वास्तवमा यात्रा यात्रा नै हो । र, यो कुनै कुनैबेला ज्यादै मनोरन्जनात्मक पनि हुने गर्छ । खै किन हो किन ? अझै जलयात्रा भनेपछि म हुरुक्कै हुने गर्छु । हुनत जुनसुकै क्रुजको यात्रामा निस्केपनि तारासँग हामी क्रुजको सबैभन्दा माथिल्लो तलामा पुग्छौं । अनि एउटा कुनामा थपक्कै बसेर त्यहिँदेखि रमाइला ठाउँहरुको दृश्यवलोकन गर्न थाल्छौं । यदि मैले यहाँ सरम नमानी बताउने हो भने आज हुँदै गरेको यो हाम्रो यात्रालाई पनि मिनी थेम्स क्रुज यात्रा नै भन्दा पनि खास्सै फरक पर्दैन् ।
थेम्स नदीमा अविरल बहिरहेको पानीमा देखिएका आफ्नो छायाँलाई पटकपटक नजर लगाउँदै हाम्रो समय आफ्नै गतिमा बहिरहेको छ । हामीले यात्रा गरिरहेको क्रुजभन्दा अलिक स-साना तर झन वेगमा चल्ने इन्जिन डुङ्गाहरु हाम्रा दायाँ र बायाँ स्याउँस्याउँती देखा परिरहन्छन् । तिनैले निकालेको पानीको छालहरु छिचोल्दै अगाडि बढ्दा हामीलाई खुबै रमाइलो लागिरहेको छ ।
हामी त्यसरी पानीमा बहेर निक्कै अगाडि पुगेपछि, “ल बायाँ दिशातर्फ हेर्नुहोस्,” फेरि जोनको मुख खोलिन्छ ।
इन्जिन डुङ्गाहरुले देखाएका चमत्कारपूर्ण खेलहरुको जतिसुकै रमिता हेर्दा पनि नथाक्ने नयनहरु जोनले भन्ने बितिक्कै मिलिकको भरमा बायाँ फर्किहाल्छ । त्यसबेला हाम्रो ठीक बायाँ दिशामा मध्यान्हको सूर्यले टलक्कै टल्किरहेको सेन्ट पौल क्याथेड्रलको गुम्बज देखा पर्छ ।
“यो गिर्जाघर बेलायतमा रहेको गिर्जाघरहरुको आमा गिर्जाघर (मदर चर्च) हो,” त्यति भनि सकेर उनी एकछिन रोकिन्छ । अनी उनी एकछिन रोकिएपछि म उनको जिउडाललाई राम्ररी अवलोकन गर्छु । उनको जिउ हेर्दा मलाई त्यतिबेला काउलुनदेखि उता पारी हङकङ टापुमा घुम्न जाँदा देखिएका दशहजार बुध्दको प्रतिमामध्ये ड्याम्मै भुँडी पल्टाएर मज्जाले बसिरहने ‘सिटिङ बुध्द’ झैं लाग्छ ।
त्यसपछि, “यसको निर्माण सन् १६७५ देखि सुरु गरेर लगभग ३५ वर्षपछि सन् १७१० मा सकिएको थियो । यो गिर्जाघर अङ्ग्रेजी आर्टिट्क्टहरुको गुरु आर्टिटेक्ट सर क्रिष्टोफर रेनको उत्कृष्ट नमुना (मास्टर पिस) हो । उनले यो डिजाइन गर्दा पुरानो सेन्ट पौल भएको स्थानमा नै गरेका थिए । पुरानो सेन्ट पौल क्याथेड्रल सन् १६६६ को भीषण आगलागीले नष्ट भएको थियो,” त्यति भन्छन् ।
वास्तवमा इतिहास पनि इतिहास नै हुने रहेछ । लण्डनमा हरेक कुरोको सुनौलो इतिहास छ भनेर मनमनै सोच्छु । उनले त्यति भनि सकेर आफ्नो साथैमा बोकिरहेको पानीको बोतल खोलेर एक घुटकी पानी पिउँछन् । त्यसपछि म मेरो ध्यान केन्द्रित गर्छु र म सेन्ट पौलको गुम्बजलाई निक्कैबेर हेरिरहन्छु । मैले मेरो जिन्दगी जिउने क्रममा यस्तो गुम्वजहरु लिभरपुलदेखि ताजमहलसम्म पुग्दा बाटोमा पर्ने रोम, इस्तानबुल र आबुधावीमा निक्कै पटक देखेको स्मरण गर्छु ।
यो लण्डनको एउटा मूख्य ऐतिहासिक स्थान हो भनेर म एकचोटी त्यहाँ पुगेको थिएँ । नभन्दै यसको नजिकदेखि एकदम गहिरिएर अध्ययन गर्ने हो भने रोमको सेन्ट पिटर्सभन्दा सेन्ट पौल अलिकति मात्र सानो रहेको छ । यसको उचाई ३ सय ६५ फिट अग्लो छ । तैपनि लण्डनमा यसको निर्माण भएपछि योभन्दा अग्लो घर बनाउन प्रतिबन्ध लागेको थियो जसले गर्दा यसले २ सय ५० वर्षसम्म यसले सबैभन्दा अग्लो घर बनेर एकक्षत्र शासन गरेको थियो ।
