि ?
जोनले टेम्पलको विषयमा केही कुरो नभने पनि खाट्टी कुरो चाहिँ यस्तो छ । बेलायतमा साधरणतय कानून सम्बन्धि पेशा गर्ने मानिसहरु वा कानूनविज्ञहरु जम्मा दुई प्रकारका हुन्छन् – सोलिसिटर र ब्यारिस्टर । सोलिसिटरले कागजपत्र मिलाउने काम गर्छन् भने ब्यारिस्टरले अदालतमा बहस गर्ने काम गर्दछन् । इङ्गल्याण्ड र वेल्समा गरेर ब्यारिस्टरहरुको संख्या लगभग १७ हजार र सोलिसिटरहरु झण्डै १ लाख ५५ हजारको हाराहारीमा रहेका छन् । तर स्कटल्याण्डमा भने यहाँको भन्दा बिलकुल फरक कानून छ ।
वास्तवमा अङ्ग्रेजी इतिहासले के बताउँछ भने लगभग एघारौं शताब्दीतिर जेरुसेलममा रहेको मन्दिर पहाड (टेम्पल माउन्ट) जस्तै एउटा मन्दिर होस् भनेर यहाँ पनि एउटा मन्दिर खडा गरिएको थियो । जुन मन्दिरलाई होलबर्न, लण्डनदेखि ल्याएर थेम्स नदीको किनारमा यहीँ राखिएको हो । समय क्रममा लण्डनमा ठूलो कृषि क्रान्ति भयो । जुन क्रान्तिले लण्डनको धेरै घरहरु जलेर खरानीमा परिणत भए । त्यसले टेम्पलका केही घरहरु पनि नष्ट भएका थिए । कालान्तरमा त्यहाँ क्रमशः नयाँनयाँ घरहरु थपिँदै गए र अहिले टेम्पलमा ४४ वटा घरहरु रहेका छन् ।
मैले यहाँ टेम्पलको कुरो गरिरहँदा कुलिन परिवारमा जन्मेका तर जसरी पनि छुटाउनै नमिल्ने एकजना मानिसको नाम विलियम मार्शल (प्रथम अर्ल अफ पेमब्रोक) हुन् । बेलायती इतिहासमा उनको नाम सुनौला अक्षरले लेखिएको छ । सम्भवत उनी तत्कालिन राजपरिवारको सबैभन्दा बढी प्रिय तथा इमान्दार सल्लाहकार अथवा महान शुरबिर (नाइट) पनि हुन् । यस धर्तीमा ७२ वर्षसम्म जीवित रहेका मार्शलले ५ जना अङ्ग्रेजी राजाहरु हेनरी दोश्रो, युवा हेनरी, रिचार्ड प्रथम, जोन र हेनरी तेश्रोको सेवा मात्र गरेनन् उनीहरुको अति नजिकका विश्वासको पात्र पनि भएका थिए ।
विलियमले आफ्नो जिन्दगीमा राष्ट्रको लागि युद्धमा होस् वा शान्तिको समयमा धेरैधेरै राम्रा कामहरु गरेका उदाहरणहरु प्रशस्त छन् । त्यसमध्ये सबैभन्दा राम्रो काम त के गरे भने राजा जोन र ब्यारोनहरु बिच भइरहेको नागरिक युद्ध समाप्त गरेर मध्यस्तकर्ताको भूमिका निर्वाह गर्दै म्याग्नाकार्टा (द ग्रेट चाटर्ड) लेखेका छन् । हुनत म्याग्नाकार्टा ल्याटिन भाषामा लेखिएको भएतापनि अहिलेसम्म पश्चिमी इतिहासको सबैभन्दा महत्वपूर्ण दस्तावेज वा अभिलेख मानिन्छ ।
म्याग्नाकार्टामा मुख्यतः तीनवटा कुरोहरुलाई विशेष प्राथमिक्त्ता दिइएको छ । पहिलो कुरो राजा कुनै पनि हालतमा कानूनभन्दा माथि हुनुहुदैन । दोश्रो सबै स्वतन्त्र पुरुषहरुलाई निष्पक्ष न्यायको अधिकार हुनेछ र तेश्रो सबै नागरिकहरुले सम्पतिको स्वामित्व ग्रहण गर्न पाउने छन् ।
