डा प्रेम आलेको ‘गोर्खाली वीरता र शासकीय चाकरी’ पढेपछि

शुरुमै प्रष्ट्याउँदा राम्रो होला यो पुस्तक समीक्षा होइन । हो त केवल एक साधारण पाठकलाई पुस्तक पढेपछि उत्पन्न भएको अनुभूति ।
ब्रिटिश गोरखा सैन्यमा लामो समय सेवागरी निवृत्त भएका डा प्रेम आलेको पुस्तक ‘गोर्खाली वीरता र शासकीय चाकरी’ हालै मात्र प्रकाशित भएको छ । पछिल्लो समयमा गोरखा सैनिकहरु आफैँले आफ्ना बारेमा कलम चलाउन थालेका छन् । यस सन्दर्भमा आफ्नै अनुभव, अध्ययन र प्राज्ञिक उन्नयनमा समेत लागेका आलेबाट यस कृति लेखिनु सराहनीय कार्य हो ।
सरगम प्रकाशन, नेपालले प्रकाशन गरेको ३९० पृष्ठको यस पुस्तकमा आठ अध्याय छन् । पहिलो अध्यायभित्र ‘शाहवंशको उदय र गोर्खा राज्यको स्थापना’, ‘नेपाल अंग्रेज युद्ध (१८१४–१६) र सुगौली सन्धि’, ‘वीर शत्रुको सम्मान र गोर्खा भर्ती’, ‘सर्वोपमायोग्य राजभारासमर्थ श्री भक्ति थापाः वीर वीरोत्तम’ शीर्षकमा छोटा छोटा लेख समेटिका छन् । दोस्रो अध्यायमा ‘प्रथम विश्वयुद्धमा नेपाली सेना र गोर्खाली सेनाको योगदान’,’नुभे चापेल र लुस युद्ध’, ‘भिसी कुलवीर थापाः बहादुर र दयाको खानी’, ‘ग्यालिपोली युद्ध’,’मेसोपोटामिया युद्ध’,’युफ्रेटमा युद्ध’,’मोसुल तेलखानी ब्रिटिशको कब्जामा’, ‘प्यालेष्टाइनमा युद्ध’, ‘राइफलम्यान करनबहादुर राना भिसी’ शीर्षक छन् ।
तेस्रो अध्याय ‘नेपाल ब्रिटेन सन् १९२३ को मित्रता सन्धि’, ‘नेपालको स्वाधीनताको प्रश्न’, ‘लाहुरे प्रथाले राष्ट्रियता बलियो बन्ला ?’ शीर्षकको सेरोफेरोमा छ । चौथो अध्याय ‘दोस्रो विश्वयुद्धमा गोर्खाली तथा नेपाली सेनाको योगदान’, ‘स्लिम रिभर युद्ध र गोर्खाली युद्धबन्दी’, ‘सिताङ पुल विच्छेदः पौडी खेल्न नजान्ने गोर्खालीको विजोग’, ‘सुवेदार लालबहादुर थापा भिसीःउत्कृष्ट नेतृत्वको उदाहरण’, ‘गजे घले भिसीः जति प्रशंसा गरे पनि कमै’, ‘जापानविरुद्ध अर्को युद्धको तयारी’, ‘तुलबहादुर पुन भिसीः अत्यन्त प्रेरणादायी व्यक्तित्व’, ‘ह्याङमान हिलमा क्षणिक सफलता’,’सुवेदार नेत्रबहादुर थापामगर भिसीः अब्बल तर कलिलो’, ‘नायक अगनसिङ राई भिसी: अदम्य साहसको खानी’, ‘मोन्ट क्यासिनोको युुद्धमा गोर्खाली सेना (जनवरी–जुन १९४४)’, ‘सन म्यारिनोको युद्ध र भिसी शेरबहादुर थापाको वीरता’, ‘राइफलम्यान थमन गुरुङ भिसी(मरणोत्तर): आफू मरेर…’, ‘राइफलम्यान गञ्जु लामा ‘भिसी’ ‘एमसी’: गैरनेपाली वीर’, ‘असाधारण व्यक्तित्वको धनीः राइफलम्यान भानुभक्त गुरुङ’, ‘मन्डल्या र मेक्टिलाको युद्ध (सन् १९४५ मे)’,’राइफलम्यान लछिमन गुरुङ भिसीः कर्तव्यप्रति अघोर समर्पण’, ‘विश्वयुद्धले बनाएको समलिङ्गी’मा केन्द्रीत छ ।