२९ जुलाई १९८१ को दिन विश्वका अधिकतम राष्ट्राध्यक्षहरुको अगाडि अहिलेको राजा चार्ल्स तेश्रो अथवा तत्कालिन राजकुमार र राजकुमारी डायनाको बिच धुमधामसँग यिनै गिर्जाघरमा विवाह सु-सम्पन्न भएको थियो । त्यो बाहेक अनेकन ठूल्ठूला उत्सवहरु ब्यवस्थित गरेको यस गिर्जाघरले राष्ट्रिय नायक वा नायिकाहरु जस्तैः- होरासियो नेल्सन, आर्थर वेलेस्ली (वेलिङ्टन), विन्स्टन चर्चिल र मार्गरेट थेचरको मृत्यु हुँदा राजकिय अन्तेष्टी पनि यहिँ गरिएको थियो ।
तिनै लण्डनको ऐतिहासिक गिर्जाघरदेखि बिदावारी लिएर हिँडेका मेरा नयनहरु पुनः थेम्सको पानीसँग मितेरी लगाउँदै लगाउँदै बटुवाहरुमात्र हिँड्न मिल्ने साँघुको मुनि पुग्छ । अथवा सेन्ट पौलदेखि निस्केर चालिएका कदमहरु गन्दै त्यहाँ जाने हो भने लगभग हजार पाईलाभन्दा अगाडि नै त्यो साँघुमा पुगिन्छ ।
हामी त्यहाँ पुग्ने बितिक्कै, –
“हाम्रो टाउकोमा रहेको साँघु स्रहशाब्दी (मिलेनियम) साँघु हो,” अहिलेसम्म चिरपरिचित भइसकेको जोनको आवाज पुनः सुन्न सकिन्छ ।
मिलेनियम भन्ने बितिक्कै यस्को निर्माण सोही समय सन् २००० मा भएको हो है भनेर जो कोहिले सहजै अनुमान लगाउन सक्छन् । यो साँघुले नदीपारि रहेको टेट्स ग्यालरी र नदीवारिको सेन्ट पौल जाने आउने बटुवाहरुलाई जोड्ने काम गर्छ । यस्को निर्माण सन् १९९८ देखि सुरु गरेर त्यसको ठीक दुई वर्षपछि १० जुन २००० मा उद्घाटन गरिएको थियो । त्यसदिन साँघुको उद्घाटन चाहिँ भयो तर अफसोच साँघुमा मानिसहरु पस्ने बितिक्कै लकपके पिङ जस्तो दायाँ बायाँ हल्लिएर खपिसक्नु भएन । नयाँ बनेको साँघु त्यसरी हल्लिएपछि सुरक्षाको दृष्टिकोणले त्यसदिन मानिसहरु हिँड्नको लागि निषेध गरिएको थियो ।
त्यसको भोलिपल्टदेखि थोरै थोरै मानिसहरुलाई साँघु तर्न दिइएको त थियो । तर लण्डनमा बनेको नयाँ साँघुले झन् सहरको ठूलो बेइज्जत गर्यो । त्यसैले दुई दिनपछि साँघुलाई पूर्णकालिन बन्द गरियो र फेरि पूरै मर्मत गरेर त्यसको दुई वर्षपछि सन् २००२ मा पुनः सन्चालनमा ल्याइएको हो । ३ सय २५ मिटर लामो र ४ मिटर चौडा भएको अनि आल्मुनियमद्वारा निर्माण भएको उक्त्त साँघुमा एक पटकमा ५ हजार मानिसहरु हिँड्न सक्ने क्षमता छ । तैपनि साँघु उदघाटनको बेला धेरै हल्लिएको हुनाले उक्त्त साँघुलाई लण्डनरहरुले लकपके साँघु (वोब्ली ब्रिज) भनेर अहिलेसम्म भन्ने गरेका छन् ।
तिनै लकपके साँघु छिरेर जाँदै गर्दा जोनले साँघुमाथि देखा परेका तरुनी तन्नेरीहरुलाई एकचोटी हात उठाई दिनु है भन्छ । हामी सबैले हात उठाएर उनिहरुसँग बिदाइ हुन्छौ ।
विश्वको अन्य प्रतिष्ठित सहरहरुको तुलनामा थेम्स नदीको पानी निक्कै स्वच्छ रहेको छ । तर सयकडौ वर्ष अगाडि यो नदी लण्डनको ठूलो फोहोर पानी बग्ने ढल जस्तै थियो । अहिले यहाँको पानी सफा भएको हुनाले नदीमा १ सय २५ प्रकारका माछाहरु पाउन सकिन्छ । मलाई यतिबेला झल्झली याद आइरहेको छ । केही वर्ष अगाडि मात्रको कुरो हो । यहाँ एउटा बेलुगा ह्वेल पनि देखा परेको थियो । उत्तरी सागरदेखि बाटो बिराएर अङ्ग्रेजी जलसंयोजन हुँदै अरु कैयन ह्वेलहरु पनि समय समयमा यहाँ आउने गरेका छन् ।
