एनआरएनए युकेका पूर्व उपाध्यक्ष राष्ट्र राईको निधन

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका पूर्व उपाध्यक्ष राष्ट्र कुमार राईको विहीबार हृदयघातबाट निधन भएको छ ।

घरमा बस्दाबस्दै श्वास फेर्न असजिलो भएपछि एम्बुलेन्स बोलाएर उपचारका लागि अस्पताल लाँदालाँदै उनको निधन भएको एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरले जानकारी दिए ।

राई ५८ वर्षको हुनुहुन्थ्यो ।

गाहाका अनुसार राई विहिबार दिउँसो ब्याडमिन्टन खेल्न जानुभएको थियो । खेलबाट फर्केपछि घरमा सोफामा बस्दाबस्दै साँझ ७:३० बजेतिर जाडो भएको महसुस भएपछि श्रीमतीलाई सोको जानकारी गराउनुभएको थियो । त्यसपछि उहाँलाई श्वास फेर्न असजिलो भएको बताइएको छ ।

बेलायतको मेडिस्टोनमा सपरिवार बस्दै आउनुभएका राई बेलायतको नेपाली समुदायभित्र खेलप्रेमी, तेक्वान्दोका गुरुका रूपमा पनि चिनिनुहुन्छ ।

खोटाङको लामाखुमा जन्मनुभएका राई ब्रुसलीबाट प्रभावित भएर सानैदेखि तेक्वान्दो खेलमा आकर्षित हुनुभयो । त्यसलाई नै अघि बढाउँदै उहाँले बेलायती सेनामा कार्यरत रहँदा र अवकासपछि मृत्युपर्यन्त अगाडी बढाइरहनुभयो ।

बेलायतमा रहेको सगरमाथा तेक्वान्दो डोजाङको उहाँ ग्राण्ड मास्टर हुनुहुन्थ्यो भने तेक्वान्दोमा उहाँ छैटौँ डान पनि हुनुहुन्थ्यो । हाल उहाँ एनआरएनए स्पोर्टस् एकेडेमीको संयोजक पनि हुनुहुन्थ्यो ।

राजनीतिक, सामाजिक सेवाका साथै राई एक कुशल चित्रकार पनि हुनुहुन्थ्यो । उहाँ पछिल्लो समय ट्याटू आर्टमा पनि रूचि राख्नुहुन्थ्यो ।

बेलायती सेनाबाट अवकास पाएपछि पनि उहाँ पुन: शारीरिक तालिम निर्देशकका रूपमा बेलायती सेनामै कार्यरत हुनुहुन्थ्यो ।

राईका पाँच दाजुभाइ बेलायती सेनामा कार्यरत हुनुहुन्छ भने एक भाइ भारतीय गोरखामा । राईका छोरा पनि बेलायती सेनामै हुनुहुन्छ र उहाँ बक्सिङ खेलाडी हुनुहुन्छ । राईका एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ ।

सधैँ शारीरिक अभ्यासमा सक्रिय रहनुहुने राईको ५८ वर्षको उमेरमै निधनले धेरैलाई अचम्भित तुल्याएको छ । पूर्व बक्सिङ खेलाडीसमेत रहेका प्रेम गाहामगर बढ्दो उमेरसँगै शरीरमा आउने परिवर्तनहरूलाई ख्याल गर्दै शारीरिक अभ्यास र चिकित्सकको सल्लाहलाई सन्तुलन मिलाउन सुझाव दिनुहुनुहुन्छ । चिकित्सकले औषधि लिन सिफारिस गरेमा त्यसलाई अस्वीकार नगरी औषधि पनि लिने कसरत पनि गरेमा दीर्घायुमा सहयोग पो पुग्थ्यो कि भन्ने गाहाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री