वास्तवमा निरङ्कुश राजा जोनले आफ्नो अधिकार नष्ट गरेर अन्य साधारण जनताले जस्तै कानून मान्नु पर्ने म्याग्नाकार्टाहरु कति वटामा सहीछाप गरे त्यो त म यहाँ ठ्याक्कै भन्न सक्त्तिनँ । किनभने पहिलो म्याग्नाकार्टा १५ जुन १२१५ मा जारी गरिएको थियो । त्यसपछि क्रमशः १२१६, १७ र २५ मा पटक पटक त्यसको हेरफेर गरिएका छन् ।
आखिर जेसुकै भएतापनि तत्कालिन समयमा लेखिएका चार वटा सक्कली म्याग्नाकार्टाका पानाहरु अध्यावधि बाँकी नै रहेका छन् । जसमध्ये दुईवटा बेलायती सङ्ग्राहलय लण्डनमा रहेका छन् तर दुर्भाग्यवस सन् १७३१ को भीषण आगलागीले एउटा म्याग्नाकार्टाको आधा भाग जलेर नस्ट भइसकेको छ । अन्य दुईवटा मध्ये एउटा सल्सबरी क्याथेड्रल र अर्को लिङ्कन क्याश्चलमा अवस्थित छन् ।
हुनत बेलायतीहरु पैसालाई छैटौं इन्द्रिय झैं मान्ने गर्दछन् । हुन पनि हो, आखिर पैसा बिना यहाँ केही चल्ने वाला देखिदैन् । यदि एउटा म्याग्नाकार्टालाई अहिलेको भाउमा बेच्ने हो भने त्यसको दाम लगभग २० मिलियन पाउण्ड हुन आउँछ । तैपनि निरङ्कुश राजाबाट सार्वभौम अधिकार खोसेर जनताले लिएको यो नै सँसारको सबैभन्दा पहिलो अधिकार मान्ने गरिन्छ । जस्ले गर्दा यसको दामभन्दा पनि इङ्गल्याण्डलाई प्रजातन्त्रको जननी भनेर अहिलेसम्म चिनिन्छ ।
अङ्ग्रेजी नागरिक युद्ध सकेर म्याग्नाकार्टाको लागि मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने बहुचर्चित व्यक्त्ति विलियम मार्शलको १४ मे १२१९ मा मृत्यु भएपश्चात् उनको समाधिस्थल यिनै टेम्पलको गिर्जाघरमा सुरक्षित तवरले राखिएको छ ।
पहिले पहिले तीर्थयात्रीहरुको सुरक्षाको लागि सुरु भएको (नाइट्स टेम्पलर) हजारौ वर्षको इतिहासमा कानुन व्यावशायीहरुको पेशामूलक व्यावशायिक सङ्गठनमा परिणत हुँदै आएको छ । यो यिनै थलो हो, जहाँ संसदले बनाएको लिखित कानूनको सट्टामा अदालतको निर्णयमा आधारित कानूनहरुको प्रणाली (कमन ल) जन्मेको थियो । समय खारिँदै जाँदा टेम्पललाई अहिले इन्स कोर्ट पनि भन्ने गरिन्छ । जस्लाई ४ भागमा बिभाजन गरिएका छन् – ग्रेज इन, लिङ्कन इन, इनर टेम्पल र मिडल टेम्पल ।
आजभोलि टेम्पलमा लगभग २ हजार जति ब्यारिस्टरहरुले काम गर्ने गर्दछन् । तैपनि १२ हजार जति ब्यारिस्टर र न्यायाधीशहरु यसका सदस्य रहेका छन् । इङ्गल्याण्ड र वेल्समा ब्यारिस्टर काम गर्न चाहने हरेक इच्छुक व्यक्तिले यहीँ ब्यारिस्टर तालिम लिनु पर्दछ । अ…यो लेख लैख्दै गर्दा यहाँहरुलाई के कुरोको पनि जानकारी गराउँ भने दक्षिण एशियाका चर्चित नेताहरुमध्ये गान्धी, नेहरु, अलि खान, अबदुल रहमान र बन्दरानाइकेहरुले पनि यहिँ ब्यारिस्टरको तालिम लिएका थिए ।
क्रमश:
पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।