नदीको नै कुरो गर्दा सन् १३०९ देखि रेकर्ड गर्न सुरु गरेपछि अहिलेसम्म थेम्स जम्माजम्मी २४ पटक जमेर बरफमा परिणत भैसकेको छ । तर अन्य समयको तुलनामा सन् १६८३ मा चाहिँ नदीमा विराट् ठन्डा (ग्रेट फ्रोस्ट) भएको थियो । त्यसबेला नदी पूरापूर २ महिना जमेर बरफ बनेको थियो । त्यो समय नै थेम्सको इतिहासमा सबैभन्दा लामो समयसम्म नदी जमेको थियो है भनेर नयाँ कीर्तिमान कायम भएको थियो । त्यति लामो समयसम्म नदी जमेपछि नदीमाथि ठूलो मेला पनि लागेको लण्डनको इतिहास छ ।
हामी यसबेला अति आनन्दित हुँदै क्रमशः क्रुजदेखि अगाडि बढिरहेको छौं । नदीले सदक साँघु पार गरेपछि हाम्रो अनुहारमा लण्डनको सबैभन्दा अग्लो घर ‘सार्ड – लण्डन’ झलक्क झुल्किदिन्छ ।
“यो ७२ तले गगनचुम्वी महलको डिजाइन इटालियन आर्टिटेक रेन्जो पियानोले गरेका हुन् र यो सदक लण्डनमा अवस्थित छ । यसको निर्माण भइसकेपछि यो बेलायतको सबैभन्दा अग्लो घरमात्र नभएर यूरोपको सातौं अग्लो घर हुन पुगेको छ । यसको निर्माण सन् २००९ देखि आरम्भ भएर सन् २०१२ मा मात्र सकिएको थियो । लगभग आधा बिलियन पाउण्ड खर्च गरेर बनाइएको यो बिल्डिङमा ९५ प्रतिशत लगानी कतारी सरकारको छ,” त्यति भनेपछि जोन एकछिन रोकिन्छ ।
त्यसपछि उनले, “कतार भन्ने देशले हामीलाई गर्नै गरेको छ । हुनत यस घरको मात्र के कुरो गर्ने र ? हाम्रो हातमा आइसकेको विश्व कप पनि उनीहरुले नै खोसे । म्यानचेस्टर फुटबल क्लब पनि खोस्यो र लण्डनको अधिकांश घरहरु पनि अहिले उनीहरुको अधीनमा रहेका छन्,” भन्दा यात्रुहरु गलल हाँस्छन् ।
अ… मेरो गोजी दर्हो भएको समयमा म तिनै सार्डको तलामाथि आक्कलझुक्कल उक्लने गर्छु । किनभने त्यस घरको ३३औं तलामा ‘हुटुङ’ भन्ने चिनिया रेष्टुराँ छ । हुटुङ भन्नाले बेइजिङको घना बस्तीहरुमा भेटिने स-साना गल्लीहरु बुझिन्छ । तिनै रेष्टुराँमा बसेर भिन्टेज डोम पेरिगननको साथमा बेइजिङ डकको स्वाद लिँदै सहरको सुन्दर दृश्य अवलोकन गर्न मिल्छ ।
तिनै सार्ड महलको रमणीय दृश्यसँगसँगै हामी अति चर्चित लण्डन साँघु (लण्डन ब्रिज) मा आइपुग्छौं । तर त्यहाँ पुग्दा हाम्रो ठीक दाहिनेतिर रहेको अति पुरानो मात्र नभएर एउटा ऐतिहासिक लण्डनको भट्टीपसल ‘ओल्ड थेमसाइड इन’ लाई एक झलक हेर्न भनेर जोनले अनुरोध गर्छन् । उनको अनुरोधलाई सहर्ष स्वीकार गर्दै हामी त्यतातिर नजर डुलाउँछौं । अहिले लण्डनमा जुलाई महिनाको पारिलो घाम छ । अनि त्यति राम्रो मौसमको सुनौलो फाइदा उठाउँदै सयकडौं मानिसहरु भट्टीपसलको ठीक बाहिरपट्टी मज्जाले बसेर सप्ताहन्तको दिन बियर पिइरहेको रमाइलो दृश्यवलोकन गर्न मिल्छ ।
