बेलायत भ्रमणमा रहेका सांसद गर्बुजालाई एनआरएनए युकेले गर्यो सम्मान

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले शनिबार वंशजको नेपाली नागरिकता निरन्तरता विषयक अन्तरक्रिया गरेको छ ।
नेपालका संघीय सांसद खमबहादुर गर्बुजाको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा गर्बुजाको सम्मानसहित अन्तरक्रिया गरिएको हो ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले सांसद गर्बुजालाई सम्मान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै भूतपूर्व गोर्खा समेत रहेका सांसद गर्बुजाले एनआरएनए यूकेले राखेका कुरा मुटुको ढुकढुकीमा राखेको र नेपाल गएर कसरी अगाडि बढाउने गृहकार्य शुरु गरिसकेको बताए ।
‘म आफैं गोर्खा हो, म पीडित पनि हो । सर्वदलीय समितिमा पनि म छु । अब नेपाल गएर मेरो पार्टी कांग्रेस र अन्य पार्टीका शीर्ष नेताहरुसँग कुरा राख्छु’- उनले प्रतिवद्धता जनाए, ‘संघीय संसदमा ५ मिनेट बोल्न समय पाउँदा मैले म गोर्खा हो । यसको इतिहास नबिर्सनुस् भनेको थिएँ’, उनले भने, ‘भूतपूर्व गोर्खाको पेन्सन र वंशजको नागरिकता मुद्दा सदनमा लैजान्छु । परिआए आन्दोलनको नेतृत्व म आफैं गर्छु ।’
कार्यक्रमको अध्यक्षता गरेका एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले गत २२ जुलाईमा २० हजार ७०७ सदस्यले दिएको ‘म्याण्डेट’ बमोजिम नेपाल गएर प्रधानमन्त्रीदेखि मन्त्री र शीर्ष नेतालाई भेटेर वंशजको नागरिकता निरन्तरता र गोर्खाको समान अधिकार माग राखेको बताए ।
नागरिकता विधेयक प्रमाणीकरण भएपछि देश गलत दिशामा गइरहेको बताउंदै गाहामगरले एउटा हातले सिन्दुर दिने र अर्को हातले नागरिकता दिने प्रावधान देशका लागि घातक भएको टिप्पणी गरे । नेपाल सिक्किम र फिजीको बाटोमा गइरहेको दावी उनले गरे । सबैले साथ दिएमा आफूले वंशजको नेपाली नागरिकता आन्दोलन सफल बनाएरै छाड्ने उद्घोष गर्दै अध्यक्ष गाहामगरले गोर्खा समस्या समाधानका लागि बेलायतमा योग्य राजदूत ल्याइनुपर्ने बताए ।
मन्तव्यका क्रममा वंशजको नेपाली नागरिकता निरन्तरता महाअभियानका अध्यक्ष खगेन्द्र पाठकले नागरिकता ऐनमा भएका प्रावधान खारेज हुनुपर्ने बताए । विदेशका नेपालीहरुले निकट भविष्यमा सडक, सदनसम्म कसरी जाने त्यसको दीर्घकालिन योजना बनाउन उनले सुझाव दिए ।
महाअभियानका महासचिव डा. चन्द्र कार्कीले नेपालको वर्तमान संविधान २०७२ ले दोहोरो नागरिकताको सिद्धान्त अवलम्बन गरिसकेको अवस्थामा नागरिकता ऐन २०६३ को दफा १० ले कुनै पनि नेपालीले विदेशी पासपोर्ट लिनासाथ नेपाली नागरिकता स्वत खारेज हुने व्यवस्था गर्नु संविधानको मर्म विपरित रहेको बताए ।
त्यसैगरी, विशेष अतिथि नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले त्रिपक्षीय सन्धिअनुसार नेपाल सरकारले पठाएकाले गोर्खाहरुलाई नागरिकताको विशेष व्यवस्था गरिनुपर्ने बताए । उनले अब सबै भूपू संगठन एक भएमा गोर्खा मुद्दा छिट्टै टुंगो लाग्ने विश्वास पनि व्यक्त गरे ।
एनआरएनए यूकेको विवाद कृत्रिम विवाद भएको उल्लेख गर्दै उनले सबै एकवद्ध बनाएर विवाद टुंग्याउन पनि आग्रह गरे ।
बिजिडब्लुएस् अध्यक्ष मेजर रि. टिकेन्द्र दल देवानले नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गोर्खाको विषय गम्भीर रुपमा नलिएको आरोप लगाए ।
जीटेनका सदस्य तथा अनसनकारी धनबहादुर गुरुङले समान अधिकार कुर्दाकुर्दै ५ सय जना गोर्खा गुमाइसकेको बताए । दुई वर्षअघि धेरै दुःख कष्ट सहेर १३ दिन भोक हड्ताल गरेको स्मरण गर्दै उनले भोक हड्तालकै कारण वार्तामा बस्न बेलायत तयार भएपनि यो अहिलेसम्म निष्कर्षमा पुग्न नसक्नु बिडम्बना भएको धारणा राखे ।