पाँचौँ अध्याय ‘भारतको स्वतन्त्रता र गोर्खाली भविष्य’, ‘भारत–ब्रिटेन–नेपालबीच त्रिपक्षीय सन्धि (सन् १९४७)’, ‘भारतीय गणराज्य र संयुक्त अधिराज्य सरकारबीच…’, ‘मलेयन कम्युनिष्ट गुरिल्लासित गोर्खालीको लडाइँ’, ‘नेपाल भारत शान्ति तथा मैत्री सन्धि (सन् १९५०)’, ‘ब्रुनाइ विद्रोह (सन् १९६२ डिसेम्बर)’, ‘ब्रोनेओ युद्ध (सन् १९६३ जनवरी–१९६६ अगष्त)’,’लान्स कर्पोरल रामबहादुर लिम्बू भिसी एमभिओको जीवनी’, ‘हङकङमा गोर्खाली (सन् १९४८–१९९७)’, ‘फकल्याण्ड युद्ध (सन् १९८२ अप्रिल–जुन)मा गोर्खाली’ र ‘हवाई काण्डः एक विश्लेषण’ शीर्षकमा आधारित छ ।
छैटौँ अध्यायमा ‘गोर्खा ओर्डरली अफिसरको परम्परा’, ‘हिल ब्याय, लाइन ब्याय र बाबुजी’, ‘खुकरी शान, गोर्खाली मान’, ‘गोर्खाली नाममा के छ ?’, ‘शक्तिपूजा र गोर्खाली सेना’, ‘लडाकु जाति, गोर्खाली मिथक र नेपाली समाजमा असर’, ‘एक्काइसौँ शताब्दीका गोर्खालीहरु’, ‘गोर्खा वेलफेयर ट्रष्टःमर्यादित जीवन जिउनका लागि’, ‘एक्काइसौँ शताब्दीका गोर्खाली र गोर्खा काइदा’, ‘नयाँ गोर्खाली र नौला युद्धहरु’, ‘नयाँ पिँढीका गोर्खा महानायकहरु’ शीर्षकमा लेखहरु छन् ।
सातौँ र आठौँ अध्याय अन्य अध्यायहरुको तुलनामा कम्ती सामग्रीहरु छन् । सातौँ अध्याय ‘भिसी तुलबहादुर पुन, जोअना लुम्ले र गोर्खा आन्दोलन’, ‘ब्रिटिश गोर्खा आन्दोलन र जायज नाजायज मागहरु’, ‘गोर्खाली सेवासम्बन्धी शर्तहरु’, ‘गोर्खा आन्दोलनमा ब्रिटिश जनताको भूमिका र उपलब्धि’, ‘ब्रिटिश फौजमा महिला भर्तीको प्रश्न’ शीर्षकको वरिपरि केन्द्रीत छ भने आठौँ अध्यायमा ‘भारतीय फौजका गोर्खालीहरु’, ‘ब्रुनाइ र सिंगापुरमा गोर्खालीहरु’ र ‘नेपाली सेना र विश्व शान्तिमा योगदान’ शीर्षक छन् ।
नामअनुसार नै पुस्तक मूलत गोर्खालीहरुको वीरता पुष्टि गर्न केन्द्रीत भएको महसुस हुन्छ । भिक्टोरिया क्रस (भिसी)पाउने सबै गोर्खाहरुको बहादुरी गाथा वर्णन, विभिन्न लडाइँहरुमा उनीहरुको संलग्नता र उनीहरुले खेलेको भूमिकालाई बडो प्राथमिकता र सौर्य झल्काउने शब्दहरुको चयन गरी लेखिएका छन् । तर पुस्तकको नाममा जोडिएको अर्को पाटो ‘शासकीय चाकरी’ अन्तर्गत कसरी नेपाली शासकहरुको बेलायतको चाकरीले गोर्खाहरुलाई प्रभावित पारिरहेको छ भन्ने उजागर गर्ला भन्ने पक्षमा भने पुस्तकमा विस्तारमा चर्चा गरिएको पाइँदैन ।
पुस्तकमा गोर्खालीहरुले शुरुवात दिनदेखि हालसम्म लडेका विभिन्न युद्धहरुका बारेमा संक्षिप्त जानकारी दिइएको छ । खासगरी त्यसले नयाँपुस्तालाई गोर्खालीहरुको इतिहास र भूमिकाका बारेमा जानकारी दिने छ ।
पुस्तकमा कतिपय नयाँ जानकारी छन् । जस्तो गोर्खालीभित्रको समलिंगी सम्बन्ध (पृष्ट १४५), भारतीय स्वतन्त्रता संघर्षका कमाण्डर सुवासचन्द्र बोसको फौजमा भर्ती भएका २६ जना गोर्खालीहरु र भर्ती हुन नमानेका कालु खत्रीहरु (पृष्ठ ८९) ।
