विदेशमा बस्ने नेपालीलाई मताधिकार सम्बन्धी प्रस्तावमा के छ ?

लण्डन । सर्वोच्च अदालतले विदेशमा बसोबासरत नेपालीहरूलाई पनि नेपालमा हुने चुनावमा मतदान गर्न दिन सरकारलाई आदेश दिएको निकै समय बितिसकेको अवस्थामा निर्वाचन आयोगले यससम्बन्धी मस्यौदा पहिलोपटक सार्वजनिक गरेको छ ।

निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसदमा दर्ता गरिएको छ । निर्वाचन ब्यवस्था ऐन २०८० माथि प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको संसदीय समितिमार्फत छलफल गरी पारित भई राष्ट्रपतिबाट लालमोहर लागेपछि मात्र यो विधेयक लागू हुन्छ । तबसम्म प्रवासी नेपालीहरूले अहिलेजस्तै भोट हाल्न पाउने छैनन् ।

प्रस्तावित व्यवस्थामा परिच्छेद २ धारा २२ मा विदेशमा रहेका व्यक्तिको विवरण संकलन गर्ने प्रावधान छ । जसअनुसार मतदाता नामावलीमा नरहेका विदेशमा रहेका नेपालीहरूको विवरण विदेशस्थित कुटनीतिक नियोग र अन्य निकायको सहयोगमा संकलन गरिने बताइएको छ । यससम्बन्धी प्रक्रिया र विदेशमा बस्ने नेपालीहरूले पेश गर्नुपर्ने प्रमाण तोकिएबमोजिम हुनेछ भनिएको छ । सायद ऐन मस्यौदाअनुसार पारित भएमा निर्वाचन आयोगले यससम्बन्धी नियमावली जारी गर्नेछ ।

विदेशमा रहेका मतदाताले मतदान गर्ने सम्बन्धी व्यवस्था परिच्छेद ७ को धारा २०४ मा राखिएको छ । जसअनुसार विदेशमा बस्ने नेपालीहरूलाई बसोबास गरिरहेकै मुलुकमा रहेको वा सो मुलुकका लागि तोकिएको देशबाट मतदान गराउने बताइएको छ । यसरी गरिएको व्यवस्थामा मतदाताले प्रतिनिधिसभाको समानुपातिक तर्फमात्र मत दिन पाउने छन् । मतदान अनलाइन मार्फत पनि गर्न सकिने र गोपनियता भंग हुन नहुने कुरामा आयोग विश्वस्त भएमा अनलाइन मतदान पनि गर्न सकिने मस्यौदामा उल्लेख छ ।

प्रवासी नेपालीले गरेको मतदानको गणना तोकिएबमोजिम हुने र कुन कुन देशबाट मतदान गर्न सकिने राजपत्रमा प्रकाशन गरिने बताइएको छ ।

प्रवासमा रहेका नेपालीहरूले लामो समयदेखि मताधिकारको माग गर्दै आएका छन् । नेपाली नागरिकता नत्यागेका लाखौँको संख्यामा रहेका नेपालीहरू मतदान प्रक्रियामा सहभागी हुन पाए त्यसले नेपालको चुनावमा नौलो आयाम ल्याउन सक्ने छ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री