हो, उनीहरुलाई देख्दा मलाई यदाकदा यस्तो लाग्ने गर्छ । यी लण्डनरहरु कति खुसियालीसाथ आफ्नो जिन्दगी जिइरहेका छन् । वास्तवमा यस धर्तीमा रहेका हरेक मानवहरुको जिन्दगी यस्तै प्रकारले बित्नु पर्ने हो तर यथार्थ त्यस्तो छैन् । बिलकुल फरक छ । यस्ले मलाई प्रतिविम्वको प्रभाव पार्छ । त्यहाँदेखि मेरो मन भुरुरु उडेर ४ हजार ६ सय माईल टाढा बुईपा-खोटाङ्मा पुग्छ । बुईपामा अहिले महाबर्खाको समय छ । उनीहरु मानो रोपेर मुरी फलाउने समय हो भनेर अहिले खेतका हिलोमा गोरुहरुसँगसँगै आफैँ जोतिइएका छन् । जमिनमा बिहानी पखको झिसमिसे उज्यालो खसेदेखि बेलुकीपख झिसमिसे अँध्यारो भइन्जेलसम्म उनीहरु काममा खट्छन् । कति मेहनत र कठिन परिश्रम गर्छन् । तैपनि त्यहाँ जीवन जिउन कति गार्हो छ ।
बुईपा र लण्डनका मानिसहरुले बिताइरहेको जीवनको तुलना गर्दा गर्दै क्रुज लण्डन साँघु मुनि सुस्तरी बहिरहेको हुन्छ ।
त्यहाँ पुग्ने बितिक्कै, “थेम्स नदीको दुवैतर्फका मानिसहरुको सम्बन्ध गाँस्ने सबैभन्दा पहिलो साँघु यो नै हो । अथवा यसलाई लण्डन ब्रिज भनिन्छ,” जोनले घोक्रो फुलाइ फुलाइ बोल्छ । त्यति बोलिसकेपछि ऊ गोजीदेखि आफ्नो मोबाइल निकाल्छ र खै के के गर्न थाल्छ कुन्नि ? त्यसपछी म उनलाई हेर्न छाडिदिन्छु ।
यतिकैमा मुनी तला बारदेखि हातमा एक गिलास सेतो वाइन लिएर एकजना महिला टकटक हिल पड्काउँदै मेरो नजिक आउँछिन् र उनी मेरो नजिक आइपुग्ने बितिक्कै, –
“मलाई माफ गर्नुहोला ? के म तपाई नजिकै खाली रहेको कुर्सीमा बस्नु सक्छु ?” आदरपूर्वक सोध्छिन् ।
“कुनै आपति छैन । बरु धन्दा नमानि आरामले बस्नु भए हुन्छ,” इच्छा विपरीत त्यसो भन्छु ।
मेरो कुरो सुनेर उनी पहिले एकचरण फिस्स हाँस्छिन् । त्यसपछि “धन्यबाद” भन्छिन् ।
तर एकमनले उनी मेरो नजिक आएपछि मलाई राम्रै भयो जस्तो लाग्छ । अब मान्छे र प्राणीको जात एउटै त हो, भन्छु । किनभने विपरीत लिङ्गप्रति एकअर्कामा त्यसै आकर्षित भइहालिन्छ भनें । तर त्यहाँ त्यस्तो भएन, ठीक उल्टो भयो । उनी कुर्सीमा बस्ने बितिक्कै मेरो नाकको डाँडी भाँचिने गरेर आएको अत्तरको बासनाले मलाई थोरै असहज उत्पन्न बनाइ दियो । जे होस ठीक्कै छ सहनु पर्यो मनमनै भन्छु । एकछिनपछि अत्तरको बासनालाई म तिलान्जलि दिन्छु र उनीसँग छोटो परिचय गर्न सुरु गर्छु । त्यसपछि ती मैया ग्लास्को, स्कटल्याण्डदेखि यहाँ झरेकी रहेछिन् भनेर मैले चाल पाउँछु ।
हाम्रो संक्षिप्त परिचय भैसकेपछि म उनलाई मज्जाले नियाल्न थाल्छु । त्यसै त अहिले लण्डनमा गृष्मकालिन मौसम छ । जस्ले गर्दा उनले पयरमा पातलो फ्यासफ्यास्से एकजोर चप्पल उनेकी छिन् । यसो हेर्दा चप्पल त्यति महङ्गो होइन होला भन्ने मलाई लाग्छ । उनले घुँडादेखि निक्कै माथिसम्म सेता तिघ्राहरु देखिने टाटनको स्कर्ट पहिरेकी छिन् । ती सेता सेता तिघ्राहरुले मलाई कस्तो कस्तो अनुभूति हुन्छ । टाटनको रङ्ग बिलकुल निलो छ तर मसिना मसिना राता धर्साहरुले कोठाकोठा छुट्याइएको त्यहाँ स्पष्ट देख्न सकिन्छ । उनले शरीरको माथिलो भागमा एउटा पातलो सेतो सर्ट पनि पहिरन गरेकी छे । तैपनि सर्ट यति पातलो छ कि त्योभन्दा भित्रको भित्रिया बस्त्र पनि म छ्याङ्छुङ देख्न सक्छु ।