पुस्तकमा सबैभन्दा खड्किएको पाटो भनेको यसको सम्पादन हो । सम्पादनको अभावमा पुस्तक कतै निजात्मक शैलीमा लेखिएको भेटिन्छ भने उपशीर्षकहरु लामा लामा छन् । केही विवरणहरुमा एकरुपता छैन । जस्तो पृष्ट १२ मा भारतको गभर्नर जनरल रोब्दन हसटिङ्सले नेपालमाथि युद्धको घोषणा गरे लेखिएको छ । तर पृष्ट २४ मा भने अंग्रेज प्रधानसेनापति माइराले लखनऊबाट युद्धको घोषणा गरे उल्लेख छ । युद्धको घोषणाको मिति पनि पृष्ट १२ मा १८१४ नोभेम्बर १ दिइएको छ भने पृष्ट २४ मा १८१५ नोभेम्बर १ । पेज २२० मा हाल सेवारत गोरखालीहरुको संख्या (प्रत्यक्ष नभनिए पनि घुमाउरो शब्दमा) ४ हजार बताइएको छ भने पेज २७१ मा करिब ३ हजार । पृष्ठ २०८ मा रामबहादुर लिम्बूलाई सबैभन्दा कान्छो भिसी विजेता भनिएको छ । उनी भिसी पाउँदा २९ वर्षका थिए तर कर्ण (करन) बहादुर राना भिसी पाउँदा १९ वर्षका मात्र थिए । २१ वर्षको उमेरमा भिसी पाउने छ एकभन्दा धेरै नै छन् ।
पुस्तकमा कतिपय शब्दको प्रयोग गलत भयो कि जस्तो पनि लाग्छ । लम्पसार (पृष्ट ३५) शब्दको प्रयोग अलि बढी नै कठोर भयो कि ! प्रवाह (पृष्ठ ४३) सहपाठी (पृष्ठ ३०५), पेशेवार (पृष्ठ ११९), मुखपत्र (पेज ३२८), उत्सर्ग (पेज ३३२) आदि शब्दहरु ठीक अर्थमा प्रयोग गरिएनन् कि । भिसी विजेता करनबहादुर राना (पृष्ट ५९) लेखिएको छ । अन्य पुस्तकमा उनको नाम कर्णबहादुर राना लेखिएको पाइन्छ लेखकले यहाँ किन र केका आधारमा करनबहादुर लेखे कारण खुलाइएको छैन ।
कतिपय शीर्षक यस पुस्तकमा नपारेका भए पनि हुने जस्तो लाग्छ । जस्तो पेज १८२ को नेपाल भारत मैत्री (१९५०) सन्धि, पेज ३७३ को नेपाली सेना र विश्वशान्तिमा योगदान । यी खण्डले पुस्तकको कुनै ओज बढाएजस्तो लाग्दैन ।
पुस्तकमा कतिपय खण्ड पाठकको प्यास नमेटाउने गरीका संक्षिप्त छन् । जस्तो गोर्खा भर्तीले नेपाली समाजमा परेको असर (पेज २६४) ।
नेपालमा गोर्खा राज्यको स्थापनाबाट पुस्तक शुरु भए पनि राणा शासनको शुरुवात गर्ने जंगबहादुर राणाको पालामा गोर्खा भर्तीप्रति उनको धारणा र व्यवहार के थियो भन्ने बारेमा पुस्तकमा केही उल्लेख भएको भए हुन्थ्यो । किनकि कतिपय पुस्तकमा जंगबहादुर राणाको व्यवहार गोर्खा भर्तीलाई सहयोग गर्ने किसिमको थिएन पनि भनिएको छ ।
पुस्तक मूलत विदेशी र केही नेपाली स्रोतमा आधारित भएर लेखिएकाले होला यसमा गोर्खा सैनिकहरुको ब्यथाको पाटो भने छैन । शायद पुस्तकको उद्देश्य नै गोरखाहरुलाई बहादुर र वीर उजिल्याउनलाई यसो गरिएको हो कि भन्ने पनि कतै प्रतीत हुन्छ । साथै पुस्तकका उल्लेख विषयहरुमा धेरै गोर्खा सैनिकहरु लेखकका तर्कसँग असहमत पनि हुने ठाउँ छ । तथापि केही सवालमा लेखकको वैचारिक आधार प्रष्ट छ । जस्तो गोर्खा भर्तीले नेपालको स्वाधीनता अर्धऔपनिवेशिक भएको ठहर गर्नुमा, गोर्खाभर्ती समयसीमा तोकेर बन्द गर्नुपर्छ भन्नेमा । यी दुवैमा लेखकसँग सहमत हुन सकिन्छ ।

नरेश खपाङ्गीमगर

खपाङ्गीमगर वीनेपाली डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री