तालिममा बितेका सैनिक नविन थापाको मृत्युमा बेलायती सांसदले उठाए प्रश्न

लण्डन । तालिमका क्रममा निधन भएका बेलायती सैनिक नविन थापाको मृत्युका बारेमा बेलायती सांसदले प्रश्न उठाएका छन् ।

बेलायती संसद हाउस अफ कमन्समा नेपालसम्बन्धी सर्वदलीय संसदीय समितिका संयोजक समेत रहेका इलिङ तथा साउथहलका सांसद बीरेन्द्र शर्माले विहीबार साँझ सामाजिक सन्जालमा बेलायती सेनामाथि प्रश्न गरेका हुन् ।

सांसद शर्माले एक्स (पहिलेको ट्वीटर)मा लेख्दै सेनामा भर्ना हुने र यो देशलाई सुरक्षित राख्नेहरूलाई सुरक्षित राख्नुपर्ने सेना (बेलायती) को नेतृत्वको दायित्व भएको उल्लेख गरेका छन् । नविन थापामगरप्रति श्रद्धान्जलि र परिवारमा समवेदना व्यक्त गर्दै उनले बेलायती सेनामाथि जवाफ दिनुपर्ने गम्भीर प्रश्न तेर्सिएको बताएका छन् ।

यसअघि बुधबार बेलायती रक्षा मन्त्रालयले तालिमका क्रममा थापाको निधन भएको जानकारी दिएको थियो ।

सिक्स रेजिमेन्ट द रोयल लजिष्टिक कर्प्समा कार्यरत ३५ वर्षीय थापाको सेप्टेम्बर २१ मा निधन भएको मन्त्रालयले बताएको छ । तर उनको कसरी मृत्यु भयो भन्ने केही उल्लेख छैन ।

बीबीसीले हम्बरसाइड प्रहरीलाई उल्लेख गर्दै थापाको निधनको कारण ‘अस्पष्ट’ रहेको बताएको छ । प्रहरीका प्रवक्ताका अनुसार केलीथोर्प भन्ने स्थानमा प्रहरीलाई २१ सेप्टेम्बर दिउँसो १:३० बजे बोलाइएको थियो । थापालाई उपचारका लागि अस्पताल लगिएकोमा केही समयपछि नै मृत घोषित गरिएको थियो ।

प्रहरीले उनको मृत्युको प्रकृति हेर्दा शंकास्पद नरहेको तर अनुसन्धान जारी रहेको बताएको छ ।     

सन् २०१९ मा बेलायती सेनामा प्रवेश गरेका थापाले छोटो अवधिमै धेरै प्रगति गरेको मन्त्रालयले बताएको छ ।

उनी आधारभूत तालिम सकिएपछि वर्दी डाउन विन्चेष्टरमा लजिष्टिक स्पेशलिष्ट तालिमका लागि खटाइएका थिए । सन् २०२० मा उनी योर्कसायरमा खटाइएका थिए । सैन्य सेवाको छोटो अवधिमा उनी साइप्रसमा संयुक्त राष्ट्रसंघको शान्तिसेनामा पनि खटिएका थिए भने कोभिड १९ का क्रममा राष्ट्रिय टोलीमा पनि परेका थिए । यसबाहेक केन्या र ओमानमा पनि उनी पठाइएका थिए । हालै मात्र उनले स्पेनमा तालिम सकाएका थिए ।

उनी भलिबल र ब्याडमिन्टन खेलाडी पनि थिए । थापाले गोर्खा वेलफेयर ट्रष्टका लागि सहयोग संकलन समेत गरेका थिए ।   

प्रतिक्रिया

सम्बन्धित सामाग्री