उनको पहिरनलाई एकचरण नियाली सकेपछि यो कलियुग हो कलियुग मनमनै भन्छु । हुनत यसबेला म अन्त कतै नभएर आफ्नै श्रीमतीसँगसँगै एकातिर गज्जबले टाँसिएर बसिरहेको छु । तर भर्खरै परिचित भएकी एकजना गोरी युवती मेरो ठीक बायाँतिर आएर बसिरहेकी हुनाले र उनको नाङ्गैभुङ्गै फिलाहरुले मलाई यदाकदा अफ्ठ्यारो महसुस भैरहेको हुन्छ । अब त्यस्तो अफ्ठ्यारो परिस्थितिमा एकछिन आँखा दायाँबायाँ नहेरी सीधा हेरेर बस्नु पर्यो भन्छु । र, त्यसो गर्न थाल्छु । तर मनमनै सोच्छु । कुनैकुनै बेला अचानक यस्तो स्थिति पनि आइपर्छ । अनि के के कुराको सामना गर्नु पर्ने होला भनेर थैया मेरो जिन्दगी भन्छु । तर सिटिङ् बुद्धको मूर्ति जस्तै त्यति धेरै लामो चाहिँ बस्न सक्त्तिनँ । बरु टाउको सुस्तरी घुमाउँछु र भयभीत मुद्रामा भएपनि गोरीलाई सुस्तरी चिहाउन थाल्छु ।
यतिबेला उनी मेरो आँखाको ठीकसामू आनन्दले बसिरहेकी छिन् । मैले उनलाई हेर्दा, उनले पनि मलाई एकझलक नजर मार्छिन् र सिरिप्पै एकचोटी वाइन पिउँछिन् । आ….अब यहिँ हो मौका भन्छु र मौकाको फाइदा उठाउँदै थोरै बोल्ने प्रयत्न गर्छु ।
“अनि लण्डन कहिले झर्नु भएको हो नि ?”
“हिजो बेलुकी झरेकी हुँ ।”
“यहाँ कति बस्नु हुन्छ ?”
“सप्ताहन्त मनाउनको लागिमात्र झरेकी हुँ, दुई दिन बस्छु र फिरिहाल्छु ।”
“ए ! हजुर, हजुर,” भन्छु ।
“मलाई लण्डन असाध्यै मन पर्छ । त्यसैले हरेक वर्ष यहाँ झर्ने गर्छु । अझै मलाई लण्डनको इतिहास ज्यादै मनपर्छ । किनभने त्यस विषयमा मैले गहन अध्ययन गरेकी छु,” उनी भन्छिन् । उनले लण्डनको विषयमा गहन अध्ययन गरेकी छु भनेपछि मलाई चिलाएको ठाउँमा कन्याएको जस्तो हुन्छ । त्यति राम्रो अवसरको फाइदा उठाउँदै, –
“ए हो र ? उसो भए हामी अहिले लण्डन ब्रिजको मुनी क्रुजिङ गरिरहेको छौं । यसको विषयमा अलिकति बताइ दिनुहोस् न त ?” विनम्रतापूर्वक सोध्छु ।
एकदम पातली तर आकर्षक जिउकी धनी स्कटिस मैयाले मेरो कुरो सुनेर खुसी हुँदै फुर्तिको साथ एक हातमा वाइन र अर्को हातले साँघुतिर देखाउँदै, –
“वास्तवमा हामी जहाँ बहिरहेका छौं । यहाँ ४७ एडीमा रोमनहरुले एउटा काठे साँघुको निर्माण गरेका थिए । अहिलेको लण्डनलाई तिनताका लण्डनियम भनिन्थ्यो । यी हेर्नुहोस् त – नदी किनारका कतिपय पर्खालहरु उनीहरुले नै बनाएका हुन् । तर दुर्भाग्यवस ४०० एडीतिर उनीहरुले लण्डनलाई सधैँका लागि छाडेर गए । त्यसपछि यहाँ सेक्सनहरुको उदय भयो । उनीहरु यहाँ त्यति लामो समयसम्म टिक्न सकेनन् । सेक्सनहरुपछि भाइकिङहरुले निक्कै लामो समयसम्म लण्डनमा एकक्षत्र राज गरेका थिए । उनीहरुले नै थेम्स नदीमा सबैभन्दा पहिले काठे साँघुलाई परिवर्तन गरेर सन् १२०९ मा ढुङ्गे साँघुको निर्माण गरेका हुन्,” भनेर उनले बताइन् ।
त्यसपछि उनी केहीबेर रोकिन्छिन् ।
“एकछिन है । मलाई लाग्छ – सन् १९७३ तिरको कुरो हो क्यारे । यहाँको पुरानो पुल भत्काएर नयाँ लण्डन ब्रिजहरु बनाइएका छन् । त्यसैले यहाँ एउटा मोटर गुड्ने र र अर्को रेल गुड्ने दुईवटा लण्डन साँघुहरु छन् । यी साँघुहरु एकअर्कामा लगभग ५० मिटर जति फरक रहेका छन् । मोटर दगुर्ने साँघुको लम्बाई २ सय ६९ मिटर र चौडाइ ३२ मिटरको छ । अझै लण्डन ब्रिजको सबैभन्दा रमाइलो पक्षचाहिँ के छ भने यी दुई साँघुको बीच भागमा तिनै मध्यकालिन समयमा बनेको साँघुको खम्बाहरु अझैसम्म सुरक्षित राखिएका छन् । लण्डनमा आगोलाग्दा त्यो साँघुको धेरैजसो भाग जलेर खरानी भएको थियो । यसको विषयमा बेलायती प्राथमिक पाठशालामा हरेक नानीहरुले गाउने बाल गीत लण्डन ब्रिज इज फलिङ् डाउन अहिलेसम्म ज्यादै प्रख्यात रहेको छ ।”
