काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११औँ महाधिवेशनका लागि पुनःअध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्नुभएको हो । दशौँ महाधिवेशनमा निर्वाचन हुन नसकेपछि अध्यक्ष पदका तीनै जना उम्मेदवारले पालैपालो अध्यक्षकारूपमा काम गर्ने सहमति भएको थियो ।
उम्मेदवारी घोषणा गर्दै उहाँले एनआरएनए ग्लोबल फण्डको महत्त्वाकांक्षी कार्यक्रम घोषणा गर्नुभएको छ । “म नेतृत्वमा पुगे लगत्तै एनआरएनए ग्लोबल फण्ड स्थापना गरिनेछ”, अध्यक्ष थापाले भन्नुभयो, “जुन नेपाल र नेपालीको समृद्धिका लागि सारथि मात्र होइन, सङ्कट पर्दाको सञ्जीवनीसमेत हुनेछ ।”
एनआरएनएको प्रत्येक सदस्यले गर्व महसुस गर्ने यो कोष सङ्घको सबैभन्दा ठूलो कोष हुने उहाँले बताउनुभयो । एनआरएनएको इतिहासमा पहिलो पटक अध्यक्ष महिलाकारूपमा छोटो अवधि काम गरेको आधारमा निर्वाचित भएर एक कार्यकाल काम गर्न चाहेको उहाँको भनाइ थियो । अध्यक्ष थापाले भन्नुभयो, “मैले छ महिना कार्यकारी अध्यक्षकारूपमा काम गर्दा उल्लेखनीय काम गरेको छु, एक कार्यकाल पूर्ण अवधि काम गर्न पाएमा सङ्घलाई जीवन्त र गतिशील ढङ्गले अघि बढाउने र विदेशमा बस्ने प्रत्येक नेपालीले अपनत्व महसुस हुने वातावरण बनाउने छु ।”
आफ्नो कार्यकालमा महत्त्वपूर्ण उपलब्धि भएको, गैरआवासीय नेपाली नागरिकताका लागि संसद् र नेपाल सरकारले महत्त्वपूर्ण निर्णय गरेको, नवौँ राष्ट्रिय खेलकुदमा पहिलोपटक एनआरएनएको टिम सहभागी भई पदक जितेको, सङ्घको काठमाडौँस्थित कार्यालयको पूर्वाधार विकास, (लिफ्टदेखि घेरा पर्खालसम्म) अपाङ्गमैत्री बनाएको, पोखरामा स्मार्ट शौचालय निर्माण सुरु गरिएको (चाँडै हस्तान्तरण हुने), बिरामीलाई रगत अभाव नहोस् भनेर घुम्ती रक्तसञ्चार बस सुरु गरिएको (तीन प्रदेशमा चाँडै हस्तान्तरण हुने तयारीमा), विदेशमा रहेका नेपालीलाई समस्या परेमा तत्काल जानकारी गराउन २४सै घण्टा खुला रहने हटलाइन सेवा सुरु गरिएको, सङ्घको विधान पहिलोपटक सर्वसम्मतले पास गराएको उहाँले जानकारी गराउनुभयो ।