विगत ३४ वर्षदेखि गोर्खा अभियानमा लागेकी अनसनकारी पुष्पा राणा घलेले समान कामको समान ज्याला पाउन तीन दशकबढी समयदेखि आन्दोलन गर्नु परेको स्मरण गर्दै गोर्खा संगठनहरुबीच एकता नभए न वंशजको नागरिकता, न गोर्खाले समान अधिकार पाउंछन् भन्ने अभिव्यक्ति दिइन् ।
गेसोका कार्यबाहक अध्यक्ष धर्म तामाङले गोर्खाहरुको अधिकारका लागि बोलिदिन सांसद गर्बुजासँग अनुरोध गरे । अनसनपछि वार्ताको ढोका खुलेको बताउँदै तामाङले अहिलेको वार्ता टुट्यो भने यो अवसर फेरि कहिल्यै पनि नआउने र यसले नेपाल सरकारलाई समेत घाटा पर्ने धारणा राखे ।
एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्रीले नेपालले नेपालीलाई नै अनागरिक बनाइसकेपछि नेपाल कसरी समृद्ध हुन सक्छ भन्ने प्रश्न गरेका थिए । एनआरएनएमा वंशजको नागरिकता हुनुपर्छ भनेर प्रेम गाहालाई कारवाही गरेको बताउँदै उनले आफूलाई पनि वंशजको मुद्दा उठाएकै कारण कतिपयले कारवाही गर्छु भन्ने सुनेको बताए ।
एनआरएनए यूकेका सल्लाहकार चित्रबहादुर गुरुङले भूपूहरुको माग जायज भएकाले संघर्ष गरेरै भएपनि अधिकार लिनुपर्ने बताए । एनआरएनए यूकेका कुनै पनि पूर्व अध्यक्षले वंशजको नागरिकताबारे कहिल्यै केही काम नगरिदिएको गुनासो उनको थियो । गुरुङले गाहामगर बोलीमात्र भन्दा पनि एक्सनमै उत्रिएकाले आफ्नो पूर्ण समर्थन रहेको धारणा राखे ।
पूर्व गोर्खा तथा एनआरएनए यूके स्पोर्टस् काउन्सिल संयोजक राष्ट्र राईले गोर्खा आन्दोलनको नेतृत्व गर्छु भन्नेबाटै यो असफल भएको बताए । जी टेनमा केही व्यक्तिले हालीमुहाली गरेको आरोप लगाउँदै राईले काम नगरी पदमात्र नओगट्न आग्रह गरे ।
कार्यक्रममा एनआरएनए आइसीसी उपाध्यक्ष थर्क सेन, तमु समाज बेलायतका अध्यक्ष शिवकुमार गुरुङ, तमुधिं यूके सल्लाहकार तथा एनआरएनए यूके संरक्षक डेभिड गुरुङ, संरक्षक भरत रोका क्षेत्री, आइसीसी सदस्य प्रवेश केसी, सल्लाहकार डा. भीम पुनलगायतले आ-आफ्नो धारणा राखेका थिए ।
प्रवक्ता लक्ष्मी तामाङले सञ्चालन गरेको कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष अमृत घलेले स्वागत मन्तव्य दिएका थिए ।
सो अवसरमा नवनियुक्त प्रवक्ता, संरक्षक र वरिष्ठ सल्लाहकारहरुलाई प्रमाणपत्र समेत दिइयो ।

तस्विर मिलन तमु 

प्रतिक्रिया

सम्बन्धित सामाग्री