लगभग दुईहजार वर्षको इतिहासलाई उनले एकै सासमा सिध्याएपछि हृदयदेखि नै धन्यवाद भन्छु । हाते घडीको काँटा आफ्नै गतिमा घुमिरहेकै हुन्छ । क्रुजले क्रमशः आफ्नो गति लिइरहेकै छ । उनी बोल्न छाडेपछि हामी बसिरहेको सिरान तला एकछिन कोलाहलमय बन्छ । तर त्यस्तो वातावरणलाई चिर्दै ध्वनि प्रशारण यन्त्रदेखि जोनको मधुरो आवाज पुनः आउन थाल्छ ।
“ल हाम्रो देब्रेतिर हेर्नुहोस् त ? सीधै अगाडि देखिएको त्यो अडबाङ्गे घरलाई पहिले युनिक स्काइस्क्रेपर भनिन्थ्यो । अहिले यसको नाम परिवर्तन भएर वाकिटकी घर भएको छ । किनभने यसको आकार प्रहरीहरुले प्रयोग गर्ने रेडियो वाकिटकी जस्तै देखिन्छ । लण्डनको हरेक स्थानदेखि देख्न सकिने उक्त्त ३८ तले गगनचुम्वी घर २० फेनचर्च सडकमा अवस्थित रहेको छ । यस्को निर्माण हुन अगाडि घरको उचाइ र आकारको विषयलाई लिएर लण्डनरहरुले निक्कै घनिभूत छलफल गरेका थिए । अन्तत सन् २०१४ मा यसको निर्माण भइसकेपछि सिरान तलामा एउटा ठूलो बगैचा बनाइएको छ । त्यो बगैंचा नै बेलायतको सबैभन्दा अग्लो स्थानमा रहेको बगैंचा हो,” त्यति भनि सकेर जोन पुनः आराम गर्न थाल्छ ।
तर त्यसबेला जोनले त्यति धेरै आराम गर्नचाहिँ पाएन । किनभने हाम्रो क्रुज पानी माथि तैरिरहेको जलसेनाको अर्को एउटा पानीजहाज नजिक पुगिसकेको छ । तिनै पानीजहाजलाई देखाउँदै, –
“यो बेलायती जलसेनाको पानीजहाज एचएमएस बेलफास्ट हो । यसको निर्माण उत्तर आयरल्याण्डमा भएको थियो । जसले गर्दा यस्को नाम उत्तर आयरल्याण्डको राजधानी बेलफास्टको नाममा रहन गएको हो । यसको उदघाटन तत्कालिन बेलायती प्रधानमन्त्री चेम्बरल्यानको श्रीमती आनाले सन् १९३८ को सेन्ट प्याट्रिक दिनमा गरेकी थिइन् । लगभग ९ सय ५० जना जलसेना बोकेर हिँड्ने अदभूत क्षमता भएको उक्त्त पानीजहाजले दोश्रो विश्वयुद्ध र कोरियन युद्ध अत्याधिक ख्याति कमाएको थियो । सन् १९७१ देखि पानीजहाज सेवा निवृत्त भएर सङ्ग्राहलयमा परिणत गरिएपछि थेम्स नदीको यिनै स्थानमा रहँदै आएको छ,” उनी भन्छन् ।
त्यसपछि एकछिन रोकिन्छ र सुस्तरि एकझमट बायातिर हेर्छ, –
“ल ! हेर्नुहोस् त । एचएमएस बेलफास्टको ठीक बायाँतिर रहेको दरबार टाअर अफ लण्डन हो । राजा विलियमले सन् १०७८ देखि निर्माण गर्न सुरु गरेको यो दरबार बनाउन लगभग २० वर्ष समय लागेको थियो । अङ्ग्रेजी राजनैतिक इतिहासको मुख्य भूमिका खेल्ने यस दरबारलाई अहिले सङ्ग्राहलयमा परिवर्तन गरिएको छ,” जोनले भने ।
त्यति भनेर उनले आफ्नो वाक्यशंलाई पूर्ण बिराम लगाएपछि, म तिनै पुरानो दरबारलाई नदीमा बहिरहेको पानीदेखि निक्कै लामो समयसम्म हेर्छु । हुनत दरबार लगभग हजार वर्ष पहिले बनेको हुनाले खुइलिएर खैरो रङ्गमा परिवर्तन भैसकेको जस्तो देखिन्छ । अझै यो ढुङ्गा र कङ्क्रिटको थुप्रो वा पुरातात्विक दृष्टिले अति महत्वपूर्ण मानिने प्राचीन अवशेष जस्तो छ । दरवारको भित्ताहरुमा कहिँ कतै चम्किलो रङ्गको प्रयोग भएको देखिँदैन । बरु रङ्ग गएर फुङ्गै उडेको भग्नावशेष जस्तो देखिन्छ ।
तिनै दरबारको ठीक सामुन्ने तर नदीको तटमा एउटा मामुली सडक छ । जहाँ ढुङ्गाहरु काटेर पातलो गरेर बिछ्याइएका छन् । यदि त्यहाँ मज्जाले ध्यान दिएर हेर्ने हो भने शिवरात्री मेलामा पशुपति नाथको दर्शनमा हिँडेका भक्त्तालुहरु झैं हुलका हुल पर्यटकहरु हिँडिरहेको दृश्यवलोकन गर्न मिल्छ । दरबारको पछाडि दिशामा पानी जमाउने एउटा ठूलो खाडल छ । जहाँ सुरक्षाको दृष्टिले पहिले पानी राखेर तलाउ जस्तो बनाइन्थ्यो । अहिले त्यहाँ गहिरो घाँसे जमिनमात्र देख्न सकिन्छ । जो कोही मानिस त्यो खाडलमा खसिहाल्यो भने बाहिर जमिनमा निस्कन निक्कै हम्मेहम्मे पर्दछ । अनि दरबारको पूर्व दिशामा चाहिँ टावर ब्रिजको केही भाग रहन गएको छ ।
हो, म यस दरबारमा निक्कै धेरैचोटी पुगेको छु । किनभने इतिहासको विभिन्न कालखण्डहरुमा यस दरबारले अनेकौं रुप धारण गरेको देख्न र सुन्न पाइन्छ । यहाँ कहिलेकाहीँ हात हतियार र खजानाहरु राख्ने गरिन्थ्यो त कहिले राष्ट्रको गरगहनाहरु र तिनको अभिलेखको कार्यालय बनेको थियो । तर समय शक्त्तिशाली र परिवर्तनशील हुन्छ । त्यसैले समय परिवर्तन हुने क्रममा यो दरबार एकपटक झ्यालखानामा पनि परिवर्तन भएको थियो ।
हो, यो झ्यालखाना यहीँ हो । जहाँ राजा हेनरी छैटौंलाई थुनेर एडवार्डका सिपाहीहरुले बिभत्स हत्या गरेका थिए । यहाँ राजाको हत्या गरिएको घटनामात्र होइन । त्यस्तै दुःखलाग्दो अरु घटना पनि घटेका छन् । राजा हेनरी आठौंको ६ जना श्रीमतीहरु मध्ये आन बोलियन र क्याथरिन होवार्डलाई राजकाज सम्बन्धी महाअभियोग लगाएर थुनिएपछि यहीँ मृत्युदण्ड दिने निर्णय गरिएको थियो । तर मैले आज यस दरबारलाई निक्कै लामो समयसम्म नियालिरहँदा रानी आन बोलियनले मृत्युदण्ड पाउनु अगाडि आफ्नो श्रीमान हेनरी आठौंलाई लेखेकी अन्तिम पत्रको एक हरफ याद गर्छु ।
“श्रीमान् ! म मेरो जीवनभन्दा हजुरलाई हजार गुणा बढी माया गर्छु । त्यसैले मलाई केही समय बाँच्ने रहर छ । कृपा गरेर मलाई बचाइ दिनुहोस्, महाराज ।”
म त्यसबेला उनको पत्रलाई घरिघरि सम्झन्छु । जस्ले मेरो मस्तिष्क अहिले पनि घात हुने गर्छ । यस झ्यालखानामा तिनै महारानीहरुले मात्र मृत्युदण्ड पाएका चाहिँ अवश्य हुँदै होइनन् । राजद्रोह सम्बन्धी मुद्दा परेका अन्य प्रख्यात अभियुक्तहरुमध्ये वेस्टमिन्स्टर पार्लियमेन्ट भवनलाई भत्काउन खोज्ने गाइ फोक्स, थोमस विन्टर, एमब्रोस रुकवार्ड र रवर्ट किइज यहिँ थुनिएका थिए । उनीहरुलाई पनि ३१ जनवरी १६०६ मा मृत्युदण्ड दिइएको थियो । अझै ३५ वर्षे फोक्सलाई मृत्युदण्ड दिए पश्चात् उनको शरीरलाई चार टुक्रा बनाएर राजधानीको चार कुनामा लगेर झुन्डाएर अबदेखि उसो कसैले राजा र राज्यको विरुद्धमा कदम चाले यहि हालत हुनेछ भन्ने समाचार दिइएको थियो ।
हरेक वर्ष लगभग ३० लाख पर्यटकहरुले भ्रमण गर्ने यो दरबारलाई बिदाइ गरेपश्चात हामी नजिकै रहेको साँघुतर्फ सुस्तरी बहन सुरु गर्छौं । टावर अफ लण्डनको ठीक सामुन्ने खडा भएर रहेको उक्त्त साँघुलाई “टावर ब्रिज” भन्ने गरिन्छ ।
यसको निर्माण सन् १८८६ देखि सुरु गरेर १८९४ पूर्ण गरिएको थियो । साँघुको डिजाइन होरेस जोन्सले गरेको भएतापनि मुख्य इन्जिनियर भने जोन बेरी हुन् । दैनिक ४० हजार मटरहरुले पार गर्ने उक्त्त साँघुको लम्बाइ ८ सय फिट र उचाइ २ सय १३ फिट रहेको छ । ठूल्ठूलो पानीजहाजहरुले साँघुलाई पार गर्दा यो साँघुलाई उठाइने गरिन्छ । जस्ले गर्दा यो साँघु नै लण्डनको ऐतिहासिक चिन्ह (ल्याण्डमार्क) रहन गएको छ । तर विश्वका धेरै मानिसहरु अलमलमा परेर टावर ब्रिजलाई लण्डन ब्रिज भन्ने गर्छन् । जुन चाहिँ सत्य होइन ।
क्रुजले टावर ब्रिजलाई छाडेको केहीबेरपछि हामी क्यानरी वार्फ नजिकै पुग्छौं । यो लण्डनको मुख्य ब्यापारिक केन्द्र भएको हुनाले यहाँका घर, होटल र भवनहरु ज्यादै महङ्गा छन् ।
“यहाँको एक कोठे (फ्लाट) घरलाई एक मिलियन स्टर्लिङ पाउण्ड पर्छ जस्ले गर्दा यहाँ विश्व लुट्ने डाँकाहरु मात्र बस्छन्,” लगभग अन्तिम अन्तिम पटक जोनको मुख खोलिन्छ ।
उनले त्यसो भन्दै गर्दा मलाई कप्तान विलियम किडको याद आउँछ ।
डण्डी, स्कटल्याण्डमा जन्मेका कप्तान विलियम किड कुख्यात अन्तर्राष्ट्रिय सामुन्द्रिक डाँका हुन् । सामुन्द्रिक डाँका पेशा लिएका उनले लण्डनदेखि न्युयोर्कसम्म समुन्द्रमा डकैती गर्ने गर्दथे । निक्कै मिहिनेत गरेर उनलाई पक्राउ गरिएपछि २३ मे १७०१ मा यहाँ नजिकै थेम्स नदी किनारमा मानिसहरुलाई फाँसी दिने स्थान अनुष्ठान घाट (इक्चुकेसन डक) लगेर घाँटीमा पासो हालेर मार्ने प्रयत्न गरिएको थियो । तर ऊ एकदमै बलियो भएको कारण पहिलो पटक डोरी चुँडिएर उनको मृत्यु हुन सकेन । त्यसपछि पुनः दोश्रो पटकको प्रयत्नमा उनलाई झुन्डाइएर मारिएको थियो ।
हुनत आजभोलि मानिसहरुले जस्तोसुकै अपराध गरेको भएता पनि बेलायतमा प्राणदण्डको सजायँ हुँदै हुँदैन । पिटर अलान र गुइन एभान्सले सन् १९६४ पाएका प्राणदण्ड नै बेलायतको सबैभन्दा अन्तिम सजायँ थियो । त्यसैले बेलायतमा ज्यानको बदली ज्यान (क्यापिटल पनिसमेन्ट) सकिसकेको छ ।
अब त्यो प्राणदण्डको सजाय राम्रो हो वा होइन म त्यतातिर जान चाहन्नँ । तर पानीजहाजदेखि आरामदायी यात्रा गरिरहेको समयमा सुनसान आन्ध्र महासागरमा अचानक हातहतियारसँग देखापर्ने तिनै सामुन्द्रिक डाँका विलियम किड र उनको सिपाहीँहरु कस्ता देखिन्थे होला भनेर कल्पनाको विचार लिइरहँदा हाम्रो क्रुज ग्रिनवीचको घाटमा रोकिसकेको हुन्छ ।
मैले घाट निरन्तर हेरिरहेको भएतापनि मेरो ध्यान सामुन्द्रिक डाँकाहरुसँग भएको हुनाले सीधै अगाडिको घाटलाई देखिरहेको हुदिनँ । तर अचानक, –
“अब झर्ने होइन र ?”
ताराले मेरो पछाडि ढाप मार्दै त्यसो भनेको सुन्दा म अनायासै झस्कन्छु र सिधै मुनि थेम्सको पानीमा परेको मेरो छायाँले मलाई जिस्काइरहेको देख्छु ।
बानबरी, इङ्गल्याण्ड ।
पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।